+
+

पोखराको सेती गर्ज पार्कमा निजी कम्पनीको अवैध असुली

ठेकेदार कम्पनीको दाबी : महानगरले कोभिड छुट दिएन

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ २८ गते १५:०९

२८ भदौ, पोखरा । पोखरा महानगरपालिका–१६ स्थित केआईसिंह पुलसँग जोडिएको सेती गर्ज पार्कमा एक निजी कम्पनीले अवैध शुल्क उठाइरहेको छ । उक्त पार्कमा टिकटमार्फत पर्यटकसँग शुल्क उठाउन भण्डार थोडुङ निर्माण सेवाले ठेक्का पाएको छ ।

दुई वर्षका लागि ठेक्का पाएको उक्त कम्पनीसँगकोा सम्झौता गत पुसमै सकिएको हो । तर अहिले पनि उसले पर्यटकसँग टिकट शुल्क उठाइरहेको छ । महानगरले ०७६ पुसमा २ वर्षका लागि थोडुङसम्म ६६ लाख रुपैयाँमा पर्यटकसँग टिकटवापत शुल्क उठाउन सम्झौता गरेको थियो ।

उक्त पार्कबाट सेती नदी खोंचसहित हिमालय श्रृङ्खला देखिन्छ । पार्क प्रवेश गर्न विदेशी पर्यटकका लागि ५० रुपैयाँ, आन्तरिक पर्यटकसँग २५ र विद्यार्थीसँग २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

महानगर राजश्व शाखाले कोभिड महामारीको अन्तर्गतको ४ महिना छुट दिएर जेठ १३ गते नै निरीक्षण शाखा र वडा कार्यालयलाई शुल्क उठाउन बन्द गर्न पत्राचार गरेको थियो । तर, ३ महिना बितिसक्दासमेत शुल्क उठाउन बन्द भएको छैन ।

दोस्रो पटक भदौ ७ गते पुनः सोही व्यहोरा दोहो¥याउँदै वडा र निरीक्षण शाखालाई निर्देशन दिएको थियो ।

तर, शुल्क उठाउन बन्द नभएपछि निरीक्षण शाखा र वडा कार्यालयको नाममा मंगलबार पुनः पत्राचार गरेको छ । ‘पहिले पनि पटकपटक चिठी पठाइसकेका छौंैं । तर, कार्यान्वयनमा कडाइ गरेनन् । यसपटक हामी बन्द गराएरै छोड्छौं । कडा निर्देशन दिइसकेका छौं’, महानगर राजश्व शाखा प्रमुख झंकनाथ पौडेलले भने ।

महानगरका कर अधिकृत कृष्ण सुवेदीले केही दिनमा नयाँ टेन्डर आह्वान गर्ने तयारी भइरहेको सुनाए । ‘खास यतिबेलासम्म नयाँ टेण्डर आह्वान भइसक्नुपर्ने हो । तर, यो महिना (भदौ) राजश्व परामर्श समितिको बैठक बसेन । बैठक नबस्दा ढिलाइ हुन पुग्यो’, उनले भने, ‘अब केही दिनमै टेन्डर आह्वान हुन्छ ।’

सुवेदीले थोडुङलाई कोभिड वापत पनि छुट दिएको सुनाए । ‘महानगरले कोभिडवापत पनि छुट दिएर समयमै राजश्व दाखिला नगरेको जरिवाना लिएको छैन । तर, पटकपटक पत्राचार गर्दा पनि अटेर गरे त्यहाँ महानगर ताला लगाउन बाध्य हुन्छ’, उनले भने । ठेकेदार कम्पनीले अन्तिम किस्तावापत भदौ २२ गते १० लाख रुपैयाँ बुझाएको थियो ।

‘कोभिड महामारीको चपेटामा पर्‍यौं’

ठेकेदार कम्पनी भण्डार थोडुङ निर्माण सेवाले भने आफूहरुले ठेक्का पाएको २ महिनामै कोभिड–१९ महामारी सुरु भएको र त्यसको सम्बोधन महानगरले गरिदिनुपर्ने माग राखेको छ । महानगरले एकतर्फी निर्णय लिएर व्यवसायीको घाँटी न्याक्न खोजेको कम्पनीका किरण आचार्यले सुनाए ।

२ वर्षका लागि ठेक्कामा लिएको भए पनि कोभिड महामारीका कारण मुस्किलले १४ महिनामात्रै पार्क खुला भएको आचार्यको भनाइ छ । ‘कोभिडको बेला ठप्पै भयौं । पर्यटक आउने कुरै भएन । पहिलो र दोस्रो किस्ता घाटामै ति¥यौं’, उनले भने, ‘यसलाई महानगरले सम्बोधन गर्नुपर्छ ।’

आफूहरुले महानगरलाई बुझाउनुपर्ने सबै रकम बुझाइसकेपछि केही महिना पार्कमा शुल्क उठाउन दिने भनेर मौखिक सहमतिसमेत दिएको आचार्यको दाबी छ ।

‘हामीले यसबारे पटकपटक निवेदन पनि दिएका छौं । पार्क नखुलेको भनेर स्थानीयकै मुचुल्का पनि उठाएका छौं । उहाँहरुले सबै शुल्क तिर्नुस् केही समय चलाउन दिन्छौं भनेर भन्नुभयो’, उनले भने, ‘तर, अहिले हटाउन खोज्दै हुनुहुन्छ ।’ उनले कोभिड महामारीका कारण आफूहरुलाई ३३ लाख रुपैयाँ घाटा लागेको सुनाए ।

कोभिड महामारीको क्षतिपूर्तिस्वरुप अझै ४ महिना पार्क सञ्चालन गर्न पाउनुपर्ने माग ठेकेदार कम्पनीको छ । उनले पार्क बन्द गर्न महानगरबाट आफूहरुलाई आधिकारिक पत्रसमेत नआएको दाबी गरे ।

‘पार्कको ठेक्का हामीले पाएका छौं, हामीले चलाइराखेका छौं । तर, पत्र वडालाई दिएको छ भन्ने सुनेका छौं । कुनै पनि आधिकारिक पत्र हामीलाई आइपुगेको छैन’, आचार्यले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?