+
+

धुमधाम घुमघाम : दशैंका लागि १० नौला गन्तव्य

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ भदौ २३ गते १७:३०

काठमाडौं । सुकिलो याम । न धेरै गर्मी, न जाडो । न झरी, न हुरी । दशैं-तिहारको घमाइलो मौसममा निस्फिक्री घुमफिर गर्नुको मज्जा नै बेग्लै हुन्छ ।

कामधन्दाबाट पाउने यो लामो विश्राममा नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ खानपान, नयाँ जीवनशैलीसँग साक्षात्कार गरिरहँदा वास्तवमै नयाँपनको अनुभूति हुन्छ । यस्तै अनुभूति सँगाल्नका लागि घुमघामको योजना बनाइरहेकाहरुले नयाँ-नयाँ गन्तव्य पहिल्याउन सक्छन् । नेपालमा यस्ता थुप्रै गन्तव्य छन्, जसले घुमफिरलाई रोमाञ्चक र स्मरणीय बनाइदिन्छ ।

दुनै (डोल्पा)

हिमालको चिसो सिरेटो, लेकाली जीवनशैली अनि रैथाने खान्की । भिन्न परिवेशमा रमाउन चाहनेका लागि गज्जबको गन्तव्य हो दुनै । यो डोल्पा जिल्लाको सदरमुकाम हो । यहाँ खान-बस्नको राम्रो प्रबन्ध छ । त्यसैले अतिरिक्त झन्झट व्यहोर्नुपर्दैन ।

आसपासमा अग्ला टाकुरा, माझमा कञ्चन हिमाली खोला । खोलाको दुवै किनारमा लमतन्न दुनै बजार । यो भू-बनोटले त्यसै पनि आगन्तुकको मन रोमाञ्चक बनाइदिन्छ । माटोले छाएका परम्परागत बस्तीहरु, आँखै अगाडि हिमाल, उकालो-भिरालो बाटोहरु । नयाँ अनुभव सँगाल्न चाहनेका लागि सही रोजाइ हुनसक्छ, दुनै ।

दुनै खासगरी स्याउको लागि प्रख्यात छ । दुनैबाट डेढ दिनको पैदलयात्रा गरेपछि देशकै प्रमुख पर्यकीय स्थलमध्येको फेक्सुण्डो ताल पुगिन्छ ।

पहिले यातायात नपुगेको जिल्ला भनेर चिनिन्थ्यो डोल्पालाई, तर नेपाली सेनाले बाटो खोलिदिएपछि डोल्पा सदरमुकाम दुनै सडक सञ्जालमा जोडिएको छ । सडक मार्ग तथा हवाई मार्गबाट पनि दुनै पुग्न सकिन्छ । डोल्पामा सडक भर्खरै पुगे पनि दुईवटा विमानस्थल छन् जुफाल र पहाडा । जुफाल विमानस्थल सदरमुकाम दुनैदेखि करिब ११ किलोमिटर दक्षिण पश्चिमको अग्लो भागमा छ ।

बुराउसे (हुम्ला)

‘होमस्टे’मा बास बस्न रुचाउनेका लागि हुम्लाको बुराउसे राम्रो विकल्प हो । हुम्ला सदरमुकाम सिमकोटलाई तिब्बतको सीमासँग जोड्ने सडकमार्फत यहाँ पुग्न सक्छ । नेपालको अन्य ठाउँबाट यस जिल्लामा पुग्ने साधन भनेको नेपालगन्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो । सिमकोटबाट एक घण्टाको पैदल यात्रापछि सहजै बुराउसे पुग्न सकिन्छ ।

बुराउसे हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानसरोवर जाने प्रमुख मार्गमध्ये एक हो । मानसरोवर जाने तीर्थ यात्रुको चाप बढे लगत्तै यहाँ सञ्चालित पहिलो होमस्टेमा बास बस्नेको संख्या बढ्छ । बुराउसेमा हुम्लाकै पहिलो सामुदायिक होमस्टे सञ्चालनमा आएको हो ।

होमस्टेमा आउने पाहुनाहरूलाई स्याब्रु नाच समेत देखाउने गरिएको छ । पाहुनालाई नाच देखाउन सजिलो होस् भनेर युनेस्को र गाउँपालिकाको सहयोगमा सामुदायिक भवनमा बनाइएको छ ।

