News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा \'जेनजी\' भनिने नवयुवाहरूको आन्दोलनले पुराना राजनीतिक पार्टीहरूको वास्तविक स्थिति र जनताको असन्तुष्टिलाई उजागर गरेको छ।
- राजनीतिक दलहरू वैचारिक र गतिशीलतामा कमजोर भएर देशलाई सङ्कटमा पुर्याएको र नयाँ वैचारिक दल निर्माण आवश्यक भएको प्रलोपा नेता कार्कीको धारणा छ ।
- समाजवादी आन्दोलनमा नयाँ वैचारिक बाटो अपनाउँदै समुन्नत समाजवादतर्फ अघि बढ्नुपर्ने र पपुलिज्म तथा हिरोइज्मबाट बच्नुपर्ने सुझाव दिइएको छ।
जेनजी भनिने नवयुवाहरूको जायज आक्रोश, उत्साह र आन्दोलनले नेपालमा क्रियाशील पुराना र नयाँ सबै पार्टीहरूको वास्तविक कद, बुझाइको स्तर र हविगतलाई सतहमा ल्याइदिएको छ। नेपाली जनतालाई केवल मूक मतदाता ठान्ने अधिकांश राजनीतिक पार्टीहरूले आफ्ना कार्यकर्ताहरूलाई आज्ञाकारी मतदान एजेन्टमा फेर्न सफलता हासिल गरेकै थिए। वैचारिक-राजनीतिक गतिविधि र स्वतन्त्रताको अभावमा राजनीतिक पार्टीका कार्यकर्ताको राजनीतिक जीवन र गतिशीलता निसासिएर मर्दछ। त्यस्ता कार्यकर्ताले भरिएको पार्टीले विपरीत दिशाबाट आउने सानो धक्का पनि सहन सक्दैन भन्ने सत्य भदौ २३ र २४ गते सबैले बुझ्ने गरी उजागर भयो।
राजनीतिक पार्टीहरूका नेताहरूको सिन्डिकेट यो कुरामा ढुक्क थियो कि ‘हामी सङ्गठित शक्तिहरू लुटको राज्य चलाउने काममा साझेदार बनेकै छौँ, असङ्गठित जनसमूहले के नै गर्न सक्दछ र?’ यस्तो विचार र व्यवहारका कारण जनसमुदाय र पार्टीका बीच चाक्लिंदै गएको धाँजामा आक्रोशका ऊर्जाहरू थपिंदै गएका थिए।
नवयुवाहरूले थालेको आन्दोलनमा यही ऊर्जा विस्फोट हुन पुग्यो। नेपाली जनता, मुख्यतः बहुसंख्यक श्रमजीवी जनताको दृष्टि र विचारमा राजनीतिक पार्टीहरू विघटित भएका छन्। तिनको ढाँचा त बाँकी छ तर त्यसभित्र ज्यान छैन। त्यसैले अबको नेपालमा नयाँ वैचारिक आधारमा बहुसंख्यक श्रमजीवी जनताको वास्तविक हितको प्रतिनिधित्व गर्ने नयाँ पार्टीको निर्माण गर्नु ऐतिहासिक आवश्यकता हो।
जुन पार्टीले जनतालाई पाँच वर्षमा एकपटक फुल्याउनुपर्ने असहाय मतदाता होइन, देश निर्माण गर्ने भरोसायोग्य शक्ति ठान्दछ र सोही अनुसार व्यवहार गर्दछ। यही वास्तविकतालाई स्वीकार गर्ने चार बेग्लाबेग्लै राजनीतिक, सामाजिक र प्राज्ञिक पृष्ठभूमि भएका व्यक्तिहरूले आफ्ना पुराना ओतहरू भत्काएर राजनीतिको नयाँ घर बनाउने अठोट गरेका छौँ।
हामी सबै मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गर्ने सङ्कल्प गरेका छौं। यसको निर्माणमा ‘जेनजी’ आन्दोलनमा सक्रिय सहभागी सैद्धान्तिक-वैचारिक रूपले सचेत नवयुवाहरूको एउटा समूहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई वाम र प्रगतिशील पार्टीमा फेर्ने अभियानमा संलग्न हिस्सा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विद्रोह गरेर यो पार्टी निर्माणमा संलग्न रहेको छ। गत एक दशकदेखि वैकल्पिक राजनीतिक शक्ति निर्माणमा क्रियाशील समाजवादी नयाँ शक्ति, सिङ्गो पार्टी नै यो नयाँ पार्टी संस्थापनमा लागिपरेको छ। लामो समयदेखि नेकपा माओवादी केन्द्रभित्र त्यो पार्टीलाई सिद्धान्तनिष्ठ, सर्वहारावादी मूल्य र आदर्शमा निष्ठावान् र मजदुर-किसान लगायत उत्पीडित जनताप्रति व्यवहारमा प्रतिबद्ध पार्टी बनाउन सङ्घर्ष गरिरहेको समूह पुरानो नेतृत्वसँग विद्रोह गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माणमा संलग्न छ।
पन्छाइएको वैचारिक–राजनीतिक कार्यभार
एक समय यो भनाइ खुबै प्रचलित थियो कि विश्वमा (युरोपलाई नै विश्व भनेर बुझिने कालमा) सबैभन्दा भीषण वर्ग सङ्घर्ष फ्रान्समा लडिने गरिन्छ। अहिले हामी भन्न सक्छौँ– दक्षिण एशियामा सबैभन्दा धेरै जनसङ्घर्षहरू नेपालमा हुने गर्दछन्। प्रत्येक १०-१५ वर्षमा आन्दोलनका लहरहरू देखा पर्नु आधुनिक नेपालको विशेषता बन्न गएको छ।

२००७ सालयता भएका सङ्घर्षहरू आफ्नो घोषित उद्देश्यमा पुग्न नपाउँदै सम्झौतामा टुङ्गिने गरेको र परिवर्तनको पक्षको नेतृत्व यथास्थितिमै भासिने गरेको यथार्थ त सतहमै देखिन्छ। यसको वास्तविक कारण पत्ता लगाउन भने सही दृष्टिकोण र परिश्रमपूर्ण मेहनतको जरूरी छ।
