+
+

मोहनमायालाई स्थानीयको प्रश्न : कब्जा गरिएका संरचनामा डोजर चलाउने हिम्मत छ ?

यज्ञ खत्री यज्ञ खत्री
२०७९ भदौ २६ गते ९:५६

२६ भदौ, सुर्खेत । बिहान ७ बजेको थियो । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल कार्यकक्षमा फाइल पल्टाउँदै थिइन् । ढोका बाहिर थिए, उनका एक सहयोगी । पालिका भवन परिसर सुनसान थियो ।

‘बिहान ५ बजे उठ्छु, ६ बजेसम्म फ्रेस भएर कार्यालयतिर आइहाल्छु । बेलुका ९-१० बजे घर पुग्छु । यसरी नै बिते क्यारे, सय दिन पनि’, गत जेठ १० गते पदभार ग्रहण गरेकी मेयर ढकालले आफ्नो सय दिने व्यस्ततालाई यसरी सुनाइन् ।

मेयरको व्यस्तताले एक सय दिनमा वीरेन्द्रनगरले के उपलब्धि हाँसिल गर्‍यो त ? यिनै प्रश्न बोकेर हामी ढकालको कार्यकक्षमा पुगेका थियौं । जवाफमा ढकालले भनिन्, ‘सस्तो लोकप्रियताको पछि लागेको छैन । हरेक क्षेत्रको डिप्ली स्टडी भैरहेको छ । दीर्घकालीन महत्व राख्ने परिणाममुखी काम गर्दैछौं । नतिजाको लागि, पर्ख र हेर भनेका छौं ।’

यसअघि पाँच वर्षे उपमेयरको अनुभवले पनि ‘पपुलिष्ट’ नभई परिणाममुखी काम गर्नुपर्छ भन्ने सिकेको मेयर ढकाल बताउँछिन् ।

मोहनमायाले के-के गरिन् ?

सत्तारुढ गठबन्धन कांग्रेस र माओवादी एकातिर हुँदा, एमालेकी एक्ली उम्मेद्वार थिइन् मोहनमाया ढकाल । विभिन्न दल र स्वतन्त्र सहित दर्जन बढी मेयरका उम्मेदवारहरु चुनावमा होमिरहेको बेला वीरेन्द्रनगरबासीले भने एक कार्यकाल उपमेयर चलाइसकेकी ढकाललाई फेरि पनि नै जिताए ।

प्रखर वक्ता, कम विवादित ढकालले उपमेयर हुँदा कोरोना महामारीको समयमा करिब एक वर्ष कार्यबाहक मेयरका रुपमा नेतृत्व सम्हालेकी थिइन् ।

गत वैशाखको स्थानीय निर्वाचनबाट मेयर चुनिएपछि ‘संविधानमा उल्लेख मौलिक हकको पूर्ण प्रत्याभूति नगरवासीलाई गराउने’ पहिलो निर्णय गरिन् ।

शहीदको शालिकमा माल्यार्पण गर्दै पदभार ग्रहण गरेपछि केही सुधारका प्रयास भएपनि भेटघाट, वृक्षारोपण, तालिम, भेला र सम्मान थाप्नमै रुमलिएको जस्तो देखिन्छ ।

नगरपालिकाको पुरानो र साँघुरो भवनबाट सेवाग्राहीलाई सेवा लिनुपर्ने अवस्था अन्त्य गर्न भन्दै मेयर ढकालले सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन बहुप्रतिष्ठित एकीकृत प्रशासनिक भवन शिलान्यास गरेकी छन् । १० करोड ७१ लाख लागत अनुमान गरिएको भवन लिफ्टसहित पाँच तलाको रहने छ ।

एकीकृत सेवा प्रभाव र सुशासनलाई प्राथमिकता दिने बाचा गरेकी मेयर ढकालले सेवाग्राहीलाई सहज सेवा दिन ‘सहायता केन्द्र’ सञ्चाल गर्ने पहिलो कार्यपालिकाको बैठकबाट निर्णय गराएकी छन् । ‘केन्द्रमा सेवाग्राही विश्राम स्थल, शुद्ध पिउने पानी, गुनासो सुनुवाइ संयन्त्र निर्माण गर्ने कार्य भइरहेको छ’ मेयर ढकालले भनिन् ।