त्यही सबै भेला भएर सांस्कृतिक कार्यक्रम देखाउँछन् । त्यसमा स्याब्रु, बाक्पा, महांकाल नाच देखाउँछन् । अन्यत्र सञ्चालन भएको होमस्टेमा नाच देखाउँदा यसको शुल्क लिने गरिएको भए पनि हुम्लामा भने तोकिएको छैन । तर होमस्टेमा आएका पाहुनाले स्वेच्छाले दिएको रकम स्वीकार गर्छन् । बुराउसेको होमस्टेहरुमा पाहुनालाई गरिने सत्कार नै यहाँको प्रमुख विशेषता हो ।

सन्दकपुर (इलाम)

इलाम र दार्जिलिङको सीमावर्ती गन्तव्य हो, सन्दकपुर । समुद्री सतहबाट ३६ सय ३६ मिटरको उचाइबाट देखिने अनन्तसम्मका दृश्यले आगन्तुकलाई मोहित बनाउँछ । जब सन्दकपुर पुग्छौं, त्यहाँबाट देखिने अद्भूत हिमशृंखलाको दृश्यले मन यसै पनि फुरुंग हुन्छ ।

कुहिरो भन्दा माथिको यो बस्तीमा चिसो सिरेटोले हिर्काइरहन्छ । त्यो चिसो स्पर्शले पनि बेग्लै अनुभूति दिलाउँछ । सूर्योदय र सूर्यास्त दृश्यका लागि सन्दकपुर सही गन्तव्य हो । यहाँबाट दर्जनौं हिमशृंखलाको दृश्य अवलोकन गर्न सकिन्छ ।

सन्दकपुरमा खान-बस्नका लागि राम्रो व्यवस्था छ । यहाँसम्म पुग्न इलाम बजारबाट जसबीरे, माइपोखरी, माइमझुवा हुँदै पैदल वा गाडीमा यात्रा गर्न सकिन्छ । त्यसैगरी बरबोटे, माबु हुँदै सन्दकपुरसम्म पुग्ने मोटरबाटो छ । विगतमा भने सन्दकपुरसम्म पुग्न दार्जिलिङको मानेभञ्ज्याङबाट पक्की बाटो छ ।

खुम्जुङ भ्याली (सोलुखुम्बु)

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पर्ने खुम्जुङ उपत्यकालाई हरित उपत्यका नामले चिनिन्छ । खुम्जुङ नाम्चे भन्दा केहीमाथि समुद्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको छ ।

खुम्जुङ पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट चारदेखि पाँच दिन पैदलयात्रा लाग्छ भने हवाई यात्रा मार्फत लुक्लाबाट तीन दिन लाग्छ । अस्तित्वमा छ भनेर दाबी गरिएको रहस्यमय जीव यतीको टाउकोको छाला यही उपत्यकाको खुन्देस्थित गुम्बामा रहेकाले पनि पर्यटकहरू खुम्जुङ पुग्छन् ।

यो उपत्यका शेर्पा समुदायले देवताका रूपमा पुज्ने खुम्बिह्यूला हिमालको काखैमा छ । अधिकांश शेर्पाको घरमा सञ्चालन गरिएको होमस्टेका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि खाने-बस्ने समस्या हुँदैन ।

लोमान्थाङ (मुस्ताङ)

लोमान्थाङलाई नेपालको मरुभूमि भनेर पनि चिनिन्छ । यो प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले आकर्षण भरिएको छ । स्थानीय मौलिकता र ऐतिहासिक गुफाहरूले झनै आकर्षण थपेको छ । वास्तविक हिमाली जीवन, हिमालसँगको साक्षात्कार, हजारौं वर्षअघिको नेपालको ऐतिहासिकता, पुरातात्त्विक संरचना आदि यहाँको विशेषता हो ।

लोमान्थाङ मुस्ताङ जिल्लाको उत्तरी भागमा रहेको एक विशेष संरक्षण क्षेत्र हो । लोमान्थाङ पुग्ने दुईवटा विकल्प छन् । एक हवाई मार्गको प्रयोग र अर्को सडक मार्गको प्रयोग । हवाई मार्गको प्रयोग चाहिं काठमाडौंबाट जोमसोमसम्म मात्रै हुन्छ । काठमाडौंबाट पोखरा र पोखराबाट जोमसोमसम्म हवाई यात्रा गर्न सकिन्छ । जोमसोमबाट गाडीमा जानुपर्ने हुन्छ ।

सडक मार्गको प्रयोग गर्दा भने काठमाडौंबाट जोमसोमसम्मै गाडीबाट पुग्न सकिन्छ । जोमसोमबाट छुसाङसम्म गाडीमा दुई घण्टामा पुगिन्छ । छुसाङबाट चैलेसम्म करिब ४५ मिनेट हिंड्नुपर्छ । मुस्ताङ गेट तरेपछि लोमान्थाङ जाने जीप बिहान ८ बजे पाइन्छ । समर, साङवोचे, घमी, गिलिङ, चराङ हुँदै लोमान्थाङ पुगिन्छ ।