कतिपय इतिहासकारहरूका अनुसार सामन्तवाद विश्वव्यापी परिघटना होइन। जुन जुन समाजमा सामन्तवाद रह्यो वा रहिरहेको छ, तिनका पनि आ-आफ्नै बेग्लाबेग्लै विशेषताहरू छन्। नेपालको हकमा सामन्तवादका बारेमा धेरै कुरा हुने गर्दछ तर त्यसको विशिष्ट चरित्र खुट्याउने काममा हाम्रो ध्यान कमै गएको छ। अझ नेपालभित्रै सामन्तवाद र कबिला व्यवस्था समानान्तर रूपले बाँचेको यथार्थबारे गम्भीर रूपमा छलफल समेत भएको छैन। यी दुई भिन्न व्यवस्था एकसाथ कायम रहनुको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिणामहरूबारे अध्ययन र छलफल हुनु जरूरी छ।
विचार भनेको आफ्नो लामो उद्विकासको क्रममा मानव जातिले आविष्कार गरेको, संसारलाई बुझ्ने र बदल्ने सबैभन्दा उन्नत र शक्तिशाली अभौतिक साधन वा हतियार हो। जब विचार राजनीति हुँदै सङ्गठन र व्यवहारमा जनता बीच पुग्दछ, यो क्रमशः भौतिक शक्तिमा फेरिन्छ। भौतिक, जैविक, सामाजिक र मानसिक जगत्को गति र विकाससँगै देश (स्पेस) र काल (टाइम) अनुरूप विचारको संश्लेषण, प्रयोग र विकास हुँदै जान्छ।
तसर्थ, संसारलाई बुझ्ने र बदल्ने सामर्थ्य राख्ने एक मात्र प्राणी मानव जातिको अस्तित्व रहेसम्म विचारको अन्त्य कहिल्यै हुँदैन र हुन सक्दैन। किनकि निरन्तर भौतिक, जैविक, सामाजिक, मानसिक जगत्का गतिका नियमहरूको मानिसको चेतनाले गर्ने संश्लेषण नै ‘विचार’ हुनाले मानिस र विचारको गतिशील अस्तित्वलाई कहिल्यै अलग्याउन सकिन्न।
मानव जातिको उद्विकासको इतिहासले भन्छ– करिब ६० करोड वर्ष पहिले प्रारम्भिक रूपमा राम्रो-नराम्रो छुट्याउने क्षमता (स्टियरिङ) सहितको प्राणीको उद्विकास भएको थियो। त्यही प्राणी क्रमशः दोहोर्याएर कार्य गर्न सक्ने (रिइनफोर्सिङ), नक्कल गर्न सक्ने (सिमुलेटिङ), सोच्न सक्ने (मेन्टलाइजिङ) लगायत विभिन्न मानसिक क्षमता विकास गर्दै करिब १ लाख वर्ष पहिले मात्र बोलेर भाषामा कुरा गर्न सक्ने ‘होमोसेपियन्स’ प्रजाति अर्थात् वर्तमान मानव जातिका आदिम पुर्खामा विकसित भएको थियो।
बोल्ने, लेख्नेदेखि लिएर विद्युतीय सञ्चारमाध्यमहरू मार्फत द्रुत गतिमा सूचना आदानप्रदान र नवीन विचार संश्लेषण गर्ने क्षमताले नै मान्छेलाई केही सय वर्षयता अरू प्राणीहरूसँग तुलनै गर्न नसक्ने गरी उद्विकासको यो शिखरमा पुर्याएको हो। अहिले संसारभर तहल्का र एकप्रकारको संशयपूर्ण आतङ्क मच्चाइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) त्यसको उच्चतम अभिव्यक्ति हो। (म्याक्स बेनेट, २०२३, अ ब्रिफ हिस्ट्री अफ इन्टेलिजेन्स: ह्वाइ द इभोलुसन अफ द ब्रेन होल्ड्स द की टु द फ्युचर अफ एआई)
मस्तिष्क विज्ञान, संज्ञानात्मक मनोविज्ञान, मानवशास्त्र, कृत्रिम बुद्धिमत्ता लगायत पछिल्ला सबै विज्ञानका अध्ययनहरूले मानव जातिको उद्विकासमा सबैभन्दा बढी योगदान उसको मस्तिष्कमा रहेको, बाहिरी संसारबाट प्राप्त हुने सबै सूचनाहरूलाई प्रशोधन गरेर विविध प्रकृतिका विचार निर्माण र तिनलाई जीवन व्यवहारमा प्रयोग गर्ने विशिष्ट क्षमताको नै हो भनेर पुष्टि गरेका छन्।
विचारका विभिन्न हाँगाहरूमध्ये दर्शन, राजनीति, अर्थशास्त्र, समाजशास्त्र, सौन्दर्यशास्त्र लगायतको समष्टि, जसलाई सामान्यतः ‘विचारधारा’ (आइडियोलोजी) वा ‘मार्गनिर्देशक सिद्धान्त’ (गाइडिङ प्रिन्सिपल) भनिन्छ, त्यो नै समग्र समाज र राज्यलाई दिशाबोध गर्ने मुख्य साधन हुन्छ। त्यो वैचारिक-राजनीतिक विचारधारा वा सिद्धान्तको जगमा नै राजनीतिक दल र राज्यको नीति, योजना, कार्यक्रम, सङ्गठन, नेतृत्व, व्यवस्थापन लगायत अङ्गहरूको निर्माण हुन्छन्। अर्थात् यसरी पनि भन्न सकिन्छ– विचारधारा समग्र रूख हो भने नीति, कार्यक्रम आदि त्यसका हाँगाबिँगा हुन्। अतः यहाँ हामी विचारधारात्मक प्रश्नको विमर्शमा नै बढी केन्द्रित हुनेछौँ।
ऐतिहासिक रूपले विश्वमा र नेपालमा मानव समाज र राज्यको विकाससँगसँगै तिनलाई परिचालन र दिशाबोध गर्ने विचारधाराको विकास हुँदै आएको स्पष्ट रूपले देख्न सकिन्छ। सुरुको प्रारम्भिक खेतीपाती तथा पशुपालक अर्थतन्त्र र कबिलाई गणतन्त्रको युगमा प्रकृतिपूजक विचारधाराको बाहुल्य प्रायः सबैतिर पाइन्छ। त्यसपछिको ठूलो आकारको भूभागमा सामन्तवादी आर्थिक प्रणाली र वंशानुगत राजतन्त्रात्मक राज्य-प्रणाली भएको युगमा अदृश्य दैवीशक्तिमा आधारित चैतन्यवादी (आइडियालिस्ट) र अधिभूतवादी (मेटाफिजिकल) विचारधाराको वर्चस्व रहेको सर्वत्र देखिन्छ। त्यस्तो चिन्तन प्रणाली विश्व र नेपालमा हजारौँ वर्षसम्म रह्यो र त्यसको अवशेष छिटपुट रूपमा अझै पाइन्छ।
