+
+
सांस्कृतिक संस्मरण :

पाहुना बनेकी कालिञ्चोकदेवी

अब कालिञ्चोकमा मानिसको चहलपहल बढ्दै गएकाले देवी भगवतीले त्यसैगरी विचरणको अवसर पाउँदिनन् होला । वायुपंखी विमानमा विचरण गर्ने कालिञ्चोकदेवी भगवतीलाई केवलकारमा सयर गर्ने सुविधा थपिएको छ ।

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ भदौ २५ गते १६:५३

त्यो धुमिल संस्मरण । मेरो उमेर त्यस्तै १० वर्षको हुनुपर्छ । डोकोमा बोक्ने मानिस को थिए मलाई याद छैन । आमाको न्यानो आत्मीयतासँग म कालिञ्चोकको यात्रामा थिएँ ।

झण्डै ४० वर्षअघिको कालिञ्चोकको पहुँच अहिलेको जस्तो सहज थिएन । चरिकोटबाट मिर्मिरे उज्यालोमा उकालो लागेपछि मन्दिरको दर्शन गरेर घर र्फकंदा झमक्क साँझ परिसकेको हुन्थ्यो । मलाई त के थियो र डोकोमा थपक्क बसेर कसैको काँधबाट कालिञ्चोकको सौन्दर्य नियालिरहेको हुन्थें ।

घना जंगलको उकालो हुँदै कालिञ्चोक यात्रा अघि बढ्थ्यो । बाटोमा वन्यजन्तुको डर थियो । यात्रामा रहेको मेरी आमा र अरु धेरै आफन्त वन्यजन्तुको डरकै कारण समूह बनाएर अघि बढिरहेका थिए । तर म निर्धक्क थिएँ, किनभने मेरो साथमा मेरी आमा थिइन् । आमाको आत्मीय साथले मलाई कुनै कुराको डर थिएन । रमाइरहेको थिएँ म । डोकोको बिडमा समाउँदै खुसीले चिच्याउँथे म ।

आमाको साथ नपाएको १३ वर्ष बितिसकेको छ । मनको पीडा र थकानले रन्थनिएको बेला एक्लै बसेर रुन मन लाग्छ । अनि आमाको आत्मीय साथको असाध्य अभाव खट्किन्छ । हो त्यतिबेलै कसैको न्यानो स्पर्श महसुस हुन्छ, ढाडसका आवाज कानमा गुञ्जन्छ- छोरा म कहीं गएको छैन, तेरो हरेक खुसीमा, पीडामा, सफलतामा र सकसहरुमा म साथमै हुन्छु, म कहीं गएको छैन छोरा तँलाई छोडेर ।

सिरिङ्ग हुन्छ शरीर । रौं उम्रन्छन् शरीरभरि । अनि ढुक्क लाग्छ- हो त मेरी आमा सधैं मेरै साथमा त छिन् नि । डोकोमा बसेर कालिञ्चोकको यात्रा तय गर्दाको बालसुलभमा पनि आमा थिइन्, अभिभाराको डोको आफूले काँधमा बोकेर तय गरेको यो यात्रामा पनि आमा साथमै छिन् ।

म फेरि कालिञ्चोक यात्रालाई सम्झन्छु- त्यतिबेला कुरीमा कुनै बस्ती थिएन । गैरीमा भने फाट्टफुट्ट चौंरी गोठ भेटिन्थे । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्केपछि गैरी झरेर खाना पकाएर खानुपथ्र्यो । कस्तो अचम्म खाना पाक्यो भनेर थालमा राख्यो एकैछिनमा काँचै हुने । मलाई अचम्म लाग्थ्यो, किन यस्तो हुन्छ होला । अहिले बुझ्दैछु त्यतिबेला कालिञ्चोक क्षेत्रमा अत्यधिक चिसो भएकाले खाना काँचै बस्ने रहेछ ।

कालिञ्चोकसँग प्रकृतिको सुन्दरता जोडिएको छ र कालिञ्चोक देवीको किंवदन्ती पनि । त्यसैले कालिञ्चोक इतिहासको दर्बिलो सत्य भनेर अहिले पनि हजारौं पर्यटकलाई स्वागत गरिरहेको छ ।
सत्य किंवदन्तीको साक्षी झैं दोलखा सहरका शान्तकृष्ण श्रेष्ठ र तीर्थनारायण जोशीबाट कालिञ्चोक भगवतीको पौराणिक कथा सुनेको छु । तामाकोशीको तीरमा दिदी त्रिपुरासुन्दरी र बैनी बालकुमारीलाई छोडेर सुटुक्क कालिञ्चोकको टापुमा पुगेकी कालिञ्चोक देवीको पाउले पवित्र बनेको छ यो भूमि । कालिञ्चोक देवीको आगमनकै कारणले होला झण्डै चार हजार (३ हजार ८४२ मिटर) उचाइको सानो कुण्डमा पनि चौबिसै घण्टा पानी रहने टापुको नाम कालिञ्चोक रहन गएको ।

