+
+

चितवन–३ मा प्रचण्डको प्रतिस्पर्धी विक्रम पाण्डे कि रामप्रसाद ?

सुवास पण्डित सुवास पण्डित
२०७९ भदौ ३१ गते २०:१२

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी २०७४ मा पनि यहींबाट चुनिएका थिए ।

तर पाँच वर्षमा धेरै कुरा फेरिएको छ । हिजो प्रचण्डलाई चुनाव जिताउन भूमिका खेलेको नेकपा एमाले, आज उनीसँग छैन । हिजो प्रचण्डलाई भोट माग्ने यमबहादुर परियार, अञ्जनकुमार तिमिल्सिनाहरू पनि माओवादी केन्द्र छाडेर एमालेतिर लागेका छन् ।

हिजो प्रचण्डका प्रतिस्पर्धीलाई सघाएको नेपाली कांग्रेस भने आज प्रचण्डसँग छ । यद्यपि उनलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा चितवन कांग्रेस विभाजित छ, तर मूल नेतृत्वले प्रचण्डलाई समर्थन छ ।

राप्रपा उपाध्यक्ष पाण्डे पनि माओवादी अध्यक्ष प्र्रचण्डसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर उनले एमालेको साथ पाउँछन् कि पाउँदैनन् भन्ने प्रष्ट भइसकेको छैन ।

फेरि होला त एमाले–राप्रपा तालमेल ?

स्थानीय निर्वाचनमा एमाले र राप्रपाबीच जिल्लाका ७ मध्ये २ पालिकामा तालमेल भएको थियो । तालमेल भएको भरतपुर महानगरपालिका र माडी नगरपालिका दुवै चितवन–३ मै पर्छन् । भरतपुरमा तालमेलले ठूलो प्रभाव परेन, मेयर–उपमेयर दुवै सत्तारुढ गठबन्धनले जित्यो, तर माडीको मेयर एमालेले जित्यो ।

४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले र राप्रपाबीच तालमेलको प्रयास भइरहेको छ ।

राप्रपा उपाध्यक्ष पाण्डेले एमालेका जिल्लादेखि केन्द्रसम्मका नेतासँग छलफल भइरहेको जानकारी अनलाइनखबरलाई दिए । ‘यो पटक मलाई समर्थन गरेर जाने भन्ने छलफल भइरहेको छ’ उनले भने, ‘म साझा उम्मेदवार हुने सम्भावना बढी छ ।’

तर चितवन–३ मा उम्मेदवार सिफारिस भएका एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भने राप्रपाले आफूहरूलाई समर्थन गरे सहकार्य हुने बताउँछन् । ‘चितवन–३ मा यसै पनि राप्रपाभन्दा एमाले ठूलो दल भएकाले उसले सहयोग गर्दा नतिजा आउँछ’ उनी भन्छन्, ‘अन्यथा तालमेल गर्ने कुरै आउँदैन ।’

चितवन–३ को गणित

२०७४ मा कांग्रेसको सहयोगमा चुनाव लडेका पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ९ हजार ३४१ मतले हराएका थिए । एमालेको समर्थन पाएका प्रचण्डले ४८ हजार २७६ र पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए ।

३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत हेर्दा यो क्षेत्रमा एमाले र कांग्रेस हाराहारीका शक्ति हुन् भने माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो दल हो ।

तर एमालेले समर्थन गरे कांग्रेसको विद्रोही पक्षको समेत साथ लिएर चुनाव लड्ने पाण्डेको तयारी छ ।

विवादित छवि

पाण्डेले लामो समयदेखि राजनीति गरेको क्षेत्र हो, चितवन । उनी २०७० सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नं. ५ बाट विजयी समेत भएका थिए । चितवनको निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा उनको क्षेत्र ३ मा परेको छ ।

यो क्षेत्रमा पाण्डेको सांगठनिक भन्दा पपुलर मत रहेको मानिन्छ । २०७४ मा छोटो समय वन तथा भूसंरक्षण मन्त्री भएका पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक समेत हुन् ।

उनी बेलाबेला विवादमा मुछिन्छन् । बाँकेको सिक्टा सिंचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध २ अर्ब १३ करोडको भ्रष्टाचार मुद्दा हालेको थियो । थुनछेक बहसका क्रममा ४ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका उनले गत असारमा विशेष अदालतबाट सफाइ पाएका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?