
काठमाडौं । हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने भएको छ ।
फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष शो समेत आयोजना गरिने उनले बताए ।
गत भदौ १० गते रिलिज भएको फिल्मले हलमा राम्रो शो नदिएर अन्याय गरेको भन्दै गत मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको थियो । ‘राधा’सँगै प्रदीप खड्का स्टारर ‘प्रकाश’ र तेलुगू फिल्म लाइगर पनि प्रदर्शनमा आएका थिए । यी दुवै फिल्म अहिले हलमा लागिरहेका छन् । ‘लाइगर’लाई उच्च शो दिएर आफ्नो फिल्मलाई कम दिएको भन्दै ‘प्रकाश’ले विरोध जनाएपछि यो फिल्मले भने राम्रै शो पाइरहेको छ ।
अभिनेता सौगात मल्लले पहिलोपटक निर्माण गरेको ‘राधा’ हराएका पति खोज्न एकल आमाले गरेको संघर्षको कथा प्रस्तुत गर्छ । फिल्मको केन्द्रीय भूमिकामा सृष्टि श्रेष्ठ छिन् भने दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, मेनुका प्रधान र बुद्धि तामाङले पनि अभिनय गरेका छन् ।
प्रदर्शन रोकिएको दिनसम्म फिल्मले १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
प्रतिक्रिया 4