तत्कालीन दोलखा राज्यका तान्त्रिक सिन्दु र विन्दुले तामाकोशीको तीरमा भेटेका तीन दिदी बैनी त्रिपुरासुन्दरी, कालिञ्चोकदेवी भगवती र बालकुमारी मध्यत्रिपुरासुन्दरी र बालकुमारीले दोलखा सहरमै बस्न चाहे पनि कालिञ्चोकदेवी भने त्यही सानो कुण्ड भएको टाकुरामा जान चाहिन् । र, जसलाई कालिञ्चोक भनियो ।

आधुनिक विकाससँग बहकिंदै अगाडि बढेको कालिञ्चोकले किंवदन्तीका सांस्कृतिक पात्रहरुलाई काल्पनिक रुपमै भए पनि ग्रहण गर्न सक्यो भने पनि एउटा युगले त्यसलाई कथा कहानीको परिवेश बनाएर वर्णन गर्न सक्नेछ

वसन्त र ग्रीष्म ऋतुमा थरीथरीका हिमाल र सुगन्धित फूलले मनमोहक बनाउँछ कालिञ्चोकलाई । वषर्ा र शरद ऋतुमा निरन्तरको झरीसँग बादलुको घुम्टोभित्र लुकामारी खेल्दा विवाहको पहिलो रात लाजले रातो बनेकी नवदुलही भन्दा कम हुँदैन कालिञ्चोक । अनि हेमन्त र शिशिर ऋतुमा निरन्तर फुस्फुसाउने भुवादार हिउँको वषर्ाले सेताम्य बनाउँदा महादेव-पार्वतीले लुकामारी खेल्ने कैलाश पर्वत झैं लाग्छ कालिञ्चोक ।

हो यही पवित्र भूमिभरि सेताम्य फैलिएका हिउँका तन्नामा कालिञ्चोकदेवी भगवतीले आफ्नो कोमल पाउको पदचापसँगै आगमनको सन्देश दिएको किंवदन्ती प्रचलनमा छ ।

मैले तीन दिदीबहिनीको चर्चा गरें । इतिहासका ज्ञाताहरुले कालिञ्चोकदेवी भगवतीका २७ दिदीबहिनीहरु रहेको किंवदन्ती सुनाउने गरेका छन् । तीमध्ये १७ दिदीबहिनी काठमाडौं उपत्यकामा र १० दिदीबहिनी दोलखा तथा आसपास रहेको उल्लेख गरिन्छ । दोलखा आसपास रहेका देवीहरुमध्ये कालिञ्चोक देवी भगवतीसँगै सुन्द्रावती, डुमकोटस्थित कालिकादेवी, सुनखानीस्थित कालिका, लादुकस्थित कमलादेवी, दोलखास्थित त्रिपुरासुन्दरी र बज्रयोगिनी, महाकाली भगवती, पिस्करस्थित बैधीदेवी र देवीखोला तिरस्थित कालिकादेवी हुन् भनिन्छ ।

कालिञ्चोक देवी भगवतीसँग सम्बन्धित अर्को किंवदन्ती पनि प्रचलनमा छ- देवतालाई दानवले दुःख दिई राज्यबाट च्यूत गराएपछि उनीहरु देवीको शरणमा गए । देवताहरुको आराधनाबाट खुसी भएकी देवीले दानवहरुलाई युद्धमा परास्त गरिन् । यसरी दानवहरुलाई परास्त गर्ने क्रममा एउटा रक्तवीज राक्षससँग युद्ध गर्नुपर्ने भयो । रक्तवीजको एक थोपा रगत जमिनमा पर्ने बित्तिकै एउटा दानव उत्पन्न हुने भएकाले त्यो दानवको रगत चुहिन नदिन देवीको आहृवानमा काली उन्पन्न भइन् । कालीले रक्तवीजको रगत भुईंमा पर्न नदिई त्यसलाई मारिन् । यसरी कालीले रक्तवीज लगायतका दानवलाई मारेको स्थान कालिञ्चोक टापु हो भनिन्छ ।

कालिञ्चोकको टापु साँच्चै अद्भूत छ । १० वर्षको उमेरमा डोकोमा बसेर आमाको आत्मीय साथले पहिलो पटक कालिञ्चोकको टापु टेकेयता म धेरै पटक पुगेको छु त्यहाँ । र, हरेक पटक फलामको भर्‍याङ चढेर कहालीलाग्दो खोंचलाई चिहाउँदै टापुमा पुग्दा चारैतिर मुस्कुराउने हिउँका दन्तलहरले मनलाई आल्हादित बनाइदिन्छ ।

कालिञ्चोकको यो टापुमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी तपस्या गरेको हो रे । त्यसैले यो टापुलाई महादेव-पार्वतीको वासस्थान पनि भनिन्छ । भेंडाले चाट्ने गरेपछि देखिएको कालिञ्चोकको जलकुण्डबाट दाहिनेतिर तामाको धारा भई बगेर तामाकोशी बनेको र देब्रेतिर सुनको धारा भई बगेर सुनकोशी बनेको किंवदन्ती पनि प्रचलनमा छ ।

