+
+

दशैंमा पनि मर्मत भएनन् जीर्ण राजमार्ग

सोमबारदेखि दशैंका लागि काठमाडौंबाट गाउँ फर्किनेहरुको संख्या बढेको छ । तर काठमाडौं जोड्ने अधिकांश राजमार्ग, सहायक राजमार्ग र सडकमार्गहरु मर्मत नभएका कारण सर्वसाधारणहरु जोखिम मोलेर दशैं मनाउन गाउँ फर्कन बाध्य भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १८:४०
नारायणगढ–मुग्लिन सडकखण्ड/फाइल तस्वीर

१० असोज, काठमाडौं । सोमबारदेखि दशैंका लागि काठमाडौंबाट गाउँ फर्किनेहरुको संख्या बढेको छ । काठमाडौंमा विभिन्न नाका भएर बाहिरिने यात्रु र सवारीको संख्या बढेको छ ।

आजैदेखि सरकारले सार्वजनिक सवारीलाई जुनसुकै रुटमा जानसक्ने गरी परमिट खुला गरेको छ । तर, दशैं लाग्दासम्म अधिकांश राजमार्ग, सहायक राजमार्ग र सडकमार्गहरु भने मर्मत भएका छैनन् ।

देशभरका सडक र मार्गहरुको अवस्था वर्षातका कारण चुस्त छैन । यसले गर्दा ‘दशैं यात्रा’ सजिलो र सुरक्षित नहुने डर बढेको बताउँछन् यातायात व्यवसायीहरु ।

अहिले कतिपय स्थानमा सडकमा पहिरो खसेका छन् भने भने कतिपय मर्मत नगरी सवारी चलाउन समस्या छ । कतिपय सडकको पुल नै बगाएर समस्या भएको छ भने कतिपय सडक सञ्चालनमा रहेपनि खाल्डाखुल्डीले गर्दा समस्या छ ।

सडक विभागको भनाइ पत्याउने हो भने राजमार्गका सडकमा परेका खाल्डा पुर्ने र पहिरो हटाउने काम भइरहेको छ, दशैंका लागि घर फर्किने यात्रुलाई सास्ती नहुने गरी सडक मर्मतको गर्न नसकिएको विभागको स्वीकारोक्ति छ ।

विभागका प्रवक्ता भीमार्जुन अधिकारी लगातार पानी परिरहेकाले धेरै सडकमा खाल्डा टाल्ने काम अलपत्र परेको बताउँछन् । ‘पानी परिरहेकै अवस्थामा सडक मर्मत गर्न सकिन्न,’ उनले भने, ‘तर, सम्भव भएसममका सडकहरु मर्मत भइरहेका छन् ।’

यो वर्षको दशैंमा काठमाडौंबाट मात्रै करिब १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान छ । यस्तै विभिन्न शहरमा बसेकाहरु गाउँघर फर्किने भएकाले यो दशैंमा ठूलो संख्यामा यात्रुको आवागमन हुन्छ । दशैंमा टीका थाप्न पनि त्यतिकै संख्यामा यात्रुहरु एक गन्तब्यबाट अर्को गन्तब्यमा पुग्छन् ।

सामान्यभन्दा धेरै सवारीसाधन र तिनमा सवार यात्रु चलायमान भइसक्दा पनि राजमार्गको खाल्डा पुर्न चासो नदिइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गुनासो छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सडकहरुको अवस्थमा तुरुनतै चुस्त बनाउनुपर्ने बताउँछन् । ‘यात्रुको सुरक्षाको प्रश्न त छँदैछ, सडकको दुरावस्थाले दशैंमा सवारी सञ्चालन गर्नै असहज हुने हुनसक्छ,’ उनले भने, ‘यात्रुलाई गन्तयब्यमा पुर्‍याएर फेरि यात्रु लिन काठमाडौं फर्किन अहिलेको सडकको अवस्थाले सहज छैन ।’

सरकारले नागरिकलाई खाल्डाबाट जोगाउन भन्दै पेट्रोलियम पदार्थमा अतिरिक्त कर असुलिरहेको छ । तर, समयमै खाल्डा पुर्न र यातायात आवागमन सहज बनाउन भने चुक्दै आएको छ ।

यातायात व्यवसायी श्रीमानबहादुर श्रेष्ठ अहिले सडकहरुको अवस्था दशा निम्त्याउने खालको भएको गुनासो गर्छन् । उनका अनुसार दशैंमा सवारी साधनमा यात्रुको चाप हुन्छ, यस्तो बेलामा सडक पनि सवारी चलाउन नसक्ने अवस्थमा हुनुले दुर्घटनाको भय बढाएको छ ।

‘बस त चलेका छन्, गाडी गएर कुन पहिरोमा फस्ने हो वा कुन खाल्डोमा जाकिने हुन पत्तो छैन,’ श्रेष्ठले भने, ‘सडक मर्मतमा सरकार गम्भीर देखिएन ।’

हाल पूर्वपश्चिम राजमार्गका विभिन्न खण्डहरुदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायतका सडकका विभिन्न खण्डहरुमा खाल्डा र भ्वाङ छन् ।

कतिपय ग्रामीण सडक खुलाउन पनि समस्या परेको छ । जिल्ला सदरमुकामबाट गाउँ जाने धेरै सडकमा पहिरो खसेका छन् । यस्ता सडकहरु खुलाउन स्थानीय तह तर प्रदेश सरकारहरु लागेका छन् ।

