+
+

मधेशमा गठबन्धनको सिट बाँडफाँट : जसपालाई आधा, बाँकी अरुलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते २१:३९
सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको फाइल तस्वीर ।

१३ असोज, काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् ।

सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ ।

प्रदेशसभाको सिट बाँडफाँटका लागि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले क्षेत्रगत प्रस्ताव ल्याएका छन् । त्यसमा छलफल चलिरहेको एक सदस्यले बताए ।

अहिलेसम्मको छलफल हेर्दा देशभरमा मोटामोटी आधा सिट कांग्रेसले लिएर बाँकी अरु दलले बाँड्ने जस्तो देखिएको छ । मधेश प्रदेशमा भने आधा सिट जनता समाजवादी पार्टी (जसपा)ले पाउने र बाँकी अरु दलले बाँड्ने देखिएको छ ।

मधेश प्रदेशको ८ जिल्लामा हरेक जिल्लामा ४ अर्थात कुल ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । कार्यदलका एक सदस्यका अनुसार बारा क्षेत्र नम्बर १ कांग्रेसले पाउने भएको छ भने २ र ३ जसपाले लिनेछ ।

बारा ४ एकीकृत समाजवादीले पाउने छ । तनहुँ १ वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छाडेका एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसानका लागि कांग्रेसले यो क्षेत्र छाडेको हो ।

पर्सा १ र २ जसपाको भागमा पर्ने निश्चितजस्तै छ । कांग्रेसले ४ पाएको छ । पर्सा ३ मा भने कांग्रेस र जसपा दुबैको दाबी छ ।

रौतहट १ एकीकृत समाजवादीले लिने छ । यहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बन्ने निश्चितजस्तै छ । रौतहट २ र ४ कांग्रेसले लिने भएको छ । रौतहट ३ मा सुरुमा माओवादी केन्द्रको दाबी थियो । तर अब जसपाले लिने सम्भावना बढेको कार्यदलका एक सदस्य बताउँछन् ।

सर्लाही १ जसपाले लिएको छ भने २ पनि उसले पाउने सम्भावना छ । यद्यपि यो क्षेत्रमा माओवादी केन्द्रको पनि दाबी छ । सर्लाही–३ माओवादीले लिने छ भने ४ कांग्रेसको भागमा परेको छ ।

महोत्तरीको १ माओवादी २, कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ र ४ जसपाले लिने लगभग सहमति जुटेको कार्यदलका एक सदस्य बताउँछन् ।

धनुषाको १ माओवादीले पाउने छ भने ४ कांग्रेसले । जसपाले २ र ३ मा दाबी गरेको छ । २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ ।

सिरहा १ कांग्रेसले लिनेछ भने ४ मा जसपाको दावी छ । सिरहाकै निर्वाचन क्षेत्र नम्बर २ र ३ मा जसपासँगै अरु दलको पनि दाबी छ । कार्यदलका एक सदस्य भन्छन्, ‘सिरहा २ बारे कांग्रेस र जसपाबीच र ३ मा जसपा र माओवादीबीच सहमति खोज्ने समझदारी भएको छ ।’

सप्तरी क्षेत्र नम्बर १ जसपा र ४ कांग्रेसले लिने सहमति भएको छ । २ जसपा अध्यक्ष उपेन्द्र यादवको क्षेत्र हो । यहाँ कांग्रेसले पनि दाबी गरेको छ भने क्षेत्र नम्बर ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ । एक नेता भन्छन्, ‘सप्तरीको ४ क्षेत्रमध्ये कांग्रेसले २ र जसपाले २ लिने सम्भावना छ ।’

यसरी हेर्दा मधेश प्रदेशका ३२ मध्ये १४/१५ सिट जसपाले पाउनेछ भने बाँकी १६/१७ सिट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाउनेछन् । यसमा माओवादीको ३ र एकीकृत समाजवादीको २ सिट निश्चित भएको छ भने अरु कांग्रेसले पाउने देखिएको कार्यदलका सदस्यहरु बताउँछन् ।

प्रतिनिधिसभामा आधा सिट पाएको जसपाले प्रदेशमा पनि त्यही हाराहारी पाउने देखिएको छ । कार्यदलका एक सदस्यका अनुसार प्रदेशसभाको ६४ सिटमध्ये ३०/३२ सिट जसपाले पाउने सम्भावना छ भने बाँकी अरु दलहरुले लिने छन् ।

कांग्रेसले २१/२२, एकीकृत समाजवादीले ८ र माओवादी केन्द्रले जम्मा ४ सिट पाउने सक्ने भन्दै कार्यदलका एक सदस्य भन्छन्, ‘अहिले हामी छलफलमै भएकाले एकाध सिट तलमाथि र साटफेर हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?