
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ को सेप्टेम्बरमा पर्यटक संख्या १८.३ प्रतिशतले घटेर ७८ हजार ७ सय ११ पुगेको छ।
- जेनजी आन्दोलनका कारण होटलहरूको औसत अकुपेन्सी २० प्रतिशतमा खुम्चिएको छ र जेनजी आन्दाेलनबाट २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।
- पर्यटन उद्योगलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने र विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम तीव्र पार्नुपर्ने सुझाव दिइएको छ।
३० असोज, काठमाडौं । नेपालको पर्यटन उद्योगमा अंग्रेजी वर्षका सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई ‘पिक सिजन’ मानिन्छ ।
यी तीन महिनामा नेपाल घुम्न जति संख्यामा पर्यटक आउँछन् र तिनले जति खर्च गर्छन्, उस्तै परे बाँकी नौ महिना त्यतिले नै धान्नुपर्ने अवस्था पनि आउने गरेको छ ।
तर, यसपालि पिक सिजनको पहिलो महिना पर्यटन उद्योगले विदेशी पर्यटक आगमन संख्या नकारात्मक गणना गरेको छ ।
विगतका पिक सिजनमा यी तीन महिना अपवाद बाहेक सायदै नकारात्मक थिए । सन् २०१९ को विश्वव्यापी कोभिड महामारी तथा दुई दशकअघि नेकपा माओवादीको सशस्त्र द्वन्द्वको अन्तिम समयतिर भने पिक सिजनमा पर्यटक आगमन संख्या नकारात्मक भएको पर्यटन व्यवसायीहरू बताउँछन् ।
चालु वर्ष सन् २०२५ सेप्टेम्बरमा पर्यटक संख्या १८.३ प्रतिशतले घटेको तथ्यांक सरकारसँग छ । यो भनेको ७८ हजार ७ सय ११ पर्यटक नेपाल आएका हुन् । गत वर्ष सेप्टेम्बरमा ९६ हजार ३ सय २ पर्यटकले नेपाल घुमेका थिए ।
सन् २०२५ जनवरीदेखि सेप्टेम्बर नौ महिना अवधिको पर्यटक आगमन तथ्यांक केलाउँदा नकारात्मक देखिन्छ । पछिल्लो नौ महिनामा ८ लाख १५ हजार २ सय ७३ पर्यटक नेपालको पाहुना बनेका थिए । तर, गत वर्ष सोही अवधिमा ८ लाख १६ हजार ६ सय ३३ जनाले नेपाल भ्रमण गरेका थिए ।
तर, यसपालि पिक सिजनको पहिलो महिनाको तथ्यांक ‘दाँतमा ढुंगा’ सरह भएको व्यवसायीहरूको भनाइ छ ।
पर्यटक घट्नुको अर्थ होटलहरूको कोठा भराइ (अकुपेन्सी) दरमा सिधा असर पर्नु हो । यो पिक सिजनकाे पहिलाे महिना सेप्टेम्बरमा करिब १९ प्रतिशतले पर्यटक घट्दा होटलहरूको समग्र अकुपेन्सी ह्वात्तै घटेर औसत २० प्रतिशतमा खुम्चिएको छ ।
किन यसरी पिक सिजनमै होटल अकुपेन्सी ह्वात्तै घट्यो होला ? खासमा, २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा ठूला तारे होटलमा तोडफोड र आगजनी हुँदा त्यसको प्रत्यक्ष प्रभाव पर्यटन उद्योगमा पर्न गयो । जसका कारण होटल अकुपेन्सीमा भारी गिरावट आएको हो ।
जेनजी आन्दोलन क्रममा आन्तरिक मात्र नभई बहुराष्ट्रिय लगानीका अन्तर्राष्ट्रिय चेन होटलहरू समेत निसानामा परे । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) को प्रारम्भिक अध्ययन अनुसार जेनजी आन्दोलन क्रममा होटल उद्योगमा २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
