+
+

गिरिजाप्रसादलाई सिगरेट छोडाउँदा

गिरिजाबाबुलाई जसरी पनि चुरोट छोडाउनु थियो । किनकि चुरोट सेवन उहाँका लागि निकै खतरा भइरहेको थियो ।

डा. भगवान कोइराला डा. भगवान कोइराला
२०७९ भदौ २७ गते १०:४२

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा अमेरिकामा हुने दुई हप्ताको विशेष तालिममा भाग लिन जाने योजना थियो । आन्दोलनको समय भएकाले यस्तो समयमा देश छाडेर जानु ठीक हुन्छ, हुँदैन भन्ने विषयमा हामीले छलफल गर्यौं ।

आन्दोलनको स्वरुप मोटामोटी टुङ्गिइसकेको र सम्झौताको अन्तिम अवस्थामा पुगिसकेकाले अब सहज निकास हुन्छ भन्ने डा. मनबहादुर केसी र मेरो निष्कर्ष रह्यो । दरबार घेराउ गर्ने र त्यसबाट उत्पन्न हुन सक्ने रक्तपातको अवस्था टरिसकेको र मागअनुसार संसद् पुनःस्थापना हुने स्थिति बनिसकेको थियो । सबै स्थिति सामान्य बन्दै गएकाले बाहिर जानु अनुपयुक्त नहोला भन्ने निष्कर्ष निकालेर डा. केसीलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिई म अमेरिकाका लागि प्रस्थान गरें ।

दिल्ली पुगेको अर्को दिन साँझ अमेरिका जाने फ्लाइट थियो । त्यसै साँझ मैले अस्पतालमा फोन गरें, दीपेन्द्र खड्काले उठाए । उनले भने, “सर, हामी तपाईंलाई नै कसरी सम्पर्क गर्ने भनेर खोज्दै थियौं । डा. मधु घिमिरेले फोन गर्नुभएको थियो । गिरिजाप्रसाद कोइराला दमले च्यापेर सिकिस्त हुनुभएको छ रे । हाम्रो अस्पतालमा ल्याउने कुरा भएको छ, के गर्ने होला ?”

मैले तत्काल फोनमै भनें, “ठीक छ, तर हाम्रा अस्पतालका डाक्टरहरुले मात्र हेर्ने निर्णय चाहिँ ठीक हुँदैन । फोक्सोसम्बन्धी विशेषज्ञ डा. अर्जुन कार्कीलाई बोलाएर बेलैमा संलग्न गराउनु उपयुक्त हुन्छ । डा. कार्कीलाई पनि यसबारे जानकारी गराउनुहोला । म त अहिले फर्किने स्थिति पनि भएन ।”

डा. कार्की र डा. केसी घरमै जानुभएको कुरा मैले पछि थाहा पाएँ । डा. मधु घिमिरेको सल्लाहमा उहाँको उपचार घरमै गर्ने निर्णय भएछ । यसपछि तत्कालै केही सुधार भएकाले अस्पताल भर्ना हुनुपरेनछ । म अति व्यस्ततासाथ अमेरिकाको कार्यक्रममा संलग्न भएँ । साथै म आफ्नो अस्पतालमा पनि इमेलमार्फत सम्पर्कमै रहिरहें ।

लगत्तै दोस्रो जनआन्दोलन सकारात्मक मोडमा पुगेर टुङ्गियो । मागअनुसार संसद् पुनःस्थापना पनि भयो । पुनः बहालीपछि बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै पुराना नियुक्ति सबै खारेज गर्ने भन्ने निर्णय गरेछ । त्यसपछि अस्पतालका केही चिकित्सकले गरेका गतिविधि र प्रचारबाजीबारे सुन्दा म अत्यन्त मर्माहत भएँ ।

