+
+

पर्या साहित्यको पोको बोकेर ब्रह्मपुत्रको छेउछाउ

दिउँसो ब्रह्मपुत्रको टापुमा अवस्थित उमानन्द मन्दिर दर्शनार्थ वारि कचरीघाटमा डुङ्गा पर्खिबसेका छौं । आँखाले नभ्याउने पानीको अथाह आयतन र त्यसका मन्द छालहरु । यति धेरै पानी बगाउन तिब्बतको पठारमा कति धेरै उच्च हिमशृङ्खलाहरु पग्लिए होलान् ?

विजय हितान विजय हितान
२०७९ भदौ २५ गते १९:५१

हामी भैरहवा बस्दा ‘भैरहवा-काकटभिट्टा’ नाइट बस चल्थ्यो । हरेक दिन सबेरै खलासीको मुखबाट सुन्ने नाम हो काकटभिट्टा । स्कुलमा भूगोल विषय पढाउँदा गुरुबाट पनि सुनेको हुँ नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा महाकाली भनेर ।

हो आज म त्यही मेची नजिकको काकडभिट्टा आइपुगेको छु र पल्टेको छु एक होटेलको विस्तारामा । मसँगै प्रा. डा. कुमार कोइरालाको दम्पति र प्रा. डा. विष्णुसिंङ राई पनि सँगै हुनुहुन्छ । भोलि बिहानै अरु केहीसँग यहीँ भेटेर तर्नु छ मेची नदी र लाग्नु छ असमतिर । अथवा भनौं जागिरको व्यस्ततालाई केही दिन थन्क्याई गरिएको प्रथम साहित्यिक भ्रमणमा ।

११ अप्रिल २०२२ । प्रा. डा. गोविन्दराज भट्टराई सरसंग बिर्तामोडबाट आएका अरु छ जनाको टोली हामीसँग मिसिनुहुन्छ र मेची नदी तर्दै आरम्भ हुन्छ हाम्रो यात्रा । असम, शिलगढी, गुवाहटी, सिलाङको बारेमा मेरो लाहुरे बाजेको मुखबाट सानोमा सुनेको थिएँ । तर कहिल्यै यो माटो टेकेको थिइन ।

न्यू जलपाइगुढीबाट रेल समात्नु छ । प्लेटफर्ममा पुगेर दुई घन्टा रेल पर्खन्छौं । यो यात्रामा गोविन्दराज सरबाहेक मेरा लागि सबै नौला । हामीलाई एक अर्काबीच अन्तरघुलन हुन त्यति समय लागेन । हामी सबैमा हाँसिमजाक गर्ने वातावरणले पनि यात्रा रमाइलो भइरहेको थियो । कुमार कोइराला र खगेन्द्र भट्टराईको बीचबीचमा अर्थपूर्ण ठट्यौलीले कतिबेला यी गाउँ र बस्तीहरुलाई छिचोल्दै अगाडि बढेका थियौं ।

कमलराज भट्टराई उर्फ माइल दाजू हाँस्न र हसाउन मध्यम स्तरका । बिष्णु सिङ सर धेरै नबोल्ने, प्राय ध्यानमग्न र मुसुमुसु मुस्कुराउने स्वाभावका । अन्य सहयात्री प्रा. डा. अन्जना वस्ती भट्टराई, सुवाना कोइराला, निर्मला खतिवडा भट्टराई र डा. ब्यन्जना शर्मा पनि कुरामा कुरा थप्दै हाँस्न र हसाउन रमाउने । सबैमा गज्जबको सेन्स अफ ह्युमर !