सडक विभागका अनुसार बेसी सहर–चामे, साँफेबगर–मार्तडी, बेनी–जोमसोम, गल्छी–त्रिशूली–स्याफ्रुबेसी सडकका विभिन्न भागमा पहिरो खसिरहेकाले बढी समस्या छ । विभागका प्रवक्ता अधिकारीका अनुसार विस्तार भइरहेको बुटवाल–नारायणगढ सडक खण्ड पनि बिजोक छ । त्यसैगरी यस वर्ष मुग्लिन–नारायणगढ सडक खण्डमा पनि धेरै पहिरो खसेर समस्या भइरहेको छ ।

उनका अनुसार सबै सडक डिभिजन कार्यालय र आयोजना कार्यालयहरुहरुलाई आफ्नो कार्यक्षेत्रभित्रका सडकको खाल्डा पुर्न निर्देशन दिइसकएको छ । दशैंमा सवारी साधनको चाप बढ्ने भएकाले आवागमनलाई सुचारु राख्न र सवारी तथा यात्रुको सुरक्षाका लागि पनि सडकका खाल्डा पुर्न अधिकतम प्रयत्न भइरहेको उनले बताए ।

वर्षा नरोकिएकाले काम सुरु तीव्र पार्न नसकिएको सडक डिभिजनका अधिकारीहरुको भनाइ छ । पानी परिरहँदा पुरिएका खाल्डा निष्प्रभावी भएकाले मौसममा सुधार आएपछि काम सुरु गर्ने उनीहरुको भनाइ छ ।

विभिन्न ठाउँका स्थानीय प्रहरी युनिटले पनि सडकको खाल्डा छिटो पुरिदिन आग्रह गर्दै आएको छ । सडकमा खाल्डो बढेपछि सवारी साधन चलाउनेहरु सबैभन्दा बढी पीडित छन् । राजमार्ग र शहरी सडकमा सवारी चाप उच्च भएकाले सानो खाल्डो दिनानुदिन ठूलो बन्ने गरेको छ । जसमा कारण घाम चर्को लगेपछि धुलो उड्ने र वर्षा हुनासाथ पानी जम्ने समस्या छ । सडकको खाल्डाका कारण स्थानीय बासिन्दा साथै ब्यापारीहरु पनि प्रभावित हुने गरेका छन् ।

विभागका प्रवक्ता अधिकारी दशैंमा सडकमा पहिरो खसेर हुने समस्या समाधान गर्न ९३ स्थानमा डोजर तथा हेकी इक्विपमेन्ट स्ट्यान्डबाइ राखिएको छ ।

‘समस्या पर्नासाथ इक्विपमेन्ट र प्राविधिकरु परिचालित हुन्छन्,’ उनले भने, ‘उपकरणहरु नभएका स्थानमा स्थानीय व्यवसायीका डोजर भाडमा लिएर पनि समस्या समाधान गर्छौं ।’

नाकाका सडकको दुरावस्था

अहिले काठमाडौंका विभिन्न नाका जोड्ने सडक बिजोक अवस्थामा छन् । दक्षिणकाली, साँखु, बालाजु, सितापाइलालगायतका नाका जोड्ने सडकहरुको अवस्था दयनीय छ ।

उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार गर्न विभागले पर्याप्त ध्यान दिएको छैन ।

प्रायः अहिले काठमाडौंका सबै नाकाको सडक विस्तारका लागि ठेक्का अलपत्र छ । कतिपय सडक त काम हुनै नसकेर रुग्ण बनेका छन् । त्यसमाथि वर्षाका कारण ती सडकमा खाल्डा थपिएका छन् । सडक विस्तारको काम बेलैमा नसकिंदा यो सडक वर्षौंदेखि बेहाल अवस्थामा छ ।

रसुवा र नुवाकोट जाने नाकाहरुको अवस्था पनि उस्तै छ । ककनी जाने सडकमा पनि विस्तारको काम अलपत्र छ । तर, काम कछुवाको गतिमा हुँदा यी सडकमा खाल्डैखाल्डा छन् ।

लामो समयदेखि विस्तारको काम चलिरहेको चाबहिल–साँखु सडकको प्रगति पनि ज्यादै कमजोर छ । यो राजधानीकै सबैभन्दा धेरै लापरवाही भएको सडकखण्ड हो । स्थानीयहरु पटक–पटक आन्दोलनमा उत्रिँदा पनि सडक विभाग र ठेकेदार कम्पनीले यो खण्डको विस्तारमा तीव्रता दिन सकेको छैन ।

काठमाडौंका करिडोर सडकको हालत पनि खराब छ । सडक मर्मत गर्न एउटा मात्रै निकाय जिम्मेवार छैनन्, सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बागमती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं महानगरपालिकाका, ललिलतपुर महानगरपालिकासहित विभिन्न नगरपालिकाहरु विभिन्न सडक मर्मतको जिम्मा लिएर बसेका निकाय हुन् ।

तर, समन्वय र आपसी समझदारीसहित यस्ता निकायहरुले नागरिकको सास्ती हटाउने गरी काम गर्न नसक्दा नाका क्षेत्रबाटै सवारी चलाउनै मुस्किल हुने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?