केही त डा. कोइरालाको जागिर त गयो नि भन्दै खुसी भएछन् । कानुनतः मलाई चार वर्षका लागि नियमसङ्गत ढङ्गले नियुक्ति दिइएको थियो । त्यसैले त्यो नियुक्ति बिनाकारण रद्द हुन सक्दैनथ्यो । त्यो निर्णयको विरूद्धमा न्यायिक उपचार पनि खोज्न सकिन्थ्यो । तर तत्कालीन मन्त्रिपरिषद्को निर्णयविपरीत जानु राजनीतिक रुपमा अस्वाभाविक जस्तो देखिन्थ्यो । यस कुराले म अत्यन्त दुःखी भएँ र बिलखबन्दमा परेको अनुभव गरें । यसले गर्दा मेरो अमेरिकाको बाँकी बसाइँ अत्यन्तै तनावपूर्ण भयो । म अमेरिकाबाट फर्किएर अस्पताल नै गएँ । नजिकका साथीसँग सल्लाह गरें । नियमित काममा लाग्ने निर्णय गर्यौं । माहोल शान्त तर अझै अस्पष्ट थियो ।

त्यसपछि म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्न गएँ । अघिल्लो चारवर्षे कार्यकालका लागि उहाँकै मन्त्रिपरिषद्ले नै नियुक्ति दिएकाले मलाई कुरा गर्न पनि सजिलो भयो । मैले बजारका हल्ला उल्लेख गर्दै आफ्ना कुरा पनि स्पष्ट राखें ।

त्यहाँ काम गर्ने कुनै व्यक्तिले टोपीभित्र लुकाएर उहाँको कोठाभित्र चुरोट ल्याइदिने गरेको रहेछ । हामीले टोपीभित्र चुरोट ल्याउने व्यक्तिलाई खोजेर कारबाही गर्नुपर्छ भन्न थाल्यौं ।

उहाँले पनि स्पष्ट शब्दमा भन्नुभयो, “यो निर्णय राजनीतिक नियुक्ति भएकाहरुलाई मात्र हो । आफ्नो कार्यक्षमता र लगनशीलता देखाएर बसेका तपाईंंहरु जस्तो व्यावसायिक व्यक्तिका लागि होइन । तपाईंंलाई लागू हुँदैन । चाहिन्छ भने म क्याबिनेटबाट अर्को निर्णय गराइदिन्छु ।”

प्रधानमन्त्रीले यति भनेपछि मलाई निकै राहत महसुस भयो । छुट्टै निर्णय भने भएन ।

उपचार

म विदेशमा पढ्न जानु अघिसम्म गिरिजाप्रसाद कोइरालाको नाम सुनेको भए पनि उहाँसँग मेरो चिनजान थिएन । अमेरिका र क्यानडाको तालिम लिएर फर्किएपछि, खासगरी गङ्गालालमा मेरो नियुक्तिका सन्दर्भमा उहाँलाई मेराबारे जानकारी गराइएको रहेछ । गङ्गालालमा मेरो नियुक्ति भइसकेपछि मात्र मैले उहाँसँग भेट्ने मौका पाएको थिएँ ।

पहिलो भेटमै उहाँले भन्नुभयो, “डाक्साब, म तपाईंको अस्पतालमा बिरामी भेट्न गएको थिएँ । मलाई त अस्पताल खुबै मन पर्यो । मैले बुझिसकें, तपाईंको काम गर्ने शैली । तपाईंले त धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर भिसी (उपकुलपति) भएर चलाइदिनुपर्छ ।”

म भर्खरै नयाँ अस्पताल सेट गरेर व्यावसायिक कार्यक्षमता वृद्धि गर्ने तरखरमा थिएँ । यस्तो अवस्थामा मुलुकको प्रधानमन्त्रीले पहिलो भेटमै त्यसो भनेपछि म खुसी भएँ । तर त्यत्रो संस्थाको नेतृत्व गर्ने सोच, हिम्मत र तयारी ममा त्यस बेलासम्म थिएन ।

साथै काठमाडौंबाहिर गएर मुटुसम्बन्धी शल्यक्रियासहितका सेवा सञ्चालन गर्न तत्कालीन समयमा सम्भव थिएन । त्यसकारण मैले अलि हच्किएर भनें, “म गङ्गालाल अस्पतालमा नै ठीक छु । अहिले म यताउता सोच्न सक्दिनँ ।”

