+
+

काठमाडौंका यी सस्ता बजार, जहाँ लत्ताकपडा किन्न सकिन्छ

अंगद सिंह अंगद सिंह
२०७९ असोज १३ गते १२:३५

काठमाडौं । एकसरो नयाँ लुगा फेर्न दशैं नै कुर्नुपर्ने बाध्यता त नहोला । तर दशैं भन्नासाथ मीठो खाने र राम्रो लगाउने चाड भन्ने गरिन्छ । हुन पनि दशैंमा नयाँ लुगा लगाउनुको खास आनन्द पनि छ ।

दशैंमा सबैजसो व्यक्ति नयाँ-नयाँ लुगामा ठाँटिन्छन् । दशैंमा नयाँ लुगा लगाउने प्रचलनले गर्दा यतिबेला लत्ताकपडाको बजार उत्कर्षमा पुग्ने गर्छ ।

यद्यपि लत्ताकपडाको यो बजारलाई पनि महंगीले छोपिसकेको छ । यस्तो महंगीमा कसरी सस्तो लुगाफाटो जोहो गर्ने ? धेरैको मनमा उब्जिने प्रश्न हो यो । अतः काठमाडौंमा केही यस्ता बजार छन्, जहाँ तुलनात्मक रुपमा सस्तो मूल्यका लत्ताकपडा पाइन्छ ।

प्रदर्शनीमार्ग, भृकुटीमण्डप

समाजकल्याण परिषद्बाट सञ्चालित भृकुटीमण्डप खुला बजारमा सस्तो मूल्यमा लत्ताकपडा किन्न सकिन्छ । भृकुटीमण्डपमा कपडाका साथै घरायसी प्रयोजनका लागि आवश्यक सबै सामग्री पाइन्छन् ।

भृकुटीमण्डप सस्तो बजारका रुपमा सबैभन्दा प्रख्यात छ । जहाँ बालबालिकादेखि वयोवृद्धसम्मका लागि सबै थरीका सरसामान सहजै पाइन्छन् । उसो त भृकुटीमण्डपमा सस्तो समान पाइने हुँदा सर्वसाधारणको भीड लाग्ने गर्छ । तर चाडबाडका बेला भने त्यहाँ निकै भीडभाड लाग्ने गरेको छ । अहिले दशैं तिहारको किनमेलका लागि सस्तो बजार धाउने सर्वसाधारणको संख्या उल्लेख्य मात्रामा बढेको छ ।

बिजनेस कम्प्लेक्स (एनबीटीसी), कलंकी

कलंकीमा रहेको एनबीटीसी पनि अन्यबजारको तुलनामा सस्तो बजार हो । दशैं तिहारमा एनबीटीसीमा सस्तोमा लत्ताकपडा किन्न आउने सर्वसाधारणको भीड लाग्ने गर्छ । यहाँ होलसेल बजारका लागि समेत सस्तो मूल्यमा सरसमान पाइन्छ ।

असन, महाबौद्ध क्षेत्र

काठमाडौंको मुख्य व्यापारिक हब असन, महाबौद्ध र इन्द्रचोकमा पनि सस्तो मूल्यमा सामान पाइन्छ । अन्य बजारको तुलनामा सस्तोमा सामान पाइने हुँदा यहाँ सर्वसाधारणको घुइँचो लाग्छ ।

महाबौद्ध क्षेत्रमा लत्ताकपडाका साथै भाँडाकुँडा र अन्य सामान सस्तो मूल्यमा पाउन सकिन्छ । अरुबेला पनि सर्वसाधारण ग्राहकको भीड हुने असन, महाबौद्ध क्षेत्रमा दशैंको बेला त थामिनसक्नु घुइँचो हुन्छ ।

कोटेश्वरको सुन्दरबजार

कोटेश्वरमा रहेको सुन्दरबजार सस्तो बजारका रुपमा परिचित छ । उपत्यकाबाट पूर्वी क्षेत्रको मुख्य नाका भएकाले पनि कोटेश्वर व्यापारिक केन्द्र बनेको छ । सुन्दरबजारमा लत्ताकपडाका साथै जुत्ता र अन्य घरायसी सामान सस्तो मूल्यमा पाइन्छ । यहाँ पनि दशैंको किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्छ ।

लगनखेलको मिनीबजार

लगनखेलको मिनीबजार पुरानो र सस्तो बजारका रुपमा परिचित छ । मिनिबजारमा चाडबाडका बेला लत्ताकपडाका साथै घरायसी सामग्री किन्ने सर्वसाधारणको भीड लाग्ने गर्छ । यहाँ बाहिरको तुलनामा सुपथ मूल्यमा लत्ताकपडा पाइन्छ ।

बानेश्वरको भित्रीबजार

बानेश्वरमा सञ्चालित फुटपाथ बजारलाई काठमाडौं महानगरपालिकाले व्यवस्थित गर्ने भन्दै भित्रका सटरमा सारेको छ । बानेश्वर चोकबाट उत्तरतर्फ पर्ने यो बजारमा लत्ताकपडा, जुत्ताचप्पल सस्तो मूल्यमा पाउन सकिन्छ ।

सस्तोमा लत्ताकपडा पाइने भएपछि दशैंको बेला यहाँ पनि सर्वसाधारणको घुइँचो हुन्छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?