+
+
Shares

माझी : समयको खोलामा हराएको एक समुदाय

‘बर्मा गए कर्मसँगै’ भने जस्तै माझी समुदायसँगै उनीहरूको दुःखले पनि बसाइँ सर्छ। उपयुक्त सीप र शिक्षाको कमिले जोखिमयुक्त र सस्तोमा श्रम बेच्नुपर्ने अवस्थामा छन् उनीहरू।

बर्षा सेढाईं र अम्रेश शाह बर्षा सेढाईं र अम्रेश शाह
२०७९ भदौ २० गते १३:२६
रामेछापको खोला किनारमा रहेको माझी बस्ती ।

नेपाल आदिवासी जनजाति समुदायको साझा भूगोल हो। भौगोलिक रूपमा विविधतापूर्ण नेपालको पूर्वदेखि पश्चिमसम्म विभिन्न आदिवासी तथा जनजातिहरूको बस्तीले सजिएका छन्। कुल जनसंख्याको ३५.८ प्रतिशत आदिवासी जनजाति छन्। नेपालले ५९ वटा यस्ता समुदायलाई कानुनी मान्यता दिएको छ। सामान्यतः आदिवासी जनजातिका धेरै समुदाय सीमान्तकृत र बहिष्करणमा परेका छन्।

कुनै समुदाय जतिसुकै पिछडिएको वा सीमान्तकृत किन नहोस्, समाजमा आफ्नै छुट्टै पहिचान, इतिहास, कला र संस्कृतिले चिनिन्छ। अधिकांश अवस्थामा यी समुदायका लागि कला र संस्कृतिले उनीहरूको जीविकोपार्जनलाई निरन्तरता दिन मद्दत गर्दछ ।

नेपालका धेरै आदिवासी सीमान्तकृत समुदायमध्ये माझी समुदाय पनि एक हुन्। आफ्नो पहिचानलाई अगाडि बढाएर उनीहरू जीवन सरल किसिमले चलाउन चाहन्छन्। आफ्नो कलालाई माध्यम बनाएका माझी समुदाय आजसम्म पनि अरु सीमान्तकृत समुदायको सापेक्षतामा समाजमा चिनिन सकेका छैनन्। फलतः उनीहरू राज्यबाट पाउने फाइदाबाट वञ्चित छन्।

अम्रेश शाह/वर्षा सेढाईं

माझी समुदायको बसोबास काठमाडौंकै नजिकदेखि टाढासम्म पनि भेट्न सकिन्छ। काठमाडौं नजिक काभ्रेदेखि उनीहरूको बसोबास सुरु हुन्छ। खोलामा गएर माछा मारेर आफ्नो जीविका चलाउने र डुंगा बनाउने समुदाय भएका कारणले यिनीहरूको नाम माझी हुन गएको हो।

माझी समुदायको आफ्नो छुट्टै भाषा छ। आज पनि आफ्नो समुदायभित्रको छलफलमा उनीहरू आफ्नै भाषाको प्रयोग गर्छन्। उनीहरू आफ्नो भाषालाई ‘माझी कुरा’ भन्छन्। समाजबाट टाढा भएका माझीहरू आफ्नो संस्कृतिबाट टाढा गएका छैनन्। उनीहरूले आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्न विभिन्न पूजाको चलन पनि चलाउँदै आएका छन्। यस्तो जमघटमा उनीहरू ‘माझी कुरा’ गर्छन्। बर्सेनि हुने पूजा होस् वा श्राद्ध, माझीहरूको आफ्नै छुट्टै मौलिकता छ। उनीहरूले यस्तो मौलिक अभ्यास नयाँ पुस्तामा सकुशल हस्तान्तरण गर्न उपायहरूको खोजी गरिरहेका छन्।

माझी समुदायमा बिरामी हुँदा धामीकोमा जाने र स्थानीय रूपमा उपलब्ध जडीबुटीको प्रयोग गर्ने प्रचलन पहिलेदेखि नै चल्दै आएको हो। नेपालको कुनै पनि कुनामा यो चलन मज्जाले देख्न सकिन्छ। माझी समुदायमा घरमा कोही बिरामी हुँदा अस्पताल जानुअघि पहिले घरेलु उपचारको प्रयोग गर्ने चलन छ। यदि घरेलु उपचारले मद्दत हुँदैन भने धामीकोमा जाने प्रचलन छ। यी दुवै उपायले काम गरेन भने अन्तिममा मात्रै उनीहरू अस्पताल जान्छन्।

माझी समुदायले पहिलेदेखि नै माछा मार्ने र आफ्नो घर चलाउने काम गर्ने गर्थे। आजको दिनसम्म पनि यो समुदाय यही कामकै वरिपरि घुमिरहेको छ। गुणस्तरीय पढाइको कमिले गर्दा माझी समुदायका बालबच्चाहरू आज पनि आफ्नो पुरानै काममा लाग्नुपर्ने स्थिति देखिन्छ। माछा मार्ने र घर चलाउने काम भने आजकल आएको नयाँ चलनले रोक्न बाध्य भएका छन् माझी समुदायहरू। समयसँग आउने परिवर्तनले माझीहरू आफ्नो पुर्ख्यौली पेशा छाडेर रोजगारीका लागि नयाँ रोजगारीको खोजीमा भौंतारिनुपरेको छ।

पेशा मात्रै होइन, प्रकारान्तरमा आफ्नो पुर्ख्यौली भूमि पनि त्याग्नुपर्ने अवस्थामा उनीहरू पुगेका छन्। जीविकोपार्जन र आर्थिक सुरक्षाको लागि शहर पस्ने र बसाइँसराइ गर्ने अभ्यास बढ्दो छ। नयाँ ठाउँ र शहरमा नयाँ काम खोज्ने र पैसा कमाएर जीवन सजिलो बनाउने चलन बढेको छ। नयाँ पुस्ता अध्ययनका लागि शहर-बजार पुग्ने र अन्य समुदायसँगको अन्तरक्रिया वृद्धि हुँदा माझी संस्कृति र परम्परा भने हराउँदै जान थालेको छ।

‘बर्मा गए कर्मसँगै’ भने जस्तै माझी समुदायसँगै उनीहरूको दुःखले पनि बसाइँ सर्छ। उपयुक्त सीप र शिक्षाको कमिले जोखिमयुक्त र सस्तोमा श्रम बेच्नुपर्ने अवस्थामा छन् उनीहरू। राजनीतिक रूपमा पनि उनीहरूले राज्यबाट आवश्यकताअनुसार संरक्षण पाउन सकेका छैनन्। अति सीमान्तकृत समुदायमा रहेका माझी समुदाय आफ्नो भाषा, पहिचान र संस्कृति संरक्षण र प्रवर्धन होस् भन्ने चाहन्छन्। किनकि हरेक सीमान्तकृत समुदायसँग आफ्नो पहिचान र संस्कृतिको संरक्षण र सम्मानको अधिकार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?