सोह्रौं–सत्रौं शताब्दीदेखि मूलतः युरोपमा भएको वैज्ञानिक क्रान्ति, औद्योगिक क्रान्ति र लोकतान्त्रिक क्रान्तिपछि मात्र आधुनिक युग सुरु भएको मानिन्छ। त्यसै क्रममा हजारौं वर्षदेखिको भौतिक र सामाजिक जगत् सम्बन्धी दैवीशक्तिमा आधारित मूल्यमान्यता र विचारको विनिर्माण भएर मानवकेन्द्रित र वैज्ञानिक तथ्यमा आधारित भौतिकवादी विचार शृङ्खलाको प्रादुर्भाव भएको हो।
महत्त्वपूर्ण ऐतिहासिक घुम्तीमा भएको चुक
२०६३/६४ नेपालको राजनीतिक इतिहासको असाध्यै महत्त्वपूर्ण घुम्ती थियो। त्यो अवधिमा जनयुद्ध र जनआन्दोलन वरिपरिको विस्तृत परिप्रेक्ष्य, ऐतिहासिक तनाव, द्वन्द्वको पृष्ठभूमि र झडपको धरातल विराट आयाम सहित उजागर भएको थियो।

त्यसले सतहमा ल्याएका आर्थिक, राजनीतिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक अन्तरविरोधको फराकिलो आयामबाट प्राप्त सकारात्मक ऊर्जालाई नेपाली समाजको पुनर्निर्माणमा सदुपयोग गर्न परिवर्तन पक्षको अगुवाइ गर्नेहरू चुके। त्यो पुनर्निर्माणको अगुवाइ गर्न आवश्यक पर्ने राजनीतिक संस्कृति र आचरणलाई जोगाइराख्न क्रान्तिकारी नेतृत्व पूर्णतः असफल रह्यो।
सशस्त्र जनयुद्धको नेतृत्व गर्ने माओवादी पार्टी शान्ति प्रक्रियामा प्रवेश गर्नु नेपालको क्रान्तिकारी आन्दोलनका निम्ति एउटा अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण घडी थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय, विशेषतः अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका कारण सशस्त्र युद्धलाई निरन्तरता दिइरहनु त्यतिबेला सम्भव र उचित दुवै थिएन। तर, जनयुद्धले थप्दै गएका चुनौतीलाई बहाना बनाएर नेपालमा भर्खरै भित्रिएको दलाल पूँजीवादको वर्चस्व सहितको संसदीय प्रणालीमा भासिंदै जानु क्रान्तिकारी आन्दोलनप्रति विश्वासघात हुन जान्थ्यो र कालान्तरमा त्यही भयो।
अतीतका सफल र असफल क्रान्ति तथा त्यसमा संलग्न नेतृत्वका शिक्षाहरू समेतलाई ग्रहण गरेर नेपाली विशेषता सहितको नयाँ कार्यदिशा तय गर्नु समयको माग थियो; क्रान्तिको जरुरी कार्यभार थियो। प्रत्यक्ष युद्धबाट अप्रत्यक्ष युद्ध (वार अफ पोजिसन) तर्फ आन्दोलनलाई फर्काउने समझ, चेष्टा र प्रयत्नतर्फ परिवर्तन पक्षधर ठानिएको नेतृत्वको पटक्कै ध्यान गएन। सामाजिक क्रान्तिमा बलको बाटोभन्दा विचारको बाटोको महत्त्व र आवश्यकता अधिक हुन्छ भन्ने ज्ञानलाई आत्मसात् गर्ने र व्यवहारमा लागू गर्नेभन्दा संसदीय तडकभडकमा रमाएरै नेतृत्वले समय बितायो।
सशस्त्र सङ्घर्षको सीमान्तपछि उत्पादन सम्बन्धलाई भत्काएर उत्पादकहरूको नयाँ सङ्गठन र नयाँ सम्बन्ध स्थापित गर्ने सङ्घर्षको नयाँ बाटो अख्तियार गर्न पार्टी असमर्थ रह्यो। सशस्त्र जनसेनाको सट्टा सांस्कृतिक र वैचारिक रूपले सुसज्जित सांस्कृतिक-वैचारिक सेनाको निर्माण गर्ने दिशामा पार्टीको ध्यान गएन। नेपालको शिक्षा सम्बन्धी दर्शन, सोच र प्रणालीलाई फेर्नेतर्फ नेतृत्वको रुचि नै देखिएन। जनस्वास्थ्य, जनकृषि र जनउद्योग हाम्रा प्राथमिकतामा परेनन्। समाजवादको झण्डा फरफराउँदै विश्व पूँजीवादले सुझाएको बाटोबाट नै साम्यवादमा पुग्ने वास्तविक प्रयत्न यथार्थमा ठोकिएर यसपटक चकनाचुर भएको छ।
आजको यथार्थ
उदारवादी भनिने नेपालमा प्रचलित यो दलाल तथा नोकरशाही पूँजीवादी प्रणालीलाई प्रतिस्थापन गर्ने कार्यक्रमको सर्वथा अभावमा पछिल्ला १५–२० वर्ष बितेका छन्।
अहिले पनि गुदी र सार समान भएका राय र विचारहरू बेग्लाबेग्लै खोलभित्र प्रस्तुत गर्ने काम भएको छ। ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ का लेखक फ्रान्सिस फुकुयामा र ‘विचारधाराको अन्त्य’का लेखक ड्यानियल बेल मार्क्स पुनः फर्किएका कारण आफ्ना पुराना मान्यताहरूको समीक्षा र पुनर्विचारमा जुटेको अवधिमा नेपालमा भने कांग्रेस र कम्युनिस्ट नेताहरू, अझ विशेष रूपमा नयाँ कम्युनिस्ट पार्टी–माओवादी पार्टीका सर्वोच्च नेतृत्वको कर्म र व्यवहारले आदर्शबीचको भेद, विचारधारा बीचको भेद, वर्ग स्वार्थहरूको अन्तर तथा वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक आदि विभेदहरूको अन्त्यको भ्रम व्याप्त बनाउँदै थियो।
