+
+

भदौमा ११ अर्बले बढ्यो वस्तु आयात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनको तुलनामा भदौमा वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको हो ।

अच्युत पुरी अच्युत पुरी
२०७९ असोज ९ गते १९:४५
फाइल तस्वीर

९ असोज, काठमाडौं । भदौ महिनामा वस्तु आयातमा उच्च वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनको तुलनामा भदौमा वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको हो । साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भदौमा आइपुग्दा यो रकम २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ । यस अनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात ११ अर्बले बढेको हो । सरकारले विलासिताका वस्तुको आयात माथिको प्रतिबन्ध कायमै राखेको छ । तर, चाडवाड लक्षित सामग्रीको आयातका कारण भदौमा आयात बढेको हो । अर्कोतर्फ निरन्तर बढेको डलरको मूल्यले समेत आयात रकम बढी हुन पुगेको छ ।

चालु आवको पहिलो दुई महिनाको तुलनामा भने आयात केही घटेको छ भने निर्यातमा भने उच्च गिरावट आएको छ । तथ्यांकअनुसार भदौसम्म भएको कुल आयात गत आर्थिक वर्षको यसै महिनासम्मको तुलनामा १३.०१ प्रतिशतले कम हो । गत आवमा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालु आवको पहिलो दुई महिनामा निर्यात भने कुल २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आवको यसै महिनाको तुलनामा ३४.८८ प्रतिशत हो । यस वर्ष साउन र भदौमा निर्यातमा भने धेरै ठूलो अन्तर छैन । साउनमात्र १४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । भदौमा समेत करिब सोही रकम बराबरको वस्तु निर्यात भएको छ ।

व्यापार घाटा २ खर्ब ४४ अर्ब

बढ्दो आयात र खस्किँदो निर्यातका कारण नेपालको वैदेशिक व्यापार भने निरन्तर घाटामा छ ।

यस वर्ष पहिलो दुई महिनामै २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा पुगेको छ । यस्तो व्यापार घाटा गत आवको पहिलो ९.४५ प्रतिशतले कम भएको हो ।

गत आवमा साउन र भदौ महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको थियो ।

दुई महिनामा वैदेशिक व्यापारको आकार ३ खर्ब

चालु आवको पहिलो दुई महिनामा वैदेशिक व्यापारको आकार भने ३ खर्ब नाघेको छ । तथ्यांक अनुसार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

गत आवको तुलनामा कुल वैदेशिक व्यापार भने १५.७० प्रतिशत कम भएको छ । गत आवको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

पहिलो दुई महिनाको तथ्यांक अनुसार निर्यातमा आएको गिरावटका कारण कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा २२.७५ प्रतिशतको गिरावट आएको छ । व्यापारको हिस्सामा भने ३.१९ प्रतिशतको वृद्धि भएको छ । अहिले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा निर्यात ९.४९ रुपैयाँ र आयात ९०.५१ रुपैयाँ बराबरको हुने गर्छ ।

पेट्रोलियम पदार्थ आयातमा ५० अर्ब ८८ करोड खर्च

पहिलो दुई महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र ५० अर्ब ८८ करोड रुपैयाँ बराबरको खर्च भएको छ । सबैभन्दा ठूलो व्यापार घाटा समेत यसै वस्तुमा रहेको छ ।

दुई महिनामा फलाम र स्टीलको आयातमा २४ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । विद्युतीय सामग्रीको आयातमा १८ अर्ब २३ करोड बाहिरिएको छ । औषधिजन्य वस्तुको आयात १० अर्ब १७ करोड रुपैयाँ बराबरको भएको छ । वनस्पति तेल र यससँग सम्बन्धी वस्तुको आयत १९ अर्ब ८ करोड रुपैयाँ बराबरको भएको छ । यस्तो वस्तुको निर्यात ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको भएको तथ्यांक विभागले जनाएको छ ।

भारतबाट १ खर्ब ६९ अर्बको आयात

नेपालको सबैभन्दा ठूलो व्यापार १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट विदेश जाने वस्तुमा समेत सबैभन्दा ठूलो हिस्सा भारतकै छ ।

साउन र भदौमा वस्तु निर्यात भारतमा मात्र १९ अर्ब ८३ करोड रुपैयाँ बराबरको भएको छ । चीनबाट ३७ अर्बको सामान आउँदा मात्र १२ करोड रुपैयाँको निर्यात भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?