घुमघामका लागि स्वदेशी तथा विदेशी पाहुनाको रोजाइमा पर्ने भएकाले यहाँ खान बस्नको लागि होमस्टे र होटेलको राम्रो व्यवस्था छ ।

क्यान्जेन उपत्यका (रसुवा)

तिब्बतको सीमावर्ती क्षेत्रमा पर्छ रसुवाको लाङटाङ । क्यान्जेन उपत्यका यही भूगोलभित्र समेटिएको अर्को प्राकृतिक-शिल्प हो । यसलाई हिमाली उपत्यकाको उपमा दिन सकिन्छ । चारैतिर हिम चुचुराले घेरेको क्यान्जेन उपत्यकाले विराट सौन्दर्यलाई आफ्नो गर्भमा समेटेको छ । त्यसो त प्राचीन धरोहर र धार्मिक आस्थाको संगमस्थल पनि हो ।

यहाँ अवस्थित क्यनजेन गुम्बा ७ सय वर्ष पुरानो रहेको बताइन्छ । यही गुम्बाको नामबाट उपत्यकाको नाम राखिएको हो । चिसो सिरेटोले हरदम स्पर्श गरिरहने क्यानजेन उपत्यका समुद्री सतहबाट तीन हजार ८५० मिटर माथि छ । लाङटाङ हिमाल हेर्न यो सबैभन्दा उपयुक्त स्थल पनि हो । यो बिन्दुबाट दोर्जे लाक्पा, लिरुङ, जुल, गाङछेम्पो जस्ता हिमाललाई नजिकबाट नाङ्गो आँखाले नियाल्न सकिन्छ ।

काठमाडौंबाट नुवाकोट, बेत्रावती, कालिका स्थान, धुन्चे, स्याफ्रुबेंसी, लामा होटेल, घोडा तबेला हुँदै लाङटाङ पुग्न सकिन्छ ।

क्यान्जेन उपत्यकामा घुमफिरको लागि स्वदेशीको साथै विदेशी पर्यटकको रोजाइमा पर्ने भएकाले खान बस्नको लागि राम्रा होटलको व्यवस्था छ ।

ओलाङचुङगोला (ताप्लेजुङ)

ताप्लेजुङमा विश्वको तेस्रो अग्लो हिमाल, धार्मिक आस्थाको केन्द्र पाथीभरा, ऐतिहासिक गुम्बाहरू यहाँको आकर्षण हुन् । यही जिल्लाको अर्को आकर्षण हो, ओलाङचुङगोला पनि ।

लेकाली बस्ती, गुजुमुज्ज घरहरू । भीमकाय पहाड र चाँदी झैं टल्किएको हिमाललाई पृष्ठभूमिमा पारेर लमतन्न फैलिएको बस्ती आफैंमा आकर्षक लाग्छ ।

ओलाङ्चुङगोला जानका लागि ताप्लेजुङको फुङलिङ बजार हुँदै जानु सहज हुन्छ । काठमाडौंबाट हवाई मार्गबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा ओर्लिएपछि यात्रा सुरु गर्न सकिन्छ । त्यहाँसम्म पुग्न गाडीमा पनि यात्रा गर्न सकिन्छ । फुङलिङदेखि पैदल हिंड्दै ओलाङचुङगोला पुग्न सकिन्छ । यद्यपि जीपमा गए पनि हुन्छ ।

त्रिपुरासुन्दरी (डोल्पा)

दशैं आफैंमा धार्मिक आस्थासँग जोडिएको पर्व पनि हो । धार्मिक, प्राकृतिक सौन्दर्य र हिमाली जनजीवन बुझ्न चाहनेका लागि डोल्पाको त्रिपुरासुन्दरी सही गन्तव्य हुन सक्छ ।

त्रिपुराकोटमा रहेको त्रिपुरासुन्दरी मन्दिर धार्मिक सम्पदा हो, जो सयौं वर्षअघि स्थापना भएको मानिन्छ । दुवैतर्फ खोला, बीचको अग्लो थुम्कामा मन्दिर र मनमोहक भू-बनोट ।

दशैंको बखत यहाँ ठूलो मेला लाग्छ । यो मेला नौरथाभरि जारी रहन्छ । मेला भर्न डोल्पाबाट दर्शनार्थीको ओइरो लाग्छ ।