यथार्थमा यो विचारधारा बीचको भेदको अन्त्य थिएन। यो त विगतमा मजदुर-किसानहरूको हितको पक्षपोषण गर्ने पार्टी, विशेषतः यसको नेतृत्व दलाल पुँजीवादका सामु आत्मसमर्पण गरेको यथार्थ थियो। यसको सर्वाधिक दूरगामी नकारात्मक असर जनसमूहको चरित्र निर्माणमा पर्न गयो। यी नेताहरूको कद सबै नेपालीले छर्लङ्ग देख्ने उचाइमा रहेकाले यिनीहरूको उदाङ्गिएको जीवन-चरित्र, नातावाद, कृपावाद, स्वेच्छाचारिता, अविश्वसनीय व्यवहार र कार्यनीतिमा देखिने जालझेल-कपट आदिले समाजको एउटा ठूलो हिस्साको चरित्र निर्माणमा गम्भीर नकारात्मक असर पर्न गयो। भदौ २४ मा प्रकट भएको नकारात्मकता यिनै नेताहरूले गोडमेल गरेको नकारात्मक मूल्यको हुर्किएको रूप थियो।
उमेर समूहकै हिसाबले साठी कटेका राजनीतिक नेता-कार्यकर्ताहरू मात्र होइन, ३० वर्ष माथिका र ६० वर्षभन्दा मुनिका राजनीतिमा संलग्न पुस्तासँग पनि ‘जेनजी’ भनिने नवयुवा पुस्तालाई अर्ती-उपदेश दिने नैतिक साहस छैन। हामीले काँध र टाउकोमा सकिनसकी बोकिरहेका दुर्गन्धित बोझलाई केही समयकै निम्ति भए पनि भागाभाग बनाउने नयाँ पुस्तालाई क्रान्तिकारी अभिनन्दन गर्नै पर्दछ।

युवाहरूलाई युवा बनाउने भनेको त्यो उमेरमा पाइने खास विशेषताहरू हुन्। यो विश्व-ब्रह्माण्ड, जीवन र जगत्का बारेमा अविराम जिज्ञासा, उत्सुकता, कौतूहल र प्रश्न गर्ने साहस यी युवाहरूमा पाइने पहिलो चारित्रिक गुण हो। तीव्र संवेदनशीलता, जोखिम उठाउने साहस, केही नयाँ गरेर देखाउने छटपटी, लकिरको फकिर हुन अस्वीकार गर्ने र यसअघि कोही नहिँडेको बाटोमा पाइला राख्ने आँट युवा उमेरमै पाइन्छ। नयाँ ठाउँ हेर्ने र घुम्ने मात्रै होइन, विचारको पनि नयाँ संसारमा विचरण गर्ने चाहना युवा उमेरमा अत्यधिक मात्रामा पाइन्छ।
सत्य र असत्यलाई पर्गेलेर सत्यलाई साथ दिने कामना र प्रतिबद्धता यो उमेर समूहमा जति अन्य कुनै उमेर समूहमा पाइँदैन। सडेगलेका र मानव प्रगतिका बाधक तत्त्वहरूलाई पन्छाउने तथा जीवन-उपयोगी नयाँ वस्तु र नयाँ विचारको सिर्जना गर्ने रचनात्मक सिर्जनशीलता पनि यही उमेरमा अत्यधिक मात्रामा पाइन्छ। यी गुणहरूले नै एउटा खास उमेर समूहका मानिसलाई युवा वा तरुण बनाउँछन्। अपवादका रूपमा कतिपय युवा शरीरमा पनि बालक वा वृद्ध मतिले बास गरेको हुन्छ भने कतिपय प्रौढ वा वृद्धहरूमा समेत तरुणोचित गुणहरू पाइन्छन्।
यही सब कुरामाथि ध्यान दिएर विभिन्न उमेर समूहका प्रगतिप्रेमी व्यक्तिहरू आजका ‘जेनजी’ युवाहरूसँगै पङ्क्तिबद्ध भएका छौं। भ्रष्ट अपसंस्कृतिलाई विनाश गरेर जनसंस्कृति र सफा व्यवहारद्वारा नयाँ नेपाल बनाउने यो अभियानमा स्वाभाविक रूपले नै युवाहरूको भूमिका महत्त्वपूर्ण हुनेछ। प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध युवाहरू र यिनका दामालीहरूसँग आ-आफ्नो अभिज्ञता, ज्ञान र अनुभव बाँड्न पाउनु सुखद मात्र होइन, फलदायी हुनेछ।
वर्तमान परिस्थितिको आकलन
परिवर्तनको दोसाँधमा नेपालका पुराना राजनीतिक शक्तिहरू गत एक दशकदेखि वैचारिक, राजनीतिक, आर्थिक र प्रशासनिक सबै हिसाबले गतिहीन र स्खलित भएर देशलाई चौतर्फी सङ्कटको भुमरीमा फसाइरहेका छन्। मूलतः कांग्रेस, एमाले र माओवादीको मूल नेतृत्वले पालैपालो सत्ताको नेतृत्व गरेर आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म) को अभ्यास गर्ने, भ्रष्टाचार र अनियमितताको पहाड खडा गर्ने, देशलाई अल्पविकास, बेरोजगारी र परनिर्भरताको दुश्चक्रमा फसाउने र देशको अधिकांश युवा जनशक्तिलाई विदेश पलायन हुन बाध्य पार्ने कुकार्य गरिरहेका छन्।
अन्य कुराहरूका अतिरिक्त यसको मूल कारण क्रान्तिकारी आन्दोलनबाट आएका तीनवटै पार्टीका प्रमुख नेतृत्व पङ्क्तिको तीव्र गतिको भ्रष्टीकरण र स्खलन, विश्व दृष्टिकोणमा आएको यथास्थितिवादी परिवर्तन, नयाँ युगको नयाँ कार्यभार वहन गर्ने दूरदृष्टि र क्षमताको अभाव हुन्। ती सबैको अन्तर्यमा आ-आफ्ना दलका वैचारिक-राजनीतिक कार्यदिशाको समयानुकूल पुनर्संश्लेषण र विकासको पूरै अभाव रहेको छ।
