+
+

भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर जान कति सम्भव ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते २१:१५

११ असोज, काठमाडौं । भारत स्वतन्त्र भएयता अहिलेसम्म भारतीय कांग्रेस पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारको हातमा छ । तर पछिल्ला आम निर्वाचनमा कांग्रेसले लगातार ब्यहोरेको पराजयसँगै गान्धी परिवार आलोचित छ र पार्टी नेतृत्वले गैरगान्धी परिवारको हातमा पुग्ने सम्भावना बढेको छ ।

भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आगामी १७ अक्टोबरमा चुनाव हुँदैछ । चुनावी कार्यातालिका अनुसार अध्यक्ष पदको उम्मेदवारी दर्ताको प्रक्रिया जारी छ । २४ सेप्टेम्बरदेखि सुरु उम्मेदवारी दर्ताको प्रक्रिया ३० सेप्टेम्बरमा सकिनेछ । त्यसपछि ८ अक्टोबरसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ भने सोही दिन अपरान्ह ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।

तर निर्वाचन कार्यतालिका सुरू भएको चौथो दिनसम्म जम्मा दुई जनाले मात्रै मनोनयपत्र लिएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार शशी थरूर र पवन वंशलले मात्रै अहिलेसम्म मनोनयन पत्र लिएका छन् । थरूरले ३० सेप्टेम्बरमा मनोनयन दर्ता गर्ने घोषणा गरिसकेका छन् । वंशलले उम्मेदवारी दर्ता गराउनेमा भने धेरैले आशंका व्यक्त गरेका छन् ।

कांग्रेसको अध्यक्ष पदका लागि बलियो दाबेदार मानिए पनि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले अहिलेसम्म मनोनयन पत्र लिएका छैनन् । यद्यपि अझै केही दिन समय बाँकी रहेकाले उनको उम्मेदवारी पनि पर्न सक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमहरूको विश्लेषण छ ।

अहिलेसम्म गान्धी परिवारबाट भने कसैले पनि कांग्रेसको अध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेको छैन । सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।

राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रोपटक हार व्यहोरेपछि सन् २०१९ मा नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेका थिए । त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिएकी थिइन् ।

सोनिया सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहेकी छन् । उनी कांग्रेसको नेतृत्व सबभन्दा लामो समय निरन्तर गर्ने एक मात्रै अध्यक्ष हुन् । बीचमा छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिए पनि सम्हाल्न नसकेपछि उनी आफैं अन्तरिम अध्यक्ष बनेकी थिइन् । उनको नेतृत्वमा पार्टीले सन् २००४ र २००९ को आम निर्वाचन जितेको थियो ।

भारतीय कांग्रेसको इतिहासमा सन् १९४८ यता पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारले गरेको छ । गान्धी परिवारबाट कांग्रेसको नेतृत्व जवाहरलाल नेहरूले सन् १९५१ देखि १९५४ सम्म गरे । त्यसपछि सन् १९५९ मा इन्दिरा गान्धी करिब एक वर्ष पार्टीको अध्यक्ष बनिन् । त्यसपछि सन् १९७८ मा पुनः अध्यक्षमा दोहोरिएकी इन्दिराले सन् १९८३ सम्म पाँच वर्ष कांग्रेसको नेतृत्व सम्हालिन् ।

इन्दिरापछि राजीव गान्धी १९८५ देखि १९९१ सम्म कांग्रेसको अध्यक्ष बने । त्यसपछि १९९६ मा सीताराम केसरीले पार्टी अध्यक्ष जितेका थिए । तर १९९८ मा सोनियाले उनलाई हटाएर आफू अध्यक्ष बनेपछि लामो समय पार्टीको नेतृत्वमा बस्ने अवसर प्राप्त गरिन् । यसरी भारत स्वतन्त्र भएयता भारतीय कांग्रेसको अध्यक्ष बनेका १६ जनामध्ये ५ जना गान्धी परिवारका व्यक्ति छन् भने ७४ वर्षको दौरानमा करिब ४० वर्ष गान्धी परिवारले कांग्रेसको नेतृत्व गरेको छ ।