यो बिचमा नगरपालिकाले लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ निर्माण गरेको छ । आगामी ५ वर्षमा हिंसामुक्त नगर निर्माण गर्ने योजना अनुरुप अघि बढेको ढकालले बताइन् । ‘सडक कालोपत्रै गरिनु मात्रै विकास हैन, हामीले सामाजिक विकासलाई पनि प्राथामिक्तामा राखेका छौं । सामाजिक न्यायलाई जोड दिएका छौं’ उनी भन्छिन् ।

प्रदेश सरकार र नगरपालिकाको समन्वयमा वीरेन्द्रनगर-११ भेरी पुल नजिक छाडा पशुचौपायाका लागि गौशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न अघि सारिएका भेरी लिफ्ट खानेपानी आयोजनाको काम अघि बढाउन नगरपालिका र नेपाल सरकारबीच सम्झौता भएको छ ।

संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लिफ्टिङ प्रविधिमार्फत भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन लागेको हो । यी दुईवटै कामलाई पनि मेयर ढकालले आफ्नो सय दिनको उपलब्धि मानेकी छन् ।

केही सुधारका प्रयास

निवर्तमान मेयर देवकुमार सुवेदीको कार्यकालमा लथालिङ्ग अवस्थामा रहेको सुर्खेत सिटी बसपार्कलाई लयमा ल्याउन लागेको ढकाल बताउँछिन् । भाडा बापतको ३७ करोड रकम नबुझाएर फरार भएपछि बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्सट्रक्सन भक्तपुर विरुद्ध नगरपालिकाले जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेको छ । अब न्यायिक प्रक्रियामा गएर ठेक्का तोड्ने तयारी भइरहेको मेयर ढकालले बताइन् ।

वीरेन्द्रनगरलाई ‘शैक्षिक हब’को रुपमा विकास गर्न १० वर्षे शैक्षिक रणनीति तयार पारिएको छ । मेयर ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्नेगरी शैक्षिक सुधार गरिनेछ । पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सवलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुल्ला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई १० वर्षे शिक्षा मोडेलले जोड्ने छ ।

मेयर ढकालमाथि नैतिक दबाब

सुर्खेत उपत्यका नगर विकास समिति अध्यक्षको पदभार ग्रहण गरेलगत्तै सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने घोषणा गरेकी मेयर ढकालले सार्वजनिक/सरकारी जमिनको खोजी कार्य थालेको बताइन् ।

अबको ३ महिना भित्र समितिको स्वामित्वमा रहेका सबै जग्गाको लगत निकालेर सार्वजनिक गर्ने घोषणा समेत गरेकी छन् । ‘नगर विकासको स्वामित्वको जग्गा कति हो भन्ने रेकर्ड निकाल्ने काम भइरहेको छ । विधि पुगे-नपुगेको सबै रेकर्ड निकाल्छौं,’ ढकालले भनिन् ।

वीरेन्द्रनगरमा सबैभन्दा बढी स्वामित्व सुर्खेत उपत्यका नगर विकास समितिको जग्गामा वर्षौंदेखि विभिन्न व्यक्ति, दल र संघसंस्थाहरुले हालिमुहाली गरिरहेका छन् । समितिको जग्गामा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुले पार्टी कार्यालय बनाएका छन् । र, यीनै दल निकट संगठनहरुले कब्जा जमाएर बसिरहेका छन् भने कतिपय व्यक्तिले कौडीको भाउमा प्रयोग गरिरहेका छन् । ‘नगर विकासबाट एक व्यक्तिले जग्गा सम्झौता गर्ने र अर्को व्यक्तिलाई महँगोमा भाडामा दिने प्रवृत्ति बढेको छ । त्यसलाई पनि निर्ममताका साथ कडाइ गर्छौं’ मेयर ढकाल भन्छिन् ।