ती दलका महाधिवेशन, सम्मेलन र बैठकहरूमा पार्टीको विचारधारा, देशको अर्थ-राजनीति लगायत बहुआयामिक संरचनात्मक समस्या, बदलिँदो भू-राजनीतिका चुनौती र सम्भावना, सुशासन र सेवा प्रवाहको प्रत्याभूति लगायत राष्ट्रिय र सार्वजनिक महत्त्वका प्रश्नहरूमा गम्भीर बहस र निर्णय भएको कहिल्यै सुन्न पाइन्न। बरु राज्यसत्ताको दोहनको भागबण्डा, नेतृत्वको होडबाजी र गुटहरूको व्यवस्थापन नै प्रमुख एजेन्डा बनेका हुन्छन्।
पपुलिज्म र हिरोइज्मको उदय
देशमा पुराना राजनीतिक दल र नेतृत्वप्रति आम जनता र विशेषतः ‘जेन-जी’ भनिने नयाँ डिजिटल प्रविधिमा पोख्त युवाहरूको वितृष्णा र आक्रोश चुलिंदै जानु स्वाभाविक छ। खासगरी देशभित्र यथेष्ट आयमूलक रोजगारी र जीवनोपयोगी शिक्षा नपाएर संसारका डेढ सयभन्दा बढी देशमा भौंतारिन बाध्य पारिएका दशौं लाख युवाहरूको जायज असन्तुष्टिलाई कसैले पनि न्यूनीकरण गर्न मिल्दैन।
त्यसरी नै कुनै दलको नेता वा कार्यकर्ताको फेर नसमाती वा बिचौलिया र कर्मचारीलाई घुस नखुवाई सामान्य सार्वजनिक सेवा पनि प्राप्त गर्न नसक्ने आम नागरिकले रिस पोख्नु वा नयाँ विकल्प खोज्नु अन्यथा हुँदैन। त्यसैले केही समययता सङ्घ, प्रदेश र स्थानीय तहको चुनावमा तथा सडकमा पुराना शक्तिहरूप्रति जनआक्रोश बढेको र नयाँ वैकल्पिक शक्ति एवं व्यक्तिहरूप्रति जनआकर्षण बढ्दै गएको स्पष्ट देख्न सकिन्छ। स्वस्थ लोकतन्त्रका निम्ति यो सकारात्मक र स्वागतयोग्य कुरा हो। निष्काम बनिसकेको पुरानोको विनिर्माण गरेर नयाँको निर्माण गर्न पनि यो प्रक्रिया ऐतिहासिक रूपले आवश्यक र अनिवार्य हुन्छ।
परन्तु, नेपालमा र विश्वका विभिन्न देशहरूमा नयाँ र वैकल्पिक शक्तिको रूपमा उदाएका दल र नेतृत्वको प्रवृत्ति ज्यादातर ‘पपुलिज्म’ (लोकप्रियतावाद) र ‘हिरोइज्म’ (महानायकवाद) तिर उद्यत भइरहेको देखिनु चिन्ताजनक छ। आफ्नो देश र समाजका बहुआयामिक संरचनात्मक समस्याहरूलाई वस्तुनिष्ठ, वैज्ञानिक र अग्रगामी ढङ्गले पहिचान र हल गर्नुको सट्टा आम जनताको असन्तुष्टि र आवेगात्मक आक्रोशलाई केही साङ्केतिक मुद्दाहरूमा केन्द्रित गरेर शक्ति आर्जन गर्नु र वास्तविक समस्याको दिगो समाधान नगर्नु पपुलिज्मको चारित्रिक विशेषता हो।
एक युग वा ऐतिहासिक चरणबाट अर्को युग वा ऐतिहासिक चरणमा सङ्क्रमणका बेला यस्तो प्रवृत्तिले टाउको उठाउने गर्छ। पपुलिज्म अक्सर राष्ट्रवाद, धार्मिक आस्था, आर्थिक सङ्कट र भ्रष्टाचार आदि लोकप्रिय मुद्दाहरूको आड लिएर आउने गर्छ। अमेरिका, रुस, ब्राजिल, अर्जेन्टिना, फिलिपिन्स र भारत आदि देशका पपुलिस्ट प्रवृत्तिहरू विश्व इतिहासमा विशेष उल्लेखनीय र चर्चित छन्। आफ्नो छुट्टै र दिगो आर्थिक-सामाजिक आधार नभएका चलायमान वा चलनचल्तीको भाषामा ‘भुइँफुट्टा’ समूह पपुलिज्मको मुख्य आधारशिला भएको मानिन्छ।
पछिल्लो डिजिटल प्रविधि र सामाजिक सञ्जालको लतमा परेको समूहले पनि विभिन्न देशमा पपुलिज्मलाई बल दिएको विश्लेषण गरिन्छ। त्यसरी नै कुनै व्यक्तिविशेषलाई अलौकिक र रहस्यमय पात्रका रूपमा प्रस्तुत गरेर जनअसन्तोष भजाउने र शक्ति आर्जन गर्ने ‘हिरोइज्म’ प्रवृत्ति पनि प्रकारान्तरमा सामाजिक अग्रगमनका निम्ति हानिकारक हुन सक्छ। क्षमतावान्, दूरदर्शी, इमानदार, क्रियाशील र लोकप्रिय नेतृत्व कुनै पनि अभियान, आन्दोलन वा दलका निम्ति आवश्यक र महत्त्वपूर्ण हुन्छ। परन्तु, नेतृत्वलाई सामूहिकताको केन्द्रीकृत अभिव्यक्तिका रूपमा भन्दा अलौकिक, सर्वशक्तिमान् र निजी ‘हिरो’ का रूपमा स्थापित गरियो भने त्यो अवैज्ञानिक र हानिकारक दुवै हुन्छ।
नेपालमा हाल दुई प्रकारका राजनीतिक दलहरू छन्: यथास्थितिवादी र पश्चगामी; हामी यीभन्दा फरक तेस्रो कित्ता निर्माण गर्ने पक्षमा छौं।
नेपालमा उदीयमान नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूले बेलैमा आफूलाई पपुलिज्म र हिरोइज्मको प्रवृत्तिबाट ग्रसित हुन नदिन सतर्क हुनैपर्छ। खासगरी भीड जुटाउने वा चुनाव जित्ने नाउँमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र र समाजवादजस्ता आधारभूत मुद्दाहरूमा अडान स्पष्ट नगरी सन्ध्या भाषामा कुरा गर्दा क्षणिक रूपमा प्रतिगामी र ढुलमुल शक्तिहरूको भोट वा साथ-सहयोग त मिल्न सक्छ, तर त्यसले अन्ततः देश र जनताको हितमा प्रतिकूल असर पार्न सक्छ। नयाँ र वैकल्पिक राजनीतिक शक्तिलाई पुरानै यथास्थितिवादी वा प्रतिगामी शक्तिमा भ्रष्टीकरण र प्रदूषित गरिदिन सक्छ।
