+
+

एक्‍वरियममा एउटै माछाका लागि दुई लाखसम्म खर्चिन्छन् नेपाली

अंगद सिंह अंगद सिंह
२०७९ भदौ २७ गते १६:४०

काठमाडौं । एक्वरियममा माछा पाल्नुमा सौख मात्र होइन, आस्था पनि जोडिएको छ । नेपाली समाजमा के विश्वास छ भने ‘माछा पाल्दा शुभ हुन्छ ।’ बिहान उठ्नासाथ वा घरबाहिर निस्कनुअघि माछा हेर्दा ‘शुभसाइत’ पर्ने जनविश्वास छ ।

माछा हेर्दा आकर्षक, सौम्य र गतिशील हुने भएकाले यसलाई देखेपछि मान्छेको मनमा जाँगर र उत्साह पैदा गर्ने एसआर अक्वा एण्ड पेट हाउसका सञ्चालक राजन पुरी बताउँछन् ।

घरको शोभा र मनको शुभका लागि एक्वरियममा माछा पाल्नेहरुको जमात सानो छैन । पुरीका अनुसार काठमाडौंमा मात्र करिब एक लाख बढी घरपरिवारले अटुट रुपमा अक्वरियममा माछा पाल्दै आएका छन् । यिनीहरु माछाप्रति लगाव मात्र राख्दैनन्, उत्तिकै मन खोलेर खर्च पनि गर्छन् ।

एक्वरियममा माछा पाल्नका लागि यसका प्रजाति, माछाको आहार र स्याहारसुसारबारे ज्ञान हुनुपर्ने पुरी बताउँछन् । ‘त्यसैले उनीहरु देखासिकी वा सौखले मात्र माछा पालिरहेका छैनन्,’ पुरी भन्छन्, ‘यसबारे उनीहरुलाई राम्रो ज्ञान र लगाव पनि छ ।’

गोल्डी, कोही, मोलीगुपी, जेब्रादानिओ, रेड क्याप अराण्डा, तेत्रा, फ्लावर हर्न, रेड टल सार्क, एन्जल, सिल्भर डलर र बेटा जस्ता अनेकथरी प्रजातिका माछा एक्वरियममा पाल्ने गरिएको छ ।

दुई लाखको माछा

नेपाली बजारमा १४० प्रजातिका माछा पाइन्छन्, जो एक्वरियममा सजाउन सकिन्छ । सामान्यतः यी माछा प्रतिगोटा १५० रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म पर्छ । यद्यपि नेपाली बजारमा त्यस्ता माछा पनि खरिद–बिक्री हुन्छ, जसको मूल्य २५ हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ ।

जस्तो कि, एसियन अरोवना । यो प्रजातिको माछालाई डेढदेखि दुई लाख रुपैयाँसम्म पर्ने पुरी बताउँछन् । यति महंगो माछा पाल्न सौखिन पनि यहीं छन् । ‘काठमाडौंमा पनि कतिपयले एसियन अरोवना प्रजातिका माछा पालेका छन्,’ पुरी सुनाउँछन्, ‘जबकि यसको बजार मूल्य दुई लाख रुपैयाँसम्म छ ।’ एसियन अरोवना विभिन्न रंगका हुन्छन् । रंगले पनि यसको मूल्यमा तलमाथि पर्छ ।

किन पालिन्छ लाखौं मूल्यका माछा ?

‘यो दुर्लभ प्रजाति हो,’ पुरी भन्छन्, ‘झट्ट हेर्दा राम्रो देखिने र यस माछालाई हेर्दा शुभसाइत हुन्छ भन्ने विश्वास छ ।’ एसियन अरोवनालाई उचित स्याहारसुसार गर्न सकियो भने ३० वर्षसम्म बाँच्ने उनी बताउँछन् ।

त्यसो त माछाको प्रजाति अनुसार उनीहरुको आयु पनि फरक हुन्छ । सामान्यतः माछाको आयु पाँच वर्षसम्म हुन्छ । माछा कति लामो समयसम्म बाँच्छ भन्ने कुरा उनीहरुलाई कसरी स्याहारसुसार गरियो भन्ने कुराले पनि निर्धारण गर्ने पुरी बताउँछन् ।

वास्तु विज्ञान र माछा

वास्तुशास्त्र अनुसार घरमा माछा पाल्दा परिवारका सदस्यमा सकारात्मक उर्जा प्रवाह हुन्छ । घरबाहिर निस्कनुअघि माछालाई हेरेर वा माछालाई चारो खुवाएर निस्किंदा शुभ हुने विश्वास छ । वास्तुशास्त्रले कस्तो र कति माछा पाल्नु उपयुक्त हुन्छ भनी निर्देश गरेको छ । यस अनुसार एउटा कालो माछा र आठवटा सुनौलो रंगको माछा पाल्नु राम्रो हुन्छ ।

‘माछा हेरेपछि मान्छेको मन यसै खुसी र शान्त हुन्छ,’ पुरी भन्छन्, ‘त्यसैले यसले घरको वातावरण राम्रो बनाउन प्रेरित गर्छ ।’

माछाको चाल, गति हेरिरहँदा मान्छे त्यसैमा मग्न हुने र त्यसले तनाव कम गर्ने उनको भनाइ छ । ‘यसले मान्छेलाई पीडाबाट राहत दिलाउनुका साथै एन्जाइटी जस्ता मानसिक समस्याबाट छुट्कारा पनि दिलाउँछ,’ पुरी भन्छन् ।

एक्वरियम तयार गर्न कति खर्च ?

सामान्यतः एउटा एक्वरियम तयार गर्न कम्तीमा दुई–तीन हजार रुपैयाँ लाग्छ । मान्छेले आफ्नो आवश्यकता र बजेट अनुसार यसभन्दा माथि जति पनि खर्च गर्न सक्छन् । एक्वरियममा माछाका लागि अक्सिजन प्रवाह गर्ने मोटर, फिल्टर, कृत्रिम बिरुवा, बत्ती, ढुंगा राख्ने गरिन्छ ।

माछालाई धेरै रंगीचंगी ढुंगा वा बिरुवा राख्न नहुने पुरी बताउँछन् । यसैगरी धेरै चहकिलो प्रकाश पनि माछाले रुचाउँदैनन् । माछालाई थोरै मात्रामा चारो खुवाउनुपर्छ । दिनमा दुई पटकसम्म थोरै थोरै चारो दिए पुग्छ ।

‘एक्वरियम तयार गर्दा प्यारामिटर, फिल्टर र वाटर टेम्पेचरमा ध्यान दिनुपर्छ,’ पुरी भन्छन्, ‘सात वा हरेक १० दिनमा एक्वरियममा भएको पानीमध्ये ३० प्रतिशत फेरेर नयाँ राख्नुपर्छ । पानी क्लोरिनरहित हुनुपर्छ । माछा पाल्न धेरै खर्च गरिरहनु पर्दैन । दुई-अढाइ सयसम्मको दानाले दुई महिना पाल्न सकिन्छ ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?