+
+

बीपीलाई लाग्थ्यो : एलिजाबेथ गएपछि मात्रै महेन्द्रले ‘कू’ गर्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १७:४७
सन् १९६० मा लण्डनमा राजा महेन्द्रसँग बेलायतकी महारानी एलिजाबेथ द्वितीय ।

२४ भदौ, काठमाडौं । हिजो बितेकी बेलायती महारानी एलिजाबेथ द्वितीय संसारमै लामो समय शासन गर्नेमध्येकी पर्छिन् । कतिसम्म भने, उनले राजगद्दीमा बस्दा नेपालमा राणाकाल ढलेको एक वर्ष पनि पूरा भएको थिएन । राजा त्रिभुवनदेखि ज्ञानेन्द्रसम्म, अनि गणतन्त्रका १५ वर्षसम्म नेपाल रहँदै गर्दा यहाँ विभिन्न शासन प्रणाली चले, तर बेलायतसँगको सबैभन्दा पुरानो दौत्य सम्बन्ध कायमै रह्यो ।

यिनै एलिजाबेथबारे बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा केही रोचक प्रसंग केलाएका छन् । संयोगले आज बीपीको १०९ औं जन्मजयन्ती हो ।

तिनै बीपीले राजासँग आफ्नो बिग्रँदो सम्बन्ध, अनि आफूलाई जेलमा थुनेर अधिनायकवाद ल्याउने उनको तयारीका बारेमा किताबमा गणेशराज शर्मासँग बोलेका छन्, जहाँ एलिजाबेथ भ्रमणको प्रसंग उल्लेख छ ।

यहाँ चर्चा गर्न लागिएको प्रसंग कू अघि सुवर्णशमशेर राणासँग बीपीको संवादको हो । बीपीलाई पछि अनुमान हुन्छ, पक्कै सुवर्णलाई राजाको तत्कालै चालिने सम्भावित कदमबारे जानकारी थियो । बीपीले किताबमा चर्चा गरे अनुसार प्रसंग यस्तो छ ।

सुवर्णशमशेरले बीपीलाई भन्छन्, ‘कू त गर्छन् राजाले । तर एउटा ठूलो प्रजातान्त्रिक देशकी रानी आउने बेलामा डिक्टेटरसिप ल्याएर राजाले गलत सन्देश देलान् जस्तो मलाई लाग्दैन ।’

सुवर्ण थप्छन्, ‘तर मार्चपछि चाहिँ कू गर्छन्, गर्छन् । तबसम्म टाइम छ । म फर्केर (भारतबाट) आएपछि के उपाय गर्ने हो गरौंला ।’

बीपी आत्मवृत्तान्तमा बताउँछन्, ‘मलाई लाग्छ, सुवर्णजी गएकै दिन राजाको मसँग बाझाबाझ भएको थियो ।’ किताबका अनुसार जोगीको कान्डमा आफूलाई मुछेको भन्दै राजा रिसाएका थिए । जोगी भनेर महेन्द्रले योगी नरहरिनाथलाई भनेका थिए । बीपीका अनुसार नरहरिनाथ दरबारको इशारामा कांग्रेस सरकारविरुद्ध धार्मिक भड्काउका गतिविधि गर्दै हिँडेका थिए ।

बीपी र सुवर्णले प्रजातान्त्रिक देशकी महारानीले राजाको सम्भावित कू का कारण भ्रमण रद्द गर्न सक्ने खतरा भएकाले महेन्द्रले त्यस्तो जोखिम उठाउँदैनन् भन्ने ठानेका थिए । तर त्यस्तो भएन । महेन्द्रले १ पुस ०१७ मा कु गरे । त्यसको लगत्तै महारानी एलिजाबेथ आइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?