+
+
मन्थन :

स्वतन्त्र उम्मेदवारी : वैकल्पिक राजनीतिको ‘बटम-अप प्रोसेस’

एक विद्रोहको अर्थमा स्वतन्त्र उम्मेदवारी अभियान ठिक छ । यसपछि स्वतन्त्रहरू मिलेर चिन्तन, कार्यक्रम र संगठनका लागि पहल गर्नु अभियानको दोस्रो चरण हुनेछ । आत्मप्रशंसा र आत्मतुष्टि मात्र हो भने राजनीतिमा यसको कुनै महत्व छैन ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०७९ भदौ २७ गते ७:२१

वैकल्पिक राजनीतिका नाममा नेपालमा जति प्रयास भए, ती लगभग सबै ‘टप-डाउन प्रोसेस’ मा भएका थिए । कुनै नाम चलेको नेता वा व्यक्तिले ‘माथि’ बसेर सोच्ने, योजना बनाउने, पार्टी घोषणा गर्ने र त्यसलाई ‘तल’ सम्म विस्तार गर्ने ।

तर यो अभ्यास एक दशक पनि टिक्न सकेन । आजसम्म आउँदा यस्ता प्रयास छिन्न-भिन्न भइसकेका छन् । कोही शास्त्रीय दलकै शरणमा गइसकेका छन् । कोही राजतन्त्रको शरणमा । वैकल्पिक राजनीतिको ‘टप-डाउन प्रोसेस’ अहिले बेवारिसे अवस्थामा छ ।

स्थानीय चुनावपछिको माहोल भने फरक छ । विशेषगरी काठमाडौं र धरानको चुनावी परिणामले नयाँ सम्भावनातर्फ संकेत गरिरहेको छ । हिजो, राजधानीमा बस्ने अमूक ‘नाम चलेको’ व्यक्तिको वरिपरि राजनीतिको विकल्प खोजिन्थ्यो । आज मानिसहरू ‘स्थानीय’ व्यक्तिमा त्यो दम देख्न थालेका छन् ।

‘स्थानीय’ व्यक्तिहरू राजनीतिक विकल्प बनेर उदाउन थालेका छन् । नेतृत्व निर्माणको प्रक्रिया ‘माथि’ होइन, ‘तल’ बाट स्थापित हुँदैछ । आसन्न संसदीय चुनावमा यो प्रक्रिया झन् सघन बन्ने संभावना देखिंदैछ ।

हिजो-आजैबाट यसका संकेत देखिन थालेका छन् । सांसद पदका लागि ठाउँ-ठाउँमा स्वस्फूर्त स्वतन्त्र उम्मेदवारीको घोषणा हुन थालेका छन् । जनस्तरमा पनि नयाँ र स्वतन्त्र उम्मेदवारको खोजी हुन थालेको छ । उम्मेदवार प्रभावकारी हुँदा यसले परिणाममा पनि रोचकता ल्याउने नै संभावना छ ।

निःसन्देह, स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको जति महत्व हुन्थ्यो, संसदीय चुनावमा त्यो हुँदैन । कारण, नेपालको संविधानले दलविहीन संसदको परिकल्पना गरेको छैन । यद्यपि, स्वतन्त्र उम्मेदवारीको प्रतीकात्मक महत्व छ ।

स्वतन्त्र उम्मेदवारले खाईपाई आएका नेतालाई चुनौती दिन सक्छन् । स्वतन्त्रले जित्नु भनेको राजनीतिको पुरानो तरिका र पुराना खेलाडी तिरस्कृत भएका छन् भन्ने सन्देश पनि हो । यसले कति मानिसले शास्त्रीय दलहरूको विकल्प खोजी गर्दा रहेछन् ? यो तथ्याङ्कलाई स्पष्ट पार्दछ । यो वैकल्पिक राजनीतिको ‘बटम-अप प्रोसेस’ बन्न सक्छ ।

दृष्टिकोणको दोष

राजनीतिमा ‘प्रक्रिया’ आफैंमा सही र गलत हुँदैन । यसको चिन्तन र उद्देश्य चाहिं सही र गलत हुन्छ । चिन्तन र उद्देश्य सही हुन सक्दा दुवै ‘प्रक्रिया’ काम लाग्न सक्छन् । यसो नहुँदा दुवै ‘प्रक्रिया’ ले असफलता नै दिन्छन् ।

वैकल्पिक राजनीतिको ‘टप-डाउन प्रोसेस’ फेल खायो भन्नुको मतलब नेतृत्वको चिन्तन र उद्देश्य नै फेल खाएको हो । ‘बटम-अप प्रोसेस’ सफल वा असफल के हुन्छ ? यो पनि नेतृत्वको चिन्तन र उद्देश्यले नै निर्धारण गर्दछ ।

