+
+

हेभिवेटविरुद्ध चुनाव लड्ने इन्जिनियर अधिकारीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १३:३६

२४ भदौ, दाङ । इन्जिनियर विशाल अधिकारीले दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । विज्ञप्ती निकालेर उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । यो माओवादी केन्द्रका उपाध्यक्ष महरा यसअघि निर्वाचित भएको क्षेत्र हो । यसपटक फेरि पनि महरा नै पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार हुने नेताहरु बताउँछन् । एमाले महासचिव पोखरेल यही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एकल सिफारिस भएका छन् ।

यी दुई हेभिवेट नेताहरु लड्दै गरेको क्षेत्रमा इन्जिनियर अधिकारीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । अधिकारी दाङ घोराहीका स्थानीय वासिन्दा हुन् ।

दाङ विकासको संभावनाले निकै अगाडि रहेको तर, नेतृत्वको दुरदर्सिताको अभावमा पछाडि परेको भन्दै उनले विकास र समृद्धिलाई नै नारा बनाएका छन् । ‘मुलुकमा अब थप राजनीतिक अधिकार प्राप्तिको आन्दोलन आवश्यक छैन् । छ त केवल सुशासन, आर्थिक विकास र समुन्नत नेपाल निर्माणको अभियान’ अधिकारीले विज्ञप्तिमा लेखेका छन् ।

समुन्नत समाजका लागि नयाँ सोच र विकासको मोडलबारे जानकारी भएकाहरूले नेतृत्व गर्नुपर्छ भन्ने आम आवाज रहेको उल्लेख गर्दै उनले विज्ञप्तिमा लेखेका छन्, ‘दिगो र भरपर्दो विकासका लागि योगदान गर्ने दृढ इच्छाका साथ मैले लुम्बिनी प्रदेश दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको छु ।’

एसियाकै ठूलो उपत्यका भएर पनि दाङ विकास र समृद्धिका दृष्टिले पछाडि परेको र यसको कारण ठोस नीतिगत दबाब र दृढ इच्छाशक्तिको अभाव हो भन्ने अधिकारीलाई लाग्छ । यस सम्बन्धमा प्रष्ट दृष्टिकोणसहित चुनावी मैदानमा उत्रिएको उनको घोषणा छ । ‘कृषियोग्य भूमिमा भएका अव्यवस्थित औद्योगिकरणको नियन्त्रण, वायु प्रदुषण र मानव स्वास्थ्यलाई ख्याल गर्नेगरी दिगो विकास । साथसाथै, सडक पूर्वाधारमा देखिएको समस्या समाधानको प्रष्ट खाकासहित चुनावी मैदानमा उत्रिएको छु’ विज्ञप्तिमा उल्लेख छ ।

दाङसँगको हवाई सम्बन्धलाई थप व्यवस्थित गर्ने, भारतसँग जोडिएका कोइलाबास लगायतका नाका सञ्चालन गर्न पहल गर्ने, दाङलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न पहल गर्ने उनको प्रतिवद्धता छ । ‘दाङ विकास मोडेल’ देशभर फैलाउने र यसका लागि संघीय संसद्मार्फत नीतिगत तहमै प्रभाव पार्ने दृढ इच्छाशक्ति छ’ उनी लेख्छन्, ‘प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मेरो ध्यान मैले प्राप्त गरेको इन्जिनियरिङ ज्ञानलाई विषय विज्ञहरुको सुझाव लिएर सामाजिक कार्य गर्दाको अनुभवलाई समेत समेटेर संघीय नीति निर्माणमा बढ्ता केन्द्रित हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?