तर जे भए पनि उहाँले मेरोबारे जानकारी राख्नुभएको रहेछ, त्यसले मलाई पहिलो भेटमै उत्साह जगायो । त्यसपछि बीचमा एक दुई पटक भेट भयो ।

पछि २०६२/६३ को जनआन्दोलनको अन्तिम अवस्थातिर म अमेरिका जाँदा उहाँ बिरामी भई मलाई खोज्नुभएको रहेछ । उपस्थित हुन सकिनँ । फर्किएर आएपछि भेट गर्नुपर्ने खासै त्यस्तो सन्दर्भ पनि परेको थिएन ।

२०६३ सालको कुनै एक साँझ बिहेको निम्तोमा म र्‍याडिसन होटलमा थिएँ । कुराकानीमा व्यस्त भइरहेकै बेला मेरो ड्राइभरले मलाई खोज्दै आएर भने, “तपाईंको फोन लागेन रे । घरबाट फोन आएको छ । घरमा तुरून्त फोन गर्नुस् ।”

मैले तत्काल घरमा फोन गरें ।

सान्द्राले भनिन्, “डा. शशाङ्कले फोन गर्नुभएको थियो, उहाँ क्वार्टरमै पनि आउनुभयो, फोन गर्न भन्नुभएको छ ।”

मैले तत्कालै डा. शशाङ्कलाई फोन गरें ।

उनले भने, “भगवान, तिमी तत्काल बालुवाटार आऊ ।”

म तुरून्तै त्यहाँ पुगें । गिरिजाप्रसाद कोइराला सिकिस्त बिरामी पर्नुभएको रहेछ । उहाँको दम बिग्रिएर सासै फेर्न नहुने भएको रहेछ । भेन्टिलेटरमै राख्नुपर्ने स्थिति भएकाले डा. मधु घिमिरेले कुन ठाउँमा लगेर उपचार गर्ने भन्ने निक्र्योल गर्न मलाई खोज्नुभएको रहेछ । अन्य अस्पतालहरुमा परीक्षण गर्न अलि ढिलाइ हुन्छ । गङ्गालालमा प्रविधिहरु पनि विकसित तथा नयाँ छन् भन्ने सोचेर मलाई खोज्नुभएको रहेछ ।

डा. भगवान कोइरालाको पुस्तक हृदय

मैले पनि उहाँलाई हेरें, अवस्था गम्भीर नै रहेछ । तर उहाँ अस्पताल नजाने, निवासमै उपचार गराउने भनेर जिद्दी गरिरहनुभएको रहेछ । डा. मधु घिमिरेले अनुरोध गर्दा नटेरी बस्नुभएको रहेछ । डा. घिमिरेले मलाई भन्नुभयो, “फकाएर गङ्गालालमा लगेर उपचार गराउनुपर्यो ।”

त्यति धेरै भेटघाट गरिरहने व्यक्ति नभएकाले के मान्नुहोला र भन्ने सोच्दै उहाँको कोठाभित्र पसें ।

सामान्य जाँचपछि भनें, “तपाईंको अवस्था त सिकिस्त छ, अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ । यदि परीक्षणमा सामान्य देखिएमा फर्किएर आउँला । तर जानुपर्यो ।”

उहाँ एकै वचनमा अस्पताल जान राजी हुनुभयो । यो कुराले परिवारमा सबै खुसी भए ।

मुटुको मूल समस्या थिएन । त्यो हामी सबैलाई थाहा थियो । तर तत्कालीन कठिन अवस्थामा रहेको देशको प्रधानमन्त्रीलाई हामीसँग भएको उपचार र अन्य सुविधा उपयोग गरेर उपचार गराउनु ठीकै हो भन्ने लागेर गङ्गालाल लैजान लागिएको थियो ।

