 
																						२२ भदौ, काठमाडौं । मतका हिसाबले कमजोर भए पनि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ अघिल्लो पटक लमजुङबाट फराकिलो अन्तरमा प्रतिनिधिसभा सदस्य चुनिए ।
गुरुङलाई जिताउन मुख्य शक्तिमा रहेको नेकपा एमालेको मत निर्णायक थियो । अर्कातिर नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङको सहयोग पनि । पार्टी एकता समेत गर्ने गरि वाम गठबन्धन गरेका एमाले र माओवादीले मुख्यमन्त्री बनाउने गरि पृथ्वीसुब्बालाई प्रदेशमा पठाए भने देव गुरुङले संघीय क्षेत्र पाए ।
पृथ्वीसुब्बाले अहिले फेरि प्रदेश रोजेका छन् । उनी लमजुङको प्रदेशसभा ‘ख’बाट उम्मेदवार सिफारिस भएका छन् । जिल्लामा पहिलो शक्ति रहेको एमालेका प्रभावशाली नेताले प्रदेश रोज्दा माओवादीका देव गुरुङलाई फाइदा पुग्ला ?
एमाले लमजुङका इन्चार्ज मायानाथ अधिकारी आफूहरुले सिफारिस गरेर पठाएका उम्मेदवार टक्कर दिन सक्षम रहेको भन्दै त्यसले खासै फरक नपर्ने बताउँछन् । ‘हाम्रो लागि जो उम्मेदवार सिफारिस हुनु भएको छ, उहाँहरु हुँदा टक्करका लागि कुनै समस्या हुँदैन,’ उनले अनलाइनखबरसित भने, ‘उहाँहरु प्रभावशाली उम्मेदवार नै हुनुहुन्छ ।’
एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको लमजुङमा एमालेबाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले र जिल्ला पार्टी सचिव सुभास पौडेलको नाम सिफारिस भएको छ । एमालेबाट सम्भवत घलेले नै टिकट पाउने छन् । उनले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका डा.टकराज गुरुङलाई हराएका थिए । गुरुङ हाल नेपाली कांग्रेसको जिल्ला सभापति छन् ।
एमाले लमजुङका इन्चार्ज अधिकारीले जिल्लामा एमाले मजबुत रहेको भन्दै जुनसुकै उम्मेदवार बने पनि जित्न कठिनाइ नहुने दाबी गरे । ‘हाम्रो पार्टीको प्रभावको हिसाबले पनि हामी यहाँ मजबुत छौं,’ उनको भनाइ छ, ‘अहिले पनि एमाले पहिलो शक्तिका रुपमा छ । व्यक्तिगत कारणले दुई/चार भोट तल–माथि होला तर पार्टीको भोटले जित्ने कुरामा कुनै समस्या छैन ।’

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वडागतरुपमा एमालेले पाएको मत ४० हजार १ सय ९७ छ । त्यस्तै नेपाली कांग्रेस ३५ हजार २ सय ७६ मतसहित दोस्रो र ६ हजार १ सय २७ मतसहित माओवादी केन्द्र तेस्रो भएको छ । एमाले जिल्लाको पहिलो शक्ति भए पनि कांग्रेस र माओवादी मिल्दा भने सत्ता गठबन्धन नै निर्णायक हुने देखिन्छ ।
देव गुरुङको नाममा कांग्रेस लचक
प्रतिनिधिसभाका लागि माओवादी केन्द्रले महासचिव गुरुङ र केन्द्रीय सदस्य देवेन्द्र पराजुलीको नाम सिफारिस गरेको छ ।
माओवादीबाट गुरुङले टिकट पाउने निश्चित जस्तै छ । माओवादी जिल्ला तहका नेताहरुका अनुसार विशेष परिस्थितिले गुरुङ उम्मेदवार नहुने खण्डमा विकल्पको रुपमा मात्रै पराजुलीको नाम पनि सिफारिस गरिएको हो ।

माओवादी जिल्ला इन्चार्ज पारसमणि पौडेल केन्द्रमा अझै भागबन्डा नटुंगिएकाले यसै हुन्छ भन्न नसकिए पनि जिल्लामा भने गठबन्धन गर्न कुनै कठिनाइ नरहेको बताउँछन् । ‘पार्टीहरुले केन्द्रबाट निर्णय नगरिसकेको अवस्थामा यस्तै हुन्छ पनि भन्न सकिएको छैन, तर, गठबन्धनभन्दा बाहिर गएर निर्वाचन हुन्छ भन्ने देखिंदैन,’ उनले अनलाइनखबरसित भने, ‘कांग्रेस पनि गठबन्धन कायम गरेर जानुपर्छ र गठबन्धन गर्दा नै गलत प्रवृत्तिको हार हुन्छ भन्ने कुरामा सहमत छ ।’
माओवादी केन्द्रका जिल्ला संयोजक लालबहादुर गुरुङले गठबन्धन भएमा नेपाली कांग्रेस पनि देव गुरुङलाई समर्थन गर्न तयार रहेको बताए । ‘गठबन्धन भएमा देव गुरुङलाई समर्थन गर्न उहाँहरु तयार नै हुनुहुन्छ,’ उनले भने ।
नेपाली कांग्रेसका जिल्ला सभापति गुरुङले पनि केन्द्रबाट देव गुरुङको नाममा सहमति भए त्यसलाई कार्यान्वयन गर्न समस्या नहुने बताए । ‘केन्द्रले गरेको निर्णय मान्ने कुरामा हाम्रो तर्फबाट जटिलता हुँदैन,’ अनलाइनखबरसितको कुराकानीमा गुरुङले भने, ‘देव गुरुङ नै जाने भन्ने कुरा भयो भने पनि हामी स्वीकार गर्छौं ।’
स्थानीय तहको चुनावमा माओवादीसँग गरेको गठबन्धन राम्रो भएको भन्दै कांग्रेस जिल्ला सभापति गुरुङले यसपालि अझ राम्रो तालमेल गर्ने बताए । ‘स्थानीय चुनावमा पहिलोचोटी गठबन्धनको अनुभव गर्यौं, त्योबाट धेरै कुरा सिकियो,’ उनले भने, ‘यसपटकको तालमेल धेरै राम्रो हुन्छ होला जस्तो मलाई लाग्छ ।’
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको छ सिफारिस सूचीमा अघिल्लो पटक देव गुरुङसँगै भिडेका दिलबहादुर घर्तीको नाम भने छैन ।
सिफारिस सूचीको पहिलो नम्बरमा जिल्ला सभापति डा. टकराज गुरुङको नाम छ । अन्यमा पूर्व जिल्ला सभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, नेताहरू विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा. बासुदेव गिरी छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4