प्लेटफर्ममा चिया पसल, टक्क जिब्रोमा झुन्डिने स्वाद तर दुई सुरुपमै निथ्रिहाल्ने । यो पल्ट भने बेलायत सम्झिएँ र सम्झिएँ जाडो होस् कि बर्खाको याम- ठूलो मगभरि चियाले हुत्याउदै आकाशतिर फ्याँकेको बाफ । रेल आइपुगेछ । हतार त थियो नै तर यही समय रेलको लिकभरि छरिएका फोहोरलाई लेबरले बढार्दै गरेका । ती मैला ढ्वाङमा नफालेर किन रेलको लिकतिर मिल्काएका होलान यात्रुले, मैले बुझ्नै सकिन ।

एकैपटक युरोप र एसियाली देशका मानिसबीच चेतनाको स्तर दिमागमा रिङ्यो । प्लेटफर्मको एक कुनामा रहेको पानी भर्ने भेन्डिङ मेसिनमा ५ रुपैयाँ छिराएपछि आफ्नै बोतलमा एक लिटर पानी भर्न पाइने । प्लास्टिकका वोतलको प्रयोग कम होस भनेर यस्तो व्यावस्था गरिएको हुनपर्थ्यो । तर फोहोरको थुप्रोले भने मनलाई त्यसै त्यसै खिन्न बनाइरह्यो ।

एकैछिन पछि हामी चढेको राजधानी एक्सप्रेस गुवाहटितिर दगुर्छ । कालो धुवाँको मुस्लो छोड्छ कि जस्तो लागेको थियो, तर छोडेन । भारतमा आजकल रेलहरु बिजुलीले चल्दा रहेछन् । सरकारको कार्वन फुटप्रिन्ट कम गराउने एक पहल । यो यात्रा वातावरणमैत्री हुने भो भनेर खुशी हुन्छु ।

रेलको झ्यालबाट बाहिर हेर्दा समथर जमिन देखिन्छ । सयौं किलोमिटर पार गर्दासम्म पानीका पोखरी, नदिनाला, हरिया खेतका फाँटले पछ्याइरहन्छन् । म सोचेर गम खान्छु । बेलायतमा जस्तो यहाँ पनि अत्याधुनिक प्रविधि र रसायनिक मल प्रयोग गरेर खेती गरिएको भए त्यसले जैविक विविधतामा कस्तो ह्रास ल्याउथ्यो ? अनायसै माटोमुनिका गड्यौंलालाई सम्झन पुग्छु ।

यस रेल यात्रामा विकास निर्माणका संरचनाले हरियालीलाई ओझेलमा पारेको भेटिन । असममा कतै पनि वातावरणीय समस्या छ जस्तो लागेन । द्रुत गतिमा अघि बढ्दै गरेको रेलको झ्यालबाट यो सम्पूर्ण दृष्य विशाल सिमसार जस्तो देखिन्छ । र आफूलाई त्यही सिमसारमाथिको आकाशमा उड्दै गरेको एक आगन्तुक चराझैँ लाग्छ ।

असमसँगको मेरो सम्बन्ध सन् २०२० मा मात्रै सुरु भएको हो । यो सम्बन्ध वातावरण साहित्य गोष्ठीले विस्तार गरेको थियो । यताका सर्जकलाई वातावरण साहित्यको महत्त्व र यसको जरुरीबारे सचेतना फैलाउने सेतु समालोचक ज्ञानबहादुर क्षत्री हुनुहुन्छ । यो सुमधुर सम्बन्ध सन् २०२१ सम्म आइपुग्दा डा. देवेन्द्र सापकोटा, क्षेत्रमान सुब्बा, अञ्जन बास्कोटा, डा. खगेन शर्मा, धर्मेन्द्र उपाध्याय, महिम आचार्य, निलिमा आचार्य, डा. सरिता शर्मा, विलोक शर्मा, पूर्ण शर्मा, चन्द्रमणि उपाध्याय, नीता गुरुङ लगायत एक दर्जन भन्दा बढी स्रष्टाहरुसँग फैलिसकेको थियो ।

पछिल्लो समयमा असममा रहेर नेपाली भाषा साहित्यमा दखल राख्ने धेरै अनुज पुस्ताले पर्या साहित्यको गम्भीरतालाई मनन गरिसकेको छ । असममा पर्या साहित्यको झिल्को बलिसकेको र अब त्यसलाई ज्वालाको रुपमा विस्तार गर्न मात्र बाँकी रहेको त्यहाँको सर्जकहरुको भाव थियो ।

