+
+

अनधिकृत संरचनाबारे महानगरमा दैनिक ५०भन्दा बढी उजुरी

वडाको सक्रियतामा माइकिङ, नदी करिडोरका बस्ती हटाउने तयारी  

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १३:३३

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने भन्दै ३२ वटै वडामा माइकिङ गर्न थालेको छ । महानगरले यसअघि गोरखापत्रमा सूचना आएको भन्दै सिधै डोजर लिएर जाने गरेको थियो । तर, समय नै नदिईकन अनधिकृत संरचना हटाएको भन्दै विरोध भएपछि पूर्व सूचना दिने गरी माइकिङ सुरु गरेको हो ।

अनधिकृत संरचनाबारे महानगरमा दैनिक ५०भन्दा बढी उजुरी परिरहेको र त्यसबारे अध्ययन गरेर माइकिङ गर्ने काम भइरहेको महानगरका अधिकारीहरू बताउँछन् । ‘अब अनधिकृत संरचनाहरु भत्काउन वडाध्यक्षहरुले नै अपनत्व लिएर काम सुरु गरेका छन् । काठमाडौंको सबै वडामा वडाध्यक्षहरुले देखाएको ठाउँमा महानगर प्रहरीले माइकिङ गरिरहेको छ,’ महानगरका एक प्रहरी अधिकारीले भने,’सबै वडाहरुको कुनै न कुनै ठाउँमा अनधिकृत संरचनाहरु छन् । वडाध्यक्षहरुले नै सूचना दिएर भत्काउन भनेका माइकिङ गरेर समय दिइरहेका छौं ।’

काठमाडौंका प्रवक्ता नवीन मानन्धरले महानगरको प्राथमिकता नै व्यवस्थापन रहेकोले सोहीअनुसार काम भइरहेको बताए । ‘वडाध्यक्षहरु त सँधै नै आफ्ना वडाहरुमा काम गरिरहेका छन् । तर, अहिले महानगरको प्राथमिकताअनुसार हामीले पनि अनधिकृत संरचना हटाउने विषयलाई प्राथमिकता दिएका छौं,’ मानन्धरले भने ।

उनले सबै वडाहरुमा माइकिङ गर्दा अनधिकृत संरचना हटाउने सूचना बेलैमा पुग्ने भन्दै वडाध्यक्षहरु नै यसमा सक्रिय भएको बताए । काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगर प्रहरीलाई आएको सूचनालाई पुष्टि गरेर माइकिङ गर्न थालिएको छ ।

‘वडा कार्यालयबाट अनधिकृत संरचना हटाउन सूचना आउँछ । वडाबाट आएको सूचनालाई आधार मानेर हामीले माइकिङ गछौर्ं । सोहि अनुसार खाली गर्न थालिएको छ,’ अर्यालले भने ‘अहिले अनधिकृत संरचना, सार्वजनिक जग्गा मिचेको, नक्सा विपरीत बेसमेन्ट प्रयोग, फुटपाथ अतिक्रमण जस्ता समस्या समाधान गर्न वडाबाट धेरै सहयोग भइरहेको छ । उहाँहरुको राय अनुसार नै हामीले कारबाही गरिरहेका छौं ।’

अर्यालका अनुसार पछिल्लो समय अनधिकृत संरचना हटाउन भन्दै महानगरमा दैनिक ५० भन्दा बढी गुनासो तथा उजुरी आउने गरेको छ । ‘कल सेन्टरमा, वडा कार्यालयमा, महानगरको गुनासो पेटिका, जनप्रतिनिधि, महानगर प्रहरी सबैलाई फोन, मेसेज गरेर गुनासो आउँछ तर हामी त्यस्ता गुनासो पुष्टि गरेर मात्रै कारबाही गर्छौं ।’

नदी करिडोरको सुकुम्बासी बस्ती हटाउने तयारी 

यसैबीच काठमाडौं महानगरसँग अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको सुकुम्बासी बस्ती हटाउन छलफल थालेको छ । महानगरका एक अधिकारीका अनुसार समितिले करिडोरमा अव्यवस्थित बसोबास भएपनि समितिले हटाउन नसकेको भन्दै महानगरमार्फत करिडोर खाली गर्न आग्रह गरेको छ ।

‘समितिका पदाधिकारीहरुले महानगरसँग एक चरणको छलफल गरिसकेको छ । थापाथलीको सुकुम्बासी बस्तीसहित अन्य स्थानहरुमा रहेको बस्ती हटाउने तयारी छ । अब छिट्टै वैठक बसेर पूर्व सूचना दिँदै महानगरले बागमती नदी करिडोरमा रहेको बस्ती हटाउँछ, महानगरका एक अधिकारीले भने,’सोहिअनुसार तयारी पनि महानगरले गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?