+
+

लघुवित्तको कर्जा सदुपयोगबारे अनुगमन गर्नुपर्छ : डेपुटी गभर्नर

नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले लघुवित्त संस्थाहरुमा विकृति बढेको गुनासो बढेसँगै निगरानी पनि बढाएको बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १८:४३

२१ भदौ, काडमाडौं । नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले लघुवित्त संस्थाहरुमा विकृति बढेको गुनासो बढेसँगै निगरानी पनि बढाएको बताएकी छन् । राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा लघुवित्त अभियान्ता समेत रहेका निर्धन उत्थान लघुवित्तको संस्थापक स्वर्गीय डा. हरिदेव पन्तको सातौं स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लघुवित्तको कर्जा सदुपयोग भएको छ कि छैन भन्दै प्रश्न उठाइन् ।

‘लघुवित्तले उत्पादनशील क्षेत्रमा गरेको लगानी कता गएको छ ? त्यसको सदुपयोग भएको छ की छैन ?’ उनको प्रश्न थियो । यसबारे नियमित रुपमा अनुगमन गर्न उनले लघुवित्तकर्मीलाई निर्देशन समेत दिइन् ।

उनले लघुवित्त संस्थाहरुले महिला सशक्तिकरण, गरिबी न्यूनीकरण,आर्थिक विकास र वित्तीय पहुँच वृद्धिमा गरेको योगदान सकारात्मक रहेको उल्लेख गरिन् । यद्यपि समावेशी आर्थिक विकासको कदहरुको बाबजुत पनि गरिबीको रेखामुनी रहेको जनसंख्या १८ प्रतिशत र वित्तीय पहुँच बाहिरको जनसंख्या २१ प्रतिशत रहेको उनले बताइन् ।

लघुवित्त कार्यक्रमले महिला सशक्तिकरण र आर्थिक विकासमा सहयोग गरेको उनको भनाइ छ । लघुवित्त संस्थाका सेवा पुगेका स्थानका महिलाहरु बढी सशक्त देखिएको अधिकांश लघुवित्त सदस्यहरुले छोरा र छोरीलाई समान व्यवहार गर्ने दीगो योजना बनाउने जस्ता सकारात्मक प्रयास भएको उनले बताइन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले पनि लघुवित्तको कर्जा दुरुपयोग भएको छ कि भन्दै प्रश्न उठाए । उनले एउटा प्रयोजनका लागि लिएको कर्जा अर्कै प्रयोजनमा खर्च गर्ने जस्ता विकृति लघुवित्त कार्यक्रमा देखिएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा हरेक वर्ष प्रदान हुँदै आएको डा. हरिहरदेव पन्त उत्कृष्ट शैक्षिक पुरस्कार दुई जनालाई, लघुउद्यमशील पुरस्कार प्रत्येक प्रदेश एक/एक गरी सात जना महिलालाई र आर्थिक पत्रकारिता पुरस्कार बिजयराज खनाललाई प्रदान गरिएको छ । उनीहरुलाई जनही नगद ५० हजार सहित सम्मानपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?