+
+

साफ महिला च्याम्पियनसिपका लागि ७ वटै टिम तयार

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ २० गते १४:०९
सहभागी टिमका कप्तान । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२० भदौ, काठमाडौं । मंगलबारदेखि दशरथ रंगशालमा सुरु हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन् । सोमबारको प्रि–म्याच कन्फ्रेन्समा सातवटै टिमले आफ्नो तयारी र लक्ष्यबारे कुराकानी गरेका थिए ।

भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपको उदघाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्नेछ । यो खेल मंगलबार साँझ पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।

विश्व फुटबल महासंघ फिफाले पाकिस्तानमाथि झण्डै पाँच वर्ष र भारतमाथि दुई साताको निलम्बन फिर्ता लिएपछि दक्षिण एसियाका सातै टिमले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् ।

यस पटकको मुख्य विशेषता भनेको नेपालले लगातार दोस्रो पटक महिला साफ आयोजना गर्दैछ ।

च्याम्पियनसिप पहिलो पटक दशरथ रंगशालमा आयोजना हुँदैछ । सन् २०१९ मा भएको पाँचौ संस्करण विराटनगरमा खेलाइएको थियो ।

यस पटक नेपाललाई घरेलु मैदान र दर्शकअघि उपाधि जित्दै अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि खडेरी तोड्ने अवसर छ ।

अघिल्ला प्रतियोगितामा जस्तै यस पटक पनि भारत र नेपाल उपाधिको मुख्य दाबेदारको रुपमा छन् । भारतले यसअघिका पाँचै संस्करणको उपाधि जितेको छ ।

नेपाल चार पटक उपविजेता बन्दा एक पटक सेमिफाइनलबाट बाहिरिएको थियो र पाँचै पटक भारतसँग नै पराजित भएको थियो । यस्तै बंगलादेश एक पटक फाइनल पुगेको थियो ।

दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा नेपालको प्रशिक्षण सम्हालेका कुमार थापाले तीन नयाँ खेलाडीसहित नेपाली टोली घोषणा गरेका छन् ।

‘गोल मेसिन’ सावित्रा भण्डारी चोटपछि पुनरागमन गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछिन् । नेपाली टिममा समीक्षा घिमिरे, दीपा शाही र अमिशा कार्कीले पहिलो पटक स्थान बनाएका छन् ।

नेपालले तेस्रो पटक घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्दैछ । सन् २०१९ मा मार्चमा भएको साफ च्याम्पियनसिप र २०१९ डिसेम्बरमा भएको १३औं साग फाइनल नेपाल भारतसँग पराजित हुँदै उपविजेजता बनेको थियो । यस पटक भारतलाई नै हराएर पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य छ ।

समूह विभाजन
समूह एः भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स

समूह बीः नेपाल, भुटान, श्रीलंका

के भन्छन् सहभागी टिमका प्रशिक्षक र कप्तान ?

सहभागी टिमका प्रशिक्षक र कप्तान । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा सातावटै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो तयारी र लक्ष्यबारे कुराकानी गरेका थिए । प्रतियोगिताका लागि भुटानको टिम दुई साता र पाकिस्तानी टिम एक साताअघि नै नेपाल आएको थियो । बाँकी टिम दुई दिनअघि मात्र नेपाल आएका हुन् ।

प्रतियोगिताको मिति घोषणा भएपछि फिफाको निलम्बनमा परेको भारतले दुई सातामै फुकुवा पाएकाले भारतीय टिमको सहभागिता निश्चित भएको हो ।

उपाधिको तिर्खा मेट्नेछौं
– कुमार थापा, प्रशिक्षक, नेपाल

काठमाडौं नेपालको विशेष ठाउँ हो । साफ महिला च्याम्पियनसिप यसअघि विराटनगरमा भएको थियो । हामी एकदमै खुशी छौँ । पाकिस्तान टिमलाई लामो समयपछि स्वागत गर्न चाहन्छु ।

हाम्रो तयारी राम्रो छ । सात हप्ताको तयारीपछि हामीसँग राम्रो र सन्तुलित टिम बनेको छ । अनुभवी र नयाँ खेलाडीको मिश्रण छ ।

हामी टिमको रुपमा खेल्नेछौं । च्याम्पियन बन्नेमा हाम्रो ध्यान छ । टिममा तीन जना पुनरागमन गरेका छन् (रेखा पौडेल, सावित्रा भण्डारी र पुनम जर्घामगर) । अरु तीनजना नयाँ खेलाडी (दीपा शाही, समीक्षा घिमिरे र अमिशा कार्की) छन् ।