उहाँलाई तुरून्तै अस्पताल लगेर भर्ना गर्ने चाँजोपाँजो मिलाइयो । अस्पताल पुगेर एक्सरे गरेर हेर्दा फोक्सोमा समस्या देखियो । आइसियूको बेड मिलाएर भर्नाको तयारी गरियो । त्यसपछि उहाँलाई “अहिले घर जान अप्ठ्यारो छ, जान मिल्दैन” भन्यौं । उहाँले रिसाउँदै “जे गर्ने हो गर” भन्नुभयो ।

उहाँलाई भेन्टिलेटरमा राख्ने तयारी गर्दै थियौं । तर केही सुधार हुँदै गएपछि राख्नुपरेन । त्यस पटक उहाँ करिब १० दिन बस्नुभयो । उहाँलाई सन्चो बनाएर घर पठाइसकेपछि पनि उपचार गर्न मसहित चिकित्सकको टोली बन्यो । त्यो टोलीले हरेक दिन परीक्षण तथा उपचार गर्न जानुपर्थ्यो । प्यारामेडिक्सलगायत अन्य विशेषज्ञलाई पनि साथै लैजानुपर्थ्यो । त्यस सिलसिलामा पनि उहाँसँग घनिष्ठ सम्बन्ध बन्न पुग्यो । मलगायत हामी चिकित्सकप्रति उहाँको ठूलो विश्वास रहेको हामीले अनुभव गरेका थियौं ।

****

गिरिजाबाबुलाई जसरी पनि चुरोट छोडाउनु थियो । किनकि चुरोट सेवन उहाँका लागि निकै खतरा भइरहेको थियो । चुरोट छोडाउन हामीलाई निकै कठिन पर्यो । उहाँलाई सम्झाउँदा नमानेपछि हामीले बालुवाटार परिसरमा चुरोट ल्याउन, सेवन गर्न नपाइने प्रबन्ध गर्यौं ।

अगाडि त सबैले “हुन्छ” भने । तर फेरि पनि गिरिजाबाबुले चुरोट सेवन गरेको पाइयो । त्यहाँ काम गर्ने कुनै व्यक्तिले टोपीभित्र लुकाएर उहाँको कोठाभित्र चुरोट ल्याइदिने गरेको रहेछ । हामीले टोपीभित्र चुरोट ल्याउने व्यक्तिलाई खोजेर कारबाही गर्नुपर्छ भन्न थाल्यौं । पछि बिस्तारै घटाउँदै लगी चुरोट छोडाउन सकियो ।

केही समयपछि गिरिजाबाबुलाई फेरि सास फेर्न कठिन हुन थाल्यो । हामीले एक्सरे गराएर हेर्यौं र सिटी स्क्यान पनि गराउन लग्यौं । दाहिने फोक्सोतिर पानी जमेको थाहा भयो । हामीले पानी तानेर सहज गराउने निर्णय गर्यौं । विषयगत हिसाबले मैले, डा. कार्की वा डा. रामकुमार जसले पानी तान्दा पनि हुन्थ्यो । सामान्यतया फिजिसियनले नै गर्ने हो । तर साथीहरुले “ल, तपाईंले नै गर्नुस्” भन्नुभयो ।

फोक्सोमा त्यत्रो पानी छ, निकाल्दा दुख्ने होला भनेर गिरिजाबाबु डराउनुभएको रहेछ । हामीले त्यो पानी बालुवाटर निवासमै निकाल्ने निर्णय गरेर आवश्यक सरसामान ठीक गर्यौं । डा. कार्की, डा. घिमिरे र म थियौं । लोकल एनेस्थेसिया दिएर पानी तान्ने तयारी गरियो । यसरी लोकल एनेस्थेसिया दिएर मात्र पानी निकाल्दा उहाँलाई छिसिक्क पनि दुखेको अनुभव भएनछ । उहाँले थाहा नै नपाई दायाँ फोक्सोबाट करिब डेढ लिटर पानी निकालेर बोतलमा राखेको देख्दा छक्क पर्नुभयो । त्यसपछि उहाँलाई तुरून्तै सास फेर्न सजिलो भयो । उहाँलाई त त्यसपछि मप्रति धेरै ठूलो छाप परेछ ।

