+
+
भैरहवाको भुईंबाट-१० :

नेपालीको भात भान्सा महँगाइरहेको सुनौलीको जाम

भन्सार पूर्वाधार नबन्दा भैरहवापारिको सुनौली बजारमा नेपाल भित्रिने सवारीहरु लामो जाममा बस्न बाध्य छन् । भारततर्फ सडकमै हुने सुस्त भन्सार जाँचपासले मालसामानको पैठारी लागत बढाइरहेकाले नेपालमा उत्पादन लागत र मूल्य वृद्धि हुँदा नेपाली उपभोक्ताकै भान्साको खर्च समेत बढिरहेको छ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ भदौ २४ गते २०:४६

२४ भदौ, काठमाडौं । भैरहवाको नाका पारी सुनौली बजारमा भारतबाट नेपाल आउन लागेका मालबाहक ट्रकको लामो जाम छ । २ दिनदेखि नौतन्वाबाट लागेको यही जाममा फसेका छन्, अम्जद खान र उनका सहचालक ।

‘गाडी सडकमा खडा गरेर खाने काम सजिलो छैन, वरिपरि कतै शौचालय हुदैन’, खान भन्छन्, ‘योभन्दा वीरगञ्ज नाका धेरै सजिलो । तुरुन्त गाडी भन्सार भित्र जान्छ, तुरुन्तै निस्कछ ।’
भारतबाट सर्फ र साबुन लिएर आएका उनले अगाडिको बाटो सम्झदै भने, ‘काठमाडौं जाने रोड उस्तै खराब छ । कान समात्छु, अब यो नाका भएर आउँदैनौं ।’

दुई दिन जाममा परेर भैरहवा भन्सारको यार्डमा गाडी छिराएका रामसुन्दर यादव एकै दिनमा पास भएर जान नपाएकोमा दिक्क माने । ‘फटाफट काम नहुने नियम छ, रोड उस्तै गडबड छ, हामीले कस्लाई भन्नु ?’ उनी भन्छन्, ‘हामी ड्राइभर, कसलाई के गर्न सक्छौं, चुप बस्ने बाहेक ।’

भैरहवाको सुख्खा बन्दरगाहमा ट्रक कुरेर बसेका सनी सलाम हुसैनको पनि ‘दिमाग खराब’ भएको छ । ‘यत्रो पार्किङमा तपाईंले कतै एउटा धारो या ह्यान्ड पम्प देख्नुभो ?’ उनले भने, ‘ट्वाइलेट जान त सपनाको कुरा पानी पिउन र हातमुख धुन पनि नपाइने पार्किङ । चियानास्ता गर्ने एउटा पसल सम्म छैन । क्या हालत !’

अर्का चालक शंकर देवगणले नौतन्वाबाट सुनौली, भैरहवा, बुटवल, नारायणगढ हुँदै काठमाडौं पुग्दा कलियुगको महाभारत जिते बराबर हुने बताए ।

आईसीपी नबन्दाको दुःख

दुई लेनको नौतन्वा–सुनौली सडकमा भारतबाट माल लिएर आउने र नेपालबाट रित्तै वा लोड फर्कने ट्रकहरु लर्को लाग्छ । व्यस्त सुनौली बजारका कारण भन्दा बढी यहाँ जाम भन्सार जाँचपासका सुस्त प्रक्रियाका कारण लाग्छ ।

भारतीय भन्सारतर्फको प्रक्रिया पूरा गरेर नेपालतर्फको भन्सार जाँचपास पूरा गर्न २ दिन वा त्यो भन्दा बढी लाग्छ । भन्सार कार्यालयको यार्डसम्म आइपुग्न नै मालबाहक सवारीहरु ९ किलोमिटरसम्मको जाममा फस्छन् ।

बल्लबल्ल भन्सार प्रकृया पूरा गरेर निस्किएका मालबाहक ट्रकहरु त्यसपछि निर्माण थालेर अलपत्र पारिएको बुटवल–नारायणगढ सडकखण्डको सास्तीमा पर्छन् ।

भारतबाट आयात हुने कृषिजन्य, औद्योगिक, व्यवसायिक तथा निर्माणजन्य सामग्रीहरु बाटोमा यसरी अलपत्र पर्दा त्यसको मूल्य देशले नै चुकाइरहनु परेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल एकीकृत भन्सार जाँच चौकी (आईसीपी) नबनेसम्म यो समस्या रहने बताउँछन् ।

भैरहवामा आईसीपी बनाउने योजना पनि नभएको हैन । बेलहियासहित चार नाकामा भारत सरकारको लगानीमा आईसीपी निर्माण गर्ने समझदारीपत्रमा २०६४ सालमै हस्ताक्षर भएको भएको थियो । त्यसअनुसार वीरगञ्ज र विराटनगरमा आईसीपी चलिसके, नेपालगञ्जमा निर्माणधीन छ । सुनौली–बेलहिया नाकामा भने कहिले सुरु हुने हो, अत्तोपत्तो छैन ।

