९ असोज, पाल्पा । दोस्रो जनआन्दोलनपछि स्थापित थुप्रै युवा नेताहरुले संसद् र मन्त्रिपरिषद्मा स्थान पाइसके । तर २०६३ सालमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व गरेका पाल्पाका ठाकुर गैरे चाहिं सधैं ओझेलमा परिरहे ।
२०५१ सालदेखि लगातार पाल्पा क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डेले टिकट पाइरहँदा उनले संसदीय अवसर पाएका थिएनन् । २०६५ सालमा बुटवलमा सम्पन्न एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट गेरै केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । त्यसले एमाले पंक्तिमा राम्रै चर्चा पनि ल्यायो ।
तर पाण्डेको नेता माधवकुमार नेपालसँग नाता गाँसिएका कारण गैरेले संसदीय फाँटमा अवसर पाएका थिएनन् । त्यसबेला उनी नेता हुनु भनेको सांसद् र मन्त्री हुनु मात्रै नभएको बताउने गर्थे ।
‘नेता हुन सांसद् र मन्त्री नै हुनुपर्छ भन्ने होइन, जहाँ बसेर पनि देशको विकास र सामाजिक परिवर्तनका निम्ति बोल्न सकिन्छ’, उनी भन्ने गर्थे । एमालेमा माधव नेपालसँगै विद्रोह गरेर पाण्डे एकीकृत समाजवादी पार्टीतिर लागेपछि चाहिं गैरेले बल्ल संसदीय प्रतिस्पर्धा गर्ने अवसर पाउने भएका छन् ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय परिचय बनाएका उनी पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीको जिल्ला कमिटीबाट सिफारिसमा परेका छन् । निर्वाचन क्षेत्र र जिल्ला कमिटीबाट सर्वसम्मत सिफारिसमा परेपछि उनले चुनावी तयारी थालेका छन् ।
‘मत माग्न थालिसकें, पाल्पामा यसपटक एमालेको जित सुनिश्चित नै छ’, गैरेको दाबी छ । तर उनको जित त्यति सहज पनि छैन । किनकि, २०५१ सालदेखि एक पटकबाहेक लगातार सांसद् हुँदै आएका सोमप्रसाद पाण्डे नै सम्भवतः उनका प्रतिस्पर्धी हुनसक्छन् । र, सत्ता गठबन्धनको साथ उनले पाउने छन् ।
तर गैरे दाबी गर्छन्, ‘प्रतिस्पर्धामा जो आए पनि पाल्पाली जनताले स्वीकार्ने देखिन्न ।’ चुनाव जित्ने आत्मविश्वासमा देखिनुको कारण आफ्नो व्यक्तिगत राजनीतिक पृष्ठभूमि र पाल्पाको जनमत भएको उनी बताउँछन् ।
गएको स्थानीय चुनावमा सत्ता गठबन्धनले साझा उम्मेदवारी दिए पनि एमाले जिल्लामा पहिलो शक्ति बनेको थियो । जिल्लाका १० स्थानीय तहमध्ये ६ पालिका जितेर एमाले पहिलो दल बनेको छ । त्यो चुनावी अभियानको कमाण्ड पाल्पा पार्टी इञ्चार्ज र पोलिटब्यूरो सदस्यको भूमिकामा गैरेले नै गरेका थिए ।
‘पृष्ठभूमि नै आधार’
पाल्पा बगनासकाली गाउँपालिका–८ का गैरे, विद्यार्थी राजनीतिको नेतृत्वसम्म पुगेर राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाकै कारण आफू उम्मेदवार बने चुनाव जित्ने दाबी गर्छन् ।
‘विद्यार्थीको नेता भइरहँदा जस्तो ठाकुर गैरेको परिचय बनेको छ, सांसद हुँदा पनि त्यो परिवर्तन हुने छैन’ उनी भन्छन्, ‘सांसद जितेर पनि जनहित र मुलुकको पक्षमा सधैं आवाज उठाउनेछु ।’
२०४४ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएका उनी २०६३ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष भएका थिए । त्यो अवधिमा उनी नेकपा मालेको बराङ्दी गाउँ कमिटीको सचिव, अनेरास्ववियु जिल्ला अध्यक्ष (२०५१), केन्द्रीय कमिटी सदस्य, केन्द्रीय सचिव, महासचिव र अध्यक्ष भए ।
विद्यार्थी राजनीतिजस्तै गैरेको पार्टीमा पनि क्रमशः गाउँदेखि केन्द्रसम्म पुगे । गाउँ, जिल्ला र अञ्चल कमिटीको जिम्मेवारी लिंदै उनी केन्द्रीय कमिटीसम्म पुगेका थिए ।