दुवै ‘प्रक्रिया’ का फाइदा र बेफाइदा छन् । ‘टप-डाउन प्रोसेस’ को फाइदा, यसले वैचारिक एकरूपता कायम गर्न, संगठनमा ‘चेन अफ कमाण्ड’ स्थापित गर्न राम्रो काम गर्छ । बेफाइदा, यसले नेतृत्वलाई असीमित अधिकार दिन्छ । मूल नेतृत्व विचलित हुने बित्तिकै सारा संगठन तहसनहस हुन्छ ।

‘बटम-अप प्रोसेस’ को फाइदा, यसले संगठनमा बढीभन्दा बढी मानिसको अपनत्व कायम गराउँछ । ‘तल’ का मानिसको भावना अनुसारका नीति/कार्यक्रम तय गर्ने मौका हुन्छ । बेफाइदा, यो तरिकाबाट वैचारिक एकरूपता हासिल गर्न गाह्रो हुन्छ । अनेक खालका मानिसले संगठन बनाउने प्रक्रियामा अराजकता पैदा गर्न सक्छन् ।

विगतमा नेताहरूले ‘टप-डाउन प्रोसेस’ बाट पार्टी निर्माण गरे । यदि उनीहरूसँग वैकल्पिक राजनीतिको सुस्पष्ट दृष्टिकोण हुन्थ्यो भने यो प्रक्रियाबाट पनि राम्रो परिणाम हासिल गर्न सकिन्थ्यो । उनीहरूसँग यो थिएन । दृष्टिकोणको दोषका कारण ‘प्रक्रिया’ नै गलत हो कि भन्ने देखियो । मूलतः नेतृत्वको सोच र उद्देश्य चाहिं गलत थियो ।

अचेतन पाराले यतिबेला वैकल्पिक राजनीति ‘बटम-अप प्रोसेस’ मा प्रवेश गरिसकेको छ । यो प्रक्रिया सफल हुन पनि सुस्पष्ट दृष्टिकोण नै चाहिन्छ । ‘तल’ बाट उदाइरहेका अनगिन्ती पात्रमध्ये कोही न कोही अनुसन्धानसहित आएको हुनुपर्‍यो । भावना, बुद्धि र अहंकारले होइन, सचेतन प्रयत्न, विज्ञान र साक्षीभावले काम गर्ने पात्र हुनुपर्‍यो । यो शर्तमा मात्र ‘बटम-अप प्रोसेस’ काम लाग्छ । नत्र यो प्रक्रिया अराजकतामा गएर टुंगिन्छ ।

‘लर्निङ वाई डुइङ’

हामीसँग राजनीतिमा केवल एउटै विकल्प बाँकी छ । त्यो विकल्प भनेको ‘जैविक समाज’ निर्माणको विकल्प हो । वैकल्पिक राजनीतिका लागि यो मार्ग र गन्तव्य, दुवै हो

मानिस आफूलाई पृथ्वीको सर्वोत्कृष्ट प्राणी भन्दछ । तर मानिस भन्दा मूर्ख प्राणी यो संसारमा अरू कोही छैन । यसले सिक्ने भनेकै लड्दै, पढ्दै, गल्ती गर्दै हो । पशु-पक्षीलाई सिकाउनै पर्दैन । विना बाहृय सिकाइ पशु-पक्षीले आफ्नो प्रजातिको रक्षा गर्ने काम गरिरहेकै छन् ।

चुच्चे ढुंगा चलाओस् वा रोबोर्ट, मानिसले गरेको पनि त्यत्ति नै हो- अर्थात्, आफ्नो प्रजातिको रक्षा । यो बाहेक मानिसले आजसम्म अरू केही गरेको छैन । तर मानिसलाई यो सबै गर्न सिकाउनुपर्दछ । यति गर्दा पनि गल्ती गर्ने प्राणी केवल मानिस हो ।

हत्या-हिंसा गर्ने पनि मानिस, चोरी गर्ने पनि मानिस । गलत खानेकुरा खाने पनि मानिस, गलत खानेकुरा अर्कालाई खुवाउने पनि मानिस । अर्कालाई भेदभाव र थिचोमिचो गर्ने पनि मानिस, स्वयंको आत्महत्या गर्ने पनि मानिस । धन/पदको लोभ गर्ने पनि मानिस, पर्यावरण ध्वस्त पारेर आफ्नो खुट्टामा आफैं बञ्चरो हान्ने पनि मानिस, विश्वयुद्ध गरेर आफ्नै प्रजातिको आम संहार गर्ने पनि मानिस ।

पशु-पक्षीहरूले कहिल्यै यस्तो गल्ती गर्दैनन् । यस्तो गल्ती केवल मनुष्यले गर्दछ । अनि यस्तो प्राणीलाई कसरी उत्कृष्ट मान्न सकिन्छ ?

