+
+

‘अलराउन्डर’ सबिना

नमिता दाहाल नमिता दाहाल
२०७९ असोज ७ गते १०:४०

७ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिप सुरु हुनुअघिको पत्रकार सम्मेलनमा बंगलादेशको कप्तान सबिना खातुनको आत्मविश्वास बेजोडको थियो ।

उनीहरु उपाधि जित्नकै लागि ढाकाबाट बिदाइ भएका थिए ।

दुई साताको प्रतियोगितामा अपराजित रहँदै फाइनलमा घरेलु टोलीलाई हराएर बंगलादेश दक्षिण एसियाको नयाँ विजेता बन्यो ।

बंगलादेश फुटबलका लागि यो खास उपलब्धि हुँदै हो, २८ वर्षीया कप्तान सबिनाका लागि त दोहोरो खुसी बनेर आयो । उनी प्रतियोगिताकै सर्बाधिक गोलकर्ता (८ गोल) र सर्वोत्कृष्ट खेलाडीसमेत बनिन् ।

उनको कप्तानीमा सन् २०१६ को चौथो संस्करणमा पनि बंगलादेश फाइनलमा पुगेको थियो । भारतसँग पराजित भएपछि उनीहरु निराश बने । ६ वर्षपछि उनले आफ्नो करिअरले सार्थकता पाएको महशुस गरेकी छन् ।

बंगलादेश मुस्लिम बाहुल देश हो । यहाँ पुरुषको तुलनामा महिलालाई घरबाहिर अतिरिक्त कामका लागि कमै छुट हुने गरेको छ । १५ वर्ष अगाडि बुर्का खोलेर जर्सी लगाउँदै फुटबल खेल्न घरबाट निस्कन उनले परिवारभित्रै संघर्ष गर्नुपरेको थियो । छोरीलाई घरबाहिर निस्कन दिन हुँदैन भन्ने सोच पालेका अभिभावक र छिमेकी नै साफ च्याम्पियनसिप ट्रफी बोकेर घर फर्किँदा सबैभन्दा खुसी भएको सबिनाले बताइन् ।

१२ वर्षको उमेरमा फुटबलमा लागेकी सबिना सानैदेखि टमब्वाइ छविकी थिइन् । उनी पाँच दिदीबहिनीमध्येकी माइली हुन् । छिमेकी र समाजको डरका कारण आमाबुबाले खेल्न अनुमति नदिए पनि दिदीकै जोडबलमा उनी खेलाडी बनेकी हुन् ।

साफ महिला च्याम्पिनसिपको उपाधि जितेको बंगलादेश टिम ।

‘टोलमा बाबालाई तिम्रो छोरी फुटबल खेल्ने ? भन्दै होच्याउँथे । तर, मेरी दिदीले सबैलाई जवाफ दिँदै मलाई फुटबल खेल्न पठाउनुभयो,’ उनले भनिन्, ‘सानैबाट मेरो खेल केटाको जस्तो थियो । केटीजस्तै गरी हिँड्न मलाई खासै मन परेन । हुन त फुटबल खेलमा बोल्ड हुनु पर्ने भएर पनि हो कि !’

उनीमा केटाको जस्तो स्वभाव आउनु सबैभन्दा ठूलो कारण उनकी ठूली दिदी नै हुन् । दिदी आफैं पनि केटाले जस्तै लुगा लगाउँथिन् । परिवारमा खासै कसैले केही भन्न नसके पनि समाजमा भने केटी भएर केटाको पहिरन र खेलमा लागेको आरोप सुन्नुपरेको थियो । हरेक किसिमका धार्मिक तथा सांस्कृतिक बन्धनहरु तोड्दै उनले खेलकुदमा आफ्नो कदम अगाडि बढाइन् ।

राष्ट्रिय टिममा उनको यात्रा

बंगलादेशको सात्खिरा जिल्लामा जन्मिएकी हुन्– सबिना । यो भारतको कोलकाता नजिकै पर्छ । पश्चिम बंगालको फुटबल संस्कृतिको प्रभाव पारेको यो क्षेत्रमा हुर्किएकी सबिना अहिले देशको सुपरस्टार बनेकी छन् । फुटबलर बन्नुभन्दा अगाडि उनी आफ्नो जिल्ला टिमको प्रतिनिधित्व गरेर राजधानी ढाकामा भलिबल खेल्न गएकी थिइन् ।

१४ वर्षको उमेरमा सन् २००८ मै जिल्लास्तरीय फुटबल टिममा पनि परेपछि उनले भलिबल त्यागिन् । जतिबेला बंगलादेशमा राष्ट्रिय टिम निर्माण भएको थिएन । जिल्लाहुँदै राष्ट्रिय प्रतियोगिता अनि उमेर समूहको राष्ट्रिय टिममा परिन् । सन् २०१० को पहिलो साफ च्याम्पियनसिपमा उनले १६ वर्षको उमेरमै सिनियर टिमबाट डेब्यू गरेकी हुन् ।