परपर देखिने हावाले हल्लाइरहेको सुपारीको बोट र भुईंघरहरुले म भित्र एक प्रकारको भाव पैदा गर्छ । रेलमा साँझको खाना बाँड्न थालियो । बेगले दगुरिरहेको रेलको कारण एकजनाको पत्लुङमा पहेलो दाल पोखिएछ । मलाई चाहिँ विष्णुसिङ् सरको आत्मकथामा लेखिएको दाल र भातको कविता याद आयो । याद पनि कस कसको आउने यहाँ । सबै सम्झनाहरुको बारेमा भो नभनौं । तर कुमार सरको आग्रहको कारण म आत्मकथाको किताब झिक्छु र कविताको केही अंश पढेर सुनाउछु ।

…उनको मेरो साथ
जस्तो दाल र भात
सहज, सरल तर
एकबिना अर्को अधुरो, अपुरो
एकको लागि अर्को अपरिहार्य ।…

कवितामा दाललाई श्रीमान र भातलाई श्रीमतीको प्रतीकको रुपमा व्यक्त गरिएको छ । दाल पोख्याइएको संयोगसँगै यो कविता ठ्याक्कै मिलेको जस्तो लागेर सबैजना हाँस्छन् । यस्तै गर्दागर्दै रेल गुवाहटी आईसकेछ ।

डा. खगेन शर्मा लिन आउनुभएको रहेछ । झमक्कै परेको साँझपख रेलवे स्टेशनमा हतारमा झोला पकड्न आउने कुल्लीहरुलाई छिचोल्दै हामी दसजना लस्कर लागेर बाहिर निस्कन्छौं । खुद्रा ब्यापारीले ढपक्कै ढाकेको साँघुरा सडक पेटी हुँदै खगेनजीलाई पछ्याउदै होटेलतिर लाग्छौं ।

ब्रम्हपुत्रको छेउ पुगेको क्षण

भोलिपल्ट ब्रेकफास्टपछि कमाख्ख मन्दिर दर्शन गर्न जान्छौं । असमीहरुको महान चाड बिहू पर्व परेको हुनाले मन्दिर फूल र हरिया पातले दुलहीसरि सिङ्गारिएको रहेछ । भाकल गरेर छोडिएका परेवाले छपक्कै छाना छोपिएको । बोकाहरु मन्दिर परिसरमा त्यसै छोडिएका ।

मन्दिरबाट बाहिरिने क्रममा मेरो नजर देब्रेतिरको ‘इन अगुरेसन प्रोग्राम, साइन्टिफिक सोलिड वेस्ट मेनेजमेन्ट प्लान्ट’ लेखिएको द्वारमा पर्छ । म भित्र के रहेछ भनी पस्छु । मन्दिरमा चढाइएका माला र फूलहरुको थुप्रो भुइँभरि रहेछन् । अन्त कतै लगी कम्पोष्ट मल बनाउनलाई हुन सक्छ भनी मैले सोचें । यति धेरै धार्मिक महत्व बोकेको पुरानो शहरको फोहोर झन्डै काठमाडौं भन्दा कम रहेनछ ।

दिउँसो ब्रम्हपुत्रको टापुमा अवस्थित उमानन्द मन्दिर दर्शनार्थ वारी कचरीघाटमा डुङ्गा पर्खिबसेका छौं । आँखाले नभ्याउने पानीको अथाह आयतन र त्यसका मन्द छालहरु । किनारलाई छुदै बगेका पानीको गति देख्दा म भित्र भएको अनुभूतिलाई शब्दमा व्यक्त गर्न सक्दिन । यति धेरै पानी बगाउन तिव्बतको पठारमा कति धेरै उच्च हिमशृङ्खलाहरु पग्लिए होलान् ?

