+
+

मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ भदौ १९ गते १९:५५

१९ भदौ, काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

ठेक्का सम्झौताअनुसार समयमै मल नल्याएका दुई नेपाली कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयमा मन्त्रालयले सिफारिस गरेको कृषि विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

‘सिल्क (जेभी) र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएका छौं’, प्रवक्ता सञ्जेलले भने ।

आर्थिक वर्ष २०७८/७९ का लागि यी दुई कम्पनीले ५० हजार टन युरिया र ५ हजार मेट्रिक टन डीएपी गरी कुल ५५ हजार मेट्रिकटन मल आयातको सम्झौता गरेका थिए । सम्झौता अवधि सकिएको २ देखि ६ महिनासम्म पनि कारबाही नगरी मल ल्याउन समय दिंदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर कृषि सामग्रीले धरौटी जफत गरेको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताए ।

तर, कम्पनीको कारबाहीविरुद्ध उच्च अदालतमा रिट परेपछि थप कारबाही रोकिएकाेमा अहिले अदालतले कालोसूची सिफारिसको बाटो खोलिदिएको कम्पनीका कार्कीको भनाइ छ ।

‘कालोसूचीमा राख्न सिफारिस गरेका छौं, खरिद अनुगमन कार्यालयले अवधि तोकेर निर्णय गर्ला’, कार्कीले भने ।

गत र चालु आवका लागि प्रमुख बालीका लागि भन्दै ५० हजार मेट्रिक टन युरिया र ५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न विभिन्न समयमा कृषि सामग्री कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

युरिया ५० हजार मेट्रिकटन आयात गर्न पाँच नेपाली ठेकेदार कम्पनीहरुले संयुक्त ठेक्का गरेका थिए । जसमा थिए सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्टिक्स र सिल्क मार्केट । उनीहरुलाई २५–२५ हजार मेट्रिकटन युरिया आयातको ठेक्का परेको थियो भने डीएपी ५ हजार मेट्रिक टनका लागि नेपाली कम्पनी सिल्क मार्केटले ठेक्का पाएको थियो ।

दुई बंगलादेशी र एक नेपाली कम्पनी गरी तीन कम्पनीलाई कालोसूची सिफारिस गर्न थप छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?