+
+
Shares
ध्वंस मच्चाउने समात्दै कास्की प्रहरी :

हिरासतबाट फरार भएर अर्को प्रहरी चौकीमा आगजनी र हतियार लुटपाट

प्रहरी कार्यालय जलाउने १० जनाविरुद्ध मुद्दा, निजी सम्पत्ति जलाउनेविरुद्ध जाहेरी लिँदै

आन्दोलनमा ध्वंस तथा अराजकता मच्चाउनेहरु अधिकांश रेकर्ड हेर्दा यसअघि कुनै न कुनै रुपमा प्रहरी हिरासतमा पुगेका, मुद्दा चलेका, दुब्र्यसनीमा फसेका, कारागारबाट भागेकाहरु देखिएको प्रहरीले जनाएको छ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ कात्तिक १२ गते ७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्कीमा जेनजी आन्दोलनका क्रममा २७ वटा प्रहरी कार्यालय तोडफोड र आगजनी भएका छन् भने १ सय १६ वटा सरकारी कार्यालय जलेर ध्वस्त भएका छन्।
  • प्रहरीले आन्दोलनमा संलग्न १८ जनालाई पक्राउ गरी १० जनामाथि आपराधिक उपद्रव मुद्दा चलाएको छ र अनुसन्धान जारी छ।
  • कास्कीमा कैदीबन्दी फरार भएका ८७ जनालाई पक्राउ गरिएको छ भने करिब २ सय फरार रहेका छन् र प्रहरीले सुरक्षा चुनौतीको रूपमा लिएको छ।

११ कात्तिक, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ नयाँ पुलका ४२ वर्षीय पूर्णबहादुर नेपाली अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परी भदौ १० गतेदेखि वडा प्रहरी कार्यालय बगरको हिरासतमा थिए ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते वडा प्रहरी कार्यालय बगर आन्दोलनकारीको सुरुवाती निसानामै पर्‍यो। वडा प्रहरी कार्यालय बगरमा तोडफोड र आगजनी भयो । प्रहरीको केही थान हतियारसमेत लुटिए ।

आन्दोलनकै मौका छोपेर बगरको हिरासतमा रहेका थुनुवाहरु पनि भागे, त्यसमा नेपाली पनि थिए । उनै नेपाली बगरबाट भागेर अन्नपूर्ण नयाँ पुल पुगे र त्यहाँ प्रहरी उनी बगरबाट फरार भइ कार्यालय तोडफोड, आगजनी तथा अतियारसमेत लुटपाटमा संलग्न भएको पाइएको छ।

नेपाली बगरबाट भागेपछि नयाँ पुल चौकीबाट हतियार लुटपाट गरेर लिएर गएको भिडियो फुटेज नै भेटिएको थियो । प्रहरीले पक्राउ गरेर नेपालीलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा चलाएको छ।

भदौ २४ गते दिउँसो १२ बजे पोखरा महानगरपालिकाको कार्यालयबाट सुरु भएको सरकारी कार्यालय तोडफोड तथा आगजनीको अन्तिम निशानामा परेको थियो, जिल्ला प्रहरी कार्यालय कास्की ।

कास्की प्रहरी कार्यालयमा डोजर, लोडरसहित पुगेका आन्दोलनकर्मीहरु तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले गोलीसमेत चलायो । त्यहीक्रममा डोजर चालक लक्ष्मण नेपालीसमेत गोली लागेर सख्त समेत भए ।

कास्की प्रहरी कार्यालय जलाएको अभियोगमै प्रहरीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भइ पोखरा मानवअधिकार चोक बस्ने राजेश मक्रान्तिलाई पक्राउ गरेको छ । उनी पनि यसअघि २०७९ सालमा अभद्र व्यवहार मुद्दामा पक्राउ परी हिरासतमा परेको खुलेको छ। मक्रान्तीले कास्की प्रहरी कार्यालय जलाउन विशेष भूमिका खेलेको प्रहरीले निश्कर्ष निकाल्दै कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

नेपाली बगरबाट भागेपछि नयाँ पुल चौकीबाट हतियार लुटपाट गरेर लिएर गएको भिडियो फुटेज नै भेटिएको थियो । प्रहरीले पक्राउ गरेर नेपालीलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्न रहेको अभियोगमै प्रहरीले ५४ वर्षीय नारायण राइलाई पनि पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । पोखरामा मासुको ब्यापार गरी बस्ने साइ कार्यालय जलाउन सक्रिय देखिएको प्रहरीको भनाइ छ।

पोखरा–१ कसेरीका रुपेश सुनार २०६२ सालमा सवारी साधन तोडफोड गरेको आरोपमा सार्वजनिक अपराधको मुद्दा खेपका थिए । उनै सुनार जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय जलाउन पुगेको प्रमाण भेटिएको भन्दै पक्राउ परेका छन् । उनले वडा प्रहरी कार्यालय बगर तोडफोड तथा आगजनीमा भूमिका खेलेको प्रहरीको निष्कर्ष छ ।