मानिसहरु भगवान सम्झिएर अञ्जुलीमा पानी उभाएर सूर्यलाई चढाउछन् र पिउँछन् । म इकोलोजीको विद्यार्थी भएकाले नदीलाई धार्मिक दृष्टिकोणले हेर्दिन । बरु म यसको इकोलोजिकल महत्व के छ भनी हेर्छु । ब्रम्हापुत्रमा नारायणीमा जस्तो गोही र कोशीमा जस्तो डल्फिन होलान् कि नाइ भनी सोच्दै पानीको तरङ्गसंगै आँखा तैराउँछु ।

माछाका प्रकार र पानीको शद्धता कस्तो होला भनी सोच्दै गर्दा एउटा होर्डिङ बोर्डमा मेरो नजर पर्छ । त्यसमा पीएच, कन्डक्टिभिटी, डिजोल्भ अक्सिजन, बायोलोजिकल अक्सिजन डिमान्ड, नाइट्रेट, र फिकल कोलिफर्मको तथ्याङ्क सार्वजनिक गरिएको हुन्छ । डिजोल्भ अक्सिजन जस्ता जल-स्वच्छन्दताका यी मापदण्ड माछालगायत जलचरका लागि अति आवश्यक पर्ने रासायनिक तत्वहरु हुन । पानीको स्वच्छतामा घटबढ आउनसाथ नदीका जलचर प्रभावित हुन सक्छन् ।

पानीको स्वच्छन्दता के कस्तो छ भनी सर्वसाधारणलाई जानकारी दिन यो बोर्ड टाँगिएको हुनुपर्ने । फिकल कोलिफर्म दिसापिसाबमा पाइने व्याक्टेरिया हो । यसले झाडापखाला रोग उत्पन्न गर्छ । यसको पनि मापन गरिने भनेपछि सायद गुवाहटी शहरको दिसा पिसाबको ढल यही नदीमै बिसर्जन गरिँदो हो । ढललाई वैज्ञानिक तरिकाले प्रशोधन गरिन्छ होला कि नाइ ?

यो पानी सिँचाइमा त प्रयोग गरिन्छ होला नै, पिउने पानीको रुपमा पनि प्रयोग गरिँदो हो । वैज्ञानिक तरिकाले प्रशोधन गरेर वितरण गरिन्छ कि त्यसै गरिन्छ होला ? मनमा यस्ता प्रश्नहरु उत्पन्न भइरहे । मानसपटलमा यिनै कुराहरु खेलाउदै डुंगा चढेर २० मिनेटपछि टापुमा पुग्छौं । मन्दिरको बाहिरैबाट एक फन्को लगाउदै वरिपरिका वृक्ष र त्यहाँ बसेका चराहरु हेर्दै म रमाउँछु ।

साँझ नेपाली साहित्यका शिखर पुरूष लीलबहादुर क्षत्रीको निवासस्थान पुग्छौं । ९० बर्षको उमेरमा पनि उहाँमा उस्तै तन्दुरुस्ती ! म मनमनै दीर्घायुको कामना गर्छु र मेरो ‘ब्लु प्लानेट’ कथा संग्रह उहाँलाई प्रदान गर्छु ।

विश्वनाथमा अन्तर्राष्ट्रिय गोष्ठी

भोलिपल्ट दिनभरको बस यात्राले हामीलाई विश्वनाथ पुर्‍याउँछ । पर्सि १४ अप्रिलको दिन, बिहानै देवेन सापकोटा र महिम आचार्य विस्तरामै लिन आए । बिहानको चिसोमा मलाई कारमा हालेर ब्रम्हापुत्र नदी देखाउन लग्छन् । नदी आफ्नो विशाल छाती फुकाएर निश्चल बग्दै थियो । औंलाले देखाउदै उता पारि…. काजिरंगा निकुञ्ज पर्छ भने महिमले । ‘अर्कोपल्टको तपाईंको असम भ्रमण निकुञ्जका गैंडा र हात्ती हेर्ने पर्या-पर्यटकको रुपमा मात्रै हुनपर्छ’ देवेन भन्छन् ।

आज हाम्रो भ्रमणको मूल कार्यक्रम- ‘साहित्य र जीवनमा नव चेतना’ सम्पन्न हुन्छ । जसको संयोजन ‘स्वतन्त्र संग्राम सेनानी प्रसादसिंह शुब्बा स्मृति प्रतिष्ठान’ र ‘विश्वनाथ कलेज नेपाली विभाग’ ले गरेको थियो । एउटा सेसनमा ‘पर्या साहित्य- आजको आवश्यकता र महत्व’ विषयमा मेरो पनि प्रस्तुति रहन्छ ।