मैले सात हप्ताको समय पाएको थिएँ । अहिलेसम्मको तयारीमा सन्तुष्ट छु । फुटबलमा अनुमानले काम गर्दैन, हामी उत्कृष्ट फुटबल खेल्नेछौं । गल्तीलाई कम गरेरै च्याम्पियन बन्ने आधार हो ।

हाम्रा कतिपय खेलाडीहरु करिअरको अन्तिममा छन् । उनीहरुका लागि पनि एउटा अविष्मरणीय क्षण होस भन्ने चाहन्छौं ।

मैले व्यक्तिगत रुपमा दोस्रो अवसर पाएको छु । यसलाई खेर जान दिँदैनौं । महिला फुटबलप्रतिको दृष्टिकोण परिवर्तन गर्न चाहन्छौं । हामी उपाधिको तिर्खा मेट्न चाहन्छौं । सबैजना यसमै केन्द्रिछ छौं र समर्थकको साथले हामीलाई मनोवज्ञानिक रुपमा बलियो बनाउनेछ ।

हाम्रो समूहमा तीनवटा मात्र टिम छन् । यसले धेरै फरक पार्छ । हामी पहिलो खेलमा भुटानलाई कमजोर मान्ने छैनौं । हामी पहिलो चरणमा लिगमा राम्रो गर्नेछौं । त्यसपछि अर्को चरणको योजना हुनेछ ।
हामी आयोजक हौं । दशरथ रंगशालामा महिलाको पहिलो ठूलो प्रतियोगिता हुँदैछ । फरक वातावरण छ तर, हामीले रंगशालामा केहि सेसन विताएका छौं । हामी भुटानलाई सम्मान गर्दै हाम्रो उत्कृष्ट फुटबल खेल्छौं ।

—–

एञ्जिला तुम्बापो सुब्बा,
– कप्तान, नेपाल

कुमार थापा र एञ्जिला तुम्बापो। तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

मलाई कप्तान बनाउनुभएकोमा एन्फा र प्रशिक्षक सबैलाई धन्यवाद । मलाई विश्वास गर्नुभएको छ । त्यसलाई गुमाउन दिन्न । हामी च्याम्पियन बन्न अएका हौँ । हामी अन्तिमसम्म लड्नेछौं किनभने हामी गोर्खाली हौं ।

पहिलो पटक मैले कप्तानी पाएको छु । आफ्नो कप्तानीमा टिमलाई जित दिलाउने सबैको चाहनाच हुन्छ । मलाई पनि छ । सबैले एकअर्कालाई विश्वास गरेको हुनाले हाम्रो टिम राम्रो पनि छ । सबैले जित्नका लागि खेल्ने हो । हामी यहाँ बोलेर भन्दान पनि खेलेर देखाउन चाहन्छौं ।

‘नेपालकै तयारीले हामीलाई सजिलो भएको छ’
– पेमा छिरिङ, कप्तान, भुटान

हामीले नेपालमा धेरै समय तयारी गर्दै यहनँको मौसमसँग घुलमिल हुने अवसर पायौं । घरेलु मैदानमा खेल्दा नेपाललाई घरेलु सपोर्ट हुन्छ । हामीलाई चुनाती हुन्छ । टिममा युवा खेलाडी छन् र उनीहरुले राम्रो प्रदर्शन गर्ने विश्वास लिएकी छु । नेपालमा दुई साताको बीचमा एक्स्पोजरका लागि केहि मैत्रीपूर्ण खेलहरु खेल्यौं त्यसले हामीलाई केहि सहज बनाउनेछ ।

——

-टंकमाया घले, सहायक प्रशिक्षक
हाम्रो तयारी राम्रो छ । यो प्रतियोगिता र नेपालसँगको पहिलो खेल का लागि तयार छौं।

प्रतियोगिता प्रतिस्पर्धात्मक हुनेछ’
– गोलोन रब्बानी छोतोन, प्रशिक्षक, बंगलादेश

बंगलादेशका प्रशिक्षक र कप्तान । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

साफका लागि हामीलाई सबै सुविधा दिएकोमा बंगलादेश फुटबल संघलाई धन्यवाद । हामीले कडा मिहिनेत गरिरहेका छौं । हामी सन्तुलित अवस्थामा छौं र माल्दिभ्ससँग पहिलो खेल खेल्न तयार छौं । पहिलो खेल सधैं महत्वपूर्ण हुनेछ । यो प्रतियोगिता धेरै प्रतिस्पर्धात्मक हुनेछ ।

म टिमसँग लामो समयदेखि छु । विस्तारै सुधार भइरहेको छ । उमेरसमूहमा केही उपाधि जितेका छौं । टिममा सुधार छ । यस पटक राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु ।

हाम्रा खेलाडीमा अहिले फिटनेसलगायत सबै पक्षहरु सकारात्मक छन् । हामी हरेक खेल जित्दै जाने रणनीतिमा हुनेछौं । हामी प्रयास गर्नेछौँ ।