‘समग्रमा हेर्दा जेनजी आन्दोलनको प्रभावका कारण नेपालका होटलहरूको औसत अकुपेन्सी २० प्रतिशतमा खुम्चिएको छ,’ काठमाडौं बूढानीलकण्ठस्थित पाँचतारे होटल लेमन ट्री प्रिमियरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) यादव पाण्डेले अनलाइनखबरसँग भने, ‘अधिकांश होटलका ८० प्रतिशत कोठा खाली छन्, यसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक सन्देश गएको छ ।’
हान अध्यक्ष विनायक शाह पनि जेनजी आन्दोलन प्रभावबाट होटल अकुपेन्सीदेखि समग्र पर्यटन उद्योगमा गम्भीर असर परेको बताउँछन् ।
‘हाम्रो अनुमानमा अहिले होटल अकुपेन्सी न्यूनतम ३० प्रतिशतमा झरेको छ,’ शाहले भने, ‘यसलाई बेलैमा ट्याकल गरेन भने पर्यटन उद्योगमा दीर्घकालीन असर पर्ने निश्चित छ ।’
उनका अनुसार हाल नेपालमा पर्यटक स्तरदेखि तारेसम्म गरी १० हजारभन्दा बढी होटल सञ्चालनमा छन् । तीमध्ये ५ हजार हाराहारी होटल हानमा सदस्य छन् ।
हाल नेपालमा रहेका पर्यटकलाई घुमफिर वा पर्यटन गतिविधि गर्न कुनै पनि खालको समस्या नरहेको शाहले बताए ।
पिक सिजनमै होटल अकुपेन्सीमा भारी गिरावट आउँदा यसको असर दीर्घकालीन हिसाबमा पर्ने उनको भनाइ छ । ‘अहिले होटलहरूको अकुपेन्सी न्यूनतम ३० प्रतिशत छ,’ उनले भने, ‘सन् २०२४ को पिक सिजनमा ७० प्रतिशतभन्दा बढी अकुपेन्सी थियो ।’
प्रमुख पर्यटन गन्तव्य काठमाडौंपछि दोस्रो पोखरा पनि अहिले लगभग सुनसान रहेको हान अध्यक्ष शाहले बताए । पर्यटन राजधानी समेत रहेको पोखरा यसअघिका पिक सिजनमा भरिभराउ हुन्थ्यो ।
जेनजी आन्दोलन लगत्तै नेपालका प्रमुख पर्यटन बजार अमरिका र क्यानडाले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सतर्कता अपनाउन आग्रह गर्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेपछि त्यसले थप समस्या सिर्जना गरेको छ । ठूला पर्यटन बजारबाटै यसखालको निर्णय हुँदा समस्या उब्जिनु स्वाभाविक रहेको शाहको तर्क छ ।
‘त्यसमाथि जेनजी आन्दोलन क्रममा देशभरिका जेलबाट भागेका हजारौं कैदीबन्दीका कारण सुरक्षामा चुनौती थपिएको छ,’ शाहले भने, ‘त्यसकारण गृह प्रशासनले पनि यसमा थप चनाखो हुनुपर्ने देखिन्छ ।’
नेपाल घुम्न जान होटल बुकिङ गरिसकेका विभिन्न देशका पर्यटकलाई जेनजी आन्दोलन प्रभावका कारण नेपाल जाने कि नजाने भन्ने दोधार देखिएको हान अध्यक्ष शाह बताउँछन् ।
‘हाम्रो सानो देश हो, पर्यटकले झ्वाट्टै विश्वास गरिहाल्ने अवस्था पनि छैन,’ उनले भने, ‘पर्यटकहरू वेट एन्ड सी (पर्ख र हेर) को अवस्थामा छन् । तर, नेपाल चिनेका पर्यटक आइरहे पनि पहिलो पटक नेपाल आउन चाहनेहरू भने रोकिएका छन् ।’
‘होटललाई शान्ति क्षेत्र घोषणा गरियोस्’
माओवादी सशस्त्र द्वन्द्वदेखि विविधि खाले आन्दोलन र पछिल्लो पटकको जेनजी आन्दोलनका कारण पर्यटन उद्योग प्रभावित हुने गरेको पाँचतारे होटल लेमन ट्री प्रिमियरका सीईओ पाण्डे बताउँछन् ।
