+
+

राष्ट्र बैंकको नीतिविरुद्ध मधेशका उद्योगी ब्यवसायी सडकमा

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असोज ६ गते २०:०७

६ असोज, वीरगञ्ज । नेपाल राष्ट्र बैंकका निर्देशन र चालू पूँजी कर्जा मार्गदर्शन २०७९ का प्रावधान प्रति असन्तुष्टि जनाउँदै मधेश प्रदेशका उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश समितिको आह्वानमा ८ वटै जिल्लाका उद्योगी व्यवसायीले प्रदर्शन गरेका हुन् ।

मधेस प्रदेशका ८ वटै जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारी तथा प्रतिनिधिले बिहीबार वीरगञ्जमा मौन र्‍याली निकालेका छन् । वीरगञ्जको मकालु होटलमा बिहीबार चालु पूँजी कर्जा सम्बन्धि मार्गदर्शन २०७९ मा निजी क्षेत्रको सरोकार विषयक अन्तर्क्रिया कार्यक्रम भएको थियो ।

कार्यक्रमपछि सहभागीहरु ‘मौन विरोध र्‍याली’, ‘सम्मुनत निजी क्षेत्र, सम्मनुत नेपाल’ लेखिएको ब्यानर बोकेर सडकमा उत्रिएका थिए । उनीहरुले गरि खान देऊ, क्रेडिट रिकभरि ऐन लागु गर, कर्जाको ब्याजदर घटाऊ, कर दाताको रक्षा गर, बैंकको सेवा शुल्क घटाउ लगायतको माग लेखिएको प्ले कार्ड बोकेका थिए ।

उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश समितिका अध्यक्ष गणेश लाठले उनीहरुले नेपाल राष्ट्र बैंकको शाखा प्रबन्धक राजनदेव भट्टराई मार्फत १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीपछि स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्न गरिरहेकै बेला नेपाल राष्ट्र बैंकले ल्याएका नीतिगत व्यवस्थाले उद्योग व्यापार क्षेत्रमा थप अन्योल त्रास सिर्जना गरेको व्यवसायीले बताएका छन् । व्यवसायको प्रकृतिअनुसार फरक चालू पूँजी रकम आवश्यक पर्ने हुँदा २ करोड रुपैयाँभन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा सबै व्यवसायको लागि २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक देखिएको उनीहरुको भनाइ छ ।

सरोकारवाला व्यवसायको कूल व्यापार, बजारमा बाँकी बक्यौता र मौज्दातलाई आधार मानेर अधिकतम ५० प्रतिशतको प्रावधान राख्नुपर्ने माग रहेको उद्योग वाणिज्य महासंघ मधेश प्रदेश समितिका अध्यक्ष गणेश लाठले जानकारी दिए ।

कर्जा शर्तअनुसार कर्जा रकम व्यवसायिक प्रयोजनमा उपयोग गरे÷नगरेको अनुगमन मार्फत यकिन गर्नुपर्ने र अन्यत्र प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

आन्दोलनमा जान दबाव

अन्तर संवादमा सहभागी उद्योगी व्यवसायीहरुले आन्दोलनमा जानुपर्ने सुझाव दिएका छन् । राष्ट्र बैंकको नीतिले उद्योग व्यवसाय धारासायी हुने बताउँदै उनीहरुले धेरै उद्योगी व्यवसायीले आत्महत्या गर्न सक्ने समेत बताए । बैंकको टर्चरका कारण ऋणीले आत्महत्या गरेको खण्डमा बैंकका प्रबन्धकलाई आत्महत्या दुरुत्साहनको मुद्धा लगाउनुपर्ने तर्क उनीहरुको छ ।

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले राष्ट्र बैंकले समस्या समाधान नगरे मंसिर ४ गते अघि नै आन्दोलन गर्नुपर्ने बताए ।

