+
+

रुसी आक्रमणपछि पहिलोपटक चिनियाँ र युक्रेनी अधिकारीबीच संवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते ७:२०

८ असोज, बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

गत फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि दुई देशबीच बिहीबारको बैठक पहिलो होे ।

शुक्रबार, युक्रेनको मस्को–नियन्त्रित क्षेत्रहरू जनमत सङ्ग्रहमा रूसको भाग बन्ने वा नबन्ने बारेमा मतदान गर्दै छन् जुन कीभ र यसका सहयोगीहरूले गैरकानुनी भूमि कब्जाको रूपमा निन्दा गरेका छन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार वाङले कुलेबालाई भने, ‘सबै देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नैपर्छ । सबै देशको वैध सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिनुपर्छ र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल हुने सबै प्रयासलाई समर्थन गर्नुपर्दछ ।’

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग संयुक्त राज्य अमेरिकाको सामना गर्न घनिष्ठ रणनीतिक गठबन्धनको प्रयास गरिरहेका बेला बेइजिङले युक्रेनमाथि रूसको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ ।

चीनले पटक–पटक वार्ताको माध्यमबाट द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेको छ, तर सहजीकरणका लागि कुनै कदम चालेको छैन ।

वाङले कुलेबालाई भने, ‘चीन जहिले पनि शान्ति वार्तालाई बढावा दिन प्रतिबद्ध छ, कहिल्यै चुप लागेर बस्दैन, आगोमा कहिल्यै इन्धन थप्दैन र आफ्नो स्वार्थका लागि परिस्थितिको फाइदा कहिल्यै उठाउँदैन ।’

उनले अगाडि थपे, ‘चीन सधैँ शान्तिको पक्षमा उभिएको छ र रचनात्मक भूमिका निर्वाह गरिरहनेछ ।’

कुलेबाले ट्वीटरमार्फत भेटवार्ताको पुष्टि गरेका छन् । ‘मेरा चिनियाँ समकक्षीले युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति चीनको सम्मान र मतभेद सुल्झाउने माध्यमका रूपमा बल प्रयोगलाई अस्वीकार गर्नुभएको छ,’ उनले लेखेका छन् । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?