हामी विश्वव्यापी पूँजीवादी प्रणालीसँग प्रभुत्व-पराश्रय सम्बन्धमा बाँधिएकोले त्यसबाट मुक्तिका निम्ति नयाँ ढङ्गको समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद, जसलाई हामीले ‘समुन्नत समाजवाद’ भनेका छौँ, त्यसको दिशामा अघि बढ्नुपर्ने अवस्थामा छौँ। यसरी वर्तमान विश्व र नेपालको ऐतिहासिक विकासको चरणसँग कदम मिलाउँदै अघि बढ्ने वैचारिक-राजनीतिक कार्यदिशा ‘समुन्नत समाजवाद’ हो र हुनुपर्छ भन्ने हाम्रो सुविचारित प्रस्थापना छ।
हाम्रो लक्ष्य, हाम्रो काम
आज समाजमा व्याप्त भोक, रोग, अशिक्षा र असमानताको मूल कारण शोषण र विभेद नै हो। यसको उन्मूलन गरी स्वतन्त्र संसार निर्माण गर्नु हाम्रो साझा लक्ष्य हो। नेपालमा हाल दुई प्रकारका राजनीतिक दलहरू छन्: यथास्थितिवादी र पश्चगामी; हामी यीभन्दा फरक तेस्रो कित्ता निर्माण गर्ने पक्षमा छौं।
गरिबी निवारणका लागि गरिब परिवारलाई परिचयपत्र दिई आधारभूत आवश्यकताका सामानहरू करमुक्त दरमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हुनेछ। समाजमा व्याप्त शोषण र विभेदको निदान गरी स्वतन्त्रताको संसार निर्माण गर्नु नै हाम्रो अन्तिम गन्तव्य हो।
मार्क्सवादी विचारको वैज्ञानिक विकास
मानव सभ्यताको इतिहासमा समतामूलक समाज निर्माणका निम्ति प्रतिबद्ध चिन्तक, वैज्ञानिक र ज्ञानी पूर्वजहरूबाट प्राप्त शिक्षालाई आजको सन्दर्भमा उपयोगी हुने गरी विकास गर्नु हाम्रो बौद्धिक र वैचारिक दायित्व हो।
तमाम चिन्तकहरूमध्ये शोषण, विभेद र अलगावका विरुद्ध सङ्घर्ष गर्ने महामार्ग कार्ल मार्क्सले देखाएका छन्। मार्क्सको शिक्षा लिनु भनेको मार्क्सकै तरिकाले सोच्नु र व्यवहार गर्नु हो। उत्पीडित वर्ग र समुदायका जनतालाई वाणी प्रदान गर्ने यो क्रान्तिकारी सिद्धान्त विज्ञानसम्मत भए तापनि अपूर्ण छ। अपूर्ण रहेकैले यो वैज्ञानिक छ। फेरिएको समय र सन्दर्भमा यसलाई उन्नत तुल्याइएन भने यो ‘मृत पोथा’ बन्न पुग्छ।
दिदेरो हुन् वा भोल्टेयर, कपिल हुन् वा कबीर, बुद्ध हुन् वा मार्क्स—यी सबैको ज्ञान ‘ज्ञानको सामान्य घेरा’ भित्रकै उपज हुन्। यी कुनै बाहिरी जगत्बाट एकाएक भित्रिएका ज्ञान होइनन्। त्यसैले मार्क्सवादको विकास र यसलाई सान्दर्भिक बनाइराख्नका निम्ति ज्ञान र विज्ञानका विभिन्न क्षेत्रमा भएका प्रगतिहरूबाट यसलाई समृद्ध तुल्याइनुपर्दछ। यसो गर्दा ती शाखाहरूका विजातीय जरा तथा ऐंजेरुहरूलाई जतनसाथ हटाउनुपर्दछ।
खास गरेर सञ्चारको क्षेत्रमा भएको चमत्कारिक विकासका कारण प्रकृति विज्ञानको क्षेत्रमा भएको प्रगतिसँग तुलना गर्दा समाज विज्ञान धेरै पछाडि परेको छ। यो साझा चुनौती सामना गर्न हाम्रो पार्टी प्रतिबद्ध छ। मानवीय सम्प्रभुता र मर्यादा कायम भएको, बन्धनमुक्त मानव संसारका निर्माताहरूले यो साझा ग्रहमा रहेका अन्य प्राणी र वातावरण रक्षाको दायित्व पनि निर्वाह गर्नुपर्दछ भन्नेमा हामी सजग छौँ।
राजनीति र गणतन्त्रको अभीष्ट
समाजका यावत् अन्तर्विरोधहरूको केन्द्रीय अभिव्यक्ति राजनीतिमार्फत हुने गर्दछ। त्यसैले राजनीतिबाट भाग्न खोज्नु सामाजिक दायित्वबाट भाग्नुसरह हो। खराब राजनीतिको विकल्प असल राजनीति बाहेक अरू केही हुन सक्दैन।
नेपालमा अहिले दुई प्रकारका सोच भएका राजनीतिक दलहरू क्रियाशील छन्:
१. यथास्थितिवादी: अहिलेकै मरणच्याँसे गणतन्त्र, खास धर्मको पोषण गर्ने धर्मनिरपेक्षता र नेताहरूको मनमौजी शैलीमा चल्ने समावेशी प्रजातन्त्र जोगाइराख्न चाहनेहरू।
२. पश्चगामी: यही प्रणालीअन्तर्गत जनताले प्राप्त गरेका थोरै अधिकारहरू पनि अपहरण गरी पुरानै निरङ्कुशतन्त्र फर्काउन चाहनेहरू। हामी यी दुवैभन्दा भिन्न तेस्रो कित्ता स्पष्ट गर्ने पक्षमा छौँ।
गणतन्त्रलाई सामाजिक जीवनको हरेक पाटोमा लागू गर्नु हाम्रो प्रमुख अभीष्ट हो। जात व्यवस्था, पितृसत्तात्मक सोच, सामन्ती संस्कार, अन्धभक्ति र अन्धविश्वासलाई गणतन्त्रको निशाना बनाइनुपर्दछ।
हाम्रो बुझाइमा ‘सेक्युलरिजम’ (धर्मनिरपेक्षता) भनेको परलौकिक चिन्तनमाथि सांसारिक चिन्तनको विजय हो। अन्धविश्वासमाथि तर्कको र धर्ममाथि विज्ञानको श्रेष्ठता कायम गरिनुपर्दछ।
