+
+

सेता पूर्जा पाउँदा मख्खै सुकुम्बासी

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ २९ गते २०:०५

२२ भदौ, पोखरा । पोखरा महानगरपालिका–७, प्रगति टोल सुकुम्बासी बस्तीमा बस्दै आएका आइतबहादुर राईको जन्म पोखरामै भयो ।

पुर्ख्यौली थलो पूर्वी रामेछाप भएपनि पोखरामै शैशवकाल बिताए, जोवन बिताए । तर, उनले टेकेको भुइँ न आफ्नो भयो न ओत लागेको छानो । ‘भूमिहीन, सुकुम्बासी’ राईले सानो भए पनि जमिन आफ्नो नाममा गरेर परिचय बदल्न लाख कोशिस गरे, सकेनन् ।

मजदुरी गरेर परिवारको गर्जो टारिरहेका उनलाई आफ्नै नामको लालपूर्जा सपनाजस्तै थियो । उनले ४० दशकदेखि भोग गर्दै आएको जमिन आफ्नो नाममा हुन्छ कि भन्ने आस भने बाँकी नै थियो । पटकपटक आश्वासन नपाएका पनि होइनन्, तर कहिल्यै पूरा भएन । बुधबार पोखरा महानगर सभागृहको मञ्चबाट सुकुम्बासी निस्सा पाउनेमा उनको नाम वाचन भएपछि भने बिछट्टै खुसी भए ।

हतारहतार मञ्च उक्लिए र नगर प्रमुख, उपप्रमुखसहितको टोलीबाट सेता पूर्जा लिए । ‘आजको दिन खुसी नहुने को पो होला र ? वर्षौं पर्खिएर निस्सा भए पनि पायौं । अब त लालपूर्जा पनि आउला, पाइएला भन्ने ढुक्क भइयो’, निस्सा पाइसकेपछि खुसी साटे, ‘बाबुआमा काम खोज्दै पोखरा आएपछि यतै जन्मिएँ, यतै हुर्किएँ । अब केही सजिलो भयो ।’ अहिले पनि उनी मजदुरी नै गर्छन् ।

राईजस्तै पोखरा–३ सुकुम्बासी बस्तीमा बस्दै आएकी बत्तु परियारले पनि सेतो पूर्जा पाइसकेपछि आफ्नो अनुहारबाट छचल्किएको खुसी लुकाउन सकिरहेकी थिइनन् । ५ जनाको परिवारसँग बस्दै आएकी उनले अनलाइनखबरसँग खुसी साटिन्, ‘साह्रै खुसी लाग्यो । अब चाँडै रातो पूर्जा पनि दिन्छन् होला !’

पोखरा महानगर र राष्ट्रिय भूमि आयोगले बुधबार संयुक्त कार्यक्रम आयोजना गरी पोखराका विभिन्न वडामा बसोबास गर्ने सुकुम्बासी र भूमिहीनलाई निस्सा वितरणको औपचारिक सुरुआत गरेको छ । कार्यक्रममा प्रतिनिधिमूलक सबै वडाका केही संख्यामा सुकुम्बासीलाई निस्सा वितरण गरेर वडाबाट निरन्तरता दिइएको मेयर धनराज आचार्यले बताए ।

आचार्य नेतृत्वको महानगरको पहिलो कार्यपालिका बैठकले नै सुकुम्बासीको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई नै प्रमुख प्राथमिकतामा राखेर निस्सा वितरण सुरु गरिएको मेयर आचार्यले बताए । ‘कोही पनि भूमिहीन बस्नुहुँदैन, हुनुहुँदैन भन्ने मान्यतामा पोखरा महानगर छ । यसैअनुरुप अहिले निस्सा वितरण सुरु गरेका हौं’, मेयर आचार्यले भने, ‘यो लालपूर्जा त होइन, तर ढिलो चाँडो सबैले लालपूर्जा पाउनुहुन्छ भन्ने सुरुआत हो ।’

मेयर आचार्यले निस्सा प्राप्तिका लागि महानगरमा १९ हजार ८५६ वटा निवेदन परेको जानकारी दिए । जसमध्ये अहिलेसम्म वडास्तरबाट निस्सा वितरण गर्न जम्मा ७ हजार जनाको तथ्यांकमात्रै सुचीकृत गरिएको छ ।

‘तीनपुस्ते भर्नुपर्‍यो । कर्मचारी पनि व्यवस्थापन गर्नुप¥यो । एउटा व्यक्तिको डाटा भर्न कम्तीमा आधा घण्टा लाग्छ । तर साथीहरु यसैमा गम्भीर रुपमा लाग्नुभएको छ’, मेयर आचार्यले भने, ‘बाँकी पनि विस्तार इन्ट्री गर्दै जान्छौं । यसमा कुनै समस्या हुँदैन ।’

अहिले निस्सा बाँडेकै ठाउँ असुरक्षित, सम्पदा वा मापदण्डभित्र पर्ने भए महानगरले नै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सक्ने मेयर आचार्यले बताए । ‘अहिले सुकुम्बासीहरु २/३ आनामा बस्दै आउनुभएको छ । हामी मापदण्डअनुसार ४ आनामा व्यवस्थापन गर्छौं । आजदेखि अव्यवस्थित भयौं भन्न छोडिदिनुहोस्’, उनले भने ।

पोखरा महानगर १, ३, ८, ९ लगायत वडामा ठूलो संख्यामा सुकुम्बासी बसोबास गर्दैै आइरहेका छन् । जसलाई लामो समयदेखि चुनावताका भोट बैंकका रुपमा प्रयोग गर्दै आइरहेका छन् । यसपटक पनि चुनाव घोषणा भइसकेपछि महानगरले निस्सा बाँड्न सुरु गरेको हो ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भने सुकुम्बासीलाई निस्सा बाँड्नु ‘चुनावी फण्डा’ नभएको प्रष्ट्याइन् । ‘यो चुनावको भोटका लागि होइन, त्यसरी नबुझिदिनुहोला । यो एउटा संयोगमात्रै हो । हामी ०७६ सालदेखि नै यसमा लागिरहेका छौं’, उनले भनिन्, ‘मतदान र भूमि दुवै तपाईंका अधिकार हुन् ।’ उनले अर्को सरकार आए लालपूर्जा नआउने हो कि भन्ने शंका नगर्न पनि आग्रह गरिन् ।

भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पौडेलले सेतो पूर्जा प्राप्त भइसकेपछि आधिकारिक रुपमा भूमिहीनमा दर्जा भएको र केही समयपछि लालपूर्जा वितरण पनि सुरु हुने बताए । उनले निस्साका उपयोगिता र प्रक्रियाबारे सुकुम्बासीलाई जानकारी दिएका थिए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?