+
+

‘राज्य संयन्त्रबाट विदेशमा पनि सहयोग छैन’

साना उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न सरकारले काम गर्नुपर्ने थियो । तर, यहाँ ठूलो खाडल पैदा भएको छ । यसको परिणाम बजार देखेर लगानी गरेकाहरू पनि पेशाबाट विस्थापित हुँदैछन् । यसले उद्यमशीलतालाई आघात र राष्ट्रिय आयमा थप दबाव सृजना गर्छ ।

दिव्यतारा तुलाधर, उपाध्यक्ष, नेपाल हस्तकला महासंघ दिव्यतारा तुलाधर, उपाध्यक्ष, नेपाल हस्तकला महासंघ
२०७९ असोज ७ गते १९:३२

कोभिड महामारी अघिसम्म नेपालबाट वाषिर्क १५ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामग्री विश्वभर निर्यात हुन्थे । चीन, जर्मनी र अमेरिका नेपालको हस्तकला निर्यातका प्रमुख गन्तव्य हुन् । तर, केही वर्षदेखि चीनमा नेपालको हस्तकला निर्यात गर्न संकट पैदा भएको छ ।

नेपालको जस्तै कला र आकारमा चीनले आफैं ठूलो मात्रामा हस्तकलाका सामग्री उत्पादन गरेर बिक्री सुरु गरेको छ । हामीले बनाउँदा २० हजार पर्ने एउटा मूर्तिलाई चीनले मेशिनमार्फत उत्पादन गरेर हाम्रो जस्तै मूर्ति १० हजारमा बिक्री गर्ने गरेको छ । विश्वका थुप्रै मुलुकमा यस्ता हस्तकलाका सामग्री पुगेको हामीले थाहा पाएका छौं ।

तर, यसबारे चीनमा नेपाली प्रतिनिधित्व गर्दै बसेका नियोग र निकायले चासो दिएका छैनन् । अब नेपाली हस्तकला र चिनियाँ हस्तकला उपभोक्ताले कसरी चिन्ने । चीनमै पनि नेपालमा बनेको हस्तकला किन्ने उपभोक्तालाई यसबारे कसरी जानकारी गराउने ?

यो गर्ने काम पक्कै नेपालको प्रतिनिधित्व गर्ने निकायले हो । तर, हामीले उनीहरूको साथ पाएका छैनौं । चीनले अमेरिका, नेपाल, जर्मनी अझ भनौं न मुलुकको स्तरअनुसार सामान उत्पादन गरेर बजारमा पठाइरहेको छ । यसले गर्दा हामी त सकिइरहेका छौं नि !

हामीलाई बचाउन पनि यस्ता बेलामा सम्बन्धित देशको दूतावासले त्यहाँको सरकार, त्यहाँको कानुनी व्यवस्था र बजार बारेमा सजग गराउनुपर्ने हो । तर भएन, उहाँहरू सम्पर्कमै हुनुहुन्न । नेपाली वस्तु हुबहु बनाइनु कति जायज हो !

हामीले संसारभरका नेपाली दूतावासमा नेपाली वस्तुको प्रदर्शनी केन्द्रका लागि माग गर्‍यौं । ताकि यसबाट नेपाली वस्तुको प्रचार होस् । यस विषयमा मन्त्रालय, ठूला देशका दूतावास र महावाणिज्य दूतावासमा हामीले अनुरोध गर्‍यौं । कसैले चासो दिएनन् ।

व्यापार प्रवर्धनकै विषयमा समेत नबोल्ने, सल्लाह र सुझाव नदिनेले हामीलाई थप कसरी सघाउँछन् ? जे-जति काम भएका छन् सबै निजी क्षेत्रको पहलबाट मात्रै भएका छन् । हामीले होस्टेमा हैंसे चाहेका थियौं, त्यो पाएनौं ।

सरकारी सुविधामा बस्नेबाट पार नलागेपछि हामीले बरु आफ्नै पहलमा गैरआवासीय नेपालीमार्फत व्यापार प्रवर्धनका लागि पहल गर्न आन्तरिक प्रयास सुरु गरेका छौं । उनीहरू लामो समय त्यहाँ बसेका, अनुभव र ज्ञान भएका हुन्छन् बरु उनीहरूबाट सहयोग पाउन सकिन्छ भन्ने हस्तकला महासंघलाई लागेको छ ।

विभिन्न अध्ययन र मुलुकले लिएका नीतिहरूबाट नेपालमा साना, लघु, घरेलु उद्योगको उत्पादनले निर्यात वृद्धिमा योगदान गर्न सक्ने देखाएको छ । यसका लागि ती मुलुकको आवश्यकता, गुणस्तर, भन्सार तथा करका नीतिहरूमा सरकारले सहजीकरण गरेर हामीलाई भन्नुपर्ने थियो ।

साना उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न सरकारले काम गर्नुपर्ने थियो । तर, यहाँ ठूलो खाडल पैदा भएको छ । बजार देखेर लगानी गरेकाहरू पनि पेशाबाट विस्थापित हुँदैछन् भने नयाँ उद्यमी जन्मन नसक्ने वा उनीहरू यस क्षेत्रमा प्रवेश गर्न आँट गर्न नसक्ने अवस्था छ । यसले समग्र देशको उद्यमशीलतालाई असर पुर्‍याउँछ भने राष्ट्रिय आयमा थप दबाव सृजना गर्छ ।

हामी उत्पादन गर्छौं, सरकारले बजार खोज्छ, सहजीकरण गर्छ, यसले समग्र मुलुकको हित गर्छ । तर, समन्वयका लागि बसेकाहरूबाट हामीलाई नै हतोत्साहित गर्ने गरी असहयोग भयो र त्यसमा राज्यले पनि आवश्यक अनुगमन र सहयोग गरेन भने हामी डुब्ने नै हो । यसका लागि सरकारले विषय बुझेको, समन्वय गर्न जानेका र राष्ट्रको हित चाहने मान्छेलाई सम्बन्धित कामको जिम्मेवारी दिन जरूरी छ ।

(नेपाल हस्तकला महासंघकी उपाध्यक्ष दिव्यतारा तुलाधरसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?