आईसीपी भन्सारको स्मार्ट अवधारणा हो । दुई देशको सीमामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउन आईसीपी बनाइन्छ । यसबाट दुई मुलुकबीचको व्यापार सहजीकरण मात्रै हुँदैन, खुला नाकामा हुने अवैध गतिविधि नियन्त्रणमा पनि सघाउ पुग्छ ।
आईसीपीमा एकै ठाउँमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटल, पशु र बनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा हुन्छन् ।

आईसीपी सञ्चालनमा आएपछि मालवाहक गाडीको जाम मात्र हैन, कमिसन र भन्सार छलीको खेल पनि कम हुन्छ । अहिले भारतीय भन्सारमा लामो समय अल्झाएर बढी पार्किङ शुल्क असुल्ने काम भइरहेको नेपाली भन्सार अधिकारीहरु बताउँछन् ।

आईसीपी बने नौतन्वादेखि भैरहवासम्म कार्गे रेल चलाउने बाटो पनि खुल्छ । तर, भैरहवामा आईसीपी नबन्दा भारतीय समुन्द्री बन्दरगाह हुँदै तेस्रो मुलुकबाट नेपाल आउने बढीजसो कार्गो र कन्टेनर वीरगञ्ज नाका जाने गरेको छ ।

आधुनिक उपकरण प्रयोग हुने आईसीपीमा भन्सार जाँचपास प्रणाली सरल हुन्छ । आईसीपीले जरिबानाको भार पनि घटाउने भैरहवा भन्सारका एक अधिकारी बताउँछन् ।

‘नेपालगञ्ज र विराटनगरमा भन्दा पहिले भैरहवामा आईसीपी बन्नुपर्ने हो’, ती अधिकारी भन्छन्, ‘तर खै किन, यसमा भारतीय पक्षले चासो नदिएको अनुभव छ ।’

नेपाल सरकारले भैरहवामा आईसीपी बनाउन ५२ बिघा जग्गा अधिग्रहण गरेको ८ वर्ष भयो । भारतीय पक्षले भने आफ्नोतर्फ जग्गा प्राप्त भएको जानकारी हालसालै मात्र गराएको भैरहवा भन्सार कार्यालय प्रमुख ढकालले बताए ।

‘आईसीपी निर्माणको काम अब फटाफट अगाडि बढे समस्या हल हुन धेरै समय नलाग्ला’, उनले भने ।

वीरगञ्ज र अन्यत्र सोझिए गाडी

उद्योगी– व्यवसायीहरु वीरगञ्जपछि अधिक चाप हुने भैरहवा नाका व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम नहुनु दुःखद् भएको बताउँछन् । उनीहरुका अनुसार २०७२ को मधेश आन्दोलन र नाकाबन्दीमा मुलुकको ‘लाइफलाइन’ बनेको थियो, भैरहवा नाका ।

भैरहवा नाकाको सास्तीका कारण अहिले आयातकर्ता आईसीपी र आधुनिक सुविधायुक्त सुख्खा बन्दरगाह रहेको वीरगञ्ज फर्किएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७२/७३ मा भैरहवा भन्सारबाट हुने आयातको अंश कुल आयातमा २४.०७ प्रतिशत थियो । आव ०७८/७९ मा भैरहवा भन्सारको यस्तो हिस्सा १५.४० मा झर्यो । आव ०७२/७३ मा ३५.७३ प्रतिशत रहेको वीरगञ्ज नाकाको आयात हिस्सा अहिले ४८.१३ प्रतिशत पुगेको छ ।

भैरहवा भन्सार हाताभित्र ट्रकहरु रोकेर सामान जाँचपास गर्न समस्या छ । यो समस्याले आयात वृद्धिदर र राजस्व असुलीमा असर गरेको छ । भैरहवामा सास्तीका कारण ट्रान्सपोर्टरहरु पनि विकल्प खोज्न थालेका छन् ।

उत्पादन लागत र मूल्य बढाउँदै जाम

दैनिकजसो लाग्ने जामले व्यापार प्रभावित हुँदा सुनौली बजारका व्यवसायीहरु पनि रुष्ट छन् । मालसामान भैरहवाको बाटो भएर आयात गर्ने उद्योगी–व्यवसायी यसको सबैभन्दा ठूलो मार खेपिरहेका छन् ।

उद्योग व्यापार संघ, रुपन्देहीका निर्वतमान अध्यक्ष नारायण भण्डारी सुनौलीको जाममा कुनै–कुनै बेला २० किलोमिटर लामो हुने बताउँछन् । हालको भारतीय भन्सार जाँचपास पद्धति पीडादायी भएको उनले बताए ।

