+
+

दरबारसँग जनता बिच्केपछि एलिजाबेथले निकालेको त्यो जुक्ति

२७ वर्षको उमेरमा एलिजाबेथ द्वितीय बेलायतकी महारानी बनिन् । यस बीचमा उनले अनेक उतारचढाव बेहोर्नुपर्‍यो । कहिलेकाहिँ त राजतन्त्रकै भविष्यसमेत के होला भनेर प्रश्न र आशंकाहरु उठे । तर ती सबैलाई सम्बोधन गर्दै उनले बेलायतका नागरिकको चित्त बुझाउने प्रयास गरिन्, जुन काम अक्सर राजारानीहरु गर्दैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १४:२५

२४ भदौ, काठमाडौं । कहिले भविष्यका राजाले ‘कमनर’ बनेर परम्पराबाहिरकी केटीसँग बिहे गर्ने घोषणा, कहिले गम्भीर दुर्घटनामा राजपरिवार सदस्य बित्दा पनि समयमा सम्बोधन नहुनु । अनि कहिले रंगभेदी टिप्पणी गरेको आरोप ।

उसमाथि ‘द सन्’ जस्ता कभर स्टोरी छापिराख्ने पत्रिकामा विवादास्पद खबर । बकिंघम प्यालेसलाई नागरिकको आस्था बनिराख्न कम्ती गाह्रो कुरो थिएन ।

अनि यी सबै परिघटना एउटै व्यक्तिले सामना गर्नुपर्‍यो । ७० वर्षसम्म महारानी बन्न पुगेकी एलिजावेथ द्वितीय यी सबै तीतामिठा परिवेशकी भुक्तभोगी बनिन् ।

२७ वर्षको उमेरमा एलिजाबेथ द्वितीय बेलायतकी महारानी बनिन् । यस बीचमा उनले अनेक उतारचढाव बेहोर्नुपर्‍यो । कहिलेकाहिँ त राजतन्त्रकै भविष्यसमेत के होला भनेर प्रश्न र आशंकाहरु उठे । तर ती सबैलाई सम्बोधन गर्दै उनले बेलायतका नागरिकको चित्त बुझाउने प्रयास गरिन्, जुन काम अक्सर राजारानीहरु गर्दैनन् ।

बुवाको निधन भएपछि जेठो सन्तानको रुपमा एलिजाबेथले राजगद्दी सम्हाल्नुपर्ने भएको थियो । सन् १९५३ को जुन २ मा उनले राजगद्दी सम्हालिन् । उनको राज्याभिषेक समारोहको विश्वभरका टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण गरे ।

त्यसको केही वर्षमै विश्वभर फैलिएको ब्रिटिस साम्राज्य खुम्चियो । सन् १९६० देखि त बेलायतको समाजमा ठूला परिवर्तनहरु देखा परे । राजाहरुका लागि यो कम सम्मानजनक थियो । यसैक्रममा एलिजाबेथले जनतासँग नजिक हुने गरी विभिन्न सार्वजनिक समारोहमा भाग लिन थालिन् ।

यद्यपि उनको जिन्दगीमा निजी र सार्वजनिक दुःखद घटनाहरु पनि रहे । सन् १९९२ मा भीषण आगलागी हुँदा महारानीको निजी निवास र कार्यस्थल ध्वस्त भयो । उनका दुई सन्तानको छोडपत्र समेत भयो ।

सन् १९९७ मा पेरिसमा भएको एक कार दुर्घटनामा राजकुमारी डायनाको निधन भयो । यसबारेमा सार्वजनिक रुपमा कुरा नगरेको भनेर महारानी एलिजाबेथको आलोचनासमेत भयो । आधुनिक समाजमा राजशाही कति प्रासंगिक छ भनेर पनि बहस भयो ।

त्यतिबेला उनले स्वीकार गरेकी थिइन्, ‘कुनै पनि संस्थाले यो सोच्नु हुँदैन कि जनताको प्रश्नबाट म टाढै छु भनेर ।’

