+
+

रुसलाई ध्वस्त बनाउन लागेको भन्दै आंशिक सेना परिचालन गर्ने पुटिनको घोषणा, देश छाड्नेको भीड

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते २०:४१

५ असोज, मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएको छ ।

यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्ण रूपमा बुकिङ भएको एयरलाइन र ट्राभल एजेन्टको तथ्याङ्कले देखाएको छ ।

पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रूसले सुरुमा करिब तीन लाख जगेडा सैनिकलाई परिचालन गर्ने बताएका छन् ।

रूसमा लोकप्रिय एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत मुलुक अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका शहरहरूमा हुने सिधा उडानहरूको बुधबारको टिकट पूरै बिक्री भएका छन् ।

टर्किस एयरलाइन्सले आफ्नो वेबसाइटमा भनेको छ, ‘रूस जाने र आउने उडानहरूका लागि महत्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिबारसम्म सबै टिकट बुक भएका छन् ।’ बेलग्रेडको लागि अर्को उपलब्ध एयरसेर्बियाको उडान सेप्टेम्बर २६ को लागि मात्र उपलब्ध रहेको बताइएको छ ।

गुगलको तथ्याङ्कअनुसार रूसमा ‘टिकट’ र ‘उडान’का लागि गरिएको खोजीमा स्थानीय समयअनुसार बुधबार ६:०० बजेपछि दोब्बरभन्दा बढी भएको छ ।

‘रुस छोड्न’ अनुरोध सामान्य समयको तुलनामा बिहानको समयमा १०० गुणा बढी गरिएको गुगल ट्रेन्ड्सको तथ्याङ्कले देखाएको छ ।

पुटिनले युक्रेनमा मस्कोको ‘विशेष सैन्य अभियान’ को घोषणासँगै रूस र युरोपेली संघबीचको उडान बन्द भएको थियो ।

रुसी राष्ट्रपति पुटिनले बुधबार देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रुपमा सेना परिचालन गर्ने घोषणा गरेसँगै वैश्विकरूपमा तरंग उत्पन्न भएको छ ।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको तर्क छ ।

‘मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रिय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिक रुपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ,’ पुटिनले भनेका छन् ।

उनका अनुसार देशमा आंशिक रुपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशभरी आंशिक रुपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिए ।

उनले दोहोर्‍याउँदै भने, ‘म फेरि पनि भन्छु, अहिले आंशिक रुपमा मात्रै सेना परिचालन गरिएको हो ।’ उनले शान्तिपूर्ण निकासका लागि किभ तयार नभएको बताउँदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गरे ।

सम्बोधनको सुरुमा पुटिनले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरु सक्रिय भएर लागिरहेको आरोप पनि लगाए । उनले भने, ‘उनीहरुलाई हामीलाई पहिला टुक्र्याउन चाहन्छन, त्यसपछि ध्वस्त पार्न चाहन्छन ।’

पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत संघ रहेको बेलामा पनि सो कुरा सिधै भन्ने गरेको पनि उनले स्मरण गरे ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरुले चर्को विरोध गर्दै आएका छन् । उनीहरुले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् । सिन्ह्वा/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?