
२०७२ असोज ३ मा पहिलोपटक संविधानसभाबाट संविधान जारी भयो। त्यसैले असोज ३ नेपाली इतिहासको एक महत्वपूर्ण दिन हो। त्यसैले धेरैले यस दिनलाई उत्सवकै रूपमा मनाउने गरेतापनि केहीले भने विरोध पनि गर्ने गरेका छन्।
आज संविधान कार्यान्वयन भएको ७ वर्ष पुगिसकेको छ तर पनि अझै हामी यसको कार्यान्वयनकै विषयमा बहस गरिरहेका छौं। हामी संविधानको उद्देश्य पछ्याउनेतिर भन्दा पनि यसको कार्यान्वयनमै अल्झिरहेका छौं।
हाम्रो संविधानको प्रस्तावनामा समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प साथै भाग–१ धारा ४ मा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर उल्लेख गरिएबाट नै प्रष्ट हुन्छ कि समाजवाद हाम्रो संविधानको उद्देश्य, लक्ष्य, गन्तव्य तथा मर्म सबै हो।
त्यसैले संविधानको उद्देश्य नै समाजवादमा पुग्ने हो भने समाजवादको यात्रा सुरुवात गर्न ढिलाइ गर्नुहुँदैन। असन्तुष्ट पक्षहरूलाई तत्काल समेटी समाजवादका आधारशिलाहरू निर्माण गर्दै समाजवादको यात्रा तय गर्न जरुरी देखिन्छ।
हामी सधैं भाषण र सिद्धान्तमा समाजवाद-समाजवाद मात्रै भन्ने तर त्यसका आधारहरूको खोजी गरी तिनको निर्माणतिर नलाग्ने हो भने समाजवाद हाम्रो कल्पनामा मात्रै सीमित रहन्छ।
केही पूँजीवादलाई अँगाल्ने दल तथा संगठनहरू समाजवाददेखि झस्किन्छन् तर पनि देशको आवश्यकता र संविधानको संकल्पलाई ध्यानमा राखी समाजवादको बाटो पहिल्याउँदै अघि बढ्नु आजको मुख्य आवश्यकता हो। अबको हाम्रो बहस समाजवादका आधार कति तयार भए वा भएनन् भन्नेमा केन्द्रित हुनु पर्दछ न कि कार्यान्वयनमा।
तर हाम्रो यही व्यवहार र गतिविधिले भने समाजवादको लक्ष्यमा पुर्याउँदैन। हामी लक्ष्य एउटा बाटो अर्कै लिएर हिंड्न खोजिरहेका छौं। हाम्रो यही व्यवस्था र अवस्थाले समाजवादको उदय हुन्छ भनेर विश्वास गर्न सकिने ठाउँ छैन।
ठूला राजनीतिक दल नेपाली कांग्रेसले बीपीको समाजवादको वकालत गर्छ। नेकपा एमालेले जनताको बहुदलीय जनवाद हुँदै समाजवादको वकालत गरेको छ भने माओवादी केन्द्रले वैज्ञानिक समाजवादको कुरा गर्छ। तर पनि समाजवादलाई व्यवहारमा ल्याउन कुनै पनि दल त्यति तत्पर देखिंदैनन्।
माओवादी केन्द्रका अध्यक्ष दाहालले यस विषयमा अलि धेरै कुरा उठाउने गरेको भएतापनि उनी आफैं अहिलेसम्म तयार भइसकेका छैनन्।
हो, समाजवाद सहजै प्राप्त हुन सक्दैन। यसका लागि ठूला समस्या र चुनौतीको सामना गर्नुपर्छ नै। संविधान र संविधानवादलाई शिरोपर गर्दै संविधानका अन्तरवस्तुहरूप्रति असन्तुष्ट पक्षहरूलाई समेटी समाजवादका आधारहरूको खोजी र निर्माण गर्दै सबै राजनीतिक दलहरू प्रतिबद्ध भई लागेमा संविधानको लक्ष्यमा अवश्य पुग्न सकिन्छ।
संविधान दिवसको दिन हामीले यसको मर्मलाई अझ गहिरो गरी आत्मसात् गरी लक्ष्य प्राप्तिका लागि नयाँ ढंगले प्रतिबद्धता व्यक्त गर्नुपर्छ। कागजमा प्राप्त अधिकारलाई जनताको जीवन व्यवहारसँग जोड्दै उनीहरूले अनुभूति गर्न सक्ने गरी जीवन्त अभ्यासमा लाग्नुको विकल्प हामी कसैसँग छैन।
संविधान दिवसको शुभकामना !
प्रतिक्रिया 4