+
+

ए डिभिजन लिग पुस ८ बाटै, एनएसएललाई चैत-जेठको रिजर्भ डेट

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज १३ गते ९:१२

१३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) यस सिजनको शहीद स्मारक ए डिभिजन लिग आगामी पुस ८ गतेदेखि गर्ने गरी विशेष साधारण सभाबाट अनुमोदन गरेको छ ।

यसअघि साउन २६ मा बसेको कार्यसमिति बैठकले पुस ८ देखि ए डिभिजन लिग गर्ने गरी मिति प्रस्ताव गरेको थियो । त्यही प्रस्तावित मिति अनुसार पुस ८ देखि चैत ४ गतेसम्म ए डिभिजन लिग गर्ने बुधबारको एन्फा विशेष साधारण सभाले अनुमोदन गरेको हो ।

विशेष साधारण सभाले एन्फाको वार्षिक बजेट र वार्षिक कार्यक्रम पारित लगायत विभिन्न निर्णयहरु समेत गरेको छ । तर, एन्फाले देशकै मुख्य लिग मानिने ए डिभिजन लिगका लागि स्पष्ट खाका भने अझै सार्वजनिक गर्न सकेको छैन ।

एन्फा प्रतियोगिता निर्देशक सन्जीव मिश्रले वार्षिक कार्यक्रम पुस ८ देखि चेत ४ सम्मकै लिग गर्ने तयारी भए पनि यसमा क्लबहरुसँग छलफल गरेर परिमार्जन गर्न सकिने संकेत गरे ।

यसअघि विभिन्न खालको प्रयोग गर्दै आएको एन्फाले अझ एक पटक नयाँ प्रयोग गर्न सक्ने बाटो खुल्ला गरेको छ ।

ए डिभिजन लिगमा अहिले १४ क्लबले प्रतिस्पर्धा गर्दै आएका छन् । गत सिजन सिंगल राउण्ड रोविन लिगको आधारमा लिगमा आयोजना भएको थियो भने विकेन्डमा लिग खेलहरु खेलाइएको थियो ।

यस पटक पनि अहिलेसम्मका लागि कम्तीमा त्यही सिंगल राउण्ड रोविना लिग हुने र विकेन्डमा खेल खेलाइने पक्का छ ।

‘लिग पुस ८ देखि नै सुरु गर्ने कार्यक्रम छ । विकेन्डमै लिग हुनेछ,’ प्रतियोगिता निर्देशक मिश्रले विशेष साधारण सभापछि आयोजित पत्रकार सम्मेलनमा भने।

मिश्रले अहिलेसम्मका लागि सिंगल राउण्ड रोविनमै गर्ने र क्लबहरुसँग छलफल गरेर डबल लिग समेत गर्न सकिने बताए ।उनले भने, ‘अहिले सिंगल लिग नै टार्गेछ हो । असारसम्म जाने हो भने डबल लिग पनि खेल्न सकिन्छ ।’

यस्तै सिंगल लिगपछि शीर्ष सातले फेरि खेल्ने र बाँकी सात टिमले रेलिगेसनका लागि फेरि खेल्न गरी समेत लिग गर्न सकिने मिश्रले बताए । ‘क्लबहरुसँग छलफल गरेर क्लब तयार भए सिंगल र डबलको बीचको टप सेभेनले सुपर लिग खेल्ने र बटम सेभेनले रेलिगेसन लिग खेल्ने पनि बनाउन सकिन्छ,’ मिश्रले भने, ‘एन्फाले यस बारे लिग खेल्ने क्लबलाई फ्लोर ओपन गरेको छ र क्लबहरु तयार भए एन्फा त्यो गर्न तयार छ ।’

एन्फाले लिगलाई देशव्यापी रुपमा लैजाने भन्दै गत वर्ष लिगका केही खेललाई मोफसलमा समेत खेलाएको थियो ।

यसपटक एन्फाले राष्ट्रिय टिमको लक्ष्य र घरेलु फुटबलका लागि भन्दै साधारण सभाले रणनैतिक योजनाको रुपमा आगामी ८ वर्षको लागि योजना अनुमोदन गरेको छ ।त्यसै अनुसार लिगलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर एन्फा अझे विज्ञसँग छलफल गरेर अघि बढ्ने तयारीमा छ ।

लिगमा फेरि नयाँ प्रयोग हुने हो भन्ने प्रश्नमा मिश्रले अबको प्रयोग नयाँभन्दा पनि दीर्घकालीन रुपमा गर्न खोजेको बताए । ‘लिगमा प्रयोग भनेको रणनीतिक योजना अन्तर्गत अहिले देशव्यावी रुपमा लिग लग्न खोजिरहेका छौँ । अबको प्रयोग चाँही सधैँको लगि आज एउटा अनि अर्को भन्ने हुँदैन ।विज्ञहरुसँग बसेर एउटा लिग संरचना बनाउनेछौँ र त्यही अनुसार गर्नेछौँ,’ उनले भने ।

एन्फाले यस पटक सुपर लिग र रेलिगेसन लिगको नयाँ प्रस्ताव क्लबमाझ ल्याएको छ।तर, त्यो संरचना बनाउन पनि एन्फाका लागि त्यति सहज भने छैन । यसअघि विभिन्न समयमा सिंगल लिग, डबल लिग लगायत विभिन्न प्रयोग भइसकेको छ ।

लिगका लागि एन्फाले दशैँ तिहार लगत्तै अन्तर्राष्ट्रिय खेलाडी र डोमेस्टिक खेलाडीको विन्डो खुल्ला गर्ने पनि जनाएको छ ।

साधारण सभाले ए डिभिजन लिगदेखि बी र सी डिभिजन लिग मिति पनि अनुमोदन गरेको छ भने फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) का लागि आगामी चैत देखि जेठ सम्मको रिजर्भ डेट राखेको छ ।

यसअघि एन्फाको कार्यसमिति बैठकले असोज २३ देखि एनएसएलको दोस्रो संस्करण गर्ने गरी मिति तय गरेको थियो ।तर एन्फा र एनएसएस आयोजकबीच विभिन्न बुँदामा संशोधनसहित नयाँ सम्झौता गर्ने तयारीमा छ ।

यस्तै चाडपर्वका बेला तत्काल एनएसएल गर्न सम्भव नभएकोले पनि एन्फाले एनएसएलको मित पछि सारेको हो । ‘असोजमै सुरु गर्ने भनेको एनएसएल गर्न तत्काल सम्भव देखिएन र चैत २५ देखि जेठ १० गतेसम्मको रिजर्भ डेट राखेका छौँ,’ मिश्रले भने ।

यसैगरी बी डभिजन लिग लिग चैत ६ गतेदेखि र सी डिभिजन लिग अर्को वर्ष बैशाख १८ देखि गर्ने एन्फाको तयारी छ ।

गत चैतमा भएको राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेलहरु आगामी मंसिरमा गर्ने एन्फाले जनाएको छ । पहिलो चरणको खेल चितवनमा आयोजना भएको थियो ।

आगामी माघमा उपमेयर कप महिला लिग गर्ने र २०७९ को राष्ट्रिय महिला लिग आगामी चैत-वैशाखमा गर्ने एन्फाले जनाएको छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?