नेपाली साहित्य लेखनहरु धेरैजसो मानवीय जीवन वरिपरि मात्रै केन्द्रित छन् । तर हिमरेखा किन झन् माथि चढ्दै छ ? बाघ, भालु, गैँडा किन लोप हुँदै छन् ? पोखरी र खोला किन दूषित हुँदै छन् ? तिनलाई संवर्द्धन र संरक्षण किन र कसरी गर्नुपर्छ भन्ने तर्फ हाम्रो दृष्टि परेको छैन, न हामीले यसतर्फ कलम नै चलाएका छौं । तर पछिल्लो दशकयता नेपाली साहित्यमा पर्यावरण सम्बन्धी बहस सुरु भएको छ ।

अञ्जना भाउजु, गोविन्दराज, कुमार, र बिष्णुसिंङ सरहरुका पनि भिन्न विषयहरुमा प्रस्तुति थियो । अञ्जन बास्कोटाको ‘असममा पर्या साहित्य’ विषयक कार्यपत्रप्रति मेरो बढी चासो रहन्छ । विश्वनाथ कलेजका प्रिन्सिपल डा. चिन्तामणि शर्माको ‘विज्ञान प्रवन्दनकी’ निवन्ध संग्रहभित्र सबै पर्यावरणीय लेखहरु रहेछन भन्ने जानकारी पाउँछु । असमी नेपालीका वातावरणीय सचेतना साच्चिकै आम नेपालीको तुलनामा अगाडि रहेछ झैं लागेर म भित्रभित्रै खुशी हुन्छु ।

नागशंकर मन्दिरमा कछुवाको दर्शन

१५ अप्रिल २०२२ । विश्वनाथबाट तेजपुर लाग्छौं । नागशंकर मन्दिरमा हाम्रो यात्रा एकैछिन रोकिन्छ । मन्दिर छेबैको ठूलो पोखरीमा सयौं कछुवा पालिएको रहेछ । गेटमै फूल प्रसादका साथै कछुवाको चारो (माछा) पनि बेच्न राखिएको रहेछ । माछाका केही पोका किनेर कछुवालाई खुवाउछौं । मन्दिरले भन्दा कछुवा संरक्षणले म प्रभावित हुन्छु । पोखरीमा यी कछुवाको प्रजनन क्रिया कस्तो हुँदो हो ? पोखरीको पानीमै अन्डा पार्दा हुन् र त्यसैबाट बच्चा कोराल्दा हुन् ।

टेलिभिजन डकुमेन्ट्रीमा समुन्द्रबाट कछुवा घस्रिदै तटतिर आएका, खुट्टाले बालुवालाई खोस्रेर त्यसैमा अन्डा कोरलेर समुन्द्रतिर फर्केका र केही हप्तापछि कछुवाका बच्चा जन्मेका दृष्य देखाइएको सम्झन्छु । वालुवाको तापमानमा अलिकति पनि फेरवदल आयो भने कसरी अण्डाभित्रको कछुवाको लिङ्गमा परिवर्तन आउछ भन्ने एक तथ्य जीव विज्ञानमा अध्ययन गरेको स्मरण गर्दै थिएँ, चन्द्रमणि उपाध्यायले विष्णु भगवानले कूर्म (कछुवा) अवतार लिएको धार्मिक प्रसंग बताउनुहुन्छ ।

हाम्रा पूर्वीय धर्म ग्रन्थमा पर्यावरण संरक्षण सम्बन्धी के कस्ता मान्यता छन् भन्ने विषयमा उहाँ ज्ञाता हुनुहुदो रहेछ । कुराकानीकै प्रसङ्गमा मैले पर्या साहित्यलाई एघार बिषयमा वर्गीकरण गरेको बताए । पर्या-नारीवाद, पर्या-राजनीति जस्तै पर्या-धर्म संस्कृति पनि एक प्रमुख बिषय हो पर्या साहित्यको ।