पोखरा–१ बगर बस्ने ४३ वर्षीय दिपु राईलाई पनि प्रहरीले कार्यालय तोडफोड, आगजनी तथा हतियार जलाएको अभियोगमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जेनजी आन्दोलनका नाममा प्रहरी कार्यालय जलाउने, तोडफोड गर्ने र अतियार लुटपाट गर्नेमाथि निगरानी गर्दै पक्राउ थालेको हो।

प्रहरीका पोशाक, गरगहनादेखि हातहतियारसम्म लुटपाट भएका थिए । अझै पनि लुटिएका करिब दुई दर्जनभन्दा धेरै हातहतियार फेला नपरेको प्रहरी स्रोतको भनाइ छ।

कास्कीमा जिल्ला प्रहरी कार्यालय र मातहतका गरी २७ वटा प्रहरी कार्यालय तोडफोड तथा आगजनी भएका छन् । कास्कीमा १ सय १६ वटा त आवाससहित सरकारी कार्यालय जलेर ध्वस्त भएका छन् भने २७ वटा निजी सम्पत्तिमाथि तोडफोड, आगजनी भएका छन्।

प्रहरीले तीमध्ये आफ्नै कार्यालय जलाउने र समाजमा अराजकता मच्चाउनेलाई पक्राउ गर्दै अन्य संरचना आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि पनि कारबाही प्रक्रिया अगाडि बताउने बताएको छ।

कास्की प्रहरीले आफ्ना कार्यालय जलाउने, प्रहरीको पोशाकलगाएर मजाक गर्ने, हतियार लुटपाट गर्नेबाट कारबाही थालेको एसपी नवीन कार्कीले जानकारी दिए । प्रहरीले यस्ता १८ जनालाई पक्राउ गरेको छ तीमध्ये १० जनालाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ भने बाँकी धरौटीमा रिहा भएका छन्।

कार्कीका अनुसार निजी सम्पत्ति तोडफोड गर्नेविरुद्ध ३ वटा किटानी जाहेरी परेका छन् भने अन्य व्यक्तिहरुलाई पनि जाहेरी दिनका लागि आग्रह गरेको छ।

कास्कीमा कार्यालय जलाएर ध्वंस मच्चाउने, पोखरा बजारमा आतंक सिर्जना गर्ने अधिकांश खराब पृष्ठभूमि भएका, कुनै न कुनै बेला कारागार र हिरासतबाट छुटेका, थुनुवा कक्षबाट फरार भएका र दुर्व्यसनमा फसेका व्यक्तिहरु संलग्न रहेको एसपी कार्कीले बताए।

प्रहरीले फोटो, भिडियो हेरेर, विभिन्न प्रमाणहरुबाट त्यस्ता व्यक्ति पहिचान गरेर पक्राउ गर्न पुगेको थियो भने कतिपयसँग प्रहरी हिरासतबाट चोरी भएका मोबाइलसमेत फेला परेको छ।

निजी घर, सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्नेको पनि जाहेरी, निवेदन लिएर प्रमाण संकलन गर्ने र व्यक्ति पहिचान गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने एसपी कार्कीले जानकारी दिए।

प्रहरीले प्रमुख प्राथमिकतामा कैदी, थुनुवा, प्रहरीको हातहतियार लुट्नेमाथिको कारबाहीलाई राखेको हो । ‘यो राज्य सुरक्षा र सुरक्षाकर्मीहरुका लागि पनि थ्रेट थियो । त्यसकारण सबैभन्दा पहिले सुरुवात नै त्यहाँबाट गरेका हौं,’ एसपी कार्कीले भने, ‘व्यक्तिका सम्पत्ति जहाँ लुटपाट आगजनी भयो, त्यहाँ पनि यिनीहरुको संलग्नता छ कि छैन भनेर हेर्दैछौं।’

सरकारी कार्यालयहरु थुप्रै ठाउँबाट निवेदन आएको एसपी कार्कीले बताए । पहिलो सुरक्षा चुनौति नै प्रहरीबाट लुटिएका हतियार, कारागार र हिरासतबाट भागेका कैदीबन्दी तथा थुनुवा हुन सक्ने भएकाले अप्रेसन चलाइएको कार्कीको भनाइ छ । फागुन २१ गतेका लागि तोकिएको चुनावमा पनि यो सुरक्षा चुनौति बन्न सक्ने प्रहरी निष्कर्ष थियो।

निजी घर, सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्नेको पनि जाहेरी, निवेदन लिएर प्रमाण संकलन गर्ने र व्यक्ति पहिचान गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने एसपी कार्कीले जानकारी दिए।

