+
+

ललितपुरमा पम्फा भुसाललाई तेस्रो प्रतिस्पर्धा कति सहज ?

कांग्रेसकै भर, कांग्रेससँगै डर

ललितपुर–३ मा पम्फा भुसालले चुनाव जित्न कांग्रेसको बल अनिवार्य भएको देखिन्छ । तर कांग्रेसभित्रको संस्थापन र इतर पक्षको प्रतिस्पर्धाले चुनाव जित्न कठिन हुने माओवादी नेताहरुको बुझाइ छ ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असोज ८ गते २०:३०

८ असोज, काठमाडौं । लडेका जति सबै चुनावमा विजयी हुने थोरै माओवादी नेतामध्येमा पर्छिन् पार्टी उपमहासचिव पम्फा भुसाल । उनले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–३ बाट जितिन् ।

नेकपा माओवादी केन्द्र छाडेकाले २०७० सालको दोस्रो संविधानसभा चुनाव बहिष्कारमा लागेकी उनी २०७४ को प्रतिनिधिसभा चुनावमा ललितपुर–३ बाटै विजयी भइन् ।

आगामी ४ मंसिरमा हुने संसदीय निर्वाचनमा सत्तारुढ दलहरू गठबन्धन गरेर जान लागेका छन् । माओवादी केन्द्रकी नेतृ र सरकारमा मन्त्री समेत रहेकी भुसालले गठबन्धनबाट ललितपुर–३ मा नै टिकट पाउने निश्चित जस्तै छ ।

पहिलो संविधानसभा निर्वाचनयता अन्य ठाउँ जस्तै ललितपुर–३ मा पनि मतदाता संख्या सामान्यतः बढेकै छ । माओवादीको मत भने बढिरहेको छैन, बरु घटिरहेको देखिन्छ ।

कमजोर मतभार

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री रहेकी भुसाल पटक–पटक मन्त्री हुने नेतामा पर्छिन् । आफूले दुईचोटि जितेको निर्वाचन क्षेत्रमा पनि उत्तिकै सक्रिय नै देखिन्छिन् । माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल भन्छन्, ‘आफ्नो क्षेत्रमा धेरै काम गर्नुभएको छ । जनतासँगको अन्तरसंवादमा पनि निकै सक्रिय हुनुहुन्छ ।’

र पनि, भुसाल ललितपुर–३ मा बलियो छैनन् । गत स्थानीय तह चुनावमा यो क्षेत्रमा माओवादीले वडागत रूपमा पाएको मत ७ हजार ९५८ मात्र छ । यो मतमा नेपाली कांग्रेस र नेकपा (एमाले) पछि तेस्रो स्थानमा छ, माओवादी ।

कांग्रेसले १९ हजार ७४४ र एमालेले १९ हजार ७११ मत पाएका थिए । त्यस्तै, ५ हजार १२९ मत पाएको नेकपा (एकीकृत समाजवादी) चौथो स्थानमा छ । ललितपुर–३ मा ललितपुर महानगरका वडा नं. १–५, १०, १३–१५, २०–२९ र गोदावरी नगरपालिकाका वडा नं. १२ र १४ पर्छन् ।

माओवादी केन्द्रका जिल्ला नेताहरू भने गठबन्धनका कारण धेरै वडामा पार्टीले उम्मेदवार नउठाएकाले वडागत मतमा यथार्थ नझल्कने बताउँछन् । ‘सबै वडामा उम्मेदवार नदिंदा हाम्रो मतभार कम देखिएको हो’, जिल्ला संयोजक कट्टेल भन्छन् ।

पहिलो संविधानसभा निर्वाचनयता अन्य ठाउँ जस्तै ललितपुर–३ मा पनि मतदाता संख्या सामान्यतः बढेकै छ । माओवादीको मत भने बढिरहेको छैन, बरु घटिरहेको देखिन्छ ।

२०७० को दोस्रो संविधानसभा चुनावमा यो क्षेत्रमा माओवादीका उम्मेदवार दिनेश महर्जन नेपाली कांग्रेसका मदनबहादुर अमात्यसँग पराजित भए । २०७४ को संसदीय चुनावमा २४ हजार ३६ मतका साथ भुसाल विजयी भइन् ।

तर, त्यो विजयमा एमालेको बलियो साथ थियो । त्यो निर्वाचनमा समानुपातिकतर्फ माओवादीले १० हजार ६८७ मात्र मत पायो । जबकि, २०६४ को संविधानसभा निर्वाचनमा माओवादीबाट एक्लै लड्दा भुसाल १८ हजार ९३० मतका साथ विजयी भएकी थिइन् । समानुपातिकतर्फ माओवादीले १८ हजार ८१८ मत पाएको थियो ।

यो तथ्यमा भने जिल्ला संयोजक कट्टेल पनि सहमत छन् । पार्टीको विश्वास किन घटिरहेको छ त ?