कालिञ्चोकको यो टाकुरामा जनैपूणिर्मा, विजयादशमी जस्ता पर्वमा भव्य मेला लाग्ने गर्छ । मानिसहरु सुनाउँछन्- मेलाको बेला सानो टापुमा पनि हजारौं मानिस अट्न सक्छन् । साँच्चै टापुबाट तल कुरीतिर चिहाउँदा अत्यास लाग्छ । मेलामा कसरी त्यतिधेरै मानिस त्यो सानो टापुमा अट्छन् होला आश्चर्य छ ।

कालिञ्चोक भगवतीको आत्मीयता यद्यपि दोलखा सहरसँग गाँसिएको छ । परापूर्वकालमा दोलखा राज्य -सहर)का मानिसलाई महिसासुर लगायतको दानवले दुःख दिंदा कालिञ्चोकको आराधना गरी शक्ति प्राप्त भई दानवहरुलाई परास्त गर्न सकिएको किंवदन्तीकै निरन्तरता घण्टकर्णको अघिल्लो दिन दि्वतीयमा दोलखा बजारबाट कालिञ्चोक जाने र तृतीयामा र्फकने प्रचलन कायमै छ । उक्त दिन कालिञ्चोकको आराधना गरी शक्ति प्राप्त भएपछि दोलखा बजारमा महिषासुरको बध गरेको किंवदन्ती सुन्न सकिन्छ ।

अझ हिले जात्राको दिन कालिञ्चोक भगवतीलाई पाहुनाको रुपमा दोलखा बजार ल्याउने र कागे अष्टमीको दिन फर्काउने प्रचलन समेत रहेको किंवदन्ती तीर्थनारायण जोशीले सुनाउँदै गर्दा आदर सत्कारको संस्कृतिमा हामी नेपाली कति धनी छौं भन्ने भावले पुलकित तुल्याउँछ । त्यसैले त भनिन्छ, एउटा धार्मिक अध्याय पूरा गर्न दोलखा सहरको भीमेश्वरलाई दर्शन गरेर मात्र कालिञ्चोक भगवतीको पूजा आराधना गर्न उकालो लाग्नुपर्छ ।

अहिले कालिञ्चोकको यात्रा निक्कै सहज भएको छ । चरिकोटबाट कुरीसम्मको १७ किलोमिटर साना सवारीसाधनमा गुडेर पुग्ने र त्यहाँबाट केवलकारमा हिमाली दृश्य अवलोकन गर्दै टाकुरामा पुग्ने सुविधाले धार्मिक पर्यटकको संख्या निक्कै बढेको छ । कुरीमा प्रशस्तै सुविधासम्पन्न होटल समेत भएकाले हिमपातको समयमा मस्तसँग हिउँमा रमाउँदै रात बिताउने पर्यटक समेत बढेका छन् । केही दिनअघि हामी त्यहाँ पुग्दा यो कुरा प्रत्यक्ष देख्न पायौं । तर धेरै पर्यटकहरुको गुनासो भने होटल-व्यवसायीहरुले आत्मीय आतिथ्य जोड नदिएकोमा पाइयो । यसतर्फ होटल तथा केवलकार व्यवसायीहरुले ध्यान पुर्‍याए सुनमा सुगन्ध हुनेथियो ।

कालिञ्चोकदेवी भगवतीले कुरीका आसपास र माथि टाकुरामा विचरण गरेका धेरै किंवदन्ती कथा कहानी बनेका छन् । अब कालिञ्चोकमा मानिसको चहलपहल बढ्दै गएकाले देवी भगवतीले त्यसैगरी विचरणको अवसर पाउँदिनन् होला । वायुपंखी विमानमा विचरण गर्ने कालिञ्चोकदेवी भगवतीलाई केवलकारमा सयर गर्ने सुविधा थपिएको छ । कालिञ्चोकदेवी भगवतीले साँझपख हिउँले ढाकिएको कुरीका टहराहरु र गौरीशंकरको हिमश्रृंखला नियाल्दै गणेश हिमाललाई बाँया पारेर केवलकारमा सयर गरेको दृश्य कति लोभलाग्दो हुन्थ्यो होला ।

सांस्कृतिक आस्थामा बाँधिएको किंवदन्तीको पात्रलाई आधुनिक प्रविधि युगको विकाससँग कल्पना गर्दा पनि मनमा एक किसिमको तरंग ल्याउँछ । आधुनिक विकाससँग बहकिंदै अगाडि बढेको कालिञ्चोकले किंवदन्तीका सांस्कृतिक पात्रहरुलाई काल्पनिक रुपमै भए पनि ग्रहण गर्न सक्यो भने पनि एउटा युगले त्यसलाई कथा कहानीको परिवेश बनाएर वर्णन गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?