बेलायतमा ७० वर्षसम्म शासन गरेकी उनको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो । अब उनका जेठा छोरा चार्ल्सले नयाँ राजाको रुपमा राजकाज सम्हाल्ने छन् ।

महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो ।

एलिजाबेथका पालामा बेलायतमा व्यापक राजनीतिक र सामाजिक परिवर्तनहरु भए । उनले राजकाज सम्हालेका बेला बेलायत दोस्रो विश्वयुद्धको मारमा थियो । एउटा साम्राज्यको राष्ट्रमण्डलमा रुपान्तरण, शीतयुद्धको अन्त्य र बेलायत युरोपेली युनियनमा सहभागी भएर फेरि अलग हुनु जस्ता उतारचढावहरु भए ।

उनको कार्यकालमा १५ जना प्रधानमन्त्री बने । उनको पालामा सबैभन्दा पहिले १८७४ मा जन्मिएका विस्टन चर्चिल प्रधानमन्त्री बने । त्यसको १०१ वर्षपछि १९७५ मा जन्मिएकी लिज ट्रस केही दिन अघि मात्र प्रधानमन्त्री नियुक्त भएकी छिन् ।

एलिजाबेथ महारानी बन्ने छिन् भनेर सायद कसैले पनि कल्पना गरेको थिएन । सन् १९३६ मा उनको ठूलो बुवा (बुवाको दाइ) एडवर्ड अष्टमले अमेरिकी नागरिक लालिस सिम्पसनसँग बिहे गर्नका लागि राजगद्दी त्यागेका थिए ।

त्यसपछि एलिजाबेथका बुवा अल्बर्ट राजगद्दीमा बसे । त्यसपछि अल्बर्टको जेठो सन्तानको रुपमा १० वर्षीय लिलिबेट राजगद्दीको उत्तराधिकारी बनिन् । एलिजाबेथलाई परिवारमा बोलाउने नाम लिलिबेट हो ।

त्यसको त्यस वर्षपछि बेलायत नाजी जर्मनीसँग युद्ध लडिरहेको थियो । एलिजाबेथ र उनकी बहिनी प्रिन्सेज मारग्रेटले युद्धको क्रममा अधिक समय विन्डसर क्यासलमा बिताए । उनका परिवारजनले राजकुमारीलाई सुरक्षित रुपमा क्यानडा लगेर राख्ने सुझावलाई नकारे ।

युद्धको क्रममा ग्रिसका राजकुमार फिलिपसँग उनको पत्र आदान प्रदान भयो । राजकुमार फिलिपले रोयल नेभीमा काम गर्दथे । दुबैबीच माया बस्यो । १९४७ नोभेम्बर २० मा एलिजाबेथ र फिलिपले बिहे गरे । फिलिपको सन् २०२१ मा ९९ वर्षको उमेरमा निधन भयो । त्यतिबेला एलिजाबेथले भनेकी थिइन्, ‘उनी मेरो शक्ति थिए, म त्यसैमा टिकेकी थिएँ ।’

एलिजाबेथ र फिलिपबाट तीन छोरा र एक छोरी भए । जेठो छोरो राजकुमार चार्ल्सको जन्म १९४८ मा भएको थियो । एलिजाबेथको निधन भएपछि अब जेठो सन्तान भएकाले राजकुमार चार्ल्स बेलायतको राजा बन्नेछन् ।

सन् १९५२ मा एलिजाबेथ केन्यामा थिइन् । त्यहीबेला उनले आफ्नो बुवाको निधन भएको सूचना पाएकी थिइन् । उनी तुरुन्तै लण्डन फर्किइन् । त्यतिबेला उनले भनेकी थिइन्, ‘अचानक प्राप्त जिम्मेवारी सही तरिकाले निर्वाह गर्ने चुनौती आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?