एसपी कार्कीले जेनजी आन्दोलन र आपराधिक गतिविधिलाई छुट्याएर कारबाही थाल्ने बताए । जाँचबुझ आयोगले पनि स्पष्टसँग आपराधिक गतिविधिमाथि कारबाही थाल्न भनेको उनको भनाइ थियो।

‘कतिसम्म आन्दोलन हुन सक्थ्यो र कतिसमम आपराधिक हो भनेर नागरिकको आँखाबाट पनि हेर्न सकिन्छ । प्रहरी कार्यालय जलाउने, हातहतियार लुटेर नचाउँदै हिँड्नु भनेको विशुद्ध आपराधिक कार्य हो,’ कार्कीले भने, ‘व्यक्तिका घर जलाइएको छ। जलाउनेमात्रै होइन कि भित्र गएर चोरेर सामान लैजाँदै गरेका भिडियो फुटेजहरु पनि हामीलाई प्राप्त भएको छ । त्यसलाई त आन्दोलनसँग कहिल्यै जोडेर हेर्न सक्दैनौं।’

आन्दोलनमा ध्वंस तथा अराजकता मच्चाउनेहरु अधिकांश रेकर्ड हेर्दा यसअघि कुनै न कुनै रुपमा प्रहरी हिरासतमा पुगेका, मुद्दा चलेका, दुब्र्यसनीमा फसेका, कारागारबाट भागेकाहरु देखिएको प्रहरीले जनाएको छ।

सरकारी संरचना जलाउन उक्साउने, योजना बनाउनेहरुको पनि प्रमाण संकलन र पहिचान गर्ने काम भइरहेको प्रहरीको दाबी छ । जेनजी आन्दोलनपछि समाजमा चोरी, आपराधिक गतिविधि बढेको भए पनि प्रहरी अब सुरक्षामा फर्किइसकेको उनले बताए। जिल्ला प्रहरी कार्यालय जल्दा पुराना अभिलेखहरु सँगै जले पनि नयाँ मुद्दा तथा मिसिलहरु सुरक्षित रहेको पनि प्रहरीले जनाएको छ।

कार्यालय जलेर भाग्नुपर्ने, प्रहरी जवानकै सामान लुटिने, सडकमा हतियार नचाउँदै हिँडेको दृश्यले प्रहरीको मनोबल पनि कमजोर बन्न पुगेको तर नागरिककै सहयोगले फेरि सुरक्षा दिने अवस्थामा फर्किइसकेको कार्कीले बताएका छन् । २/३ दिनसम्म प्रहरी निस्कनै नसक्ने अवस्थाबाट गुज्रिएको देखेपछि आपराधिक भावना बोकेका व्यक्तिहरु बढी क्रियाशील देखिएको उनको भनाइ थियो।

सरकारी संरचना जलाउन उक्साउने, योजना बनाउनेहरुको पनि प्रमाण संकलन र पहिचान गर्ने काम भइरहेको प्रहरीको दाबी छ ।

२४ गते आन्दोलनका क्रममा मोटरसाइकल पड्काउँदै, हतियार नचाउँदै पोखरा सहरै आतंकित पार्नेलाई कारबाहीको दायरामा ल्याउनकै लागि प्रहरीले अप्रेसन ३६५ अभियानसमेत चलाएको छ । त्यही क्रममा २८ जनाविरुद्ध प्रहरीले मुछा नै चलाएको छ।

कास्की कागारागारबाट ७ सय ६५ जना कैदीबन्दी भागेका थिए। तीमध्ये केही स्वतस्फूर्त फर्किएका थिए भने ८७ जनालाई प्रहरीले पक्राउ गरी बुझाएको छ भने अझै २ सयको हाराहारीमा फरार छन् । तीनको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कास्कीमा १ सय १६ वटा सरकारी कार्यालय जल्दा सवा २ करोडको हाराहारीमा क्षति पुगेको अनुमान गरिएको छ भने निजी क्षेत्रले करिब साढे ३ अर्बको क्षति बेहोरेको दाबी गरिरहेको छ।

‘समाजले सधैं मनोबल कमजोर बनाएर बस्ने होइन, आपराधिक गतिविधि नियन्त्रण, त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्न पनि नागरिक तहबाटै सहयोग चाहिन्छ । त्यसका लागि प्रहरी र नागरिकको एकसाथ मनोबल बढ्नुपर्छ,’ कास्की प्रहरी प्रमुख एसपी कार्कीले भने, ‘नागरिककै सहयोगमा कास्कीका २७ वटा प्रहरी कार्यालय ४÷५ दिनमै सञ्चालनमा आएका थिए । अब नागरिकको सुरक्षामा प्रहरी तैनाथ छ, केबल नागरिक तहबाट समन्वय र सहयोगको खाँचो छ ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?