+
+
‘ऐना झ्यालको पुतली’का बाल कलाकारसँग संवाद :

‘हल नै देखेका थिएनौं, फिल्म खेल्न पाउँदा त सपनाजस्तै लाग्यो’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १७:४१

काठमाडौं । ‘ऐना झ्यालको पुतली’ दर्शकमाझ प्रतीक्षित फिल्म हो । नन्–एक्टर बाल कलाकारलाई लिएर निर्माण गरिएको फिल्मले विश्व प्रतिष्ठित बुसान फिल्म फेस्टिभलबाट प्रसिद्धि पाएको छ ।

भदौ २४ गते हलमा रिलिज हुने फिल्मको ट्रेलरले मीठो प्रतिक्रिया प्राप्त गरेको छ । सुजित बिडारी निर्देशित फिल्मले आर्थिक र पारिवारिक कठिनाइको बाबजुद सहर पुगेर पढ्ने र स्वतन्त्रता चाहने बालिकाको चाहना पेश गर्छ ।

फिल्मको सुन्दर पक्ष भनेको अभिनयको पृष्ठभूमि नभएका बालबालिकालाई लिएर फिल्मको कथा भन्नु हो । चार वर्षअघि छायांकन भएको फिल्ममा संखुवासभाकी कञ्चन चिमोरिया, दिनेश खत्री र उमेश श्रेष्ठले मुख्य पात्रमा अभिनय गरेका छन् । अहिले कञ्चन २० वर्षकी भइन् भने दिनेश १३ र उमेश १६ वर्ष उमेरका भएका छन् ।

बाल कलाकार कञ्चन चिमोरिया

विद्या नामक चरित्रमा देखिएकी कञ्चनले फिल्म खेल्छु भनेर जीवनमा कहिल्यै सोचिनन् । तर कलाकार खोज्दै गाउँ पुगेका निर्माताको नजरमा परेपछि उनी मुख्य चरित्रको लागि छनोट भइन् । केही साताको एक्टिङ वर्कसपपछि उनी फिल्मका लागि ‘रेडी’ भइन् ।

घाँस काट्ने, पराल सोहोर्ने, गाई दुहुनेजस्ता कहिल्यै नगरेको काम उनले फिल्म खेल्दा गर्नुपर्‍यो । पढाइ नबिगार्ने सर्तमा फिल्म खेलेकी कञ्चनले त्यसपछि पनि पढाइमा राम्रो प्रगति गरिन् । अहिले १२ कक्षा पास भएकी छन् र भविष्यको लक्ष्य मेडिकल क्षेत्रमा काम गर्नु हो ।

फिल्म छायांकनका बेला दिनेश ४ कक्षामा पढ्थे, अहिले ८ कक्षामा पढ्छन् । फिल्ममा उनले विद्याको भाइ वसन्तको चरित्रमा अभिनय गरेका छन् । दिदीलाई दुःख दिने उनको पात्रको स्वभाव छ । गाउँमा हुँदा टीभीमा उनले साउथ इन्डियन फिल्महरु टन्नै हेरेका रहेछन् । अल्लु अर्जुन, रामचरणजस्ता दक्षिण भारतीय स्टारको नाम पनि कण्ठै रहेछ ।

बाल कलाकार दिनेश खत्री

बाङ्गे नामक चरित्रमा देखिएका उमेश वास्तविक जीवनमा पनि बाङ्गेकै स्वभावसँग नजिक छन् । पढाइभन्दा लडाइँ र झगडा गर्न तम्सिहाल्ने स्वभाव यो चरित्रको छ । ‘सायद यही भएर मलाई उहाँहरुले यो पात्रमा लिनुभएको होला,’ अहिले १० कक्षामा पढ्दै गरेका उमेश भन्छन् ।

यी तीनैजना संखुवासभाका हुन् । तीनैजनाबीच एउटा समानता छ, कसैले पनि अहिलेसम्म हलमा पुगेर फिल्म हेरेका छैनन् । दिनेश र उमेश त पहिलोपटक काठमाडौंमा आएका हुन् । उनीहरु काठमाडौं घुमघाममा उत्साहित पनि देखिन्थे । काठमाडौं आएपछि पहिलोपटक उनीहरु चिडियाखाना पुगेर बाघ र भालु हेरे ।

बाल कलाकार उमेश श्रेष्ठ

कञ्चनलाई लाग्छ, ‘ऐना झ्यालको पुतली’को विद्या नामकी पात्रको कथा मात्र होइन, बरु मुलुकका लाखौं बालबालिकाको हो । जो विपन्नताको बाबजुद पनि उज्वल भविष्यको सपना बुनिरहेका छन् । दिनेशलाई लाग्छ, गाउँको कठिनाइ र कथा बुझ्न पनि फिल्म हेर्नुपर्छ । तीनैजनाले हलमा गएर फिल्म हेर्न दर्शकलाई आग्रह गरेका छन् ।

फिल्मलाई रामकृष्ण पोखरेल, प्रवीण स्याङ्बो र आकाश पौडेलले निर्माण गरेका हुन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?