‘युद्धकालमा कर्मचारी, पार्टीकै नेता–कार्यकर्तालगायत शहर पस्ने क्रम अलि बढी भयो’ उनी भन्छिन्, ‘उनीहरू शहरकै बासिन्दा बनेको असर परेको हुनसक्छ ।’

गत स्थानीय तह निर्वाचनमा ललितपुर महानगरको उपमेयरमा पराजित माओवादी केन्द्रका जिल्ला नेता बाबुराज बज्राचार्य पार्टीको चुनाव चिह्न हँसिया–हथौडा पनि शहरिया मतदाताले खासै नरुचाएको बताउँछन् । ‘खाँटी कम्युनिस्ट चिह्न शहरका ‘न्युट्रल’ मान्छेहरूले त्यति मन नपराएको जस्तो पनि देखियो’, उनले भने ।

अर्को, उम्मेदवार स्थानीय नै हुनुपर्ने मतदाताको मनोविज्ञान पनि माओवादीको मत नबढ्नुको कारण रहेको माओवादी नेताहरूको अनुभूति छ । दुई–दुई पटक चुनाव जिताइसक्दा पनि ललितपुर–३ का मतदाताले भुसाललाई बाहिरिया ठान्ने उनीहरू बताउँछन् । माओवादी नेता भुसाल अर्घाखाँचीमा जन्मिएकी हुन् ।

एमालेभित्र भने यसपालि स्थानीय उम्मेदवार उठाउने छलफल सुरु भएको छ । २०४८ सालयताका सबै चुनावमा एमालेले ललितपुर–३ मा निर्वाचन क्षेत्र बाहिरका उम्मेदवार उठाएको थियो ।

यसपटक भने स्थानीय उम्मेदवार नै हुनुपर्ने माग उठेको एमालेका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला सह–इन्चार्ज हरिकृष्ण व्यञ्जनकार बताउँछन् । ‘पार्टीभित्र र मतदाताबाट यस्तै आवाज उठेकोले यही अनुसार छलफल चलेको छ’, उनले भने ।

कांग्रेसकै भर, कांग्रेससँगै डर

माओवादी केन्द्र देशैभर नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावमा जाने तयारीमा छ । ललितपुर–३ मा भुसालले जित्न पनि कांग्रेसको बल अनिवार्य भएको देखिन्छ । तर, गत वैशाखको स्थानीय तह चुनावमा कांग्रेसबाट यथेष्ट सहयोग नभएको भन्दै माओवादी नेताहरू सशंकित छन् ।

स्थानीय चुनावमा माओवादीका बाबुराज बज्राचार्य ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवार थिए । गठबन्धन गरेर लडेको चुनावमा कांग्रेसका चिरिबाबु महर्जन भारी मतका साथ मेयर निर्वाचित हुँदा उपमेयरमा महर्जन हारे । उनले १८ हजार ७५२ मात्र मत पाए ।

उपमेयरमा कांग्रेसका बागी उम्मेदवार अजरमान जोशीले ७ हजार २९ मत पाए । ‘मिल्न गाह्रो कांग्रेस सँगै हो’ बज्राचार्य भन्छन्, ‘माथि मिले पनि तल मिलाउन गाह्रो छ ।’

महालक्ष्मी नगरपालिकामा मेयरको उम्मेदवार बनेका माओवादीका शिवप्रसाद कट्टेल पनि पराजित भए । गठबन्धन भने पनि कांग्रेसले आफूलाई हराउन धेरै मत बदर गराएको उनको आरोप थियो ।

माओवादी नेताहरू कांग्रेसभित्रको संस्थापन र इतर पक्षको प्रतिस्पर्धाले आफ्ना लागि समस्या भएको बताउँछन् । उनीहरूका अनुसार, संस्थापन बलियो भएको ठाउँमा माओवादी उम्मेदवारले सहमति अनुसार कांग्रेसको मत पाउँछ, तर दुवै पक्ष बराबर भएको स्थानमा धोकाधडी हुने गरेको छ ।

केन्द्रले ललितपुर–३ माओवादीलाई दिने भएको छ, सहयोग गर्नुहुन्छ ? भन्ने प्रश्नमा कांग्रेसका ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले गठबन्धनमा भागबण्डाको विषय नटुंगिएकाले अलमल रहेको बताए । ‘अहिले यसै भन्न सकिने अवस्था छैन’ उनले भने, ‘केन्द्रबाटै त्यस्तो निर्देशन आयो भने चाहिं त्यसअनुसार हिंड्नै पर्छ ।’

ललितपुर–३ मा कांग्रेसले पनि जीतजंग बस्नेत, मदन अमात्य, धन खतिवडा र विद्या केसी श्रेष्ठको सिफारिस गरेको छ । अमात्य पम्फा भुसालका पहिलेदेखिका प्रतिस्पर्धी हुन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?