पर्या-धर्म संस्कृतिलाई पनि इको साहित्यको मार्फत उजागर गर्नु अति आवश्यक देखिन्छ । र यो विषयमा तपाईंका साहित्यिक लेखहरु आउन पर्‍यो भनी मैले चन्द्रमणिजीलाई हौसला दिन्छु । आसामबाट पर्या साहित्यको आन्दोलन ससक्तरुपमा अगाडि बढ्न सक्ने सम्भावनाले म अत्यन्तै खुशी हुन्छु ।

कछुवा दर्शन पश्चात हाम्रो यात्रा अञ्जन बाँस्कोटाको निवासस्थल समारदलनीतिर हुन्छ । उनको घरमा साकाहारी भोजन गरेपछि सुरु भएको रंगाली बिहु नृत्यले जीवनमा पहिलोपटक भिन्न आनन्द महसुस भइरहेको थियो । बिहू असमेलीको महान पर्व रहेछ । साच्चिकै उनीहरु आफ्नो मौलिकतालाई कति माया गर्ने । यो सम्झेर म हुरुक्कै हुन्छु ।

अनि अर्को यहाँको सुन्दर पक्ष भनेको चिटिक्क परेको भुईतले घरहरु र वरिपरि सुपारी, आँप, बेलाउती र फलफूलका बोट । छेवैमा माछा पोखरी । पर परसम्म फैलिएका खेतका गह्राहरु र आँखाले नभ्याउने गरि फैलिएका चियाका बोटहरु । साच्चै कति विघ्न वातावरणमैत्री रुपमा बस्न जानेका यी असमका मानिसहरु ?

तेजपुरमा देशवार्ता सम्मान समारोह

अञ्जनको घरमा न्यानो आतिथ्य ग्रहण गरेपछि हामी पुग्छौं तेजपुर । ज्ञानबहादुर दाजु बस्ने सुन्दर गृह नगरी । गोविन्दराज सरसँग पुनः मञ्च सेयर गर्ने शौभाग्य मिल्छ । त्यो मञ्चबाट दर्शक दीर्घामा बसेका पाहुनालाई हेर्दै गर्दा, गोविन्दराज सरले विगतका दिनहरुमा गरेको साहित्यिक सहयोग सम्झिन पुगेँ ।

मेरो साहित्यको यात्रामा उहाँ र म गुरु चेलाको रुपमा हाम्रो सम्बन्ध बाँधिएको छ । हाम्रो चिनजानले १० बर्ष बिताइसकेछ । एक दशकभित्र नेपाली साहित्य र डायस्परिक साहित्य लेखनमा पर्या साहित्यको महत्वको विषयमा व्यापक रुपमा बहस सुरु भइसकेको छ । धेरै पछिल्ला पुस्ताहरुले यो विषयमा लेख्न जाँगर चलाइरहेका छन् । सयौं यस्ता श्रष्टा उत्पादन भएका छन् । हाम्रै पहलमा बर्षमा दुई पटक वातावरण साहित्य गोष्ठी आयोजना हुन्छन् । उत्कृष्ट श्रष्टालाई नगद पुरस्कार तथा सम्मान पत्र पनि दिन्छौं ।

अहिलेसम्म हाम्रो वातावरण साहित्य गोष्ठीको सातौं शृङ्खला समापन भइसकेको छ । विगतका यीनै साहित्यिक संघर्षका दिनहरु सम्झिदै गर्दा एकैछिनमा म घाम जस्तो घुम (असामेली टोपी) मा ओतिन र न्यानो गम्छामा बेरिन पुग्छु । पर्या साहित्य र संरक्षणमा गरेको योगदान वापत सम्मान पत्र हातमा समाउन पुग्छु ।

