+
+

माओवादी विरोधमा उत्रिंदा एमाले फिल्म ‘प्रकाश’को बचाउमा, दरबारम्याक्समा पुगे ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १३:४५

काठमाडौं । फिल्म ‘प्रकाश’ हेर्दा पटक-पटक आफ्ना आँखा रसाएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । मंगलबार काठमाडौंको दरबार सिनेमामा फिल्म हेरेका उनले फिल्मलाई जीवन्त चित्रका रुपमा व्याख्या गर्दै आफू पटकपटक भावुक बनेको बताए ।

फिल्मपछि सञ्चारकर्मीसँग पोखरेलले भने, ‘अहिले मुलुकको यथार्थ स्थितिको एउटा पाटोलाई यसले बोकेको छ । त्यस हिसाबले यो महत्वपूर्ण छ । खासगरी बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि मुलुकले जे भोग्नुपर्‍यो राजनीतिक नारामा, परिवर्तनको नारामा, क्रान्तिकारी रुपान्तरणको नारामा, जे भोग्न पर्‍यो त्यो भोगाइको एउटा पाटो, सानो अंश यसले देखाएको छ । त्यस हिसाबले यो मलाई एकदमै मन पर्‍यो ।’

माओवादी युद्धप्रति लक्षित प्रतिक्रिया दिंदै पोखरेलले भने, ‘बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि मुलुक नयाँ सम्भावनाको साथमा अघि बढ्दै थियो त्यो सम्भावनालाई अवरुद्ध गर्ने हिसाबले जुन एउटा च्याप्टर ओपन भयो नि त्यो च्याप्टरसँग गासिएका विकृति विसंगति जुन हामीले अहिले पनि भोग्दैछौं त्यसको एउटा चित्र देखिन्छ यसमा ।’

उनले थपे, ‘जनयुद्धको नाममा, परिवर्तनको नाममा जे चीज भयो, अहिले त्यसको कस्तो असर भोग्दैछन् त नेपाली जनताले, नेपाल राष्ट्रले यसको एउटा जीवन्त चित्र हो यो ।’

पोखरेलले समाजमै भएका विषयवस्तुलाई सशक्त ढंगले फिल्ममा उतारेको भन्दै लेखक र निर्देशकको प्रशंसा गरे । यस्तै उनले कलाकारहरुको अभिनय आफूलाई उत्कृष्ट लागेको समेत बताए ।

दिनेश राउतको निर्देशन रहेको फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । प्रदीप खड्का, दीया मास्के, रेणु योगी, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले समेत प्रकाश फिल्म हेरेर यसले माओवादी युद्धलाई गलत चित्रण गरेको भन्दै आपत्ति व्यक्त गरेका थिए । फिल्मलाई लिएर राजनीतिक घोचपेच समेत तीव्र भएको छ ।

माओवादी नेताले फिल्मप्रति आपत्ति जनाउँदा एमालेले फिल्मले सही चित्रण गरेको भन्दै प्रशंसा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?