अहिले भने कांग्रेसभित्र र बाहिर गान्धी परिवारको क्रेज घट्दो छ । सोनिया लामो समय नेतृत्वमा हुँदा पनि पार्टी अध्यक्षका लागि कसैले दाबी गरेको थिएन । पछिल्लो समय पारिवारिक विरासत धान्ने आशा गरिएका राहुल आफैं राजनीतिक रूपमा त्यति सशक्त भएर उपस्थित हुन सकेका छैनन् ।

भारतको राजनीतिमा सत्तारुढ (भारतीय जनता पाटी) बीजेपीको विरोधी खेमाले राहुललाई नरेन्द्र मोदीसँग टक्कर लिने व्यक्तित्वका रूपमा देख्न चाहेपनि उनी त्यसमा काविल हुन सकेका छैनन् । अहिले नै पनि कांग्रेसका १२ वटा प्रान्त स्तरीय कमिटीहरूले राहुललाई नै पार्टी अध्यक्षको उम्मेदवारका रूपमा सिफारिस गरेका छन् ।

तर राहुल आफैं भने मनोनयन दर्ताको आधाभन्दा बढी समय सकिसक्दा पनि मौन नै छन् । बरु भावी अध्यक्षका उम्मेदवारका रूपमा चर्चा भइरहेको थरुरदेखि गहलोतसम्म गान्धी परिवारको साथ खोजिरहेका छन् ।

अध्यक्ष नबने पनि शक्तिमा गान्धी परिवार

भारतीय कांग्रेसको नेतृत्वमा रहे पनि नरहे पनि गान्धी परिवार प्रायः शक्तिबाट भने टाढिएको छैन । त्यसमा राजनीतिक योगदानसँगै पारिवारिक विरासतको भूमिका धेरै देखिन्छ । पार्टीको नेतृत्व जसले सम्हाले पनि उसले गान्धी परिवारको खटनपटनमा काम गर्नुपर्ने बाध्यता रहँदै आएको छ । त्यसैले त अहिले पनि बीजेपीका नेताहरूले कांगेसमा अध्यक्ष जो भए पनि गान्धी परिवारको ‘रबर स्ट्याम्प’भन्दा बढी केही नहुने भनेर आलोचना गरिरहेका हुन्छन् ।

तर पछिल्लो समय गान्धी परिवारमा भारतको बदलिँदो राजनीतिलाई नेतृत्व गर्नसक्ने व्यक्तित्वको अभाव छ । लामो समय पार्टी अध्यक्ष बनेकी सोनियाले आफ्नो स्वास्थ्य अवस्थालाई देखाउँदै नदोहोरिने बताइसकेकी छन् । पार्टीका नेताहरूले गरेको आग्रहलाई उनले अस्वीकार गर्दै अध्यक्ष पदका लागि हुने निर्वाचनमा आफूले निष्पक्ष भूमिका निभाउने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गान्धी परिवारमा अहिले राजनीतिमा सक्रिय सोनियापछि छोरी प्रियंका र छोरा राहुल नै हुन् । पारिवारिक विरासतका कारण छोरीको भूमिका पार्टीभित्र हस्तक्षेपकारी भएपनि नेतृत्वदायी भने छैन । यसै पनि प्रियंकालाई कांग्रेस नेतृत्वको रूपमा हेर्ने गरेको पाइँदैन ।

बरु राहुलसँग नै कांग्रेसको ठूलो पंक्तिले अपेक्षा राखेको छ । तर अपरिपक्व निर्णय र कमजोर नेतृत्व क्षमताका कारण बदनाम राहुलले आमा र बहिनीलाई पनि पार्टी नेतृत्व केही समयका लागि परिवार बाहिर दिनुपर्ने गरी फकाएको विश्लेषण सञ्चार माध्यमहरूमा भइरहेको छ । यद्यपि, कतिपय विश्लेषकहरूले राहुल आफ्नो पुरानै अडानमा कायम रहन्छन् भन्नेमा आशंका व्यक्त गरेका छन् । प्रत्यक्ष पार्टीको नेतृत्वमा नरहे पनि अध्यक्षलाई ‘स्ट्याम्प प्याड’ बनाउन खोजेको आरोप उनीमाथि छ ।

अध्यक्षका प्रत्यासीहरू पनि सार्वजनिक मञ्चहरूबाटै आफूलाई गान्धी परिवारको समर्थन रहेको प्रचार गरिरहेका छन् । यसले पनि उनीहरू आफ्नै दममा पार्टीको नेतृत्वमा पुग्ने आँट गर्न नसकेको पुष्टि गर्छ ।

को बन्ला अबको अध्यक्ष ?