त्रिपुरासुन्दरीको यात्रा गर्नुअघि आवश्यक खानेकुरा र बस्ने व्यवस्था भने मिलाउनुपर्छ । यहाँ खानपानको प्रबन्ध आफैंले मिलाउनुपर्छ । साथीभाइ वा परिवारसँग जाँदै हुनुहुन्छ भने टेन्टका साथ खाने, सुत्ने सामग्री पनि बोक्नुपर्ने हुन्छ ।

बेनी बजार (म्याग्दी)

काली गण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार अत्यन्तै सुन्दर बजार हो । बेनी धौलागिरी क्षेत्रका चार जिल्लाको मुख्य व्यापारिक केन्द्र समेत हो । यो पर्यटकीय दृष्टिले पनि आकर्षक गन्तव्य हो ।

काठमाडौंबाट बेनीसम्म बसमा एक दिनमा पुग्न सकिन्छ । हिमालपारिको जिल्ला मुस्ताङको मुख्य प्रवेशद्वारको रूपमा बेनी बजार रहेको छ ।

‘बेनीको बजार जता माया उतै त नजर किरेमिरे जाले रुमाल’ यो गीतले पनि बेनीको सुन्दरतालाई वर्णन गरेको छ । सडक, संरचनाको राम्रो व्यवस्था भएकाले पनि यहाँ बस्नको लागि एकदमै सुविधा सम्पन्न होटल छन् ।

मगर, छन्त्याल, क्षेत्री, ब्राह्मणका बस्ती र तिनका मौलिक जीवनशैली एवं संस्कृति बेनी बजारको विशेषता हो । यहाँ भएको धौलागिरी हिमशृंखला, भीर पाखा, खोलानाला, गुराँसे जंगल, उत्तीस र निगालो घारी, वन्यजन्तु जस्तै थार, नाउर, चराचुरुङ्गी आदि दृश्यावलोकन गर्दै रमाउन सकिन्छ ।

काठमाडौं

घुमघामको कुरा गरिरहँदा अक्सर काठमाडौंलाई केन्द्र बनाएर त्यस आसपासका गन्तव्यको चर्चा गरिन्छ । तर काठमाडौं आफैंमा पनि घुमफिरका लागि सुनौलो गन्तव्य हो । यातायात, खानपान, मनोरञ्जन सबैको राम्रो व्यवस्था भएकाले खासगरी पारिवारिक भ्रमणका लागि काठमाडौं सहज गन्तव्य हुन सक्छ ।

विभिन्न मिथक र इतिहासलाई आफ्नो गर्भमा राखेर उभिएको काठमाडौंमा घुम्न, हेर्न, खान, अनुभव गर्न अनेकथरी कुरा छन् । तपाईं चाहे प्राचीन वास्तुशिल्पमा रुचि राख्नुहोस् वा धार्मिक आस्थामा, काठमाडौं तपाईंको सही रोजाइ हुनसक्छ । नयाँ-नयाँ स्वाद चाख्न होस् वा मनोरञ्जनका अनेक अनुभव संगाल्न, काठमाडौं तपाईंको उपयुक्त ठाउँ हुनसक्छ । मुलुककै राजधानी सहर काठमाडौंमा के छैन ?

बौद्ध र हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो यो उपत्यका, विभिन्न चाडपर्व, संस्कृति, रीतिरिवाजको केन्द्र हो यो । यहाँका रैथाने नेवार समुदायको कला, संस्कृति र चालचलनले जोकोहीलाई लोभ्याउँछ ।

शिवपुरी, फुल्चोकी, नागार्जुन र चन्द्रागिरि जस्ता चार ठूला पहाडको बीचमा रहेको उपत्यका समुद्री सतहबाट १४ सय मिटरको उचाइमा रहेको छ ।

धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको काठमाडौं सहरको इतिहास लगभग दुई हजार वर्ष पुरानो मानिन्छ । काठमाडौं उपत्यकामा स्वयम्भू, बौद्ध, पशुपतिनाथ, हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र जस्ता विश्वसम्पदा सूचीमा समावेश स्थलहरु छन् । जुन देशविदेशका पर्यटकहरुका लागि जहिल्यै आकर्षण बन्छन् ।

देशको राजधानी र ठूलो सहर भएकाले काठमाडौंमा खानबस्नको लागि आफ्नो क्षमताअनुसारका होटल तथा लज पाइन्छन् । पाँचतारे होटलदेखि सामान्य लजसम्म यहाँ उपलब्ध छन् । थोरै पैसा खर्च गरेर घुम्न चाहने र धनाढ्य पर्यटक दुवैलाई काठमाडौं उपयुक्त गन्तव्य हो ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?