+
+
पहिलो एकदिवसीय क्रिकेट :

आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १९:४१
आसिफ शेख ।

१७ भदौ, काठमाडौं । ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ ।

२१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरी नेपालको जित आधार तय गरेका थिए । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि गत चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए ।

यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदैन ।

नेपालका लागि सिनियर टिमबाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले ।

आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । ४३.५ ओभरमा केन्याका डेब्युटेन्ट विशाल पटेलको बलमा बोल्ड हुनुअघि आशिफले १२० बलमा १२ चौका र २ छक्कासहित ११० रनको लामो पारी खेले ।

लगत्तै अर्को ओभरमा ज्ञानेन्द्र पनि २४ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ५० बलमा १ चौका प्रहार गरे । त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले अविजित १९ र कप्तान रोहितकुमार पौडेलले अविजित ३ रन बनाए ।

यसअघि नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको थियो ।

सुरुवाती ४ विकेट सस्तैमा गुमाए पनि मध्यक्रमका राकेप पटेल र कोलिन्स यबुयाले अर्धशतक बनाएपछि केन्या सम्मानजनक अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि राकेप र कोलिन्सले १३० रनको शतकीय साझेदारी गरी पारी उकासेका थिए । राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन बनाए । कप्तान रोहितले रनआउट गर्नुअघि कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको संयमित पारी खेले । इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन थपे ।

बलिङतर्फ सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए । आदिल आलम र पवन सर्राफले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?