ज्ञानबहादुर दाजुले मलाई सधैं भन्ने गरेको कुरा आज पुनः सबैको सामुन्ने सुनाउनु हुन्छ, ‘विजय हाम्रा लागि ग्रेथा थुनवर्ग जस्तै अभियन्ता हुन् । ग्रेथा जलवायु परिवर्तनविरुद्धको अभियानका एक अभियन्ता हुन् भने विजय पर्या साहित्यका अभियन्ता । र मेरो कथा ‘बार्षिकोत्सवमा रेडपान्डा’ को सन्दर्भ पनि कोट्याउनु हुन्छ आफ्नो मन्तव्यमा । शिकार खेल्ने शिकारीहरुको कारण जंगली जनवार समस्यामा रहेको । खाग छालाको लागि काजिरंगाको बाघ भालु मार्दै आएको विषयमा चर्चा हुन्छ ।

त्यस साँझ ज्ञानबहादुर दाजुको निवासमा खाजा खान जान्छौं । हिँड्ने बेलामा भाउजुले मायाको चिनो भनेर चियाका पोका उपहारस्वरुप दिनुहुन्छ । खै कसरी कसरी यति मिठो यहाँको चिया !

गुवाहाटीमा अन्तर्राष्ट्रिय नेपाली साहित्यिक कार्यक्रम

१६ अप्रिल । बसमा फेरि लाग्छौं गुवाहाटी तर्फ । १७ अप्रिलका दिन नेपाली प्रकाशन परिषदले आयोजना गरेको अन्तर्राष्ट्रिय नेपाली साहित्यिक कार्यक्रममा सहभागी हुन्छु । देवेन र खगेनको प्रमुख संयोजनमा यो कार्यक्रम हुदै रहेछ । हाम्रो दलका अन्य अग्रजहरु उपस्थित हुन भ्याउनुभएन । गोविन्द सर र म, पुनः गुरु शिस्यले साहित्यको एउटै मञ्च सेयर गर्दै थियौं ।

गुवाहटी प्रेस क्लवमा कार्यक्रम सुरु हुन्छ । लिलबहादुर क्षेत्री दर्शक दीर्घामा बसेर हामीलाई सुन्दै हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा पनि नेपाली साहित्य भनेपछि यति मरिमेट्ने ! मजस्तो अनुजका कुरा सुन्न उहाँ उपस्थित हुनु भनेको मेरो लागि त्यो भन्दा प्रेरणादायी अरु के हुन सक्थ्यो र ! ‘विश्व साहित्यमा नेपाली साहित्य’ विषयमा गोविन्दराज सर बोल्नुहुन्छ । म भने ‘पर्या साहित्य गुन्जाउदै ‘ब्लु प्लानेट’ र ‘परिश्रान्त पृथ्वी’ विषयमा बोल्छु ।

परिश्रान्त पृथ्वी देवेन सापकोटाको पर्या कविता संग्रह हो । यसले जैविक विविधतामा ह्रास, जलवायु परिवर्तनका प्रभाव, वायुमण्डलमा कार्वन/मिथेन/क्लोरोफ्लुरोको प्रदूषण, सागरमा प्लाष्टिक प्रदूषण, वन्यजन्तु चोरी शिकारी, जंगल फडानी र मरुभूमिकरण जस्ता वातावरणीय समस्याहरु काव्यिक शैलीमा अभिव्यक्त गर्दै पर्यावरण संरक्षणका सन्देश प्रवाह गरेको छ । यहाँ पनि अबदेखि पर्या साहित्य गोष्ठी आयोजना गरिनुपर्ने मेरो सल्लाह दोहोर्‍याउँदै आफ्नो वक्तव्य टुंङ्याउँछु ।

म २० अप्रिलका दिन कर्मभूमि वेलायत फर्कनु थियो । काठमाडौंमा अन्य धेरैकुरा थाती राखेर असमतिर हान्निएको थिएँ । त्यसर्थ हाम्रो समुहका सबैजनालाई गुवाहटीमै छोड्दै त्यसै दिन रात्रीबस समात्छु । अनि लाग्छु मेरो पर्या साहित्यको सानो पोको ब्रम्हापुत्रको छेउछाउ बिसाएर काकडभिट्टातिर । र असिम प्रेम, सम्मान, दर्जनौं पुस्तकका उपहार साथै एक अविष्मरणीय साहित्यिक यात्रा अनुभवको पोको बोकेर फर्कन्छु नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?