समावेशी प्रजातन्त्रको मर्म भनेको उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र र जातिका जनताको मुक्तिका लागि नीति निर्माण र व्यवहारमा उनीहरूको विशेष सहभागिता हो। यो सम्भ्रान्तहरूले दया गरेर दिने भिक्षा होइन।
हाम्रा सबै जनवर्गीय सङ्गठन र विशेषतः जातीय मोर्चाहरूले जात व्यवस्थाको अन्त्य (दलित मुक्ति) लाई आफ्नो मुक्तिको पूर्वसर्तका रूपमा स्वीकार गरेर नीति तथा कार्यक्रम अगाडि बढाउनेछन्।
निरक्षरतामाथि शिक्षाको दक्षता र श्रेष्ठता कायम गर्ने प्रणाली विकास गर्नु हाम्रो प्रमुख उद्देश्य हुनेछ।
पार्टी र समाजवादको ध्येय
- कुनै बेला समाज परिवर्तनका निम्ति खुलेका पार्टीहरू खास नेताको ‘मठ’ र सिङ्गो पार्टी ‘धर्मभीरु सम्प्रदाय’ मा फेरिएको नेपालको वास्तविकताबाट हामीले मनग्गे शिक्षा लिएका छौँ। त्यसैले, नेता विशेषको प्रताप र सनकमा सञ्चालन हुने अर्को एउटा पार्टी खोल्ने कुराको हामी सख्त विरोधमा छौँ।
- जिज्ञासु, जागरुक, विनम्र, स्वाभिमानी, सदाचारी, सद्विचारयुक्त र पारदर्शी नेता-कार्यकर्ता निर्माण गर्नु हाम्रो प्रमुख उद्देश्य हुनेछ।
- विचारविहीन राजनीतिको वकालत गर्नेहरूले जानेर वा नजानिकन सद्विचारको विरोध र कुविचारको जगेर्ना गरिरहेका हुन्छन्।
- एक मान्छेले अर्को मान्छेको शोषण गर्न असम्भव हुने प्रणाली, सोच र संस्कृतिको स्थापना गर्नु नै समाजवादको ध्येय हो। योबाहेक समाजवादको अर्को कुनै परिभाषा हामीलाई मन्जुर छैन।
उन्नत अर्थनीति र शिक्षा प्रणाली
- अर्थतन्त्रको सन्दर्भमा नेपालको प्राथमिकता र बाटो नेपालले नै छनोट गर्न पाउने अवस्थाको सिर्जना गर्नु हाम्रो पहिलो कर्तव्य हुनेछ।
- उपभोक्ताको आवश्यकता अनुसार बजारको सञ्चालन गरिनेछ। बजारले नै आवश्यकता र उपभोक्ता निर्माण गर्ने ‘बजारवाद’ लाई विस्थापित गरेर नयाँ एवं उन्नत जनमैत्री अर्थनीति अवलम्बन गरिनेछ।
- उद्देश्यमा अस्पष्ट, समीक्षा र दायित्वबाट टाढा रहेको वर्तमान शिक्षा प्रणाली र शैलीलाई प्रतिस्थापन गरिनेछ। यसको सट्टा अन्धविश्वास, सामन्ती र पितृसत्तात्मक सोचबाट मुक्त, सबै मान्छेलाई मान्छेकै रूपमा मर्यादित गराउने शिक्षा व्यवस्था लागू गरिनेछ।
- ज्ञान-विज्ञानमा आधारित, नैतिक, कर्तव्यपरायण र देशप्रेमी चरित्र निर्माण गर्ने उद्देश्यसहित नयाँ पाठ्यक्रम, शिक्षण तालिम र शैक्षिक पूर्वाधारको समुचित व्यवस्था गरिनेछ।
- अन्धविश्वास र अन्धश्रद्धालाई प्रगतिको प्रमुख बाधाका रूपमा स्वीकार गर्दै विज्ञान, विवेक र तर्कपूर्ण चेतनाद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ।
- गलत ज्ञान अज्ञानभन्दा पनि हानिकारक हुने भएकाले हाम्रो औपचारिक तथा अनौपचारिक शिक्षा प्रणाली र सिकाउने विधिमा क्रान्तिकारी परिवर्तन गरिनेछ।
- प्राकृतिक विज्ञान र समाज विज्ञानका आधारभूत सिद्धान्तका साथै ती दुईबीचको सम्बन्धबारे दक्षता हासिल गरेको शिक्षित जनशक्ति तयार पार्नु हाम्रो शिक्षाको लक्ष्य हुनेछ।
- बालबालिकाको चरित्र निर्माणमा सर्वाधिक जोड दिने हाम्रो नीति, कार्यक्रम र व्यवहार हुनेछ।
सामाजिक न्याय र वातावरण
- मानव समाजको कलङ्कका रूपमा रहेको जात व्यवस्थालाई निर्मूल पार्न विचारधारा र प्रणाली दुवै क्षेत्रमा अविराम अभियान चलाइनेछ।
- हजारौँ वर्षदेखि हाम्रो सोच, विधि-विधान र चलनमा कायम रहेको पितृसत्तात्मक संस्कारलाई निर्मूल पार्न यथोचित अभियान सञ्चालन गरिनेछ। पितृसत्तालाई अन्धविश्वासजस्तै मानव-विरोधी सोचका रूपमा बुझ्ने सिद्धान्त र प्रणाली स्थापित गरिनेछ।
- जमिनको वर्गीकरण गरी खेतीपाती, चरीचरण, आवास, उद्योग, वन र पर्यावरणका निम्ति छुट्टाछुट्टै क्षेत्र तोकिनेछ र सो नीतिलाई कडाइका साथ लागू गरिनेछ।
- शिक्षा र स्वास्थ्यलाई सबै नेपालीको पहुँचमा पुग्ने क्षेत्रका रूपमा विकसित गरिनेछ। शिक्षा र स्वास्थ्यको व्यापारमा संलग्न व्यक्तिहरू हाम्रो पार्टीको कुनै पनि तहको नेतृत्वमा रहने छैनन्।
गरिबी निवारण र वातावरण
- जमिनको वर्गीकरण गरी खेतीपाती, चरीचरण, आवास, उद्योग, वन र पर्यावरणका निम्ति छुट्टाछुट्टै क्षेत्र तोकिनेछ र सो नीतिलाई कडाइका साथ लागू गरिनेछ।