हुन त फोक्सोबाट पानी निकाल्ने काम सर्जिकल र मेडिकल स्पेसियालिटीमा खासै ठूलो कुरा होइन । जेहोस् त्यसपछि चाहिँ कुनै पनि अप्ठ्यारो पर्यो भने उहाँले डा. मधु घिमिरेको साथसाथ मलाई पनि खोज्न थाल्नुभयो । हुन त म मुटु शल्यचिकित्सक भएकाले उहाँको उपचारमा उपस्थित हुन जरूरी थिएन ।

त्यसपछि अर्काे एक पटक पनि उहाँ गङ्गालालमा भर्ना हुनुपर्ने भयो । दोस्रो पटक भर्ना हुँदा उहाँको उमेर र रोगको प्रकृति गम्भीर हुँदै गएको हामीले अनुभूति गरेका थियौं । उहाँको स्थिति गम्भीर हुँदै जान थालेपछि एकदुई पटक अल इन्डिया इन्स्टिच्युटका फोक्सोसम्बन्धी विशेषज्ञ पनि बोलाएर छलफल गरियो । त्यहाँबाट डा. गुलरिया आउने गर्नुभएको थियो । उहाँहरुले गर्ने उपचार र डा. कार्कीलगायत हामीले गर्ने उपचारमा खासै अन्तर थिएन । त्यसले गर्दा हामीलाई कुनै अप्ठ्यारो महसुस गर्नुपरेको पनि थिएन ।

दोस्रो भर्नाको अन्त्यतिर सुजाता कोइरालाले गिरिजाबाबुलाई विदेशमै लगेर उपचार गराउन जोड दिन थाल्नुभयो । त्यसमा भने मेरो फरक मत रहँदै आएको थियो । मैले उहाँहरुको अगाडि स्पष्ट शब्दमा विदेश नलैजाने सल्लाह दिन्थें ।

रोगको गाम्भीर्य बढ्दै गएको र हामीलाई पनि स्थिति जटिल बन्दै गएको महसुस भइरहेको थियो । यसै सन्दर्भमा शेखर र शशाङ्कले पनि सुजाताको अगाडि हस्तक्षेप गर्न अप्ठ्यारो मानेको अवस्था सिर्जना भयो । त्यसैले सुजाताको जोडबललाई स्वीकार गर्दै उहाँलाई सिङ्गापुर लैजाने निर्णय भयो ।

उहाँको उपचारको सिलसिलामा इन्डिया नलगेर सिङ्गापुर किन लगियो भनेर बजारमा प्रश्न उठे । उपचारको सिलसिलामा उहाँसँग रहँदा हरबखत गिरिजाबाबुले “म उपचारका लागि विदेश जान्नँ, मलाई जे गर्नु छ हाम्रा आफ्नै डाक्टरहरुले गर्छन्, म उहाँहरुको उपचारप्रति एकदमै सन्तुष्ट छु” भनेर बारम्बार भन्ने गर्नुहुन्थ्यो ।

सिङ्गापुरमा केही अरु थप परीक्षण गरेर उहाँ फर्किनुभयो । उहाँ फर्किंदा गङ्गालालको कार्यकारी निर्देशकको दोस्रो पदावधि पनि समाप्त भई म टिचिङ फर्किसकेको थिएँ । त्यो अवस्थामा उहाँको उपचारमा मेरो प्रत्यक्ष संलग्नता स्वाभाविक रुपमा कम हुँदै गयो ।

सिङ्गापुरमा उहाँको रोगको जुन पहिचान भएको थियो, त्यसलाई प्रस्तुत गर्ने सन्दर्भमा उहाँको परिवार र हामीबीच केही विमति थिए । उहाँलाई क्यान्सर भएको सिङ्गापुरमा थाहा भएको थियो । तर यो कुरा बाहिर ल्याउन परिवार चाहिरहेको थिएन । यसले गर्दा शतप्रतिशत यथार्थ कुरा अगाडि ल्याउन कठिनाइ उत्पन्न भयो ।