‘होटल कुनै व्यक्ति विशेषको लगानीमा किन खुलेको नहोस्, तर त्यहाँ पर्यटक बस्छन्, त्यही भएर पर्यटन गतिविधि निर्वाध हुनुपर्छ,’ पाण्डेले भने, ‘त्यसकारण पर्यटन उद्योगलाई शान्ति क्षेत्र घोषणा गरिहाल्नुपर्छ र यसमा ढिलाइ गर्नै हुन्न ।’
जेनजी आन्दोलन कारण भारतीय पर्यटक आगमन पनि गम्भीर रूपमा प्रभावित भएको उनको भनाइ छ । विभिन्न नाका हुँदै आउने भारतीय पर्यटक संख्या अहिले घटेको उनले बताए ।
पाण्डे अब पर्यटन र होटल उद्योगमा सहजता ल्याउन अल्पकालीन र दीर्घकालीन हिसाबमा हेर्नुपर्ने बताउँछन् ।
चीन, भारत, जापान र कोरियाबाट बुकिङ रद्द उच्च
टुर अपरेटरहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष विश्वेस श्रेष्ठ जेनजी आन्दोलनका कारण चीन, भारत, जापान र दक्षिण कोरियाबाट नेपाल भ्रमण बुकिङ रद्द गर्ने संख्या उच्च रहेको बताउँछन् ।
‘ती देशबाट म्यासिभ रूपमा बुकिङ रद्द भएको छ,’ श्रेष्ठले भने, ‘त्यहाँका टुर अपरेटर र एजेन्टहरू अहिले पनि नेपालमा पर्यटक पठाउने कि नपठाउने भन्ने दोमनमा छन् । अझै पनि छिटपुट घटना भइरहेकाले सशंकित हुने ठाउँ देखिन्छ ।’
जेनजी आन्दोलनमा अन्तर्राष्ट्रिय चेन होटलहरू ह्यात र हिल्टनमा समेत तोडफोड र आगजनी हुनु र विश्वभरिका सञ्चारमाध्यमले यो घटनाका समाचार प्रमुखतासाथ प्रसारण गरेपछि त्यसबाट नकारात्मक सन्देश फैलिएको श्रेष्ठले बताए ।
साहसिक गतिविधि मन पराउने पर्यटक भने बिस्तारै आइरहेको उनको भनाइ छ । तिनमा युरोपेली देशका पर्यटक पर्वतारोहण, पदयात्रा, हाइकिङ, जलयात्राका लागि आइरहेको उनले बताए ।
समाधान के ?
होटलहरूका कोठा लगभग खाली हुनु र समग्र पर्यटन उद्योगमा जेनजी आन्दोलन प्रभाव गम्भीर हुँदा सरोकारवाला निकाय र निजी क्षेत्र कसरी अगाडि बढ्ने भन्ने अन्योलमा छन् ।
‘नेपालमा कुनै समस्या छैन, घुम्न जान हुन्छ र नेपाल सुरक्षित पर्यटन गन्तव्य हो भनेर विभिन्न देशमा रहेका हाम्रा राजदूतहरूले बोल्नुप¥यो,’ हानका अध्यक्ष शाह भन्छन्, ‘केही दिनअघि प्रधानमन्त्रीज्यूले पनि राजदूतहरूलाई भनिसक्नुभयो, तर अब राजदूतहरूले युद्धस्तरमा काम गर्नुपर्छ ।’
अवस्था सुधारोन्मुख भए पनि पुरानै लयमा ल्याउन धेरै नै मिहिनेत गर्नुपर्ने शाहको भनाइ छ । चीन, भारत लगायत देशमा अझै पर्यटन प्रवद्र्धनका कार्यक्रम बढिभन्दा बढी गर्न ढिलाइ गर्नै नहुने उनले बताए ।
त्यस्तै नाटोका अध्यक्ष श्रेष्ठ विश्व पर्यटन बजारमा गएको नकारात्मक सन्देश चिर्न सकेसम्म धेरै प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्ने बताउँछन् ।
‘धेरै टाढा नगए पनि तत्काल भारत, चीन र बंगलादेश गएर नेपाल सामान्य अवस्थामा आउँदैछ, घुम्नका लागि सुरक्षित छ भनेर सरकार र निजी क्षेत्रले भन्न ढिला गर्नु भएन,’ श्रेष्ठले भने, ‘यसमा विभिन्न देशमा रहेका नेपाली दूतावासहरूलाई सक्रिय रूपमा अग्रसर गराउनुपर्छ ।’
प्रतिक्रिया 4