यार्ड नभएकोले भारतीय भन्सार अधिकारी र प्रहरीहरुले नेपाल आउने मालबाहक गाडीलाई सडकमै रोकेर भन्सार जाँच गर्छन् । सडकमा सवारी लाम लगाएर एक–एक गर्दै भन्सार जाँचपास गर्ने प्रणाली दिक्कलाग्दो छ । लेन अनुशासन कमजोर रहेको भारतमा यसबाट जामको समस्या थपिने गरेको छ ।

भारतीय प्रहरीले घुस खाएर ठूला ट्रक र लरीलाई लाइनको बीचमा घुसाइदिने गर्दा जाँचपास र जामको समस्या झन थपिने आयातकर्ताहरु बताउँछन् ।

अहिले दैनिक औसत ३–४ सय मालबाहक ट्रक सुनौली नाका हुँदै नेपाल भित्रिन्छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने वीरगञ्जमाजस्तै आईसीपी बन्यो भने भैरहवाबाट दैनिक ७–८ सय मालबाहक सवारी जाँचपास भएर गन्तब्यतर्फ लाग्ने बताउँछन् ।

उनका अनुसार सडकमा गाडी रोकिंदा आयातकर्ता व्यवसायीले भारतीय ट्रान्सपोर्टर र भन्सारलाई महँगो विलम्ब शुल्क (डिटेन्सन चार्ज) पनि तिर्नुपरिरहेको छ । सामान लोड भएको एक हप्ताभित्र मालबाहक सवारी नेपाल प्रवेश गरिसक्नुपर्ने नियम भएपनि जामका कारण धेरैजसो सवारी यस्तो शुल्क तिर्न बाध्य हुन्छन् । डिटेन्सन चार्जबापत दैनिक साना गाडीको दुई हजार पाँच सय र कन्टेनरको २० हजार भारतीय रुपैयाँ तिर्छन् ।

नौतन्वाबाट भैरहवा आउन ढिला भए दिनगन्तीअनुसार खर्च बढ्ने गरेको व्यवसायीको गुनासो छ । अहिले भैरहवाबाट हुने ढुवानीमा प्रतिटन औसत १ हजार रुपैयाँ थप खर्च हुँदै आएको व्यवसायीको दाबी छ । आईसीपी बनेको भए यस्तो खर्च २ सय रुपैयाँमा झर्ने उनीहरु बताउँछन् ।

यसरी हुने थप खर्चले देशलाई नै घाटा भइरहेको उद्योग व्यापार संघका निर्वतमान अध्यक्ष भण्डारी बताउँछन् । भन्सार विन्दुमै आइपुगेका सवारी पनि जामका कारण उम्किन नपाउने र जरिवाना तिर्नुपर्ने अवस्था अन्यायपूर्ण भएको उनले बताए ।

महँगो विलम्ब शुल्क तिर्नुपर्दा वस्तुको आयात र उत्पादन लगात बढ्न पुगेको भण्डारी बताउँछन् । ‘त्यसको सोझो असर उपभोक्ता मूल्यमा पर्छ,’ उनी भन्छन्, ‘आयात महँगो बनाइरहेको सुनौलीको जाम हटाउन छिटो आईसीपी बनाउन पर्‍यो ।’

समयमै कच्चापदार्थ आइनपुग्दा नेपालका उद्योगहरु प्रभावित भएर बजारमा कतिपय उत्पादनको अभाव समेत हुने गरेको उनले बताए ।

नेपालतर्फको सुख्खा बन्दरगाह व्यवस्थापन पनि कमजोर छ । मालबाहक सवारी व्यवस्थापनमा खासै चासो नदिने इन्टरमोडल यातायात विकास समितिको कार्यशैलीले पनि समस्या बढाएको निर्यातकर्ताहरुको आरोप छ ।

‘सडकमा जाम र भन्सारमा सास्तीले अन्ततः नेपाली उपभोक्ताको भातभान्सा महँगो बनाइरहेको छ,’ उद्योग व्यापार संघ, रुपन्देहीका निर्वतमान अध्यक्ष भण्डारी भन्छन्, ‘हामीले लगातार उठाएको आईसीपी बनाउने आवाजलाई व्यापारीको मात्र विषय ठानेर हो कि सुन्ने कोही भएनन् । सरकारले उपभोक्तातर्फ पनि सोचे हुने थियो ।’

तस्वीर/भिडियो-आर्यन धिमाल

भैरहवाको भुईंबाट–१

भैरहवाको भुईंबाट–२

भैरहवाको भुईंबाट-३

भैरहवाको भुईंबाट-४

भैरहवाको भुईंबाट-५

भैरहवाको भुईंबाट-६

भैरहवाको भुईंबाट-७

भैरहवाको भुईंबाट-८

भैरहवाको भुईंबाट-९

भैरहवाको भुईंबाट-९

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?