+
+

प्रदेश १ को प्रदेशसभामा कार्कीले ७७ पटक बोले, कुशियतले बोल्दै बोलेनन्

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज ३ गते १४:२८
प्रदेश १ प्रदेशसभामा बोल्‍दै एमालेका सांसद विमल कार्की।

३ असोज, विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा दश वटा अधिवेशन ३१२ पटक बैठक बस्यो । प्रदेशसभाले स्थायी राजधानी विराटनगरलाई तोके पनि नाम राख्न सकेन ।

दसवटा अधिवेशनमा बसेका ३१२ वटा बैठकको शून्य समयमा सांसदहरुले ८८५ पटक बोले । विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६५ पटक र विधेयक माथिको सैद्धान्तिक छलफलमा १ हजार ८२ पटक बोले ।

पहिलो संसदको पाँच वर्षे अवधिमा बैठकमा एमालेका सांसद विमल कार्कीले सबैभन्दा बढी ७७ पटक प्रदेशसभा बैठकमा बोलेका छन् । एमालेकै अर्का सांसद जगदिशप्रसाद कुसियतले सांसदको रुपमा बैठकमा एक पटक पनि बोलेनन् ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सभाका १० जना सांसदले पाँच पटक पनि बैठकमा बोलेका छैनन् ।

जगदिशप्रसाद कुसियत

पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा बैठकमा सांसदको हैसियतमा एक पटक मात्रै बोलेका छन् । उनले दसौं अधिवेशनमा एक पटक सैद्धान्तिक छलफलमा भाग लिएका थिए । एकीकृत समाजवादी पार्टीका सांसद सांसद गणेश काङबाङले पनि एक पटक मात्रै बोलेका छन् । उनले पहिलो अधिवेशनको शून्य समयमा एक पटक बोलेका थिए ।

एमाले सांसद तेजमान कन्दङ्वाले दोस्रो र छैटौं अधिवेशनको शून्य समयमा जम्मा २ पटक बोलेका छन् । जीवन घिमिरेले, भीम आचार्यले, हिक्तम कार्की, गुलेफुन खातुन र हिमा बस्नेतले ३–३ पटक बोलेका छन् ।

पूर्व सामाजिक विकास मन्त्री घिमिरेले दसौं अधिवेशनमा एक पटक विशेष समय र २ पटक विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोलेका छन् । ६७ दिन प्रदेश १ को मुख्यमन्त्री बनेका भीम अचार्यले सांसदको रुपमा नवौं अधिवेशनमा विशेष समय लिएर एक पटक र दसौं अधिवेशनमा विशेष र सैद्धान्तिक छलफलमा १–१ पटक गरी जम्मा ३ पटक सम्बोधन गरेका छन् ।

हिक्मत कार्कीले सांसदको नवौं अधिवेशनमा दलको तर्फबाट एक पटक र दसौं अधिवेशनमा विशेष समय र सैद्धान्तिक छलफलमा एक–एक पटक बोलेका छन् ।

सरकारी सहीछाप कीर्ते मुद्दामा दोषी देखिएपछि संसदको अधिकांश बैठकमा सहभागी नभएकी एमाले सांसद गुलेफुन खातुनले दोस्रो तेस्रो र चौथो अधिवेशनको शून्य समयमा १–१ पटक बोलेकी छन् । गुलेफुनले राजीनामा दिएपछि उनको स्थानमा नियुक्त सांसद हिमा बस्नेतले शून्य समय, विशेष समय र सैद्धान्तिक छलफलमाथि एक–एक पटक बोलकी छन् ।

टंक आङ्बुहाङले दलफको तर्फबाट तेस्रो अधिवेशनमा एक पटक,चौथो अधिवेशनमा दलको तर्फबाट र विधेयकमाथिको सैद्धान्तिक छलफलमा १–१ पटक बोलेका छन् । त्यस्तै छैटौं अधिवेशनमा सैद्धान्तिक छलफलमा एक पटक सहभागी भएका छन् ।

जसले धेरै पटक बोले

पहिलो संसदमा दस वटा अधिवेशनमा सबैभन्दा बढी एमाले सांसद विमल कार्कीले शून्य, विशेष र सैद्धान्तिक छलफलमा गरी ७७ पटक बैठकमा बोले । कार्कीले पहिलो अधिवेशनमा ६, दोस्रोमा १३, तेस्रोमा ९, चौथोमा १३, पाचौंमा ६ र छैटौंमा १२ पटक बोलेका छन् । आठौंमा ६, नवौंमा २ पटक बोलेका उनले दसौं अधिवेशनमा १० पटक बोलेका छन् ।

कार्की पछाडि धेरै बोल्ने सांसदको दोस्रो स्थानमा एमाले सांसद राजकुमार ओझा छन् । उनले ७१ पटक बोलका छन् । कांग्रेस सांसद सूयर्माराज राईले ६५ पटक बाल्दा माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काले पनि ६५ पटक नै बोलेका छन् ।

जसपा सांसद जयराम यादवले ६४ पटक, कांग्रेस सांसद केदार कार्कीले ५९ पटक संसद बैठकमा बोल्दा एमाले सांसद अम्बिका थापाले ५६,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाङ्फोले ५० पटक बोलेकी छन् ।

कांग्रेस सांसद शिवनारायण गनगाईले ४९, लीला सुब्बाले ४७, प्रतापप्रकाश हाङ्गामले ४७, लोकप्रसाद संग्रौलाले ४६ र सञ्जाकुमारी दनुवारले ४४ पटक प्रदेशसभामा बोलेका छन् ।

माओवादी सांसद उमिता विश्वकर्माले ४६,कुलप्रसाद सुब्बाले ४१ पटक बोल्दा नेकपा एकिकृत समाजवादी पार्टीकी सांसद खिनुलङ्वा लिम्बूले प्रदेशसभामा ४० पटक बोलेकी छन् । पहिलो संसदमा १० वटा अधिवेशनमा बसेका ३१२ वटा बैठकमा १६ सांसदले ४० पटक भन्दाबढी बोलेका छन् । १५ जना सांसदले १० पटक पनि बोलेका छैनन् ।

पहिलो संसदबाट ६३ वटा विधेयक पारित भए । पाँच वर्षे अवधिमा शेरधन राई, भीम आचार्य र राजेन्द्र राई गरी मुख्यमन्त्री बने । ३० जना सांसद आलोपालो मन्त्री बने ।

प्रदेशमा २०७४ साल फागुन ३ गते शेरधन राई मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालिन नेकपा विभाजन भएपछि २०७८ भदौ १० गते राजीनामा दिए । सोही दिन एमाले नेता भीम आचार्य मुख्यमन्त्री नियुक्त भए ।

आचार्यले २०७८ कात्तिक १५ गते मुख्यमन्त्रीबाट राजीनामा दिए । २०७८ मंसिर १६ गते पाँच दलिय गठबन्धनको तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?