+
+

के कमल थापाका लागि एमालेले मैदान खाली गर्दैछ ?

करिब २० मिनेट एमाले पार्टी कार्यालयमा बिताएका थापाले औपचारिक कुनै भनाइ राखेनन् । त्यहाँ उनी पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नेता कृष्णप्रसाद दाहाल, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर राना, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायत एमालेका जिल्लास्तरका नेतासँग शुभकामना आदानप्रदान गर्नुका साथै अनौपचारिक कुराकानीमा व्यस्त रहे ।

विनोद चौलागाई विनोद चौलागाई
२०७९ असोज १३ गते २०:०२

१३ असोज, हेटौंडा । कमल थापा एमालेका कार्यालयहरुमा बेलाबखत झुल्किनु अनौठो कुरो त होइन, तर चुनावकै मुखमा चाहिँ पक्कै चर्चायोग्य खबर हो ।

नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारीमा रहेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापा बुधबार बिहान टुप्लुक्क एमाले पार्टी कार्यालय मकवानपुरमा पुगे । एमालेको मकवानपुर जिल्ला कमिटीले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन थापा पुगेपछि उनी सबैको चासो र चर्चामा रहे ।

उनीमाथि चासो रहनुको मूख्य कारण थियो यस अघिदेखि नैं मकवानपुर–१ मा एमालेले कमल थापाका लागि प्रतिनिधिसभा उम्मेदवारको मैदान खाली गर्दैछ भन्ने हल्ला चल्नु । बुधबार एमाले पार्टी कार्यालयमा उनको प्रवेशले उक्त हल्ला सत्यतातर्फ अघि बढेको धेरैको बुझाइ रह्यो ।

करिब २० मिनेट एमाले पार्टी कार्यालयमा बिताएका थापाले औपचारिक कुनै भनाइ राखेनन् । त्यहाँ उनी पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नेता कृष्णप्रसाद दाहाल, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर राना, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायत एमालेका जिल्लास्तरका नेतासँग शुभकामना आदानप्रदान गर्नुका साथै अनौपचारिक कुराकानीमा व्यस्त रहे । थापालाई शुभकामना आदान प्रदान कार्यक्रमका लागि एमाले जिल्ला अध्यक्ष श्रेष्ठले निमन्त्रणा गरेका थिए ।

एमाले मकवानपुरले आयोजना गरेको यसखालको कार्यक्रममा थापा पहिलो पटक सहभागी भएका हुन् । ‘विगतका वर्षहरुमा उहाँ दशैंमा काठमाडौंमै रहनुहुन्थ्यो, त्यो भएर मकवानपुरमा हुने कार्यक्रममा सहभागी हुन पाउनुहुन्नथ्यो’, राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने, ‘यसपटक चुनावी गतिविधिका लागि मकवानपुरमै रहनुभएकोले उहाँलाई निम्तो आएको हुनसक्छ ।’

तर एमाले पार्टी कार्यालयमा कमल थापाको प्रवेशले मकवानपुरको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । सबैको चासो रहे्को छ, ‘के अब एमालेले कमल थापालाई मकवानपुर १ को उम्मेदवार बनाउँदैछ ?’

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा थापालाई एमालेले सघाउने विषयमा सकारात्मक वातावरण बनेकोे बताए । केन्द्रमा एमाले अध्यक्ष ओलीसँग यस विषयमा कुराकानी भएको र सकारात्मक जवाफ पाएको उनले बताए ।

केन्द्रले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने निर्णय गरेमा पार्टीका अनुशासित कार्यकर्ताहरुले साथ दिन तयार हुने एमालेका जिल्ला तहका नेताहरुबाट जवाफ पाएको उनको भनाइ छ ।

महामन्त्री बर्तौलाले भने, ‘केपी ओलीसँग उहाँको व्यक्तिगत सम्बन्ध राम्रो छ । उहाँहरु एउटै क्याबिनेटमा बसेर काम गर्नुभयो । उहाँको क्षमता, योग्यता अनुभव ओलीलाई राम्रोसँग थाहा छ । राष्ट्रियताको मुद्दाको सवालमा एमालेसँग निकटता छ । यो अवस्थामा माथि केन्द्रमा सकारात्मक कुरा भएको छ ।’

केन्द्रबाट ‘ग्रिन सिग्नल’ पाएपछि थापा मकवानपुरमा १० दिनदेखि सक्रिय भएका छन् । उनी एमालेका जिल्ला र तल्लो तहको नेता कार्यकर्तासँग संवाद गरिरहेका छन् । जिल्ला र तल्लो तहका नेता कार्यकर्तासँग भावनात्मक ‘एट्याच्मेन्ट’ भयो भने त्यसले रिजल्ट राम्रो दिन्छ भनेर त्यस किसिमको वातावरण निर्माण गर्न थापा क्रियाशील बनेको महामन्त्री बर्तौलाले बताए ।

उनी भन्छन्, ‘जिल्ला तहमा धेरै नेतासँग अध्यक्षज्यूले कुराकानी गरिसक्नुभएको छ । कुरा सकारात्मक छ । हाम्रो चाहना भनेको राष्ट्रवादी शक्तिहरु मिलेर अघि बढ्दा राम्रो हुन्छ भन्ने छ । सिन्डिकेट खडा गरेर गठबन्धन बनाइरहेको स्थितिमा राष्ट्रवादी शक्तिहरु कमजोर नहोस् भनेर हाम्रो चाहना मिलेर जानुपर्छ भन्ने हो ।’

महामन्त्री बर्तौलाका अनुसार राप्रपा नेपाल र नेकपा एमालेका बीचमा सैद्धान्तिक रुपमा सहकार्यका बिषयमा कुराकानी भइरहेका छन् । तर कुन क्षेत्रम कसरी सहकार्य गर्ने भन्ने विषय अहिलेसम्म टुंगिएको छैन । उनी भन्छन्, ‘कति ठाउँमा कसरी सहकार्य गर्ने भन्ने कुरा अध्यक्षज्यू काठमाडौं पुगेपछि टुंगिन्छ ।’

एमाले जिल्ला सचिव नविन सिग्देलले भने राप्रपा नेपालले दावी गरेजस्तो सहकार्यका विषयमा छलफल नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?