पार्टीभित्र झाँगिएको कुनै पनि गुटमा नलागी गैरेले केन्द्रीय सदस्य जिते । ‘विद्यार्थी राजनीतिमा खेलेको भूमिकाकै कारणले एमाले कार्यकर्ताले मलाई मत दिएर जिताउनुभयो, अहिलेसम्म त्यो कायमै छ’, उनी भन्छन् ।
नवौं र दशौं राष्ट्रिय महाधिवेशनमा पनि ठाकुर गैरेले केन्द्रीय सदस्य जिते । गएको मंसिरमा सम्पन्न दशौं महाधिवेशनमा उनले दोस्रो धेरै लोकप्रिय मत पाएका थिए । तर अहिलेसम्म पार्टीले उनलाई राजकीय भूमिकाको अवसर भने दिएको छैन ।
विद्यार्थी र पार्टी मोर्चामा आवद्ध भइरहँदा आफूले नौ एजेण्डाको नेतृत्व गरेको ठाकुर गेरै सम्झन्छन् ।
‘सात विद्यार्थी संगठनको नेतृत्व गरेर संस्थागत विद्यालयमा समान शुल्कको व्यवस्था गराउन भूमिका खेलेको थिएँ,’ उनी भन्छन्, ‘लिम्पियाधुरासहितको भूमि नेपालको भएको दाबीसहित २०५५ सालबाटै निरन्तर आवाज उठाएको थिएँ, त्यसैबेला लिम्पियाधुरा सहितको नक्सा प्रकोशन गरेर कालापानी मार्चमा पनि सहभागी भएको थिएँ ।’
पछि उनले सुस्ता बचाउ अभियानको नेतृत्व गरेका थिए भने पूर्वयुवराज पारस शाहको उद्दण्डताबाट गायक प्रवीण गुरुङको हत्या भएपछि कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए । त्यसबेला उनले ५ लाख २३ हजार हस्ताक्षर संकलन गरेर राजा वीरेन्द्रलाई बुझाएका थिए ।
‘विद्यार्थीहरुलाई सार्वजनिक सवारीमा ३५ प्रतिशत छुटको व्यवस्था गराउन पनि निरन्तर पैरवी गरेको थिएँ’, उनी थप्छन्, ‘एनसेल कर छलीविरुद्ध आन्दोलनको पनि नेतृत्व गरेको थिएँ ।’ २०७२ सालमा भूकम्प गएपछि उद्धार, राहत र पुनर्स्थापनामा खटिएको पनि उनी सम्झन्छन् । उनी थप्छन्, ‘तिलाठी सीमा हस्तक्षेपविरुद्ध आन्दोलनको नेतृत्व पनि मैले गरेको सम्झनलायक काम हो ।’
‘पाल्पाप्रति सम्मान र प्रतिबद्धता’
राणाशासनको अन्त्य गर्ने आन्दोलनबाटै पाल्पा कम्युनिष्ट पृष्ठभूमि बोकेको जिल्ला हो । २०१५ सालको पहिलो आमनिर्वाचनमा चार जना कम्युनिष्ट उम्मेदवारले जित्दा पाल्पाबाट कमलराज रेग्मीले चुनाव जितेका थिए ।
‘पाल्पाको जनमत सधैं परिवर्तनको पक्षमा छ, तर नेतृत्वले बाटो बिराएको उदाहरण पनि छ’, उनी प्रतिबद्धता जनाउँदै भन्छन्, ‘पाल्पालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न पनि मैले मत पाउनेछु ।’ संसद् मुलुकको नीति निर्माण गर्ने थलो भएकोमा प्रष्ट गैरे सांसदकै भूमिकामा जिल्लाको विकासलाई थप गति दिन प्रतिबद्ध रहेको बताउँछन् ।
राष्ट्रिय गौरवको आयोजनाबारे अध्ययन र पहलकदमी लिनेदेखि सुरु भइसकेका आयोजनालाई गति दिने आफ्नो योजना रहेको उनी बताउँछन् । निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग, बुटवल र पोखरा सडकखण्डको दूरी घटाउने, छिमेकी जिल्ला जोड्ने सडकको स्तरोन्नति, पुल निर्माण जस्ता विकासको कामको नेतृत्व लिन संसदमा जाने तयारी गरेको उनी बताउँछन् ।
कृषिमा बजेट वृद्धि र बजारीकरण, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग जस्ता सडकको स्तरवृद्धि आफ्नो प्राथमिकता रहेको उनी बताउँछन् । आफूमा राजनीतिक विचारबारे कुनै अलमल नरहेको बताउने गैरै, एकताबद्ध र शक्तिशाली कम्युनिष्ट आन्दोलनको आवश्यकता देख्छन् ।
तर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेसलाई मत हाल्न पार्टी कार्यकर्तालाई निर्देशन दिनु उचित नभएको उनी बताउँछन् । ‘कम्युनिष्ट पार्टीको झण्डा बोकेका कार्यकर्तालाई रुखमा भोट हाल्ने निर्देशन दिनु भनेको नर्कको ठेगाना बोकेर स्वर्ग यात्रा लिनु हो’ उनी भन्छन् ।
तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4