——–

सबिना खातुन, कप्तान
कोभिड १९ पछि पहिलोपल्ट साफ खेल्न पाउँदैछौं । हामी प्रतिस्पर्धाका लागि तयार छौं र हामीले राम्रो तयारी पनि गरेका छौं ।

हामी सबै टिमलाई सम्मान गछौं र राम्रो खेल्नेछौँ । धेरै खेलाडी लामो समयदेखि सँगै खेलिरहेको हुनाले हामीबीच राम्रो तालमेल छ ।

‘हाम्रो लक्ष्य राम्रो प्रदर्शन’
-आमिद लिजा, कप्तान, माल्दिभ्स

यस प्रतियोगिताले हामीलाई र महिला फुटबलको विकासका लागि सहयोग गर्नेछ । भारत, पाकिस्तान र बंगलादेशसँग खेल्नेछौँ । हाम्रो राम्रो राम्रो प्रदर्शन गर्ने हो ।

—-

-अहमद सरिफ, प्रशिक्षक
तयारी राम्रो भइरहेको छ । कोरोनाका कारण ३ वर्ष हामीले कुनै गतिविधि गर्न सकेनौं । अहिले यो प्रतियोगिताका लागिसक्दो राम्रो तयारी गरेका छौँ ।

‘८ वर्षपछि फर्कन पाउँदा उत्साहित छौं’
– मारिया खान, कप्तान, पाकिस्तान

अन्तर्राष्ट्रिय स्तरमा ८ वर्षपछि फर्केका छौँ । यो अवसरका लागि सबैलाई धन्यबाद छ । हामीले ६ हप्ताको तयारी गरेका छौं । हामी विहीबारको खेलका लागि प्रतीक्षारत छौं ।
टिममा सबैजना सकारात्मक छन् र एकदमै उत्साहित छौं । हाम्रो टिममा युएई र इंग्लयाण्डमा खेलेका खेलाडीहरु छन् । समूहचरणमा सबै खेलमा राम्रो गर्न प्रयासरत हुनेछौं । हाम्रो अहिलेको टिम राम्रो बनेको छ ।

—–

– रिज्की, प्रशिक्षक

हाम्रो तयारी राम्रो छ । टिममा क्षमतावान खेलाडीहरु छन् । हामी राम्रो खेल्नेछौं, आफ्नो शतप्रतिशत दिनेछौं । हाम्रो समूहमा दक्षिण एसियाकै उत्कृष्ट टिमहरु छन् ।

‘आर्थिक संकटले हामीलाई पनि असर गरेको छ’
– चामिन्दा, प्रशिक्षक, श्रीलंका

श्रीलंकाका प्रशिक्षक, कप्तान र म्यानेजर। तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यहाँ आउन पाउनु नै हाम्रा लागि ठूलो कुरा हो । सबैलाई धन्यबाद दिन चाहन्छु । संकटग्रस्त समयमा हामीसँग तयारीका लागि धेरै समय थिएन । एद्यपी चार हप्तानको प्रशिक्षण गरेका छौं ।

श्रीलंकामा सबै कुरामा संकट छ । अन्य विषयहरुमा जस्तै हामीलाई पनि असर परेको छ ।

‘उपाधि रक्षा चुनौतिपूर्ण हुनेछ’
– सुरेन क्षेत्री, प्रशिक्षक, भारत

हाम्रो तयारी राम्रो छ । सबै टिमको लागी धेरै समय चाहिन्छ । हामीले तयारीलाई केन्द्रित गरेका छौं । प्रतियोयगितामा केन्द्रित छौं । यसबीचमा जस्तो अवस्थाबाट गुज्रिए पनि हामी यहाँ खेल्न आउनु महत्वपूर्ण हो ।

टिममा केहि प्रमुख खेलाडीहरु छैनन् । त्यसैले उपाधि रक्षा गर्नु चुनौती हुन्छ । च्याम्पियन बन्न सजिलो छ तर, त्यसलाई कायम राख्न गाह्रो छ । हामी यहाँ साफका लागि आएका हौं र भविष्यमा अरु योजना पनि छ ।

——

– अशलता देवी, कप्तान

हामीसँग समय धेरै थिएन । अहिले यो प्रतियोगिताका लागि पूरा फोकस छौं । हामी धेरै समयदेखि यसका लागि पर्खिरहेका थियौं । हाम्रो लागि महत्वपूर्ण छ । तर, हामी उपाधि रक्षा हुनेमा विश्वस्त छौँ ।

यसबीचमा निलम्बनदेखि जे कुराहरु भयो त्यसलाई बिर्सेर अगाडि बढ्न चाहन्छौं । अहिले हामी खेलका लागि मात्र केन्द्रित छौं ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?