+
+

रोल्पामा माओवादीलाई नेता व्यवस्थापनकै समस्या

रोल्पामा माओवादी केन्द्रको नेता धेरै तर निर्वाचन क्षेत्र कम हुँदा एउटै क्षेत्रमा धेरै नेताको दावी छ । तर जिल्ला नेतृत्वले भने शीर्ष नेतालाई जिल्लाबाहिर गएर चुनाव लड्न आग्रह गरेको छ ।

महेश न्यौपाने महेश न्यौपाने
२०७९ असोज ४ गते १९:२६

४ असोज, रोल्पा । २०७४ सालको निर्वाचनमा सर्वसम्मत उम्मेदवार छानेको नेकपा माओवादी केन्द्रले यसपटक प्रतिनिधिसभाका लागि ६ जनाको नाम सिफारिस गर्‍यो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी र कुलप्रसाद केसीलाई सिफारिस गरेको माओवादीको जिल्ला समितिले समानुपातिक तर्फ तारा घर्तीको नाममात्रै सिफारिस गरेको छ ।

पहिलो पुस्ताकै नेताबीच उम्मेदवार बन्ने प्रतिस्पर्धा हुँदा दोस्रो–तेस्रो पुस्ताका नेताले अवसर पाउन सकेका छैनन् ।

नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष गुणेन्द्र घर्तीमगर शीर्ष नेताहरुलाई नयाँ पिँढीलाई अवसर दिन आग्रह गरेको बताउँछन् । ‘नयाँ पिँढीलाई पनि अवसर दिन एक पटक अवसर लिएकाहरुलाई नदोहोरिनुस् भनेका छौं, दोहोरिने हो भने अन्य जिल्लामा जान आग्रह गरेका छौं’ उनले भने ।

राष्ट्रिय व्यक्तित्व बनाइसकेकाहरुले अरु जिल्लाबाट पनि चुनाव जित्न सक्ने भन्दै उनले नयाँलाई अवसर दिएमा संसदमा जिल्लाको प्रतिनिधित्व पनि बढी हुने अध्यक्ष घर्ती बताउँछन् ।

क्षेत्र थोरै, नेता धेरै

रोल्पामा प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका दुईवटा निर्वाचन क्षेत्र छन् । क्षेत्र थोरै र नेता धेरै भएकाले यहाँका नेताहरु अन्य जिल्लामा गएर जनप्रतिनिधि बनेका छन् ।

नेकपा माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा २०७४ सालमा दाङ–२ बाट निर्वाचित भएका थिए । २०४८ सालमा रोल्पा–२ बाट प्रतिनिधि सभाको चुनाव जितेका उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि दाङ झरेका थिए । त्यतिबेला दाङ–३ बाट निर्वाचित महरा २०७० सालमा भने रोल्पा –१ बाट निर्वाचित भएका थिए ।

चुनाव क्षेत्रको संकटकै कारण उनले निर्वाचन क्षेत्र फेरिरहेको बुझ्न गाह्रो छैन । यसपटक भने महरा समानुपातिक पद्धतितर्फ उम्मेदवार बनेका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले अरु नेतालाई अवसर दिन समानुपातिकम बसेको प्रतिक्रिया दिएका छन् ।

रोल्पा घर भएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृह जिल्लाबाट चुनाव लडेको २०७४ सालमा हो । २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर–२ बाट निर्वाचित भएका उनी २०७० सालको निर्वाचनमा मोरङ–७ बाट पराजित भए । यसपटक रोल्पाबाटै उम्मेदवार बन्न चाहेका पुनसँगै उनकी पत्नी ओनसरी पनि उम्मेदवारमा सिफारिस भएकी छन् ।

वर्षमान रोल्पामै दोहोरिँदा उनले त्यहाँबाट टिकट पाउने अवस्था हुँदैन । माओवादीले उनलाई काठमाडौं– २ बाट उम्मेदवार बनाउने चर्चा पनि छ । यद्यपि सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँट नै टुंगिएको छैन । २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक पद्धतिबाट निर्वाचित उनी २०७० सालमा रोल्पा–२ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । २०७४ सालमा भने उनी समानुपातिक पद्धतिबाट सांसद बनिन् ।

रोल्पाकै नेता जयपुरी घर्ती २०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा–२ बाट निर्वाचित भइन् । २०६९ सालमा पार्टी विभाजन हुँदा मोहन वैद्यको पार्टीमा गएकी उनी २०७० सालमा जनप्रतिनिधि चुनिइनन् ।

माओवादीमै फर्किएपछि २०७४ सालमा उनी समानुपातिक पद्धतिबाट सांसद बनिन् । रोल्पाको एक क्षेत्रबाट धेरै नेताको प्रतिस्पर्धा भएका कारण उनले टिकट पाउने सम्भावना कम छ ।

झक्कुप्रसाद सुवेदीले २०६४ सालको संविधानसभा चुनाव काठमाडौं–२ बाट नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका थिए ।

उनी काठमाडौंबाटै चुनाव लडेका उनी २०७० र २०७४ को चुनावमा भने पराजित भए । माओवादीले सहजै जित्न सक्ने क्षेत्र रोल्पाबाट उनी यसपटक चुनाव लड्न चाहान्छन् तर उनले त्यहाँबाट टिकट पाउने सम्भावना छैन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि प्रदेश छाडेर प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहेका छन् । पुनःमुख्यमन्त्री नै बन्न पाउने भरपर्दो आश्वासन पाए प्रदेशमा दोहोर्‍याउन तयार भएका उनी अन्यथा प्रतिनिधिसभाको उम्मेदवार पाउनुपर्ने अडानमा छन् ।

२०७४ सालको निर्वाचनमा रोल्पा प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए । माओवादीका जिल्ला नेताहरु यस पटक उनलाई प्रदेशसभा निर्वाचन क्षेत्र पाउन पनि मुश्किल रहेको बताउँछन् । सत्तारुढ दलहरुबीच तालमेल हुँदा रोल्पाको प्रदेशसभा अन्य दललाई पनि दिनुपर्ने भएकाले टिकट पाउन मुश्किल परेको हो ।

त्यस्तो अवस्थामा माओवादीका थप नेताहरु अवसरबाट वञ्चित छन् । सो क्षेत्रमा नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले दाबी गर्दै आएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा लामो समय काम गरेका जोखबहादुर महरा रोल्पाबाट प्रदेशसभामा आकांक्षी छन् । उनी प्रदेशसभा क बाट सिफारिस भएका छन् । उनी यसअघि २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य बनेका थिए ।

प्रदेश सभा क बाट शुकबहादुर रोकामगर, गुणेन्द्र घर्तीमगर र पूर्ण केसीको नाम पनि सिफारिस भएको छ । तत्कालिन माओवादी लडाकुको पूर्व कमाण्डर रोकामगर हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाको अध्यक्षसमेत रहेका घर्तीमगर र सोही पार्टीको जिल्ला सचिव एवम रोल्पा नगरपालिकाका निवर्तमान नगर प्रमुख पूर्ण केसी पनि यस पटक प्रदेश सभा (क) को प्रत्यक्षतर्फ आकांक्षी देखिएका छन् ।

प्रदेश सभा (ख) को प्रत्यक्षतर्फ मुख्यमन्त्री केसीका साथै दीपेन्द्र पुनमगर, राजबहादुर वुढामगर, निमकान्त डाँगी र वीरबहादुर खत्रीको नाम सिफारिस भएको छ ।

दीपेन्द्र पुनमगर अघिल्लो चुनावमा लुम्विनी प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए । माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य समेत रहेका उनी सशस्त्र युद्धका घाइते समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?