समितिकै जग्गामा विभिन्न स्वार्थ समूहसमेत लाग्ने भएकाले यसको संरक्षण मेयर ढकालका लागि ठूलो चुनौति र नैतिक दबाव बनेको छ । वीरेन्द्रनगरको धेरै सार्वजनिक तथा सरकारी जग्गा हडपेर बनाइएका संरचनामा भाडा लगाएर खाने काम भइरहेको एमालेका नेता गेहेन्द्र प्रसाद दाहाल बताउँछन् ।

वीरेन्द्रनगरको अर्को ठूलो समस्या सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हो । मेयर ढकालले कार्यपालिका पहिलो बैठकबाट नै सार्वजनिक जग्गाको संरक्षण गर्दै अतिक्रमण रोक्ने र नगर विकास समितिले वितरण गरेको जग्गाको खोजबिन गर्ने निर्णय गराएकी थिइन् । तर १०० दिन पुरा हुँदा समेत मेयर ढकालले यी दुई विषयमा ठोस कदम चाल्न भने सकेकी छैनन् ।

एउटा पार्टीको प्रतिनिधित्व गर्दै आएकी मेयर ढकालले आफ्नै पार्टीमा आवद्ध केही व्यवसायी र त्यो समूहको स्वार्थलाई पन्छाउन सक्दिनन्की भन्ने नगरवासीको आशंका छ । ‘मेयर साब जुन दलबाट आउनु भएको छ, त्यही दलसँग आवद्ध व्यापारीहरुले जग्गा कब्जा गरेका छन् । तीनैले बनाएका संरचनामा डोजर चलाउने हिम्मत उहाँमा छ ?’ स्थानीय एक युवक मेयर ढकाललाई प्रश्न गर्छन् ।

वीरेन्द्रनगरको उचित फोहोर व्यवस्थापन र पार्किङदेखि कुनै एउटा ट्राफिक लाइटसमेत नहुनु दुःखद् भएको स्थानीय युवक मदन आचार्य बताउँछन् । ‘नागरिकको दैनिकीसँग जोडिएका साना र मसिना कामलाई पनि मेयर प्राथमिकता दिन आवश्यक छ,’ आचार्यले भने, ‘मेयरले राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने देखिन्छ ।’

‘गफले समृद्धि ल्याउँदैन’

वीरेन्द्रनगर अब कस्तो बन्छ ? भन्ने संकेत गर्न १०० दिनलाई केलाए पर्याप्त हुने नेपाली कांग्रेसका नगर सभापति तथा ढकालका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र खड्का बताउँछन् । मेयर ढकाल पुरानै बाटोमा हिँडेको भन्दै उनले ठुलठूला गफले समृद्धि नआउने बताए ।

उनले भने, ‘मेयर साबले मिठा गफ बाहेक, अरु केही गरेको कहीँ कतै देखिंदैन । नागरिकका दैनिकीसँग जोडिएका स-साना सवालहरु त जहाँका त्यहीँ छन् । गफले समृद्धि ल्याउँदैन, उहाँका नगर समृद्धिका चुनावी बाचा गफमै सीमित भएको देखिन्छ ।’

वीरेन्द्रनगरका लागि केही गर्ने हुटहुटी मेयरमा भएपनि हिम्मतका साथ काम गर्न नसकेको राजनीतिक विश्लेषक कमलेश डिसी बताउँछन् । ‘मेयरले पार्टी र कार्यकर्तालाई खुसी पार्न नभई दीर्घकालिन महत्वका सवालमा नीतिगत तहबाटै निर्णय गर्नुपर्छ । नगरवासीको विश्वासमाथि घात गर्नु हुँदैन,’ उनले भने ।

बिहानीले दिनको संकेत गर्छ भनेझैं मेयर ढकालका १०० दिने धेरै ठूलो अपेक्षा गर्ने ठाउँ भने नभएको विश्लेषक डिसीले बताए । ‘केही अघिल्लो कार्यकाल र संघ, प्रदेश सरकारसँगका साझेदारीमा निर्माण हुन लागेका कामलाई पनि आफ्नो सय दिने उपलब्धि ठानेको देखियो । सय दिनमा नागरिकले ‘वाउ !’ भन्ने कुनैपनि काम हुन सकेन,’ डिसीले भने ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?