१७ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीयता कम्पनी दर्ता गर्ने क्रम बढेको पाइएको छ ।
कम्पनी रजिष्टारको कार्यालयलाई उदृत गर्दै अर्थ मन्त्रालयले अध्यावधिक गरेको तथ्यांक अनुसार यस्तो पाइएको हो । यसबीचमा सरकारले ल्याएका कतिपय छूट तथा सहुलियत प्राप्त गर्न कम्पनी दर्ता अनिवार्य गरिएका कारण समेत यस्तो ट्रेण्ड देखिएको हो ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र २८ हजार ९५७ वटा नयाँ कम्पनी दर्ता भएका छन् ।
यो संख्या अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ९.३ प्रतिशतले धेरै हो । सो आवमा २६ हजार ४९८ वटा कम्पनी दर्ता भएका थिए । उता, आर्थिक वर्ष २०७६/७७ मा १८ हजार ६२८ वटा कम्पनी दर्ता भएको मन्त्रालयको तथ्यांक छ । तथ्यांक अनुसार कोभिड महामारीपछि कम्पनी दर्ताको बाढी देखिएको हो ।
आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा कम्पनी दर्ता ४२.२ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालमा प्राइभेट लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा एक जनादेखि बढीमा १०१ जनासम्म र पब्लिक लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा ७ जना संस्थापक सेयरधनी रहनु पर्ने प्रावधान छ ।
कम्पनी स्थापना गरिसकेपछि कम्पनीले आफ्नो उद्देश्य कार्यान्वयन गर्नु अघि अनुमति वा इजाजत लिनुपर्ने निकायबाट त्यस्तो इजाजत प्राप्त गर्नुपर्छ ।
नियमनकारी निकायहरुले कम्पनीहरुलाई यस्तो इजाजत दिने गर्छन् । कम्पनीले अनुमति वा इजाजत लिनु अघि आन्तरिक राजस्व कार्यालयबाट स्थानीय लेखा नम्बर लिनुपर्छ ।
कुन आवमा कति थपिए कम्पनी ?
आव २०७६/७७ : १८६२८
आव २०७७/७८ : २६४९८
आव २०७८/७९ : २८९५७
प्रतिक्रिया 4