सिङ्गापुरबाट फर्किएर केही दिन अस्पतालमा राखेपछि उहाँको स्थिति गम्भीर हुँदै गएको महसुस गर्न थाल्यौं । स्थिति बिग्रँदै गएपछि परिवारकै अनुरोधमा अस्पतालबाट घरमा लैजाने भन्ने निधो भयो । महाराजगन्जको उहाँकै निवासमा र त्यसपछि सुजाताको निवास मन्डिखाटार लगियो ।

गिरिजाबाबुको उपचारका क्रममा गङ्गालाल अस्पताल धेरै पार्टीका नेताकार्यकर्ता जम्मा हुने थलो भइरहेको थियो । त्यसले गर्दा मैले कार्यकारी निर्देशकका रुपमा गरेको कामको चर्चा हुन थाल्यो । त्यसले मलाई काम गर्न अझ सकारात्मक माहोल बनाइदियो ।

****

उहाँ गल्दै जानुभएको थियो । उहाँको आयु अब धेरै दिन छैन भन्ने हामीलाई महसुस भइसकेको थियो ।

शनिबारको दिन थियो । दिउँसोतिर मात्र त्यहाँ जान्छु भन्ने सोचेर त्यस दिन म बिहानै गुह्येश्वरी गएँ, गल्फ खेल्न । यसैबीचमा डा. कार्कीको फोन आयो । उहाँले भन्नुभयो, “डा. भगवान, उहाँको स्थिति त राम्रो छैन, अन्तिम भेटका लागि हामी सबै जानु ठीक हुन्छ कि ?”

म पनि खेल्न छाडेर त्यता लागें । उहाँले अलि अन्तिम अवस्थामै फोन गर्नुभएको रहेछ । म त्यहाँ नपुग्दै अन्तिम क्षण भइसकेको रहेछ । बाहिर हल्लाखल्ला मच्चिइसकेकाले त्यहाँ भीडभाड भइसकेको रहेछ ।
धेरै बेरदेखि ट्राफिक जाम भएर गाडी अगाडि लैजान नसक्ने स्थिति भयो । त्यसैले मैले गाडी अलि परै राखेर हिँडेर जाँदा केही समय लाग्यो । म पुग्दा उहाँको देहावसान भइसकेको रहेछ । हाम्रै चिकित्सक साथीहरुले अन्तिम क्षणसम्म साथ दिइरहनुभएको थियो ।

म खिन्न भएँ । एक दशकसम्म उपचारको सिलसिलामा उहाँले निकै विश्वाससाथ मलाई बोलाइरहने हुनाले अन्तिम अवस्थामा पनि म उहाँलाई साथ दिन चाहन्थें । नेपालमा एउटा हार्ट–लङ एकेडेमी बनाएर मुटु तथा फोक्सोको पठनपाठनसहितको राष्ट्रिय इन्स्टिच्युट बनाउने र त्यसको सेवालाई देशभर विकेन्द्रीकरण गर्ने भन्ने हाम्रो अवधारणालाई उहाँले पूरा समर्थन गर्नुभएको थियो । उहाँको देहावसानसँगै हार्ट–लङ एकेडेमीको अवधारणा पनि शिथिल बन्दै गयो । यी दुवै कारणले म त्यो दिन निकै खिन्न भएँ ।

(डा. भगवान कोइरालाको संस्मरण पुस्तक ‘हृदय’को एक अंश । फाइनप्रिन्टबाट सोमबार सार्वजनिक हुने पुस्तकबाट उठेको रकमकाे उल्लेख्य अ‌ंश कोइरालाले काठमाडाैंसहित सातै प्रदेशमा थालेकाे बाल अस्पताल बनाउने अभियानका लागि खर्च गर्ने घाेषणा गरेका छन् । २५ हजार रुपियाँ बराबरको विशेष  संस्करण पनि उपलब्ध छ, जसबाट उठेको रकम लेखक र प्रकाशक दुवैले  निर्माणाधीन बाल अस्पतालका लागि उपलब्ध गराउनेछन् । यसको नियमित संस्करणको मूल्य ५७५ रुपैंया छ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?