+
+

साफ यू-१७ च्याम्पियनसिप : उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ २९ गते ८:५५

२९ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन्  ।

कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथथ श्रीलंका पुगेको छ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको हो । यस्तै भारतले पहिलो सेमिफाइनलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

फाइनलअघि मंगलबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाल र भारत दुवैका प्रशिक्षकले फाइनल खेलका लागि तयार रहेको बताएका छन् ।

नेपालले समूह चरणमा भारतलाई ३-१ ले पराजित गरेको थियो ।

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले नेपालले आफ्नो न्याचुरल गेम खेल्ने र टिम एकता राम्रो रहेको बताए । ‘हाम्रो कप्तान फर्केका छन् । टिममा एकता राम्रो छ । कडा मिहिनेत गर्नेछौँ’ प्रशिक्षक उर्जनले भने, ‘फाइनल धेरै प्रतिस्पर्धात्मक हुनेछ ।’

श्रेष्ठले सेमिफाइनलमा नेपाल र भारत दुवैले राम्रो खेलेको बताए । ‘भारतले हिजो बंगलादेशसँग राम्रो खेल्यो । नेपालले पनि राम्रो खेलेको छ । हाम्रो कप्तान ब्याक भएका छन् ।’

भारतका प्रशिक्षक बिनियानो फर्नान्डेजले समूह चरण र फाइनल खेल फरक हुने बताए । साथै उनले बंगलादेशसँगको जितले मनोबल बढेको पनि बताए । ‘बंगलादेशसँगको जितले टोलीको मनोबल बढेको छ,’ फर्नान्डेजले भने, ‘समूह चरण र फाइनल भेट फरक हुनेछ । हामी राम्रो खेल्दै नेपालमाथि फाइनलमा राख्दै आएको जितको यात्रालाई निरन्तरता दिन चाहन्छौँ ।’

समूह चरणमा नेपालले भारत र भुटानलाई पराजित गर्दै समूह विजेता बनेको थियो । त्यस खेलमा नेपालले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित निकालेको थियो ।

नेपालसँग पराजित भए पनि भारतले सेमिफाइनलमा अर्को समूहको विजेता बंगलादेशलाई हराएर फाइनलमा पुगेको हो ।

नेपाल भने यस संस्करणमा अपराजित रहेर फाइनल पुगेको हो । समूह चरणमा भुटानलाई दुई र भारतलाई तीन गोल गरेको नेपालले दुवै खेलमा एक-एक गोल बेहोरेको थियो । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ६-० ले हराउदै फाइनल पुगेको हो ।

नेपाल-भारत चौथो फाइनल भेट

नेपालले यो उमेर समूहमा भारतसँग फाइनल खेल्न लागेको यो चौथो पटक हो । यसअघि तीन पटक फाइनमा भेट हुँदा नेपाल सबैमा भारतसँग पराजित भएको थियो ।

पछिल्लो पटक सन् २०१९ मा भारतमै भएको प्रतियोगितामा नेपाल भारतसँग फाइनलमा ७-० ले पराजित भएको थियो । त्यसअघि २०१३ र २०१७ मा नेपालमै भएको प्रतियोगितामा फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो ।

नेपाल एक पटक तेस्रो र एक पटक चौथो भएको थियो ।

नेपाल पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित श्रीलंका पुगेको छ ।

भारर यसअघिका ६ संस्करण मध्ये पाँच पटक फाइनल पुगेको भारतले तीन पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेको थियो।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?