
७ असोज, काठमाडौं । ओलिभर जिराउड फ्रान्सको राष्ट्रिय टिमबाट गोल गर्ने सबैभन्दा जेठो खेलाडी बनेका छन् ।
बिहीबार मध्यराति भएको नेसन्स लिगको खेलमा ३५ वर्ष ३५७ दिनको उमेरमा उनले अष्ट्रियाविरुद्ध गोल गरेका हुन् ।
यसअघि रोजर मार्चेले सन् १९५३ मा स्पेनविरुद्ध ३५ वर्ष २८७ दिनको उमेरमा गोल गरेका थिए ।
यस्तै जिराउड फ्रान्सेली लेजेण्ड थिएरी हेनरीको बराबरी गर्न २ गोलले पछि छन् । फ्रान्सका सर्वाधिक गोलकर्ता हेनरीले १२३ खेलमा ५१ गोल गरेका छन् ।
जिराउड र केलियन एमबाप्पेको गोलको मद्दतमा फ्रान्सले अष्ट्रियालाई २–० ले हराएको छ । पहिलो श्रेणीको नेशन्स लिगको डिफेन्डिङ च्याम्पियन फ्रान्सले यो जितसँगै रेलिगेसनबाट जोगिने संभावना कायम राखेको छ ।
यो समूहमा क्रोएसिया (१० अंक) पहिलो तथा डेनमार्क (९ अंक) दोश्रो स्थानमा छन् । र यी दुवै टिम रेलिगेसनबाट जोगिएका छन् ।
समान ५ खेलबाट ५ अंक बटुलेको फ्रान्स तेश्रो स्थानमा उक्लिएको छ । फ्रान्ससँग पराजित भएको अष्ट्रिया (४ अंक) भने चौथो स्थानमा झरेको छ । यो समूहबाट फ्रान्स र अष्ट्रिया मध्ये एक टिम दोश्रो श्रेणीको नेशन्स लिगमा घटुवा हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4