मानिस जंगलमा हिंसा छ भन्दछ, तर जंगलमा २४ घण्टामा केवल १ घण्टा मात्र हिंसा हुन्छ । बाँकी २३ घण्टा शान्ति हुन्छ । एक पल्ट खाएर अघाएको मांसहारी पशु पनि कम्तीमा २३ घण्टा शान्त रहन्छ । तर मानव समाज २४ सै घण्टा अशान्त छ ।

स्वभावगत दृष्टिले हेर्दा आजसम्मको सामाजिक इतिहास मानवीय मूर्खताको इतिहास हो । जतिसुकै बुद्धि चलाओस्, जस्तोसुकै प्रविधि चलाओस्, मानिस कहिल्यै सन्तुलित मार्गमा हिंडेको छैन । यसले कहिले दायाँ अतिमा ढल्किएर यात्रा गरेको छ, कहिले बायाँ अतिमा । गल्तीको एउटा भित्ताबाट अर्को भित्तामा ठोक्किनु मानव जातिको सनातन स्वभाव हो ।

वैकल्पिक राजनीति निर्माणको अभियान यो प्रक्रियाबाट अलग रहनै सक्दैन । यसले थुप्रै गल्ती गर्ने छ । कहिले ‘टप-डाउन प्रोसेस’तिर ढल्किने छ । कहिले ‘बटम-अप’ तिर । यसबाट थोरै सिक्ने छ । अन्ततः निकै समय लिएर मात्र एउटा सन्तुलन बन्ने छ । तब मात्र वैकल्पिक राजनीतिले एउटा आकार ग्रहण गर्नेछ ।

यद्यपि कुरा नकारात्मक मात्र छैनन् । नयाँ पुस्ताका लागि केही सकारात्मक र सहुलियतका कुरा पनि छन् । हिजो, विज्ञानका खोजहरू टुंगोमा पुगिसकेका थिएनन् । त्यो बेला विज्ञानले नै विभाजन र विरोधाभास सिकाउँथ्यो । त्यसकारण हिजो जो-कोहीबाट गल्ती हुन सक्थ्यो । जो-कोहीले राजनीतिमा अनावश्यक बहस र वैचारिक विभाजन भोग्नुपर्थ्यो ।

आज, विज्ञानका विधाहरूले टुंगोका कुरा गर्न थालेका छन् । यदि आधुनिक विज्ञानप्रति चासो राख्ने हो भने, अब राजनीतिकर्मीले बहस र विरोधाभासमा अल्मलिइरहनुपर्दैन । के गर्ने ? कसरी अगाडि बढ्ने ? यस विषयमा आधुनिक विज्ञानले सुस्पष्ट मार्गदर्शन गरिसकेको छ । यो मानवीय बौद्धिक क्षमताको सकारात्मक पाटो हो । यही नै नयाँ पुस्ताका लागि सकारात्मक र सहुलियतको कुरा हो ।

यो सकारात्मक कुराको सदुपयोग गर्न विज्ञानको बोध र सचेतन प्रयत्न जरूरी हुन्छ । आधुनिक विज्ञान अनुरूपको राजनीतिक संश्लेषण जरूरी हुन्छ । अहिले विश्वले यस्तै पात्र खोजी रहेको छ । जसले आधुनिक विज्ञानका मार्गदर्शन अनुसारको राजनीतिक मार्गचित्र तयार गरोस् । सन्तुलित प्रक्रियाद्वारा राजनीतिक शक्ति निर्माण गरोस् ।

तर आजको आम मानिस, विज्ञान बोधको यो तहसम्म पुगेको छैन । त्यसैले, गल्ती गरिरहेको छ । लड्दै-पड्दै, सिक्दै गरिरहेको छ । यस्ता गल्ती थुप्रै दोहोरिने वाला छन् । तब बल्ल केही ‘नयाँ’ हुने वाला छ । हाम्रा लागि तत्काल गल्तीहरू ‘स्वीकार’ गर्नु बाहेक अरू विकल्प छैन ।

अराजकतालाई स्वागत

हिजो, राजनीतिक स्थायित्व कायम हुन नसक्नुलाई समस्या मानिन्थ्यो । बहुमतको सरकार भए यो समस्या समाधान हुन्छ भनिन्थ्यो । यसपालिको चुनावमा यो बहानाबाजीका लागि स्थान बाँकी छैन । सबैलाई थाहा छ, विगतमा बहुमतको सरकार गठन भएकै हो । तर राजनीतिक स्थायित्व कायम हुन सकेन ।

