+
+

काठमाडौं आइपुगे चिनियाँ जनकंग्रेस अध्यक्ष ली, यस्तो छ भ्रमण कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १५:५३

२७ भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चारदिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । उनी विमानस्थलबाट सिधै उनको बस्ने व्यवस्था गरिएको होटल सोल्टी गएका छन् ।

कार्यसूचीअनुसार उनले सोमबार काठमाडौं उत्रिएको केहीबेरमा सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुनेछ ।

भेटमा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ । भेटपछि सभामुख सापकोटाले समकक्षी लीका लागि उनी बसेकै होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन् ।

भ्रमणको दोस्रो दिन बिहान ९ बजे लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले संसद भवनमा नै नेकपा एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

उक्त भेटवार्तापछि होटल सोल्टीमा दिउँसो ३ बजेदेखि परराष्ट्रमन्त्री नारायण खड्कासँग उनको भेटवार्ता हुने तय भएको छ । परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएपछि ली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अपरान्ह ४ बालुवाटार पुग्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन उनी बुधबार बिहान भक्तपुर भ्रमण गर्नेछन् । त्यसपछि सोही दिन अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भेट हुनेछ । राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी सापकोटासँग पुन: भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?