‘बैंकबाट १० करोड रुपैयाँ लिएर कारोबार गरेको छ र टर्नओभर १० करोड नै छ भने २ करोडमा झार्नुस् भन्छ । व्यवसायीले बाँकी ८ करोड कहाँबाट ल्याउने ?’ उनले भने ‘यस्तै अवस्था रहन्छ भने व्यवसायको खातापाता सबै बैंकलाई बुझाउनुपर्छ । चुनावअघि नै आन्दोलनमा जानुपर्छ ।’

रामनगर मिर्चैया उद्योग वाणिज्य संघका सल्लाहकार हरिकिशोर महतोले बैंकर्स र अर्थतन्त्र खोक्रो बनाउनेहरुको बहकाउमा लाग्न नहुने बताए । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले राष्ट्र बैंकको कदमविरुद्ध एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । बैंकको रवैयाले गर्दा व्यवसायी पलायन हुने अवस्था आइरहेको भन्दै उनले जस्तोसुकै आन्दोलनका लागि तयार रहेको बताए ।

बैंक, वित्तीय संस्था, सहकारीले पैसा नदिने हो भने व्यापार व्यवसाय नचल्ने बताउँदै सर्लाही उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहले व्यवसायीलाई डुबाउने गरी राष्ट्र बैंकले ल्याएको नीति मान्य नहुने तर्क गरे ।

उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका सल्लाहकार अशोक वैदले राष्ट्र बैंकले ल्याएको नीतिलाई ‘मिटर ब्याजी नीति’ भएको बताए । ‘बैंक मिटर ब्याजी भइसकेको छ, राष्ट्र बैंकले ल्याएको पोलिसी पनि त्यस्तै छ’, उनले भने, ‘यहाँ पैसाको हैन नियत र नितिको कमी छ । मुद्धतीमा भएको सबै पैसा निकालेर आन्दोलन गर्नुपर्छ ।’

विदेशी लगानी भित्र्याउने नीति लिने सरकारले स्वदेशी लगानीको संरक्षण गर्नमा ध्यान नदिएको उनको गुनासो छ ।

महासंघका केन्द्रीय कार्यकारिणी सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले बैकबाट फोन आउँदा डर लाग्न थालेको बताए । ‘पहिला क्रिमिनलको फोन आउँदा डर लाग्थ्यो, त्यो समस्या हटेको छ’, अध्यक्ष गुप्ताले भने ‘अब बैंकबाट फोन आउदा डर लाग्छ ।’

किसानको पैसा, मजदुरलाई ज्याला र भाडा नगदमै भुक्तानी गर्नुपर्ने भएकोले ऋणको २ प्रतिशत भन्दा बढी पैसा निकाल्न नपाउने व्यवस्था अव्यवहारिक भएको तर्क उनको छ ।

अर्का केन्द्रीय कार्यकारीणी सदस्य गोपाल केडियाले राजनैतिक दलको स्वार्थका लागि ६ महिना बन्द गर्न तयार हुने उद्योगी व्यवसायीले आफ्ना लागि पनि बन्द गर्न सक्नुपर्ने बताए ।

नेपाल भारत सोसियो ईकोनोमिक फोरमका अध्यक्ष अशोक टेमानीेले बैंकले अनियन्त्रित गतिविधि गर्दा पनि राष्ट्र बैंक मुकदर्शक बनेको आरोप लगाए । ‘बैंकबाट कारोबार गर्दा सबै नाफा उसैलाई चाहिन्छ’, उनले भने ‘कुनै बेला अपराधीले धम्क्याएर लुट्थ्यो अहिले बैंकले लुटिरहेको छ’, उनले भने ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकले उद्योगी व्यवसायीले दिएको सुझावलाई बेवास्ता गरेर चालु पूँजी कर्जा मार्ग दर्शन ल्याएको बताए । उनले उद्योगी व्यवसायी, बैंक, डिपोजिटर सबै बाँच्नुपर्ने बताउँदै नमिलेको कुराहरु मिलाउन दबाव दिने बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?