भारतीय कांग्रेस अध्यक्षका उम्मेदवारको अन्तिम सूची नआएसम्म को अडानमा कायम रहन्छ ? को बाहिरिन्छ भन्न कठिन छ । किनभने, अहिलेसम्म प्रतिस्पर्धी भनिएका दुवै नेता गान्धी परिवारसँग निकट मानिन्छन् । मौनता साँधिरहेको गान्धी परिवारले चाहेको खण्डमा जो कसैलाई पनि पछि हट्न बाध्य बनाउन सक्छ । तर शुक्रबारसम्म मनोनयन पत्र लिएकामध्ये वंशलभन्दा थरूर नै बलिया दाबेदारका रूपमा हेरिएका छन् । बरू राजस्थानका मुख्यमन्त्री गहलोतको सम्भावना रहेको भनिएको छ । त्यसैले मुख्य प्रतिस्पर्धामा थरूर र गहलोत नै रहेको बुझ्न सकिन्छ ।

दुवैजना गान्धी परिवार निकट मानिने हुँदा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । थरूर र गहलोतको पृष्ठभूमि फरक–फरक भए पनि क्षमताका हिसाबले दुवै उत्तिकै अब्बल मानिन्छन् ।

थरूर राजनीतिसँगै, लेखक र अन्तर्राष्ट्रिय नियोगहरूमा अनुभव प्राप्त व्यक्तिका रूपमा चिनिन्छन् । उनले सन् १९७८ देखि २००७ सम्म संयुक्त राष्ट्रसंघमा बसेका काम गरेका थिए । २००६ मा संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि भएको निर्वाचनमा दक्षिण कोरियाका बान की मूनसँग पराजित भएपछि उनले २००७ मा यूएनबाट राजीनामा दिएका थिए ।

२००९ मा कांग्रेसमा लागेर सक्रिय राजनीतिक सुरू गरेका उनले त्यही वर्ष केरल राज्यको तिरुवन्तपुरमबाट लोकसभा चुनाव जिते । त्यसपछि उनले एक वर्ष विना विभागीय राज्यमन्त्री भए । सन् २०१२ देखि २०१४ सम्म मानव संशाधान विकासमन्त्री भएर काम गरेका उनले भारतीय इतिहास, संस्कृति, फिल्म, राजनीति, समाज, विदेश नीतिलगायत विषयमा २३ वटा किताब लेखेका छन् ।

दिल्लीमा उच्च शिक्षा हासिल गरेका थरूरले अमेरिकाबाट कूटनीतिक विषयमा विद्यावारिधि गरेका छन् । भारतीय कांग्रेसभित्र बदलाव ल्याउन महत्वपूर्ण भूमिका खेल्ने सोनिया गान्धीलगायत २३ जनाको समूहमा रहेर काम गरेका उनी जी–२३ का सदस्यका रूपमा समेट पार्टीमा चिनिन्छन् ।

त्यस्तै हाल राजस्थानमा तेस्रो कार्यकाल मुख्यमन्त्री चलाइरहेका गहलोत भने सुरूदेखि नै राजनीतिमा सहभागी थिए । उनले १९६८ देखि १९७२ सम्म गान्धी सेवा प्रतिष्ठानमा रहेर काम गरेका थिए । अर्थशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका गहलोत १९७३ कांग्रेसको विद्यार्थी संगठनमा लागेका थिए ।

उनले पहिलोपटक १९७७ मा कांग्रेसबाट जोधपुरबाट विधानसभामा चुनाव लड्दा पराजय भोगेका थिए । त्यसपछि पहिलोपटक सोही क्षेत्रबाट १९८० मा सांसद बनेका उनले अहिलेसम्म पाँचपटक चुनाव जितेका छन् । सन् १९८२ मा इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा उपमन्त्री बनेका उनी तीनपटक राजस्थानका मुख्यमन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?