
काठमाडौं । अब नेपालमा शुक्रबार मात्रै स्वदेशी र विदेशी फिल्म रिलिज गर्न पाइने भएको छ । नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघको कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
‘प्रदर्शनलाई व्यवस्थित गर्न फ्राइडे रिलिजको नियमलाई कडाइपूर्वक कार्यान्वयन गर्न लागेका हौं । कसैले यो नियमलाई अटेर गरे आन्दोलनका कार्यक्रम घोषणा गर्छौं,’ निर्णयबारे जानकारी दिंदै अध्यक्ष खड्काले अनलाइनखबरसँग भने ।
यस्तो निर्णयबारे चलचित्र विकास बोर्ड र प्रदर्शकको छाता संस्था चलचित्र संघलाई बोधार्थ जानकारी दिइने खड्काले बताए । ‘उहाँहरुले यदि नियमलाई अटेर गर्नुभयो भने हामी आन्दोलनमा उत्रिन्छौं,’ उनले भने, ‘फिल्म रिलिजको मनपरीलाई रोक्न पनि यस्तो गर्नु जरुरी छ ।’
दुई साताअघि बलिउड फिल्म ‘लाइगर’ बिहीबार रिलिज भएको थियो भने तीन नेपाली फिल्म शुक्रबार आएका थिए । ‘लाइगर’ बिहीबार नै आउँदा त्यसले प्रदर्शनरत नेपाली फिल्मको व्यापार असर गरेको निर्माता संघको धारणा छ ।
संघले नेपाली फिल्मको समस्या समाधान र चुनौतीबारे छलफल गर्न असोज ११ गते बृहत अन्तरक्रिया कार्यक्रम समेत गर्ने निर्णय गरेको छ । यो बैठकमा प्रदर्शन, वितरण, निर्माण र विदेशी फिल्मका परिस्थिति र चुनौतीबारे छलफल हुने जनाइएको छ ।
कतिपयले विदेशी फिल्मलाई आइतबार मात्र रिलिज गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर यो धारणामा चलचित्र संघ भने सकारात्मक छैन । चलचित्र संघले आकर्षक मितिमा फिल्म रिलिज गर्न पाइनुपर्ने धारणा राख्दै आएको छ ।
प्रतिक्रिया 4