यसपालि स्वतन्त्रको माहोल बलियो बनेछ र स्वतन्त्र उम्मेदवारले उल्लेख्य संख्यामा जितेर आएछन् भने पनि संसदको चरित्रमा केही फरक पर्नेवाला छैन । बरु झन् ‘आगोमा घिउ’ थपिनेवाला छ । कारण, दलविहीन सांसदले संसदमा कुनै प्रभावकारी भूमिका खेल्न सक्दैन । तब पुरानै सांसदहरूको नाटक हेर्ने बाहेक केही काम हुँदैन ।

अर्कोतिर, स्वतन्त्र सांसदहरूमै चिन्तन र उद्देश्यको एकरूपता हुने छैन । यसले राजनीतिक अस्थिरताको पुरानो रोगलाई झन् बल्झाउने छ । अन्ततः संसदको पाँचवर्षे कार्यकाल गल्ती र अराजकताको काल बन्नेछ ।

तैपनि यसपालि संभावित गल्ती र अराजकतालाई स्वागत गर्नुपर्ने अवस्था छ । कारण, यहाँ गल्तीहरूको सहारामा नै ‘सही’ स्थापित गर्नुछ । अराजकताको सहारामा नै ‘नियम’ स्थापित गर्नु छ । विभाजनको सहारामा नै ‘एकता’ स्थापित गर्नुछ । ‘तल’ को सहारामा नै ‘माथि’ स्थापित गर्नुछ ।

मानव जातिलाई एकैचोटि सत्य पच्दैन । थुप्रै हण्डर-ठक्कर खाएपछि मात्र उसले विस्तारै सत्य स्वीकार गर्दछ । त्यसैले, गल्ती, अराजकता, विभाजन र स्थानीयताको जगमा वैकल्पिक राजनीतिको महल उठाउनु बाहेक तत्काल अरू कुनै उपाय छैन ।

विकल्प, जैविक समाज

एक विद्रोहको अर्थमा स्वतन्त्र उम्मेदवारी अभियान ठिक छ । यसपछि स्वतन्त्रहरू मिलेर चिन्तन, कार्यक्रम र संगठनका लागि पहल गर्नु अभियानको दोस्रो चरण हुनेछ । दोस्रो चरणमा आउन तयार हुनेले मात्र स्वतन्त्र उम्मेदवारी अभियानमा सामेल भएको राम्रो । होइन, आत्मप्रशंसा र आत्मतुष्टि मात्र हो भने राजनीतिमा यसको कुनै महत्व छैन ।

कोही व्यक्ति अझै पनि उदारवाद कि समाजवाद ? लोकतन्त्र कि नायकतन्त्र ? वर्ग कि जाति ? सदाचार कि भ्रष्टाचार ? सिद्धान्त कि व्यवहार ? पात्र कि प्रणाली ? टप-डाउन प्रोसेस कि बटम-अप ? जस्ता प्रश्नमै राजनीतिलाई सीमित गर्छ भने बुझे हुन्छ, उसले आधुनिक विज्ञान बुझेको छैन । यस कारण, उसले वैकल्पिक राजनीतिको मेलो-मेसो थाहा पाएको छैन ।

माथिका प्रश्न शास्त्रीय विज्ञानले जन्माएका हुन् । अब यस्ता प्रश्नमा बहस जरूरी छैन । आधुनिक विज्ञानले यस्ता विषयको बहसलाई टुंग्याइसकेको छ । आज राजनीति गर्न चाहने जो-कोहीले कमसेकम यो खबर थाहा पाएको हुनुपर्दछ ।

राजनीतिमा ‘टप-डाउन’ र ‘बटम-अप’ दुवै प्रोसेसको बराबर महत्व छ । यी दुवै प्रोसेसको सन्तुलित उपयोगबाट मात्र वैकल्पिक राजनीतिले आकार ग्रहण गर्न सक्छ ।

अब हामीसँग राजनीतिमा केवल एउटै विकल्प बाँकी छ । त्यो विकल्प भनेको ‘जैविक समाज’ निर्माणको विकल्प हो । वैकल्पिक राजनीतिका लागि यो मार्ग र गन्तव्य, दुवै हो । ‘जैविक राजनीति’ का माध्यमबाट मात्र यो काम सम्भव छ । वैकल्पिक राजनीतिका कुरा गर्ने जो कोहीले अब यतातिर चासो राख्दा मात्र साँच्चैको वैकल्पिक राजनीति सम्भव हुनेछ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?