- गरिबीको रेखामुनि रहेका पौरखी परिवारहरूलाई पहिचान गरी गरिबीको कारण समेत खुलाएर परिचयपत्र दिइनेछ। त्यसकै आधारमा ती परिवारलाई आधारभूत आवश्यकताका सामानहरू करमुक्त दरमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हुनेछ।
- घरबारविहीनलाई सूचीकृत गरी आवासको ग्यारेन्टी गर्नु र ग्रामीण भेगका भूमिहीन कृषि मजदुरलाई खेतीयोग्य जमिन उपलब्ध गराउनु हाम्रो कार्यक्रमको प्राथमिक कार्य हुनेछ।
- सार्वजनिक यातायातलाई वैज्ञानिक र व्यवस्थित बनाइनेछ। गरिबीको रेखामुनि रहेका जनता, विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ‘निःशुल्क पास’ मार्फत यातायात सुविधा उपलब्ध गराउनु हाम्रो लक्ष्य रहनेछ।
- गुणकारी तर तितो औषधिलाई सुगन्धित र सुस्वादु बनाएर प्रस्तुत गर्ने पूँजीवादी कौशललाई चिर्दै प्रगतिशील अभियानका स्वयंसेवकहरूले समाजवादलाई आफ्नै मौलिक कला र कौशल मार्फत जनतामाझ प्रस्तुत गर्नुपर्दछ।
निष्कर्ष
विचार विनाको राजनीति मस्तिष्क विनाको शरीर जस्तै हुन्छ। जेनजीका नाममा सदाचार र सद्विचारका निम्ति सङ्घर्षमा होमिएका युवाहरूले नेपालको वर्तमान अर्थ-राजनीतिक स्थिति, सामाजिक अन्तरविरोध र सांस्कृतिक विभेदका साथै विश्व पूँजीवादी व्यवस्थाबारे जानकार बन्नैपर्छ। प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध युवा पुस्ताले यसमा महारथ हासिल गर्नुपर्दछ। समाज विज्ञान र प्रकृति विज्ञानको गहन अनुसन्धानपछि मात्र उनीहरूले नेपाली समाजको सुयोग्य नेतृत्व गर्न सक्छन्।
म्याद गुज्रिएका पार्टीका नेताहरूले युवा सङ्घर्षलाई केही बेरको ‘कुहिरो’ सम्झिएका छन्। उनीहरूलाई लाग्दो हो— कुहिरो उडिसक्यो र अब पुरानै ढर्राको ‘ढलिमली’ सुरु हुन्छ। तर, हाम्रो विचारमा भ्रष्टाचारमुक्त र समतामूलक समाज निर्माण गर्ने युवाहरूको जोस र धैर्य गलेको छैन। यो केही अलमलिएको मात्र हो; चाँडै यसले आफ्नो बाटो खुट्याउनेछ र वर्तमानका भ्रष्ट शासकहरूलाई इतिहासको रछ्यानमा मिल्काएर नेपाललाई प्रगतिको महामार्गतर्फ डोर्याउनेछ।
हामीलाई विश्वास छ, वर्तमान युवा पुस्ताले पुरानो पुस्ताले ढाल्न नसकेको अजङ्गको यो दलाल पूँजीवादी व्यवस्थालाई जनमैत्री र वातावरणमैत्री व्यवस्थाद्वारा प्रतिस्थापन गर्नेछ।
समाजवादी आन्दोलनको नयाँ बाटो
सन् १९५९ को क्युवाली क्रान्तिपछि संसारमा उथलपुथलकारी समाजवादी क्रान्तिहरू भएका छैनन्। क्युवाको क्रान्तिलाई लिएर पाउल एम. सुजीले भनेका थिए— ‘रूस र चीनको बाटोपछि युवाहरूको तेस्रो बाटोबाट क्रान्ति सम्पन्न भयो। यदि तेस्रो बाटो सम्भव छ भने चौथो र पाँचौं बाटोको सम्भावना पनि खुला छ।’
शहरी विद्रोह वा दीर्घकालीन जनयुद्धका शास्त्रीय बाटाहरू सफल हुन नसकेको वर्तमान सन्दर्भमा भेनेजुएला र बुर्किना फासोका सैन्य विप्लवबाट केही समाजवाद उन्मुख सरकारहरू त बनेका छन्, तर त्यसैलाई मात्र स्थायी बाटो मान्न सकिने स्थिति छैन। पूँजीवादी संकटले क्रान्तिकारी परिस्थितिलाई जन्म दिन नसकेको अवस्थामा नयाँ र मौलिक बाटो निर्माण गर्नु जरूरी छ।
हाम्रो प्रस्तावित बाटो
राज्यसत्ताको ‘किल्ला’ कब्जा गर्ने लक्ष्य राख्दै तत्काललाई पूँजीवादका शक्तिशाली किल्लाहरूलाई क्रमशः उत्पीडितहरूको पक्षमा फेर्दै लैजाने ‘वैचारिक बाटो’ अख्तियार गर्नु उचित हुनेछ। राज्यका भौतिक अङ्गहरू (जेल, अदालत, सुरक्षा फौज) भन्दा पहिले शिक्षा, सञ्चार, सांस्कृतिक केन्द्र र विश्वविद्यालयहरूमा मार्क्सवादीहरूको ‘प्रति-सर्वोच्चता’ कायम गर्नु सही रणनीति हुन सक्छ।
हामीले सामरिक टक्करबाट दृष्टिकोणको युद्ध तर्फ ध्यान केन्द्रित गर्नुपर्छ। यी दुई एक-अर्काका परिपूरक हुन्। दृष्टिकोणको युद्धलाई प्राथमिकता दिँदा ‘युरो-कम्युनिज्म’ वा ‘फेबियनिस्ट’हरूको प्रजातान्त्रिक समाजवादतर्फ चिप्लिने खतराप्रति भने सधैं सजग रहनुपर्छ।
संसदीय प्रजातन्त्र संभ्रान्तहरूको वर्चस्व भएको व्यवस्था हो, जहाँ मजदुर, किसान र न्यून वैतनिक कर्मचारीहरू पूर्ण रूपमा स्वतन्त्र हुन सक्दैनन्। त्यसैले, बल प्रयोगको सम्भावना र वैचारिक वर्चस्व समाप्त पार्ने बौद्धिक बाटो – यी दुवैलाई संयोजन गरेर अघि बढ्नु नै आजको सही मार्ग हो।
(प्रलोपा नेता कार्कीले पार्टी केन्द्रीय समिति बैठकमा पेस गरेको दस्तावेज)
प्रतिक्रिया 4