करिअरको सुरुवाती समयका प्रशिक्षक मोहम्मद अकवर अली सबिनाको जीवनकै प्रेरणा हुन् । जसले सबिनाका बुबाआमालाई छोरीलाई खेल्न पठाउन प्रेरित गरेका थिए । ‘उहाँले मलाई असाध्यै सहयोग गर्नुभयो । जसका कारण म अहिले यहाँसम्म आइपुगेको छु,’ आफ्ना पहिलो प्रशिक्षक अलीलाई सम्झँदै सबिना भन्छिन्, ‘मेरा बाबाआमालाई केहि हदसम्म नरम बनाउनुभएको हो ।’

बंगलादेशको घरेलु फुटबलमा गोलमेसिनको नामबाट परिचित सबिनाले अहिलेसम्म झण्डै ३ सय गोल गरेकी छन् । उनी सन् २००९ देखि राष्ट्रिय महिला च्याम्पियनसिपमा खेलिरहेकी छन् । सन् २००९ देखि २०१५/१६ को सिजनसम्म उनले राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप खेलेकी थिइन् । सन् २०१५/१६ को सिजनमा उनले ८ खेलमा ४७ गोल गर्दै सर्बाधिक गोलकर्तासमेत बनिन् ।

साफ महिला च्याम्पियनसिपमा फेयर प्ले अवार्ड लिँदै सबिना ।

सन् २०११ मा भएको बंगलादेश महिला सुपर लिगमा १३ खेलमा २७ गोलसहित सर्बाधिक गोलकर्ता बनिन् । सबै किसिमका घरेलु प्रतियोगितामा उनले ८६ खेलमा २९३ गोल गरेकी छन् ।

उनले २०१८ मा एक पटक भारतीय महिला लिग पनि खेलेकी थिइन् । जसमा उनी सेथु एफसीमा आवद्ध थिइन् । उनले ७ खेलमा ६ गोल गर्दै सेथुुको शीर्ष गोलकर्ता बनेकी थिइन् ।

उनले बंगलादेशको लागि पहिलो पटक राष्ट्रिय टिमबाट ११औं दक्षिण एसियाली खेलकुद (साग २०१०) मा खेल्न थालिन् । सागमा महिला फुटबल पहिलोपल्ट समावेश गरिएको थियो । सोही वर्ष घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा उनले टिमका लागि ४ खेल खेल्दै ३ गोल गरिन् । त्यसयता  उनले बंगलादेशको राष्ट्रिय टिमका लागि ४९ खेलमा ३२ गोल गरेकी छिन् ।

सिनियर टिमका लागि कप्तानका साथै एक उत्कृष्ट्र खेलाडीको भूमिकामा देखिएकी सबिनाले २०१० यू–१९ एफसी महिला च्याम्पिपयनसिप र २०१२ मा एफसी यू–१९ महिला च्याम्पियनसिपको छनोट खेल खेलेकी छिन् ।

क्रिकेट र फुटबलमा महिला सक्रियता धेरै

सबिनाको अनुभवमा बंगलादेशमा फुटबल र क्रिकेट खेलका लागि मुस्लिम समुदाय पनि महिलाप्रति उदार हुन थालेका छन् । लोकप्रिय दुई खेलका लागि मुस्लिम अभिभावकहरु पनि आफ्ना छोरी टिममा भएको देख्न चाहन्छन् । ‘अन्य खेलमा भन्दा महिलालाई फुटबल र क्रिकेटमा लाग्न तुलनात्मक रुपमा सहन छ,’ सबिना भन्छिन् ।

बंगलादेशमा महिला फुटबल र विशेषतः क्रिकेटमा महिला खेलाडीलाई उत्साहजनक वातावरण रहेको महिला टिमकी कप्तान सबिना खातुनले बताइन् ।

यद्यपी पुरातन सोच भएका केहि अभिभावकलाई सम्झाउनु अहिले पनि निकै कठिन छ । राष्ट्रिय टिममा रहेका केही खेलाडीहरुलाई पनि सुरुमा घरबाट आउन असाध्यै गाह्रो भएको थियो । सबिना भन्छिन्, ‘सजेता, मारिया जस्ता खेलाडीहरु धेरै दुःख गरेर राष्ट्रिय टिमसम्म आइपुगेका हुन् । उनीहरुलाई खेलमा आउन निकै गाह्रो अवस्था थियो । तर, टिममा आएर उनीहरुले राम्रो गर्दैछन् ।’

प्रशिक्षकको रुपमा सबिना

सबिनाले एएफसी बी डिप्लोमा कोचिङ कोर्स पूरा गरेकी छिन् । उनी सन् २०१७ देखि नै प्रशिक्षणमा पनि देखिन्छिन् ।

सन् २०१७ मा भएको साफ यू–१६ का लागि सहायक प्रशिक्षक बन्दै उनले प्रशिक्षण करिअर सुरु गरेकी थिइन् ।

यू–१६ पछि उनी २०१८ मा भएको साफ यू–१८ प्रतियोगितामा बंगलादेश महिला फुटबल यू–१८ टिमको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेकी छन् ।

तस्वीरहरु : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?