+
+

लुम्बिनीका प्रदेश सांसदको बिदाइ कार्यक्रम विवादमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १७:१७

१२ असोज,बुटवल । लुम्बिनी प्रदेशसभाले प्रदेशसभाका निवर्तमान सदस्यहरुका लागि आयोजना गरेको सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम विवादित भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागूू भइसकेको छ । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकको बन्द सूची बुझाएपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने बताइसकेको छ ।

तर लुम्बिनी प्रदेशसभाले असोज १४ गते दाङमा प्रदेशसभाका निवर्तमान सदस्यको शुभकामना आदान प्रदान कार्यक्रम तय गरेपछि प्रमुख विपक्षी एमालेले निर्वाचन प्रभावित गर्ने उद्देश्यले गर्न लागिएको भन्दै उपस्थित नहुने जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रहेका भूमिश्वर ढकालले एमालेका ३६ जना सांसदहरुलाई कार्यक्रममा उपस्थित नहुन एसएमएस पठाएका छन् ।

‘प्रदेशसभाले आयोजना गरेको कार्यक्रम चुनाव प्रभावित गर्ने हिसाबले एकतर्फी आयोजना गरिएको हो’, ढकालले भने, ‘हामीसँग छलफल पनि भएको छैन, यो सरासर गलत छ ।’
प्रदेशसभा सदस्यको हैसियतमा निमन्त्रणा गरिएकाले एमालेको आपत्ति रहेको उनले बताए ।

प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जारी गरेको सूचनामा प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन मौरीघाट देउखुरीमा सम्मान र शुभकामना कार्यक्रम राखिएको उल्लेख गरिएको छ । जबकी निर्वाचन आचारसंहितामा सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन भन्ने उल्लेख गरिएको छ ।

संविधानमा प्रष्ट नभएपनि समानुपातिकको बन्द सूूची निर्वाचन आयोगमा पेश भएपछि प्रदेशसभा सदस्यहरुको कार्यकाल सकिएको अथ्र्याइएपनि लुम्बिनी प्रदेश सभा सचिवालयले असोज २२ सम्म कार्यकाल रहेको तर्क गरेको छ ।

प्रदेशसभा सचिव दुर्लभकुुमार पुन मगरले प्रदेशसभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागूू नहुने दावी गरे । उनले निवर्तमान प्रदेशसभा सदस्यहरुको सम्मानका लागि स्थायी राजधानीमा कार्यक्रम गर्न लागिएको बताए ।

यसअघि मौरीघाटस्थित प्रदेशसभा भवन निर्माण नसकिँदै सामान ओसार्न प्रदेशसभाले सुरु गरेको थियो । गठबन्धन दलमै संरचना नबन्दै सामान ओसारेर अलपत्र हुने भन्दै विरोध गरेपछि रोकिएको थियो ।

तर, निर्वाचनलाई मध्यनजर गरी मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा रातारात प्रदेशसभाबाट सामान ओसार्न थालिएको हो । प्रदेशसभामा विजुली जडान हुन समय लाग्ने भएपछि बुुटवलबाट जेनेरेटर लगिएको छ । नयाँ प्रदेशसभा भवन अझै पनि पूूरा भइसकेको छैन ।

राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभा लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्टक्चर’ को भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणल २०७८ वैशाख २४ ठेक्का सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?